‘आमूल परिवर्तनहरू’
‘आमूल परिवर्तनहरू’
“मानव इतिहासमा यस २० औं शताब्दीमा जस्तो व्यापक तवरमा आमूल परिवर्तनहरू पहिले कहिल्यै भएका छैनन्।”– बीसौं शताब्दीको टाइम्स एट्लास।
अधिकांश मानिसहरू बीसौं शताब्दीलाई केलाएर हेर्दा टाइम पत्रिकाका प्रमुख सम्पादक वल्टर आइज्याकसनसित पक्कै सहमत हुनेछन्। तिनले यसो भने: “यो शताब्दी सबैभन्दा विस्मयकारी भएको छ: कहिले प्रेरणा जगाउँछ त कहिले भयावह हुन्छ, तर पनि सधैं रोमाञ्चकारी छ।”
त्यस्तै गरी नर्वेका भूतपूर्व प्रधानमन्त्री ग्रो हार्लेम ब्रुन्डट्ल्याण्डले यो शताब्दी “हरेक कुराको पराकाष्ठा” हो र “मानव दुर्गुण अवर्णनीय गहिराइमा पुगेको छ” भनी बताइन्। “यो ठूल-ठूला प्रगति [अनि केही मुलुकहरूमा] अप्रत्याशित आर्थिक वृद्धि भएको शताब्दी” हो भनेर पनि तिनी टिप्पणी गर्छिन्। तथापि, अर्कोतिर गरिबीको चपेटामा परेका शहरहरूको “गरिबी र प्रदूषित वातावरणसित सम्बन्धित जनसंख्या वृद्धि र रोगहरूले गर्दा” भविष्य अन्धकार छ।
राजनैतिक उथलपुथल
बीसौं शताब्दीको सुरुआतमा चीनको मन्चु राजकुल, ओट्टोमान साम्राज्य र युरोपका केही साम्राज्यहरूले सारा संसार आफ्नो नियन्त्रणमा राखेका थिए। बेलाइती साम्राज्यले मात्र विश्वको एक चौथाइ भाग ओगटेको थियो र पृथ्वीका एक चौथाइ मानिसमाथि शासन गर्थ्यो। यस शताब्दी अन्त हुनुभन्दा धेरै अघि यी सबै साम्राज्यहरूको अस्तित्व हराइसकेको थियो। बीसौं शताब्दीको टाइम्स एट्लास भन्छ, “सन् १९४५ मा साम्राज्यवादको अन्त भयो।”
उपनिवेशवादको अन्तपछि १७ औं शताब्दीदेखि १९ औं शताब्दीबीच युरोपलगायत संसारका अन्य भागहरूमा राष्ट्रवादको लहर चल्यो। द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “दोस्रो विश्वयुद्धपछि थुप्रै युरोपेली राष्ट्रहरूमा राष्ट्रवादको लहर समाप्त भयो। . . . तर, एसिया तथा अफ्रिकामा विशेष गरी उपनिवेशवादको विरोधमा राष्ट्रवादको लहर नै चल्यो।” अनि बल्ल विश्व इतिहासको कोलिन्स एट्लास-अनुसार “विकासोन्मुख देशहरूले विश्व इतिहासमा आफ्नो चिनारी दिन थाल्यो र युरोपेली विस्तारसँगसँगै पाँच शताब्दीले अगाडि सुरु भएको युगको अन्त भयो।”
साम्राज्यको अन्त हुँदै जाँदा थुप्रै स्वतन्त्र राष्ट्रहरूले प्रजातान्त्रिक शैलीका सरकारहरू स्थापना गरे। अक्सर प्रजातान्त्रिक शासनले दोस्रो विश्वयुद्धको दौडान युरोप तथा एसियाका शक्तिशाली निरंकुश शासकहरूको कडा विरोध सामना गर्नुपऱ्यो। ती शासन व्यवस्थाहरूले मानिसहरूमाथि बन्देज लगाउँथ्यो र अर्थतन्त्र, सञ्चार माध्यम तथा सेनामाथि कडा जकड हुन्थ्यो। अन्ततः विश्वमाथि नै प्रभुत्व जमाउने तिनीहरूको प्रयासलाई लत्त्याइयो तर यसको निम्ति थुप्रै खर्च हुनुका साथै धेरैले आफ्नो ज्यान गुमाउनुपऱ्यो।
