सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

इन्टरनेटका खतराहरूदेखि म कसरी जोगिनसक्छु?

इन्टरनेटका खतराहरूदेखि म कसरी जोगिनसक्छु?

युवा जनहरू सोध्छन्‌ . . .

इन्टरनेटका खतराहरूदेखि म कसरी जोगिनसक्छु?

कल्पना गर्नुहोस्‌, तपाईं संसारको सबैभन्दा ठूलो पुस्तकालयमा हुनुहुन्छ। लगभग सबै विषयमा हरेक प्रकारका पुस्तक, खबरकागज, सूची, चित्र र क्यासेटहरू तपाईंको वरिपरि छ। सबै नयाँ जानकारीका साथै बितेका शताब्दीका थुप्रै साहित्यहरू तपाईंले सजिलै पाउनसक्नुहुन्छ।

इन्टरनेट तपाईंलाई सजिलैसित यस्तो जानकारी हासिल गर्न सक्ने स्रोत हुनसक्छ। यसद्वारा मानिसहरूले आफ्नो कम्प्युटरअघि बसेर संसारको कुनै पनि ठाउँका कम्प्युटर वा कम्प्युटर चलाउने व्यक्‍तिसँग जानकारी आदानप्रदान गर्न सक्छन्‌। a यसद्वारा कम्प्युटर चलाउने व्यक्‍तिले आफ्नै घरमा बसेर किनमेल गर्न, बैंकको कारोबार गर्न, कुराकानी गर्न र नयाँ गीत सुन्‍न सक्छन्‌।

अतः केही विशेषज्ञहरूले यस वर्षको अन्तसम्ममा ३ करोड २० लाख मानिसले इन्टरनेट चलाउनेछन्‌ भनेर पूर्वानुमान गर्नु कुनै अचम्मको कुरो होइन। यसप्रकार, इन्टरनेट चलाउनु संसारका थुप्रै ठाउँहरूमा सामान्य कुरा हुँदै गइरहेको छ। स्कूल र पुस्तकालयहरूले इन्टरनेटको प्रयोगलाई बढावा दिएकाले लाखौं जवानहरूले पनि त्यसको प्रयोग गर्न थालेका छन्‌। संयुक्‍त राज्यमा १२ देखि १९ वर्षबीचका झन्डै ६५ प्रतिशत जवानहरूले पहिलादेखि नै इन्टरनेट चलाउँदै आएका छन्‌ अथवा त्यसको ग्राहक बनेका छन्‌।

इन्टरनेटको सदुपयोग गरेमा त्यसबाट मौसम, यात्रा र अरू विषयहरूमा मदतकारी जानकारी पाउनसकिन्छ। त्यसको माध्यमबाट तपाईंले पुस्तक, मोटरका पुर्जा र अरू थोकहरू किन्‍नसक्नुहुन्छ। थुप्रैले स्कूलकार्यको लागि त्यसको प्रयोग गर्छन्‌।

इन्टरनेट उपयोगी भए तापनि त्यो पुस्तकाध्यक्ष अथवा रेखदेख गर्ने कोही पनि नभएको पुस्तकालय जस्तै हुनसक्छ। अतः जसले पनि आफ्नो इच्छाअनुसार इन्टरनेट ब्राउज गर्नसक्छ। तर यसो गर्नु इन्टरनेटको एउटा सबैभन्दा ठूलो खतरा हो। किन? किनकि अनगिन्ती वेब साइटहरूमा नैतिकता र आध्यात्मिकतलाई बिगार्ने विषयवस्तुहरू हुन्छन्‌। तसर्थ, इन्टरनेटले जवान मसीहीहरूलाई प्रलोभनमा पार्नसक्छ। आखिर, मानिसहरूमा स्वभावैले सबै कुरा जान्‍ने कुतूहल हुन्छ। मानिसहरूको यही मनोवृत्तिको दियाबल अर्थात्‌ शैतानले धेरै समयअघिदेखि फाइदा उठाउँदै आएको छ। शैतानले हव्वाको कुतूहलताको फाइदा उठाएर ‘आफ्नो छलले छकायो।’—२ कोरिन्थी ११:३.

