सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जटिल परिस्थितिले गर्दा परमेश्‍वरमा भरोसा राख्न सिक्यौं

जटिल परिस्थितिले गर्दा परमेश्‍वरमा भरोसा राख्न सिक्यौं

जटिल परिस्थितिले गर्दा परमेश्‍वरमा भरोसा राख्न सिक्यौं

रोजी मेजरको वृत्तान्तमा आधारित

सासूले मेरो खुट्टाहरू अत्यन्तै सुनिएको याद गर्नुहुँदा म गर्भवती भएको पाँच महिना भएको थियो र यो मेरो पहिलो बच्चा थियो। त्यो मार्च १९९२ को कुरा थियो। मेरो श्रीमान्‌, जोइ र मैले यहोवामा कत्तिको भरोसा राख्छौं भनी यो घटनाबाट जाँच हुन लागेको कुरा मलाई पत्तै थिएन।

यसको एक हप्तापछि, मैले जँचाउने गरेकी प्रसूति विशेषज्ञले मेरो अत्यधिक उच्च रक्‍तचाप भएको कुरा बताइन्‌। तिनले मलाई अस्पतालमा भर्ना भएर परीक्षणहरू गर्ने सल्लाह दिंदा चिन्तित हुनु त स्वाभाविकै थियो। ती परीक्षणहरूबाट थाह भयो, मलाई प्रिएक्लाम्सीया भएको रहेछ। यो गर्भावस्थामा एकदमै घातक हुनसक्छ। a

अस्पतालमा भर्ना भइसकेपछि डाक्टरले मेरो र बच्चाको ज्यान जोगाउन प्रसववेदना गराइहाल्ने सल्लाह दिए। मेरो श्रीमान्‌ र म त वाल्ल पऱ्‍यौं। मैले लामो सास तानेर भनें, “बच्चा त २४ हप्ता पनि पुगेको छैन! त्यसरी अहिल्यै जन्मायो भने हाम्रो बच्चा कहाँ बाँच्छ र?” डाक्टरले यस्तो मायालु जवाफ दिइन्‌, “हेरौं, अलि ढिला गर्न सकिन्छ कि। तर तपाईंको अवस्था बिग्रंदै गयो भने, बच्चा जन्माउनै पर्ने हुन्छ।” तेह्र दिनपछि त मेरो अवस्था एकदमै बिग्रन थाल्यो। डाक्टरले मेरो श्रीमान्‌लाई बोलाइन्‌ र हामीले अब तुरुन्तै बच्चा जन्माउने कठिन निर्णय गर्नुपऱ्‍यो।

प्रसूति

बच्चा जन्माउनुभन्दा अघिल्लो रातको कुरा हो, बाल विशेषज्ञ डा. म्याकनिलले समय नपुगी जन्मेको बच्चामा हुनसक्ने स्वास्थ्य समस्याबारे बताउनुभयो। जस्तै, मस्तिष्कघात, राम्ररी काम नगर्ने फोक्सो र अरू थुप्रै सम्भाव्य समस्याहरू। मैले “सारा समझलाई माथ” गर्ने “परमेश्‍वरको शान्ति” पाउन प्रार्थना गरें। (फिलिप्पी ४:७) भोलिपल्ट बिहान सिजेरियन गरेपछि हाम्रो बच्चा जन्मियो। उनको वजन जम्मा ७०० ग्राम थियो। हामीले उनको नाउँ जोआन शेली राख्यौं।

पाँच दिनपछि म खाली हात घर फर्कें। हाम्री सानी छोरी जीवन मरणको दोसाँधमा अस्पतालकै विशेष शिशु स्याहार कक्षमा थिइन्‌। दुई हप्तापछि जोआनलाई निमोनिया भयो। उनको अवस्था अलि राम्रो हुँदै आउँदा हामी खुसी भयौं तर केही दिनपछि नै पेटको समस्या देखा पऱ्‍यो र फेरि सघन उपचार कक्षमा लैजानुपऱ्‍यो। त्यसको छ दिनपछि जोआनको स्वास्थ्यमा अलि सुधार आयो र जीउमा मासु पनि लाग्न थाल्यो। हामी औधी हर्षित भयौं! तर हाम्रो हर्ष क्षणिक थियो। डा. म्याकनिलले जोआनलाई रक्‍तअल्पता भएको बताउनुभयो। उहाँले जोआनको रातो रक्‍तकोषिकाहरू बढाउन कृत्रिम हर्मोन एरिथ्रोपोइटिन (EPO) प्रयोग गर्ने सल्लाह दिनुभयो। यहाँ बहामासस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयले ब्रुक्लिन, न्यु योर्कको अस्पताल सम्पर्क समितिका प्रतिनिधिहरूसित सम्पर्क राख्यो। उक्‍त समितिले एरिथ्रोपोइटिनको उपलभ्यता र प्रयोगबारे डा. म्याकनिललाई नविनतम जानकारी पठायो र उहाँले पनि त्यो उपचार थाल्नुभयो।

