सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

राम्रा उल्लेखनीय परिवर्तन

राम्रा उल्लेखनीय परिवर्तन

राम्रा उल्लेखनीय परिवर्तन

“सन्‌ १९०० मा संसार मानव इतिहासको सबैभन्दा उल्लेखनीय समयावधिको संघारमै थियो। पुरानो व्यवस्थाको बदलामा नयाँ व्यवस्था सुरु हुन लागेको थियो।”– बीसौं शताब्दीको टाइम्स एट्‌लास।

माथि उल्लिखित विश्‍व मानचित्रले बताएअनुसार बीसौं शताब्दीको सुरुतिर “संसार असाध्यै गोलमाल र हिंसाको युगमा प्रवेश गऱ्‍यो।” यस शताब्दीमा जस्तो युद्ध अरू कुनै शताब्दीमा भएको छैन। अनि ती युद्धहरूका कारण १० करोडभन्दा बढी मानिसहरूले ज्यान गुमाए।

यस शताब्दीमा जति सर्वसाधारण नागरिकहरू अरू कुनै युगमा मरेका छैनन्‌। प्रथम विश्‍वयुद्धमा मर्ने १५ प्रतिशत मानिसहरू सर्वसाधारण नागरिकहरू थिए। तर दोस्रो विश्‍वयुद्धमा केही देशहरूमा सेनाहरूको मृत्युभन्दा सर्वसाधारण नागरिकहरूको मृत्यु कता हो कता धेरै थियो। त्यसबेलादेखि यता युद्धमा मारिने करोडौं मानिसहरूमध्ये थुप्रै सर्वसाधारण नागरिकहरू हुन्‌। यी सबै हिंसाहरूले “उज्जवल रातो” घोडसवारसम्बन्धी बाइबल भविष्यवाणी पूरा गरिरहेको छ जसलाई “एउटाले अर्कोलाई काटमार गराई पृथ्वीबाट शान्ति हरण गर्ने अख्तियार” दिइएको थियो।—प्रकाश ६:३, ४; मत्ती २४:३-७.

मूल्यमान्यताहरूमा परिवर्तन

बीसौं शताब्दीमा २ तिमोथी ३:१-५ मा उल्लिखित भविष्यवाणी पूरा भएको छ। त्यहाँ यसो भनिएको छ: “यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्‍वासघाती, उत्ताउला, दिमागी, परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने, भक्‍तिको भेष चाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने हुनेछन्‌।”

असिद्ध मानिसहरूले केही हदसम्म सधैं त्यस्ता गुणहरू देखाउँदै आएका छन्‌। तर २० औं शताब्दीको दौडान त्यस्ता मनोवृत्ति व्यापक तवरमा फैलिएको छ। माथि वर्णन गरिएको मनोवृत्ति देखाउने मानिसहरू कुनै समय समाज विरोधी वा असाध्यै दुष्टहरूमध्ये गनिन्थे। ‘भक्‍तिको भेष लिने’ मानिसहरूले समेत अहिले त्यस्तो व्यवहार सामान्य ठान्छन्‌।

धर्ममा आस्था भएका मानिसहरूले विवाह नगरी जोडीहरू सँगै बस्ने कुरा कुनै समय कल्पनासमेत गर्न सक्दैन थिए। विवाह नगरी बच्चा जन्माउनु अनि समलिंगी यौनसम्बन्ध घृणित कुरा ठानिन्थ्यो। अधिकांश मानिसहरूले गर्भपात र पारपाचुके जस्ता कुराहरू एकदमै अस्वीकार्य ठान्थे। व्यापारमा बेइमानी गर्नु निन्दनीय थियो। तर आजकालको अवस्थाबारे एउटा पुस्तकले बताएअनुसार “जे पनि चल्छ।” किन? एउटा कारण हो, “यसो गर्नु हुन्छ, त्यसो गर्नु हुँदैन, भनेको नरुचाउने मानिसहरूको इच्छा पूरा हुने भएकोले।”