त्यस्तै गरी, कुनै जवान मसीही आफ्नो आध्यात्मिकतालाई सुरक्षित राख्न संकल्पित छैन भने अस्वस्थकर जानकारीले तिनलाई सजिलैसित छक्याउनसक्छ। सुन्दर घर अनि बगैंचा (अंग्रेजी) पत्रिकाको एउटा लेखमा यस्तो लेखिएको थियो: “इन्टरनेट एउटा यस्तो रोमाञ्चक ठाउँ हो जहाँ हर क्षेत्रका उत्तम अग्रणीहरूले नयाँ जानकारी दिन्छन्‌ तर यो, बाल यौनदुराचारी, ठग, हठधर्मी, अनैतिक मानिसहरू खुलेआम डुल्ने ठाउँ पनि हो।”

हेभ्येर b नाउँ गरेको युवक यसो भन्छन्‌: “कुनै कुनै वेब साइटहरू निम्न स्तरका हुन्छन्‌। कुनै संकेतै नदिई ती फ्याट्टै तपाईंको स्क्रिनमा देखापर्छन्‌।” तिनी अझ यसो भन्छन्‌: “यस्ता वेबसाइटहरू तपाईंलाई प्रलोभनमा पारेर पैसा थुत्ने खालका हुन्छन्‌।” जोन नाउँ गरेको मसीही युवक यसरी स्वीकार्छन्‌: “अनुचित विषयवस्तु हेर्न थालेपछि छोड्‌न गाह्रो पर्छ। त्यसले तपाईंलाई लग्गू बनाउँछ।” केही जवान मसीहीहरूले यस्ता अस्वास्थ्यकर वेब साइटहरू पटक पटक खोलेर हेर्ने गरेकोले गम्भीर समस्याहरूमा फसेका छन्‌। कसैले त यहोवासितको सम्बन्धसमेत बिगारेका छन्‌। यसबाट कसरी जोगिन सकिन्छ त?

“कामलाग्दा छन्‌ कि छैनन्‌ विचार गरेर”

कहिलेकाहीं वेब साइटको ठेगानाले नै साइटमा हेर्न नहुने विषयवस्तु छ वा छैन, स्पष्ट संकेत दिएको हुन्छ। c हितोपदेश २२:३ यस्तो चेताउनी दिन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।”

तथापि, समस्या के छ भने, सामान्यतया मानिसहरू चालै नपाई आपत्तिजनक साइटहरूमा पुगिरहेका हुन्छन्‌। होम पेजमा सनसनीपूर्ण चित्रहरू हुनसक्छ, जुन तपाईंलाई बारम्बार साइट खोल्न लोभ्याउने किसिमले होसियारीसाथ बनाइएका हुन्छन्‌! d

आफ्नो साथीलाई के भयो भनेर केभन यसरी बताउँछन्‌: “ऊसँग फाल्तु समय पनि निकै भएको अनि बानी पनि जे पायो त्यही खोलेर हेरिहाल्ने किसिमको हुनाले चाँडै तिनलाई अश्‍लील चित्रहरू हेर्ने कुलत लाग्यो।” खुसीको कुरा, यस मसीही युवकले प्राचीनसँग भेटेर मदत पाए।

तपाईं पनि यस्तै साइटमा एक्कासी पुग्नुभयो भने के गर्ने भनेर के तपाईंले संकल्प गरिसक्नुभएको छ? मसीहीले के गर्नुपर्छ भन्‍ने कुरा स्पष्ट छ। त्यो हो, तुरुन्तै साइट बन्द गर्ने वा इन्टरनेट ब्राउजर नै बन्द गर्ने! भजनरचयिताजस्तै हुनुहोस्‌, जसले यसरी प्रार्थना गरे: “व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्‌।” (भजन ११९:३७; अय्यूब ३१:१ तुलना गर्नुहोस्‌।) नबिर्सनुहोस्‌, त्यहाँ अरू कोही देख्ने मानिस नभए तापनि हामीलाई त्यत्तिकै रेखदेखबिनै छाडिएको छैन। “उहाँको नजरको सामने सब कुराहरू स्पष्ट र खुला राखिएका छन्‌” भनेर बाइबल हामीलाई बताउँछ।—हिब्रू ४:१३.

तपाईंको मुमाबुबा वा अरू परिपक्व मसीहीहरूसित कुरा गर्नाले अस्वास्थ्यकर साइटहरू फेरि नहेर्ने तपाईंको संकल्प बलियो हुनसक्छ। आखिर, के तपाईं दलदलमा फस्दा घाँटीसम्म नडुबेसम्म मदत नमागी आफै संघर्ष गरेर बसिरहनुहुन्छ र?

इन्टरनेटको माध्यमद्वारा गरिने सरसंगत नि?

