सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

लोकप्रिय चलनहरूप्रति सन्तुलित दृष्टिकोण

लोकप्रिय चलनहरूप्रति सन्तुलित दृष्टिकोण

बाइबलको दृष्टिकोण

लोकप्रिय चलनहरूप्रति सन्तुलित दृष्टिकोण

“सबैजसो चलनहरूलाई कुनै समय कुनै ठाउँमा निन्दा गरिन्छ भने त्यही नै चलन अर्को समय र ठाउँमा अपरिहार्य दायित्त्व मानिन्छ।”

यस्तो टिप्पणी गर्दै आइरिस इतिहासकार विलियम लेक्कीले निचोडमा मानिसहरूको अस्थिर स्वभावबारे बताउँछन्‌। तिनको त्यस टिप्पणी आज हाम्रो समयमा चल्दै आएका चलन तथा परम्पराहरूमा पनि लागू हुन्छ। साँच्चै, कुनै समय दैनिक जीवनमा अत्यन्तै महत्त्वपूर्ण ठानिएका चलन पछि निन्दा गरिएका छन्‌। यो कुनै आश्‍चर्यको कुरा होइन किनभने मसीही प्रेरित पावलले भनेझैं “यस संसारको रूप बितेर जाँदैछ।”—१ कोरिन्थी ७:३१.

हो, मानव समाजमा सधैं परिवर्तनहरू भइरहन्छन्‌। यो अक्सर मानिसहरूको मनोवृत्ति तथा सामाजिक बानीबेहोरामा भएको परिवर्तनबाट स्पष्ट हुन्छ। मसीहीहरू यस “संसारका होइनन्‌” त्यसकारण, तिनीहरू परमेश्‍वरबाट अलग्गिएको मानव समाजको भाग हुनुहुँदैन। तर बाइबलले मसीहीहरू यसै “संसारमा” बस्छन्‌ भनेर पनि स्वीकार्छ र एकलकाँटे होस्‌ भन्‍ने आज्ञा पनि दिएको छैन। त्यसैकारण चलनहरूप्रति सन्तुलित दृष्टिकोण राख्नु अत्यावश्‍यक छ।—यूहन्‍ना १७:११, १४-१६; २ कोरिन्थी ६:१४-१७; एफिसी ४:१७-१९; २ पत्रुस २:२०.

चलनहरू भनेका के हुन्‌?

चलनहरू भनेको सामाजिक जीवनमा लागू हुने रीतिथिति अनि परम्पराहरू हुन्‌ र यो कुनै खास ठाउँ वा वर्गका मानिसहरूसित सम्बन्धित हुन्छ। केही चलनहरू जस्तै, भोजन खानु अघिपछि र खाना खाने बेलाको सामाजिक व्यवहार, मानिसहरूले समूहमा हुँदा गर्नुपर्ने व्यवहारलाई नियन्त्रणमा राख्न र शिष्ट ढंगमा एकअर्कासित आदरपूर्ण व्यवहार गर्न लागू गरेको हुनसक्छ। यस्तो अवस्थामा सामाजिक आचारसंहितालाई तेलसित तुलना गर्न सकिन्छ जसले आपसी मानव सम्बन्ध सुमधुर बनाउन मदत गर्छ।

चलनहरू धेरै हदसम्म धर्मबाट प्रभावित भएका छन्‌। वास्तवमा भन्‍ने हो भने, थुप्रै चलनहरू पुरातन अन्धविश्‍वास र गैरबाइबलीय धार्मिक धारणाहरूबाट उत्पत्ति भएका हुन्‌। उदाहरणका लागि, शोक सन्तप्तहरूलाई फूल दिने चलन धार्मिक अन्धविश्‍वासबाट सुरु भएको जस्तो देखिन्छ। a साथै, सामान्यतया बालकहरूको चिनारी नीलो रंगले प्रेतहरूलाई भगाउँछ भन्‍ने धारणा थियो। अरूको आँखा लाग्ला भनेर मस्कारा लगाइन्थ्यो भने प्रेतहरूले महिलाहरूको मुखमा पसेर तिनीहरूलाई वशमा नपारून्‌ भनेर ओंठमा लाली लगाइन्थ्यो। हाई काढ्‌दा मुख छोप्ने जस्तो सामान्य चलनसमेत मुख ठूलो खोल्दा आफ्नो प्राण बाहिर ननिस्कोस्‌ भनेर गर्न थालिएको हुनसक्छ। तथापि, अहिले वर्षौंपछि यी चलनहरूमा धर्मको कुनै आभास पाइँदैन र आज यी चलन तथा परम्पराहरूको केही धार्मिक महत्त्व छैन।

मसीहीहरूको चासोको विषय

मसीहीहरूले कुनै परम्परा पछ्याउने कि नपछ्याउने भनी निर्णय गर्दा तिनको प्रमुख चासोको विषय बाइबलका परमेश्‍वरको दृष्टिकोणमा आधारित हुनुपर्छ। कुनै कुनै समुदायहरूमा ठीकै मानिएका कतिपय चलनहरूलाई विगतमा परमेश्‍वरले निन्दा गर्नुभयो। ती थिए, बच्चाहरूको बलि चढाउने, रगतको दुरुपयोग तथा विभिन्‍न यौन चलनहरू। (लेवी १७:१३, १४; १८:१-३०; व्यवस्था १८:१०) त्यस्तै गरी आज सामान्य ठानिने कतिपय चलनहरू, बाइबलका सिद्धान्तहरूसित पटक्कै मेल खाँदैनन्‌। त्यसमा केही गैरबाइबलीय चलनहरूसित सम्बन्धित धार्मिक पर्वहरू पर्छन्‌। जस्तै, क्रिसमस र इस्टर वा प्रेतवादसित सम्बन्धित अन्धविश्‍वासी चलनहरू।