यस शताब्दीमा उच्च नैतिक स्तरहरू त्यागेको कारण मानिसहरूका प्राथमिकताहरू परिवर्तन भएका छन्‌। बीसौं शताब्दीको टाइम्स्‌ एट्‌लास बताउँछ: “सन्‌ १९०० तिर राष्ट्र तथा मानिसहरूले आफ्नो महत्त्व पैसामा तौलँदैनथे। . . . तर यस शताब्दीको अन्तसम्ममा राष्ट्रहरूले आफ्नो सफलता पैसामा मात्रै तौलन्छन्‌। . . . त्यस्तै गरी मानिसहरूले धनसम्पत्तिप्रति राख्ने दृष्टिकोणमा पनि परिवर्तन भयो।” आज अत्यन्तै व्यापक तवरमा फैलिएको जुवाले पैसाको लोभ बढाउँछ भने रेडियो, टेलिभिजन, चलचित्र र भिडियोहरूले भौतिक चाहनाहरू जगाउँछन्‌। खेलकूद र विज्ञापनहरूले पैसा नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनी ठाडै नभने तापनि पैसा भए सबै कुरा हुन्छ भन्‍ने सन्देश दिइरहेका हुन्छन्‌।

सँगै तर अलग

बीसौं शताब्दीको सुरुतिर अधिकांश मानिसहरू ग्रामीण इलाकामा बसोबास गर्थे। भनिन्छ, २१ औं शताब्दीको सुरुसम्ममा आधाभन्दा बढी जनसंख्या शहरमा बसोबास गर्नेछन्‌। पृथ्वी जोगाउन ५००० दिन नामक पुस्तक यसो भन्छ: “अहिले शहरमा बसोबास गर्ने मानिसहरूको आधारभूत आवश्‍यकता पूरा गर्न नै धौधौ भइसक्यो। भावी पुस्ताको कुरा त परै जाओस्‌।” विश्‍व स्वास्थ्य नामक सं.रा.-द्वारा प्रकाशित पत्रिकाले यस्तो टिप्पणी गऱ्‍यो: “शहरमा बस्ने मानिसहरूको जनसंख्या दिनपरदिन वृद्धि हुँदैछ। . . . लाखौं लाख मानिसहरू आफ्नो स्वास्थ्य र ज्यानलाई समेत खतरामा पार्ने अवस्थामा गुजारा गरिरहेका छन्‌।”

कस्तो अमिल्दो कुरा मानिसहरू एकातिर शहरमा सँगसँगै बस्दैछन्‌ तरै पनि झन्‌ झन्‌ अलग हुँदैछन्‌! टेलिभिजन, टेलिफोन, इन्टरनेटलगायत कम्प्युटरद्वारा नै किनमेल गर्नु मदतकारी भए तापनि मानिसलाई नै प्रत्यक्ष भेटेर कुराकानी गर्नुको दाँजोमा पुग्न सक्दैन। अतः बर्लिनर जाइटुंग नामक जर्मन अखबार निष्कर्षमा यसो भन्छ: “२० औं शताब्दी जनसंख्या वृद्धिको शताब्दी मात्र होइन। यो एक्लोपनाको शताब्दी पनि हो।”

यस्ता कुराहरूका कारण हामबर्ग, जर्मनीमा भएको जस्ता दुःखद्‌ घटनाहरू हुन्छन्‌। त्यहाँ आफ्नै कोठामा मरेको एक जना मानिसको लाश पाँच वर्षपछि मात्र थाह पायो! डर स्पिगल-ले यसो भन्यो: “तिनको नातेदार, छिमेकी, अख्तियारवालाहरू कसैले पनि तिनको कमी महसुस गरेनन्‌। ठूला शहरहरूमा मानिसहरूमा एकअर्काप्रतिको चासो दिनपरदिन झन्‌ झनै कम हुँदै गएको संकेत थुप्रै मानिसहरूले यस घटनाबाट पाउन थालेका छन्‌।”

त्यस्तो निन्दनीय अवस्थाको दोषी विज्ञान तथा प्रविधि मात्र होइन। यसको दोषी मुख्यतया मानिसहरू नै हुन्‌। यस शताब्दीले अन्य शताब्दीको दाँजोमा थुप्रै “स्वार्थी मानिसहरू, धनका लोभी, . . . बैगुणी, . . . स्वाभाविक प्रेम रहितका, खुशी नहुने, . . . असल नरूचाउने, . . . परमेश्‍वरभन्दा बरू सुख-विलास निको मान्‍ने” मानिसहरू जन्माएको छ।—२ तिमोथी ३:१-५.

