विश्वदर्शन
विश्वदर्शन
आध्यात्मिक ज्ञानको खोज
द टाइम्स अखबार यसो भन्छ, “यो शताब्दीको अन्ततिर आइपुग्दा आफ्नो जीवनमा आध्यात्मिक कुराहरूको खोजी गरिरहेका छन् भनेर बेलाइतीहरूको धार्मिक, रहस्यमयी तथा अलौकिक पुस्तकहरूप्रतिको रुचिबाट प्रस्ट देखिन्छ।” सांस्कृतिक झुकावहरू-मा प्रकाशित प्रतिवेदनअनुसार विगत पाँच वर्षमा धार्मिक शीर्षक भएका पुस्तकहरूको प्रकाशनमा ८३ प्रतिशत वृद्धि र नयाँ युग अनि तन्त्रमन्त्रसम्बन्धी पुस्तकहरूमा ७५ प्रतिशत वृद्धि भएको पाइन्छ। त्यसको ठीक विपरीत, रासायनिक तथा भौतिक विज्ञानसम्बन्धी पुस्तकहरूको प्रकाशनमा २७ प्रतिशत कमी भएको पाइन्छ। यी तथ्यांकहरू हेर्दै उक्त प्रतिवेदनका सम्पादिका सारा सेलऊडले भनिन्, “शताब्दीको अन्त नजिकिंदै जाँदा मानिसहरूले जीवनको उद्देश्य वास्तवमा के हो भनेर सोच्न थालेका छन्।” त्यसो हो भने, विश्व मानचित्र तथा भूगोलसम्बन्धी पुस्तकहरूमा चाहिं किन १८५ प्रतिशत वृद्धि भएको नि? तिनको भनाइअनुसार हुनसक्छ, तिनीहरूले आफ्नो “ध्यान रमाइला कुराहरूमा लगाउन खोजिरहेका छन्।”
युरोपमा धार्मिक स्वतन्त्रता हनन
अन्तरराष्ट्रिय हेल्सिंकी संघले “१९ वटा युरोपेली मुलुकहरूलाई धार्मिक स्वतन्त्रता हनन गरेको आरोप लगाएको छ” भनी क्याथोलिक इन्टरनेशनल रिपोर्ट गर्छ। त्यस फेडरेशनकाअनुसार विशेष गरी अर्थोडक्स राष्ट्रहरूले अल्पसंख्यक धार्मिक समूहहरूलाई दबाब दिइरहेका छन्। त्यसबाहेक, “परम्परागत विश्वासहरू बलियो पारेर [यहोवाका साक्षीहरूजस्ता] साना समूहहरूलाई निषेध गर्ने नियम” केही युरोपेली युनियनका सदस्यहरूले “पारित गरिरहेका” कुरा त्यस पत्रिकाले उल्लेख गऱ्यो। उक्त फेडरेशनका निर्देशक एरोन रोड्सले अझ यसो भने: “पश्चिमी समाजहरूले साना धार्मिक समूहहरूलाई दबाउनुबाट के प्रस्ट हुन्छ भने, तिनीहरू ‘साम्प्रदायिक दंगा’ होला भनेर डराएका छन्। सबैको नैतिक मूल्य तथा मान्यताहरू भनेको धार्मिक स्वतन्त्रताको भाग हो र त्यसलाई एक समान मान्यता दिनुपर्छ भनेर जन समुदायले नबुझेसम्म परिस्थिति झन् झन् नाजुक हुनेछ।”
विश्वव्यापी अधिकतम तापक्रम वर्ष
सन् १८६० पछि सबैभन्दा गर्मी वर्ष १९९८ थियो भनी साइन्स न्यूज रिपोर्ट गर्छ। पृथ्वीको सतहको मध्यमान तापक्रम सन् १९६१ तथा १९९० बीच सरदर तापक्रमभन्दा ०.५८ डिग्री सेल्सियसले बढेको अनुमान गरिएको छ। त्यो पत्रिका यसो भन्छ, “वातावरणविद्हरू ०.