पछि देखापरेका समस्याहरू

चिन्ता गर्दागर्दै थुप्रै हप्ताहरू बिते। जोआनलाई पेटको समस्याले निकै सताइरहेको थियो र रोगले अकस्मात्‌ चाप्दा कहिलेकाहीं त आप्निया (सास टप्पै रोकिने अवस्था) समेत हुन्थ्यो। उनको हेमोग्लोबिन असाध्यै कम थियो र फोक्सोको निमोनिया भयो। अब त उनी मृत्युको मुखबाट बाँच्दिनन्‌ होलिन्‌ जस्तो हामीलाई लाग्यो। तर जोआनको अवस्था बिस्तारै बिस्तारै राम्रो हुन थाल्यो। तीन महिनाको हुँदा उनको वजन १.४ किलोग्राम मात्र थियो। तर पहिलो चोटि, थप अक्सिजनको भरमा नभई आफैले सास फेरिरहेकी थिइन्‌। उनको हेमोग्लोबिन पनि बढेर सामान्य भयो। अब उनको वजन आधा किलोग्राम बढेपछि घर लैजान सक्छौं भन्‍नुभयो।

तीन हप्तापछि जोआनलाई फेरि घातक आप्नियाले चाप्यो। अनेकन्‌ परीक्षणपछि पनि यसो हुनुको कारण पत्ता लागेन। सधैंजसो आप्निया हुन थाल्यो र यो प्रायजसो खाना खुआउने बेलामा हुन्थ्यो। बल्ल पत्ता लाग्यो, जोआनलाई ग्यास्ट्रोइसोफ्यागल समस्या रहेछ। खाना खाइसकेपछि उनको घाँटीको प्वाल बन्द हुँदैन रहेछ र यसले गर्दा पेटको खाना सबै घाँटीमै फर्कन्थ्यो। यसो भएपछि निस्सासिएर सास अड्‌किने रहेछ।

अक्टोबर महिनाको सुरुसुरुतिरको कुरा हो, जोआन शिशु कक्षमा छँदै उसलाई एक प्रकारको जीवाणुको संक्रमण भयो। समय नपुगी जन्मेका थुप्रै बच्चाहरू यही जीवाणुको कारणले मरिरहेका थिए। स्वास्थ्य एकदमै कमजोर भइसकेको जोआनलाई आप्निया एकदमै लामो समयसम्म भयो। उसलाई सास फेर्न लगाउन गरिएका लाख प्रयासहरू विफल भए। डाक्टरले आशा मार्नै लागेको बेलामा जोआनले सास फेर्न थाल्दा अचम्मै भयो। तर, फेरि रोगले चापिहाल्यो। उसलाई पुनः श्‍वासप्रश्‍वास उपकरणभित्र राखियो र हामीले अब जोआनलाई सदाको लागि बिदा गर्नुपर्ने बेला भयो भनेर यकिन भइसकेको थियो। तर ऊ बचिन्‌ र यसको लागि हामी यहोवाप्रति कृतज्ञ छौं।

यहोवामा अझ बढी भरोसा राख्न सिक्यौं

जोआन जन्मिनुअघि हामीले भोगेका परीक्षाहरू, किनार नजिकै डुंगाबाट खसेको जस्तो लाग्थ्यो र त्यहाँबाट हामी पौडी खेलेर किनारामा पुग्न सक्थ्यौं। अब अहिले भोग्नुपरेका समस्याहरू त समुद्रको बीचमा डुंगाबाट खसेको जस्तो लाग्थ्यो, किनाराको कुनै अत्तोपत्तो नभएको ठाउँमा। अहिले यसो विचार गर्दा मलाई कस्तो लाग्छ भने, जोआन जन्मिनुअघि हामी आफैमा बढी भर पर्थ्यौं। तर जोआनको अवस्थाले गर्दा, मानव समाधानै नभएको अवस्थामा पनि यहोवामा भरोसा राख्न सिक्यौं। येशूले सल्लाह दिनुभएजस्तै भोलिको अचाक्ली चिन्ता नगरी आजको दिन सकेसम्म राम्ररी बिताउन सिक्यौं। कहिलेकाहीं कुन कुराको लागि प्रार्थना गर्ने भनेर थाहै नभए पनि यहोवामा भरोसा राख्न सिक्यौं। यस्ता गम्भीर समस्याहरू सामना गर्न बाइबलीय बुद्धि र “असामान्य शक्‍ति” दिनुभएकोमा यहोवालाई धन्यवाद दिन्छौं।—२ कोरिन्थी ४:७.

