सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनका अद्‌भुत रचनाहरूको नकल गर्दै

जीवनका अद्‌भुत रचनाहरूको नकल गर्दै

जीवनका अद्‌भुत रचनाहरूको नकल गर्दै

टुकुटुकु हिंड्‌ने बच्चाहरू अचानक लडेर टाउको ठोक्काउँछन्‌। अलि ठूला केटाकेटीहरू रूखबाट खस्छन्‌ अनि साइकलबाट लड्‌छन्‌। खेलाडीहरू खेल मैदानमा एकअर्कासित ठक्कर खान्छन्‌। गाडीमा यात्रा गर्नेहरू अनेकन्‌ सडक दुर्घटनामा पर्छन्‌। तर यसरी लडेर, ठोक्किएर अनि ठक्कर खाएर पनि हामीलाई अक्सर ठूलो चोटपटक लाग्दैन। हामी आफ्नो शरीरको सहनशक्‍ति र प्रतिरोधात्मक शक्‍तिको त्यति मूल्यांकन गर्दैनौं। तर वैज्ञानिकहरूले हाम्रो हड्डीदेखि लिएर छालासम्मका पत्ता लगाएका कुराहरूले के देखाउँछ भने, हामी साँच्चै अद्‌भुत ढंगमा बनिएका छौं।

प्रकृतिमा बल र सहनशक्‍तिको अनौठो मिश्रण पाइन्छ। जस्तै, कलिला अनि नाजुक बिरुवाहरू चर्किएको कंक्रिट र चट्टानबाट बाहिर निस्किन्छन्‌ अनि बढ्‌दै बढ्‌दै ठूलो रूख हुँदै जाँदा त्यसले चर्केका ठाउँहरू अझै चर्काउँछन्‌। रूखहरूले, बिजुलीका खम्बाहरूलाई ढलाउनसक्ने अनि घरहरू भताभुंग बनाउनसक्ने बतास थाम्नसक्छन्‌। कठफोरा जस्ता चराहरूले आफ्नो टाउकोको बलले ठुंगेर रूखमा प्वाल पार्छन्‌। साधारण प्राणीहरूले पनि त्यस्तै शक्‍ति प्रयोग गर्नु हो भने त कुनै पनि गिदी लेदोमा परिणत हुनसक्छ। घडियाल र गोहीहरूको छालालाई भाला, काँड र गोलीले समेत छेंड्‌नसक्दैन। (अय्यूब ४१:१, २६ तुलना गर्नुहोस्‌।) यस्ता तथ्यहरूले हजारौं वर्षदेखि मानिसहरूलाई चकित र अलमल्लमा पारेका छन्‌।

गत ४० वर्षमा प्राविधिक क्षेत्रमा भएका ठूलठूला प्रगतिहरूले गर्दा वैज्ञानिकहरूले यस्ता रचनामा छिपेका रहस्यहरूबारे अध्ययन गर्न शक्‍तिशाली नयाँ उपकरणहरू प्रयोग गर्न सकेका छन्‌। ती रहस्यहरू विशेष गरी जीवित कोशिकाभित्र छिपेका हुन्छन्‌। ती सूक्ष्म रहस्यमय रचनाको जटिलता अत्यन्तै रोमाञ्चकारी तथा उदेकलाग्दो छ। तथापि, विज्ञानको लक्ष्य प्रकृतिका उल्लेखनीय कुराहरूका रहस्यहरू प्रकट गर्नु मात्र होइन तर त्यसको सिद्धान्त मात्र भए पनि नकल गर्नु हो। विज्ञानको यो क्षेत्र यति आकर्षक छ कि यसले गर्दा बायोमिमेटिक्स्‌ भनिने नयाँ विज्ञानको सुरुआतसमेत भएको छ। बायोमिमेटिक्स्‌, युनानी शब्द बायस अर्थात्‌ “जीवन” र मिमेसिस अर्थात्‌ “नकल”-बाट लिइएको हो।

बायोमिमेटिक्स्‌ उत्तम संसार बनाउने प्रतिज्ञा गर्छ

बायोमिमेटिक्स्‌: रचना र सामग्रीहरूको प्रणाली पुस्तकअनुसार “बायोमिमेटिक्स्‌ भनेको जैविक रचना [र] त्यसका कार्यहरूको अध्ययन हो।” यो अध्ययनको उद्देश्‍य ‘नयाँ धारणाहरू उत्प्रेरित गरेर ती धारणाहरूबाट जैविक प्रणालीजस्तै सिन्थेटिक प्रणाली विकास गर्नु हो’ भनेर पनि उक्‍त पुस्तक बताउँछ।

वैज्ञानिक स्टिफन वेनराइटअनुसार “बायोमिमेटिक्स्‌ले आणविक जीवविज्ञानलाई ओझेलमा पार्नेछ र यो २१ औं शताब्दीको सबैभन्दा चुनौतीपूर्ण र महत्त्वपूर्ण जैविक विज्ञान हुनेछ।” प्राध्यापक मेमेत सारीकाया यस्तो दाबी गर्छन्‌: “हामी भौतिक कुराहरूको क्रान्ति हुनै लागेको समयमा बाँचिरहेका छौं। यो क्रान्ति फलामे युग र औद्योगिक क्रान्ति जस्तै हुनेछन्‌। हामी भौतिक कुराहरूको नयाँ युगतर्फ लम्किरहेकाछौं। मलाई लाग्छ, अर्को शताब्दीसम्ममा बायोमिमेटिक्स्‌ले हाम्रो जीवनशैलीमा आमूल परिवर्तन ल्याउनेछ।”

वास्तवमा हामीले हेर्दै गयौं भने यसले अहिले नै हाम्रो संसारलाई परिवर्तन गर्न सुरू गरिसकेको पाउनेछौं। तर आउनुहोस्‌, पहिला हामीलाई थाहै नभएका अनि वैज्ञानिकहरूले अध्ययन गरिरहेका उदेकलाग्दा कुराहरूलाई छोटकरीमा हेरौं। हामी “रचना” शब्दका गम्भीर अर्थहरू जाँच्नेछौं अनि त्यसले हामी वरपरको अद्‌भुत संसारलाई कसरी अर्थपूर्ण बनाउँछ भनेर पनि हेर्नेछौं।