च्याटको माध्यमद्वारा सारा संसारभरि इन्टरनेट चलाउने व्यक्‍तिहरू एकअर्काको सम्पर्कमा आउन सक्छन्‌। व्यापारीहरू सम्मेलन र ग्राहकहरूलाई सेवा प्रदान गर्न त्यसको प्रयोग गर्छन्‌। केही च्याट रूमहरूले मोटर मरम्मत कार्य अथवा कम्प्युटर प्रोगामिङजस्ता प्राविधिक विषयहरूबारे जानकारी आदानप्रदान गर्न मदत गर्छन्‌। कुनै कुनै च्याटको माध्यमद्वारा लामो दूरीमा भएका साथी तथा परिवारका सदस्यहरूले टेलिफोन खर्चबिनै एकअर्कासित कुराकानी गर्नसक्छन्‌। च्याटरूमको वैध प्रयोग भए तापनि के त्यसका कुनै खतराहरू छैनन्‌ त?

सार्वजनिक च्याट रूम प्रयोग गर्दा एकदमै होसियार हुनु आवश्‍यक छ किनभने त्यसमा केही खतराहरू हुनसक्छन्‌। लेखक लेआ रोजन यसो भन्छिन्‌: “नयाँ नयाँ प्रविधि जान्‍न मनपराउने किशोरकिशोरीहरू कम्प्युटरमार्फत देशविदेशका अपरिचित मानिसहरूसित समेत घण्टौं कुरा गर्छन्‌। दुःखको कुरा, किशोरकिशोरीहरूसित कुरा गर्ने यस्ता केही अपरिचित मानिसहरू केटाकेटीसित यौन सम्बन्ध राख्न खोजिरहेका यौन विकृत वयस्कहरू पनि हुनसक्छन्‌।” पपुलर मेकानिक्स-को एउटा लेखले सार्वजनिक च्याट रूमहरूको प्रयोग गर्दा “एकदमै होसियार हुनुपर्छ” भनेर चेताउनी दियो। अपरिचित व्यक्‍तिलाई आफ्नो नाउँ र ठेगाना दिनु भनेको गम्भीर समस्यालाई निम्त्याउनु हो! त्यसैले, बेकारमा त्यस्तो खतरा किन मोलिरहने?

तथापि, चालै नपाई आइपर्ने खतरा त के हो भने, बाइबलका सिद्धान्तहरूको आदर नगर्ने अपरिचित व्यक्‍तिहरूसित गलत संगतको पासोमा पर्न सकिने सम्भावना हुन्छ। e अनुसन्धानकर्ताहरूले बताएअनुसार किशोरकिशोरीहरूले यस्ता च्याटरूमहरूमा प्रायःजसो यौन विषयहरूमै कुरा गरिरहेका हुन्छन्‌। त्यसैकारण, १ कोरिन्थी १५:३३ मा बाइबलले दिएको यो सल्लाह उपयुक्‍त छ: “नठगियौ, खराब सङ्‌गतले भला चाल-चलनलाई बिगार्दछ।” कम्प्युटर माध्यमद्वारा राखिने खराब संगतहरू पनि खतरनाक छन्‌। के ईश्‍वरीय भय राख्ने जवानहरूले लापरवाही भएर यस्ता खतराहरू मोल्नु हुन्छ त?

सुरक्षा

इन्टरनेटका खतराहरूलाई ध्यानमा राख्दै होसियारीसाथ त्यसको प्रयोग गर्नुपर्छ। उदाहरणका लागि, केही परिवारहरूले कम्प्युटरलाई बैठक कोठाजस्तो सबैजना ओहोरदोहर भइरहने ठाउँमा राख्छन्‌। सबै जना घरमा हुँदा मात्र इन्टरनेट चलाउने भन्‍ने जस्ता नियम पनि तिनीहरूले बनाउनसक्छन्‌। तपाईंको मुमाबुबाले यस्ता रोक लगाउनुभयो भने सहयोग गर्नुहोस्‌। (हितोपदेश १:८) उहाँहरूले दिनुहुने स्पष्ट निर्देशनहरू प्रेमको प्रमाण हुन्‌।

स्कूलको कामको लागि इन्टरनेट चलाउनुपर्छ भने त्यसमा कति समय खर्चहुँदो रहेछ भनेर रेकर्ड राखे कसो होला? कति समय बिताउने भनेर पहिल्यै तोक्ने कोसिस गर्नहोस्‌। घन्टी दिने घडीमा समय मिलाए पनि भो। टम यस्तो सुझाउ दिन्छन्‌: “पहिल्यै योजना बनाउनुहोस्‌, इन्टरनेटमा के खोज्ने निर्णय गर्नुहोस्‌ र अरू विषयहरू जत्ति नै चाखलाग्दो देखिए तापनि त्यसैमा लागि रहनुहोस्‌।”

