महान् रचनाकार प्रकट गरियो
महान् रचनाकार प्रकट गरियो
प्रकृतिका पानाहरूले रचनाकार अर्थात् सृष्टिकर्ताको परिचय दिन्छन् भनेर थुप्रै वैज्ञानिकहरूले समेत मानि लिन्छन्। धेरै समयअघि मसीही प्रेरित पावलले परमेश्वरको “अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ” भनेर लेखे। (रोमी १:२०) तर प्रकृतिका पानाहरूमा परमेश्वर र उहाँको इच्छाबारे सबै कुरा बताइएका छैनन्। उदाहरणका लागि, त्यसले जीवनको उद्देश्यबारे बताउँदैन। धन्य सृष्टिको ग्रन्थकारले अर्को पुस्तक अर्थात् उहाँको प्रेरित वचन बाइबलमा आफूलाई प्रकट गर्नुभएको छ।—२ तिमोथी ३:१६.
बाइबल, विज्ञानको पुस्तक नभए तापनि यसले प्राकृतिक संसारलाई थाह नभएका सबै महत्त्वपूर्ण प्रश्नहरूको जवाफ दिन्छ। त्यसले कुनै प्रतिभाशाली काम देख्नेबित्तिकै धेरैजसो मानिसले सोध्ने प्रश्नको जवाफ दिन्छ र त्यो प्रश्न हो, त्यसलाई कसले बनायो? सृष्टिको प्रकाश ४:११ मा के भन्छ, ध्यान दिनुहोस्: “हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।” हो, महान् रचनाकार यहोवा परमेश्वर हुनुहुन्छ र उहाँको नाउँ बाइबलको मौलिक हस्तलिपिहरूमा लगभग ७,००० पटकसम्म लिपिबद्ध गरिएको पाइन्छ।
सन्दर्भमा बाइबललेहाम्रो वैज्ञानिक युगको लगभग ३,५०० वर्षअघि अय्यूब नाउँ गरेका एक व्यक्ति थिए जसले यहोवाको नाउँलाई सृष्टिसित जोडे। तिनी प्रकृतिलाई राम्ररी नियाल्ने विचारशील पुरुष थिए। अय्यूबले यसो भने: “गएर गाई–वस्तुहरूलाई आज्ञा दिनुहोस्, तपाईंहरूलाई जनाउनलाई आकाशका पक्षीहरूलाई भन्नुहोस्, अथवा तपाईंहरूलाई सिकाइदिन घस्रने जन्तुहरूलाई र तपाईंहरूलाई शिक्षा दिन समुद्रका माछाहरूलाई अह्राउनुहोस्।” यी सबैले सृष्टिबारे के सिकाउँछन्? अय्यूब यस्तो प्रश्न गरेर जवाफ दिन्छन्: “परमप्रभुको आफ्नै हातले यी सबै गर्नुभएको हो भनी यी सबैबाट कसले सिक्नसक्तैन?”—अय्यूब १२:७-९.
मानिसजातिको लागि यहोवाको उद्देश्य
यहोवाले मानिसजातिको लागि राख्नुभएको उद्देश्य पनि बाइबलले प्रकट गर्छ। त्यो उद्देश्य के हो? त्यो हो, धर्मी मानिसहरूले यसै पार्थिव प्रमोदवनमा अनन्त जीवनरूपी वरदानको आनन्द उठाऊन्। भजन ३७:२९ भन्छ, “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।” त्यसै गरी, येशूले पनि यसो भन्नुभयो: “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।”—मत्ती ५:५.
साथै, विशेष प्रकारको ज्ञानले गर्दा पृथ्वी सधैंको लागि शान्तिमय प्रमोदवनमा परिणत हुनेछ। यशैया ११:९ यसो भन्छ: “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” भनौं भने, ‘यहोवाको ज्ञान’ नै अनन्त जीवन, शान्ति र आनन्द पाउने कुञ्जी हो। यसो भन्नुहुँदा येशूले उक्त कुरा प्रस्ट पार्नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वर[को], र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्ट[को] [ज्ञान लेऊन्]।”—यूहन्ना १७:३, NW.
अनन्त जीवन पाएपछि मानिसजातिले परमेश्वरको सुरुको उद्देश्यअनुरूपकै पृथ्वीमा आनन्द उठाउन सक्नेछन्। अनि त्यहाँ झर्कोलाग्दो हुनुको सट्टा अनन्त जीवन आविष्कारको रोमाञ्चकारी अभियान र अनन्त आनन्दमय हुनेछ।
रोमाञ्चकारी काम!
उपदेशक ३:११ यसो भन्छ: “[परमेश्वरले] सबै काम त्यसको समयानुकुल बनाउनुभएको छ। त्यसबाहेक उहाँले मानिसलाई बितेको समय र आउने समयको [“अनन्तताको,” NW] चेतना दिनुभएको छ, तर शुरूदेखि अन्तसम्म परमेश्वरको कार्य बुझ्ने-शक्ति दिनुभएको छैन।” “अनन्ततासम्म” अथवा सधैंभरि र पूर्णतया सन्तुष्ट भएर जीउने मानिसको स्वाभाविक इच्छाअनुसार अब चाँडै हामीले ‘शुरुदेखि अन्तसम्म परमेश्वरको कार्य बुझ्ने’ कोसिस गर्नसक्नेछौं। हो, सारा पृथ्वी हाम्रो कक्षा हुनेछ, यहोवा हाम्रो शिक्षक हुनुहुनेछ र जीवन आविष्कारको रोमाञ्चकारी अनन्त यात्रा हुनेछ।
सिद्ध मन र शरीर लिएर प्रमोदवनमा तपाईं बसिरहनुभएको कल्पना गर्नुहोस् त। त्यसबेला तपाईंले अहिले कल्पनासमेत नगर्नुभएका चुनौतीहरूको खुसीसाथ सामना गर्नुहुनेछ। अनि ती चुनौतीहरू पूरा हुन सय वा हजार वर्ष लागे तापनि तपाईंले पक्कै पूरा हुनेछ भनेर ढुक्क हुनसक्नुहुनेछ। सम्भवतः तपाईंले आफ्ना सिद्ध शक्तिहरू चलाएर यहोवाका केही रचनाहरूको अनुकरण गर्नसक्नुहुनेछ। तर त्यसो गर्नुहुँदा तपाईंले हानिकारक र दुषित पार्ने मानिसजातिको अहिलेको प्रयासजस्तो नभई धेरै राम्रो तरिकामा गर्नसक्नुहुनेछ। हो, यहोवालेजस्तै तपाईंले गर्नुहुने हर काम प्रेमले उत्प्रेरित भएको हुनेछ।—उत्पत्ति १:२७; १ यूहन्ना ४:८.
यो एउटा काल्पनिक सपना मात्र होइन भनेर हामीलाई किन थाह छ? कारण हो, यहोवाका दुई अत्युत्तम “पुस्तक”। हो, हाम्रो महान् रचनाकार र सृष्टिकर्ताले सबै कुरा गर्नसक्नुहुन्छ भनेर बाइबल र सृष्टिले अकाट्य प्रमाण दिन्छन्। यसकारण, अहिले नै उहाँ र उहाँको पुत्र येशू ख्रीष्टलाई अझ राम्ररी चिने कसो होला? योभन्दा रोचक, उपयुक्त र राम्रो प्रयास अरू केही पनि छैन।
[पृष्ठ १०-मा भएको चित्र]
बाइबल र प्रकृतिका पानाहरूले महान् रचनाकारबारे बताउँछ