०१ डिग्री मात्र वृद्धि हुँदा पनि चिन्तित हुन्छन्। त्यसैले गत वर्षको तापक्रम त हिमालको चुचुरो जत्तिकै भयो।” त्यस रिपोर्टले देखाएअनुसार सातवटा सबैभन्दा गर्मी वर्षहरू सन् १९९० पछिका थिए भने सबैभन्दा गर्मी दसवटा वर्षहरू १९८३ पछिका हुन्। सं. रा. राष्ट्रिय सामुन्द्रिक तथा वातावरणीय प्रशासनका जोनाथन ओभरपेकअनुसार विगतका दुई दशकहरू बितेका १,२०० वर्षहरूमध्ये सबैभन्दा गर्मी वर्ष होलान्। विश्व हावापानी संघले रिपोर्ट गरेअनुसार युरोपको उत्तरी भाग तथा एसिया मात्र यसको चपेटामा परेन। संयुक्त राज्यको दक्षिणी भागमा अचाक्ली गर्मी बढ्यो र रूसको मध्यभागमा जून महिनाको तातो बाफले मर्नेहरूको संख्या १०० भन्दा धेरै थियो र धेरै ठाउँमा आगलागी भयो।
नयाँ ‘शीतयुद्ध’
“स्लोभेनियालीहरूले विभिन्न प्रकार र स्वादका आइसक्रिमहरू किन्न हतार गर्न थालेपछि त्यहाँका पसलेहरूले आफ्ना फ्रिजहरू आइसक्रिमले टन्न भर्ने प्रयास गरिरहेका छन्” भनी ल्युब्लीआनाको डेलो नामक अखबार रिपोर्ट गर्छ। उक्त अखबारअनुसार स्लोभेनियालीहरूले आइसक्रिम एकदमै मनपराउन थालेका छन् र त्यहाँका आइसक्रिम उत्पादकहरूको वार्षिक बिक्रिमा २२ प्रतिशत वृद्धि भयो। यसै गतिमा वृद्धि हुँदै जाने हो भने त्यस देशको वार्षिक प्रति व्यक्ति ४.३ लिटर आइसक्रिम खपत बढेर पश्चिमी युरोपको सरदर ५.५ लिटरलाई समेत उछिन्ने छाँटकाँट देखिन्छ। तथापि, युरोपमा अझै पनि स्वीडेनीहरूलाई कसैले पनि उच्छिन्न सकेको छैन। बजार व्यवस्थापन समूह युरोमनिटरअनुसार हरेक वर्ष स्वीडेनमा प्रतिव्यक्ति १६ लिटर आइसक्रिम
खपत हुन्छ। विश्वव्यापी तवरमा हेर्ने हो भने अमेरिकीहरू सबैभन्दा अगाडि छन् र तिनीहरू हरेक वर्ष प्रतिव्यक्ति २० लिटर आइसक्रिम खाने गर्छन्।“नदेखिने रोग”
वातावरण समाचार सेवा यस्तो रिपोर्ट गर्छ, “विकासोन्मुख देशहरूमा अनुमानित १ करोड ५० लाखदेखि १ करोड ८० लाख केटाकेटीहरूको रगतमा सिसाको मात्रा बढी भएको पाइयो। उदाहरणका लागि, भारतमा केटाकेटीहरूको बौद्धिक क्षमतालाई तिनीहरूको शरीरमा भएको सिसाको मात्राले असर गरेको पत्तालाग्यो। डा. अब्राहाम जर्जअनुसार केटाकेटीहरू धेरै समयसम्म “पेट्रोलियम पदार्थको सम्पर्कमा आउँदा . . . तिनीहरूको बौद्धिक क्षमतामा ह्रास आउँछ” भनेर दी इन्डियन एक्सप्रेस रिपोर्ट गर्छ। भारतीय शहरहरूमा अझ पनि सिसा मिसिएका पेट्रोलियम पदार्थहरूद्वारा चल्ने गाडीहरूले गर्दा यस्तो असर परिरहेको हो। गरिबी तथा भोकमरीले जत्तिको सिसाको विषले मानिसहरूमा पार्ने असरले तुरुन्तै मानिसहरूको ध्यानाकर्षण नगर्ने हुँदा यसलाई डा. जर्ज “नदेखिने रोग” भन्छन्।
पानीको अझ बढी चिन्ता