युद्धले भरिएको शताब्दी
तर वास्तवमा २० औं शताब्दी अन्य शताब्दीहरूभन्दा भिन्न भएको एउटा प्रमुख कारण युद्ध हो। प्रथम विश्वयुद्धका सन्दर्भमा जर्मन इतिहासकार गेडो नप यसो लेख्छन्: “अगस्त १, १९१४: युरोपेलीहरूले लामो समयसम्म अनुभव गरेको शान्ति १९ औं शताब्दीको त्यस दिन अन्त भयो भनेर कसैले पनि विचारै गरेका थिएनन्। अनि २० औं शताब्दी वास्तवमा त्यति बेला मात्र सुरु भयो भनेर कसैले याद गरेनन्। तीन दशकसम्म युद्ध भइरह्यो र यसले आफ्ना सहमानवलाई कस्तो घात पुऱ्याउनसक्छ भनेर स्पष्ट भयो।”
इतिहासका प्राध्यापक ह्यु ब्रोगनले भनेअनुसार “त्यस युद्धले संयुक्त राज्य अमेरिकालाई निकै घात पुऱ्याउनुका साथै भयावह अवस्था सृजना गऱ्यो र यसको असर आज [१९९८ सम्म] पनि रहिरहेको छ।” हावर्ड विश्वविद्यालयमा इतिहासका प्राध्यापक आकिरा इरि यसो लेख्छन्: “प्रथम विश्वयुद्ध, पूर्वी एसिया र संयुक्त राज्यको इतिहासमा थुप्रै तरिकामा एउटा निर्णायक मोड थियो।”
द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-ले प्रथम तथा दोस्रो विश्वयुद्धलाई “२० औं शताब्दीको भूराजनीतिक इतिहासका निर्णायक मोडहरू” हुन् भन्नुको कारण बुझ्नसक्छौं। त्यस पुस्तकले अझ यसो
भन्छ, “प्रथम विश्वयुद्धका कारण चार वटा ठूलठूला साम्राज्यहरूको पतन भयो . . . र रूसमा बोल्सेभिक क्रान्ति भयो . . . अनि दोस्रो विश्वयुद्धको निम्ति जग तयार पाऱ्यो।” विश्वयुद्धहरूमा जत्तिको “मारकाट र विनाश पहिले कहिल्यै भएको थिएन” भनेर पनि बताउँछ। त्यस्तै गरी गेडो नप यसो भन्छन्: “मानव क्रूरताको बयान गरेर साध्य छैन। युद्ध सुरुङहरूमा . . . मानवहरू मान्छे होइन तर एउटा वस्तु हो भनेर सिकाइयो।”यस्ता विध्वंशकारी युद्धहरू फेरि हुनबाट रोक्न १९१९ मा राष्ट्र संघ खडा गरियो। विश्वशान्ति कायम गर्ने लक्ष्य विफल भएपछि यसको स्थान १९४६ मा संयुक्त राष्ट्रले लियो। तेस्रो विश्वयुद्ध हुन नदिन सफल भए तापनि संयुक्त राष्ट्रले शीत युद्ध रोक्न सकेन जसको फलस्वरूप दशकौंसम्म आणविक युद्धको खतरा विद्यमान रह्यो। नता यसले बाल्कन क्षेत्रमा स-साना युद्ध हुनदेखि नै रोक्न सकेको छ।
संसारमा जसै राष्ट्रहरूको संख्या बढ्दैछ, तिनीहरूबीच शान्ति कायम राख्न पनि त्यत्तिकै मुश्किल हुँदैछ। प्रथम विश्वयुद्धअघिको मानचित्र यस शताब्दीको सुरुको मानचित्रसित तुलना गर्दा आज अस्तित्वमा भएका कम्तीमा पनि ५१ वटा अफ्रिकी राष्ट्र र ४४ वटा एसियाली राष्ट्रको त्यतिबेला कुनै नामोनिसान थिएन। हाल संयुक्त राष्ट्रको १८५ सदस्यहरूमध्ये ११६ राष्ट्र त १९४५ मा राष्ट्र संघ स्थापना हुँदा स्वतन्त्र राज्यको रूपमा अस्तित्वमा थिएनन्!