सन्‌ १९१४, एउटा महत्त्वपूर्ण वर्ष

विन्सटन चर्चिलअनुसार, “बीसौं शताब्दीको आगमन उज्ज्वल र शान्तिमय देखिन्थ्यो।” यस शताब्दीमा शान्ति र समृद्धि प्रशस्त मात्रामा हुनेछ भनी थुप्रैले सोचेका थिए। तर, १९०५ मा सेप्टेम्बर १ को प्रहरीधरहरा-ले यस्तो चेताउनी दियो: सन्‌ १९१४ मा “महा विनाश” सुरु भएपछि “युद्धहरू अझै भइरहनेछन्‌।”

वास्तवमा, त्यस पत्रिकाले १९७९ सालमै १९१४ एउटा महत्त्वपूर्ण वर्ष हुनेछ भनी उल्लेख गरिसकेको थियो। दानियलको पुस्तकमा उल्लिखित बाइबल भविष्यवाणीअनुसार त्यसै वर्ष स्वर्गमा परमेश्‍वरको राज्य स्थापना हुनेछ भनी पछि त्यस पत्रिकाले बतायो। (मत्ती ६:१०) परमेश्‍वरको राज्यले १९१४ मा पृथ्वीको मामिलाहरूमा पूर्णतया अधिकार जमाउने समय नभए तापनि यो, शासन सुरु गर्ने समय थियो।

बाइबल भविष्यवाणीले यसो भन्यो: “ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन।” (दानियल २:४४) राजाको हैसियतमा ख्रीष्टले शासन गर्ने त्यस राज्यले, यसको अधीनमा बस्न चाहने ईश्‍वरभीरु मानिसहरूलाई जम्मा गर्न थाल्यो—यशैया २:२-४; मत्ती २४:१४; प्रकाश ७:९-१५.

स्वर्गमा भएको घटनाका साथसाथै १९१४ मा “आखिरी दिन” पनि सुरु भयो। यस समयावधिको अन्तमा अहिले व्याप्त दुष्ट रीतिरिवाजको अन्त हुनेछ। येशूले यतिबेला विश्‍वयुद्ध, अनिकाल, रोगको महामारी, विध्वंशकारी भूइँचालो र अधर्मीहरू बढ्‌नुका साथसाथै परमेश्‍वर र मान्छेप्रति मान्छेहरूको प्रेम सेलाउँदै जानेछ भनी अगमवाणी गर्नुभएको थियो। यी सबै कुरा “कष्टका सुरु” मात्र हुन्‌ भनी उहाँले बताउनुभएको थियो।—मत्ती २४:३-१२.

पूर्णतया नयाँ संसार नजीकै

हामी यस “आखिरी दिन[मा]” प्रवेश गरेको ८५ वर्ष भइसक्यो र हामी चाँडै यस असन्तोषजनक रीतिरिवाजको अन्त नजीकै पुगिरहेका छौं। चाँडै ख्रीष्टको नेतृत्वमा परमेश्‍वरको राज्यले “यी सबै [अहिले अस्तित्वमा भएका] राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।”—दानियल २:४४; २ पत्रुस ३:१०-१३.

हो, परमेश्‍वरले यस संसारबाट दुष्टता नामेट पार्नुहुनेछ र धर्मात्माहरूलाई पूर्णतया नयाँ संसारमा राख्नुहुनेछ। “सोझाहरू पृथ्वीमा बास गर्नेछन्‌। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌, र विश्‍वासघातीहरू झारझैं फ्याँकिनेछन्‌।”—हितोपदेश २:२१, २२.

कस्तो आनन्ददायी सन्देश! अनि यो चारैतिरका मानिसहरूले सुन्‍नै पर्ने सन्देश हो! यस २० औं शताब्दीमा अत्यन्तै चर्किएको समस्याहरू परमेश्‍वरको राज्यले अन्त गर्नेछ। जस्तै: युद्ध, गरिबी, बिरामी, अन्याय, घृणा, असहिष्णुता, बेरोजगारी, अपराध, दुःख, मृत्यु।—भजन ३७:१०, ११; ४६:८, ९; ७२:१२-१४, १६; यशैया २:४; ११:३-५; २५:६, ८; ३३:२४; ६५:२१-२३; यूहन्‍ना ५:२८, २९; प्रकाश २१:३, ४ हेर्नुहोस्‌।

के तपाईंलाई वर्णन गरी साध्य नभएको आनन्दमय नयाँ धार्मिक संसारमा बसूँ बसूँ लाग्यो? यहोवाका साक्षीहरूबाट अझ बढी जानकारी लिनुहोस्‌। आमूल परिवर्तनहरू भएको यस २० औं शताब्दीको चाँडै अन्त हुनेछ र त्यसपछि तपाईंले अनन्त आशिष्‌ पाउनुहुनेछ भनी तिनीहरूले तपाईंलाई तपाईंकै बाइबलबाट देखाउनेछन्‌!

[पृष्ठ १०-मा भएको चित्र]

पूर्णतया नयाँ संसार नजिकै