ई-मेल चलाउनुहुँदा पनि उत्तिकै होसियार हुनुपर्छ। अनावश्‍यक मात्रामा तीन थुप्रो ई-मेलहरू पढ्‌ने पासोमा नफस्न पनि मसीही युवकयुवतीहरू होसियार हुन्छन्‌। विशेष गरी, त्यो जानकारी अनावश्‍यक र निराधार छ भने झनै होसियार हुनुपर्छ। ई-मेलको अत्यधिक प्रयोग गर्दा स्कूलकार्य र आध्यात्मिक क्रियाकलापको लागि चाहिने समय खेर जानसक्छ।

राजा सुलेमानले यसो भने: “पुस्तकहरूको उपयोगको केही अन्त छैन, औ धेरै अध्ययनले थकाउँछ।” (उपदेशक १२:१२) इन्टरनेटको सन्दर्भमा पनि यी शब्दहरू राम्ररी लागू गर्नसकिन्छ। बाइबलको व्यक्‍तिगत अध्ययन र मसीही सेवकाईलाई नै बेवास्ता गर्ने गरी तथ्य कुरा र जानकारी खोज्न व्यस्त नहुनुहोस्‌। (मत्ती २४:१४; यूहन्‍ना १७:३; एफिसी ५:१५, १६) यो पनि याद राख्नुहोस्‌, कम्प्युटरको माध्यमद्वारा कुराकानी गर्नु गलत नभए तापनि सँगी मसीहीहरूसित आमनेसामने कुराकानी गर्नु नै सबैभन्दा राम्रो हो। यसकारण, तपाईंले साँच्चै इन्टरनेटको प्रयोग गर्नुपर्छ भने त्यसलाई बुद्धिमानीसाथ चलाउने दृढ संकल्प गर्नुहोस्‌। खतरनाक वेब साइटहरूदेखि टाढै रहनुहोस्‌ अनि इन्टरनेटमा अत्यधिक समय खेर नफाल्नुहोस्‌। “आफ्नो हृदयलाई सुरक्षित” राख्नुहोस्‌ र इन्टरनेटको दास कहिल्यै नबन्‍नुहोस्‌।—हितोपदेश ४:२३.

[फुटनोटहरू]

a अगस्त ८, १९९७, ब्यूँझनुहोस्‌! अंकको “इन्टरनेट—के तपाईंको लागि उपयुक्‍त छ?” श्रृंखला हेर्नुहोस्‌।

b केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

c वेब साइटको ठेगाना भनेको अक्षरहरू हुन्‌ जसद्वारा तपाई वेब साइटमा पुग्न सक्नुहुन्छ। कहिलेकाहीं वेबसाइट ठेगानाहरूमा कस्तो साइट छ भनेर संकेत दिने शब्दहरू हुन्छन्‌।

d होमपेजलाई पसलभित्र सामान सजाएर राख्ने सडकछेवैको ठूलो झ्यालसँग तुलना गर्न सकिन्छ। पसलभित्र के के छ, झ्यालमा सजाएर राखिएको सामानबाट जान्‍न सकिएजस्तै साइटमा के छ, त्यसलाई कसले राखेको हो अनि यस्तै अरू विषयहरूमा होमपेजले जानकारी दिन्छ।

e आध्यात्मिक कुराहरू छलफल गर्ने राम्रै मनसायले मसीहीहरूले स्थापित गरेको च्याट रूममा पनि यस्ता खतराहरू हुनसक्छन्‌। बेईमान मानिस र धर्मत्यागीहरूले यस्ता छलफलहरूमा भाग लिएर अरूलाई आफ्ना गैरशास्त्रीय धारणाहरू स्वीकार्न लगाउने धूर्त प्रयासहरू गरेका छन्‌।

[पृष्ठ २०-मा भएको ठूलो अक्षरको क्याप्सन]

“कुनै कुनै वेब साइटहरू निम्न स्तरका हुन्छन्‌। कुनै संकेतै नदिई ती फ्याट्टै तपाईंको स्क्रिनमा देखापर्छन्‌”

[पृष्ठ २१-मा भएको चित्र]

केही परिवारले कम्प्युटरलाई सबैजना ओहोरदोहोर भइरहने ठाउँमा राख्छन्‌