संकटको बेला मलाई भावनात्मक सन्तुलन कायम राख्न असाध्यै गाह्रो हुन्थ्यो। मेरो दिमागमा जोआनबारे केही हुँदैनथ्यो। मेरो श्रीमान्‌, जोइले मलाई आध्यात्मिक सन्तुलन कायम राख्न अनमोल सहयोग दिनुभयो। म उहाँप्रति एकदमै आभारी छु।

जोआन घर फर्कन्छिन्‌

जोआनको स्वास्थ्य बिस्तारै राम्रो हुन थाल्यो। एक दिन त उनी आफैले नै, सास फेर्न मुखमा राखेको नली निकालिन्‌। डा. म्याकनिललाई अब जोआनलाई घर लगे हुन्छ जस्तो लाग्यो। खुसीले हाम्रो खुट्टा भुइँमै थिएन। उसलाई घरमा ल्याउने तयारीमा हामीले उसलाई पाइपबाट खुवाउन सिक्यौं। घरमै अक्सिजनको आपूर्ति, मुटु र श्‍वासप्रश्‍वास उपकरणको व्यवस्था मिलायौं अनि हामीले आपत्‌कालीन अवस्थामा श्‍वासप्रश्‍वास गराउने तालिम लियौं। बल्ल, अक्टोबर ३०, १९९२ का दिन जोआनलाई अस्पतालबाट घर पठाइयो। उनले विशेष शिशु उपचार कक्षमा २१२ दिन बिताइन्‌, र हामीले पनि त्यहाँ त्यति नै दिन बितायौं।

सुरुदेखि नै परिवारका सदस्यहरू तथा यहोवाका साक्षीहरूको स्थानीय मण्डलीका सदस्यहरू, साँच्चै यहोवाले दिनुभएको आशिष्‌ साबित भयो। उहाँहरू आएर हाम्रो घरआँगन सफा गर्नुभयो, खाना पकाउनुभयो, हामीलाई अस्पताल जान आउन मदत गर्नुभयो र मलाई अलि आराम गर्ने मौका मिलोस्‌ भनेर अस्पतालमा पालो बस्नुभयो। यसले गर्दा हामीले तिनीहरूको व्यक्‍तित्वका विभिन्‍न राम्रा पक्षहरू थाह पायौं, जुन पहिले हामीले वास्तै गरेका थिएनौं। जस्तै, कसै कसैले तिनीहरूलाई कठिनाइहरू सामना गर्न मदत गरेका आध्यात्मिक बुँदाहरू हामीलाई बताए।

अहिले हाम्रो जीवन

हामीले जोआनको स्वास्थ्य समस्याहरूको लागि यथासम्भव राम्रो चिकित्सा उपचार गराउने सक्दो प्रयास गरेका छौं। जोआन १९ महिनाकी हुँदा हामीले उनलाई मस्तिष्कको पक्षघात भएको कुरा थाह पायौं। त्यसपछि, १९९४ सालको सेप्टेम्बर महिनामा, पेटमा खाना नरहने उनको समस्याको लागि शल्यचिकित्सा गर्नुपऱ्‍यो। सन्‌ १९९७ मा जोआनलाई ज्यानै लेला जस्तो छारे रोगले पिरोल्न थाल्यो। आनन्दको कुरा, खानेकुराहरू मिलाएर खान थालेपछि, छारे रोगले अलि कम सताउन थाल्यो। जोआनको स्वास्थ्य समस्याले गर्दा राम्ररी हुर्कन सकेकी छैनन्‌। तर अहिले उनी विशेष स्कूलमा जान्छिन्‌ र राम्रै गरिरहेकी छिन्‌। उनी हिंड्‌न सक्दिनन्‌ र बोली पनि प्रस्ट छैन। तर हामी सँगसँगै सबै मसीही सभाहरूमा जान्छिन्‌ र घर-घरको सेवकाईमा पनि भाग लिन्छिन्‌। उनी खुसी देखिन्छिन्‌।

यहोवाले हामीलाई यी कठिन परिस्थितिहरूमा निकै सान्त्वना दिनुभएको छ। सोच्दै नसोचेका कठिनाइहरूको बावजूद हामी यहोवामै भर परेर उहाँमै “रमाहट” गर्न कटिबद्ध छौं। (हबकूक ३:१७, १८; उपदेशक ९:११) हामी परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको प्रमोदवनको उत्कट प्रतिक्षा गर्छौं जब हाम्री प्यारी छोरी जोआन पनि सुस्वास्थ्य हुनेछिन्‌।—यशैया ३३:२४.

[फुटनोट]

a प्रिएक्लाम्सीया हुँदा गर्भवती महिलाको रक्‍तसञ्चार राम्ररी हुँदैन। यसो हुँदा शरीरका अंगहरूलगायत गर्भको बच्चा र सालनालमा रगतको कमी हुन्छ। यसो हुनुको कारण पत्ता लागेको छैन र वंशाणुगत नै हो कि भन्‍ने केही प्रमाणहरू छन्‌।

[पृष्ठ २५-मा भएको चित्र]

हाम्री छोरी जोआन

[पृष्ठ २७-मा भएको चित्र]

धेरै क्रियाकलाप गर्न नसके पनि जोआन खुसी छिन्‌