“एउटा एकदमै नाटकीय दृश्य”
उन्नाइसौं शताब्दीको अन्तसम्ममा रूसी साम्राज्यले विश्वको सबैभन्दा बढी भूभाग ओगटेको थियो। तर यसले चाँडै आफ्नो समर्थन गुमाउन थाल्यो। लेखक जेफ्रि पेन्टनअनुसार थुप्रै मानिसहरूको विचारमा “सुधारभन्दा क्रान्तिको आवश्यकता थियो।” तिनी अझ यसो भन्छन्: “तर क्रान्तिको लहर सामसुस गर्न एउटा ठूलो युद्ध अर्थात् प्रथम विश्वयुद्ध र त्यसपछिको सारा गञ्जागोल निम्त्यायो।”
त्यतिबेला रूसमा बोल्सेभिकहरूले शासन आफ्नो हातमा लिएपछि एउटा नयाँ साम्राज्य खडा भयो। त्यो हो, सोभियत संघको हातमा साम्यवादी शासन। विश्वभरि युद्ध भइरहेको समयमा यसको स्थापना भए तापनि सोभियत साम्राज्य युद्धहरूसँगसँगै अन्त भएन। माइकल डब्स्द्वारा लिखित डाउन विथ बिग ब्रदर नामक पुस्तकले १९७० को दशकको अन्तसम्ममा सोभियत संघ “खस्कँदै गइरहेको एउटा विशाल बहुराष्ट्रिय साम्राज्य थियो र त्यसको उत्थान गर्न असम्भवै थियो” भन्ने दाबी गर्छ।
तैपनि, यसको पतन अकस्मात् भयो। नर्मन डेभिसद्वारा लिखित युरोप—एक इतिहास नामक पुस्तकमा यस्तो टिप्पणी गरिएको छ: “युरोपको इतिहासमा यो साम्राज्यको जस्तो चाँडो पतन अरू कुनैको पनि भएको छैन” र “यो हुनु पनि स्वाभाविकै थियो।” साँच्चै, “सोभियत संघको उत्थान, विकास र पतन यस २० औं शताब्दीको एउटा अत्यन्तै नाटकीय दृश्य थियो।”
वास्तवमा, सोभियत संघको पतन २० औं शताब्दीमा भएको व्यापक आमूल परिवर्तनहरूको श्रृंखलामध्ये एउटा मात्र थियो। निस्सन्देह, राजनीतिक परिवर्तनहरू कुनै नौलो कुरा होइन। त्यस्ता परिवर्तनहरू हजारौं वर्षदेखि भइरहेका छन्।
तथापि, २० औं शताब्दीको दौडान सरकारहरूको क्षेत्रमा भएको एउटा परिवर्तन विशेष गरी उल्लेखनीय छ। यो परिवर्तन के हो र यसले तपाईंलाई व्यक्तिगत तवरमा कसरी असर गर्छ भनेर पछि छलफल गरिनेछ।
तर, पहिला २० औं शताब्दीमा विज्ञानका केही उपलब्धिहरूबारे छलफल गरौं। यस सन्दर्भमा प्राध्यापक माइकल हावर्ड निष्कर्षमा यसो भन्छन्: “पश्चिमी युरोप तथा उत्तर अमेरिकाका मानिसहरूले बीसौं शताब्दीलाई मानिसजातिको इतिहासमा नयाँ र सुखमय शताब्दीको उत्थानको रूपमा स्वागत गर्ने प्रशस्त कारण थियो जस्तो देखिन्छ।” के यसले मानिसलाई उच्चस्तरीय जीवनतर्फ डोऱ्यायो त?
[पृष्ठ २-७-मा भएको तालिका/चित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
१९०१
चौसट्ठी वर्षको शासनपछि महारानी भिक्टोरियाको मृत्यु हुन्छ
विश्व जनसंख्या १.६ अरब पुग्दा
१९१४
आर्कड्यूक फर्डिनान्डको हत्या गरिन्छ। प्रथम विश्वयुद्ध सुरु हुन्छ
अन्तिम जार निकोलस द्वितीय आफ्नो परिवारसँग
१९१७
लेनिनले रूसलाई क्रान्तितर्फ धकेल्छन्
१९१९
राष्ट्र संघको स्थापना
१९२९
सं.रा.-को सट्टा बजारको संकटले महा मन्दी हुन्छ
भारतको स्वतन्त्रताको लागि गान्धीले संघर्ष गरिरहन्छन्
१९३९
अडोल्फ हिटलरले पोल्याण्डमाथि आक्रमण गर्छन् र दोस्रो विश्वयुद्ध सुरु हुन्छ
विन्सटन चर्चिल १९४० मा बेलाइतको प्रधानमन्त्री हुन्छन्
नाजी यातना शिविर
१९४१
जापानले पर्ल हार्बरमा बम खसाल्छ
१९४५
संयुक्त राज्यले हिरोसिमा र नागासाकीमा आणविक बम खसाल्छ। दोस्रो विश्वयुद्धको अन्त हुन्छ
१९४६
संयुक्त राष्ट्र साधारण सभाको पहिलो बैठक बस्छ
१९४९
माओत्सेतुंगले चिनियाँ गणतन्त्र घोषणा गर्छन्
१९६०
सत्र वटा नयाँ अफ्रिकी राष्ट्रहरू सृजना हुन्छन्
१९७५
भियतनाम युद्ध अन्त हुन्छ
१९८९
साम्यवादको पतनपछि बर्लिन पर्खाल भत्काइन्छ
१९९१
सोभियत संघ टुक्रिन्छ