न्यु साइन्टिस्ट पत्रिका यसो भन्छ, “हामीले पिउने पानीमा कीटनाशक औषधीहरू मात्र होइन तर अहिले त पूरा पानीनै औषधीहरूले भरिएकोजस्तो पो देखिन्छ।” औषधीहरूका स्रोत थुप्रै छन्। कहिलेकाहीं नचाहिने औषधीहरू शौचालयमा खन्याइन्छ। साथै, पिसाबबाटै पनि औषधीहरू शरीरबाट निष्कासन हुन्छन्। रोयल डेनिश स्कूल अफ फार्मेसीका बेन्ट हेलिङ्शोरेन्सेन भन्छन्, “मानिस तथा जन्तुहरूले प्रयोग गर्ने ३० देखि ९० प्रतिशत एन्टिबायोटिकहरू पिसाबबाट निस्कन्छ।” किसानहरूले जनावरका पिसाब तथा गोबर आफ्ना खेतहरूमा प्रयोग गर्ने गर्छन्। औषधीहरू वातावरणमा मिसिंदा पहिलाकै अवस्थामा हुनसक्छन् वा मानिसको शरीरमा पुगेर अनेकन प्रक्रियापछि पहिलेको औषधीभन्दा बढी सक्रिय वा विषाक्त हुनसक्छन् र पानीमा पनि सजिलै मिसिने खालको हुनसक्छ। “औषधीहरू पानीमा हुने ती थुप्रै रासायनिक पदार्थहरूमध्ये एक हो जसलाई हामी ख्यालै गर्दैनौं” भनेर बेलाइतको वातावरण एजेन्सीका स्टीभ किलीनले बताए।
बाल दुर्व्यवहारप्रति सजगता बढिरहेको हो?
कारकासको अखबार एल युनिभर्सल-अनुसार भेनेजुएलामा १९८० मा १० मध्ये १ जना बच्चामाथि यौन दुर्व्यवहार हुन्थ्यो भने अहिले १० मध्ये ३ जना माथि त्यसो हुने गर्छ। सन् १९८० मा बाल दुर्व्यवहार हुने केटाकेटीहरूको सरदर उमेर १२ र १४ वर्षबीचको थियो। अहिले धेरैजसो ३ वर्षमुनिका केटाकेटीहरू छन्। यस्तो भयंकर अपराध गर्नेहरू प्रायजसो को हुन्? स्कूल वरपर बच्चाहरूलाई चकलेट दिएर फकाइफुस्लाइ त्यस्तो दुर्व्यवहार गर्ने नियतले घुमिरहने अपरिचित मानिसहरू त्यसका दोषीहरू हुन् भन्ने विचारधारा अलि ठीक कुरा होइन। एल युनिभर्सल-ले वर्णन गरेअनुसार ७० प्रतिशत दोषीहरू आफ्ना नातेदार वा पारिवारिक मित्रहरू नै हुन्छन्। त्यसमध्येका आधाभन्दा धेरै सौतेला आमाबाबुहरू हुन्छन्। अनि बाँकीहरू चाहिं तिनीहरूको रेखदेख गर्ने अख्तियारवालाहरू जस्तै दाजु, नाता पर्ने वा शिक्षकहरू हुनसक्छन्।
शैक्षिक संकट
“विकासोन्मुख मुलुकहरूमा शैक्षिक संकट देखा परिरहेको छ। किनभने यी मुलुकहरूका १२ करोड ५० लाख बालबालिकाहरूमध्ये प्रायजसो बालिकाहरूले स्कूलमा पढ्न पाएका छैनन् अनि १५ करोडले पढ्न र लेख्न नसिक्दै स्कूल छोड्छन्” भनी इङ्गल्याण्डको न्यूज अनलिमिटेड रिपोर्ट गर्छ। हाल विकासोन्मुख देशहरूमा एक चौथाइ वयस्क अर्थात् ८७ करोड २० लाख मानिसहरू अशिक्षित छन्। यसबाहेक, यस्तो शैक्षिक संकटमा परेका अनि असाक्षरता दर बढी भएका मुलुकहरूले धनी राष्ट्रहरूबाट ऋण लिंदा समस्या झनै नाजुक हुन्छ। किन? किनभने शैक्षिक क्षेत्रका लागि अत्यावश्यक परेका रकमहरू ऋण चुक्ता गर्नमै प्रायजसो प्रयोग हुन्छ। तसर्थ, असाक्षरताको चक्र चलिरहन्छ र गरिबी झनै अकासिन्छ।