तथापि कुनै समय शंकास्पद ठानिने तर आज सामान्य सामाजिक व्यवहार मानिने चलनहरू नि? उदाहरणका लागि, विवाहसित सम्बन्धित औंठी साट्‌ने र केक खाने जस्ता थुप्रै लोकप्रिय चलनहरूको गैरधर्मशास्त्रीय सुरुआत हुनसक्छ। के यसको अर्थ मसीहीहरूले त्यस्ता चलनहरू पटक्कै मान्‍नु हुँदैन? के मसीहीहरूले आफ्नो समुदायमा मनाइने हरेक चलनको कहाँ कतै गैरधर्मशास्त्रीय सम्बन्ध छ कि भनी एक एक गरेर केलाउनु जरुरी छ?

पावल यसो भन्छन्‌, “जहाँ प्रभुका आत्मा हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।” (२ कोरिन्थी ३:१७; याकूब १:२५) परमेश्‍वर हामीले यो स्वतन्त्रता आफ्ना स्वार्थी चाहनाहरूलाई जगाउन होइन तर विवेकलाई सही र गलत छुट्याउन प्रशिक्षण दिन प्रयोग गरेको चाहनुहुन्छ। (गलाती ५:१३; हिब्रू ५:१४; १ पत्रुस २:१६) तसर्थ, बाइबलको सिद्धान्त उल्लंघन नहुने मामिलाहरूमा यहोवाका साक्षीहरूले कुनै कठोर नियमहरू बनाउँदैनन्‌। त्यसको साटो प्रत्येक मसीहीले आफूले सामना गर्नुपरेको परिस्थिति राम्ररी केलाएर व्यक्‍तिगत निर्णय गर्नुपर्छ।

आफ्नो मात्र लाभ नखोज्नुहोस्‌

के यसको अर्थ बाइबलको शिक्षा स्पष्टतः उल्लंघन हुँदैन भने कुनै कुनै चलनहरूमा भाग लिनु सधैं उचित हुन्छ? अहँ, हुँदैन। (गलाती ५:१३) मसीहीहरूले आफ्नो लाभ मात्र होइन तर “धेरैको लाभ” खोज्नुपर्छ भनेर पावलले औंल्याए। मानिसले “परमेश्‍वरकै महिमाको निम्ति” गर्नुपर्छ, अरूको ठेसको कारण हुनु हुँदैन। (१ कोरिन्थी १०:३१-३३) त्यसैकारण, परमेश्‍वरको अनुमोदन खोज्ने व्यक्‍तिले आफूलाई यस्तो प्रश्‍न गर्नुपर्छ: ‘अरू मानिसहरूले त्यस चलनलाई कुन दृष्टिकोणले हेर्छन्‌? के मेरो समुदायले त्यस परम्परालाई शंकास्पद दृष्टिकोणले हेर्छ कि? मैले यस परम्परामा भाग लिंदा परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने विचार वा चलनसित सहमत छु भन्‍ने अर्थ पो दिइरहेको हुन्छ कि?—१ कोरिन्थी ९:१९, २३; १०:२३, २४.

स्थानीय तवरमा मनाइने कुनै कुनै चलन साधारणतया अहानिकारक भए तापनि बाइबल सिद्धान्त विपरीत ढंगमा मनाइन सक्छ। उदाहरणका लागि, कुनै विशेष दिनहरूमा फूल दिंदा बाइबल शिक्षा विपरीत अर्थ लाग्नसक्छ। त्यसो भए मसीहीहरूले चासो राख्नुपर्ने मूल विषय के हो त? कुनै कुनै चलनको सुरुआत कसरी भयो भनी केलाउने ठोस कारण भए तापनि कुनै कुनै अवसरमा आफू बसिरहेको ठाउँमा त्यस चलनले कस्तो अर्थ राख्छ भनी विचार गर्नु बढी महत्त्वपूर्ण हुन्छ। कुनै चलन यदि गैरधर्मशास्त्रीय छ या वर्षको कुनै विशेष समय वा परिस्थितिमा अर्कै नकारात्मक अर्थ लगाइन्छ भने मसीहीहरू त्यसमा सामेल नहुने निर्णय गर्नु बुद्धिमानी हुनेछ।

मसीहीहरूको प्रेम सही ज्ञान र विवेकले भरिपूर्ण भइरहोस्‌ भनी पावलले प्रार्थना गरे। लोकप्रिय चलनहरूप्रति सन्तुलित विचारधारा राख्दै मसीहीहरूले ‘जे उत्तम छ सो . . . खुट्ट्याउन सक्छन्‌ र . . . शुद्ध र दोषरहित रहन सक्छन्‌।’ (फिलिप्पी १:९, १०, नयाँ संशोधित संस्करण) यसो गर्दा तिनीहरूले आफ्नो “सहनशीलता सबै मानिसहरूलाई थाह” दिइरहेका हुनेछन्‌।—फिलिप्पी ४:५.

[फुटनोट]

a केही मानवशास्त्रीअनुसार मृतकलाई फूलका गुच्छाहरू चढाउनुको अर्थ जीवितहरूलाई प्रेतहरूले नतर्साऊन्‌ भनेर हो।

[पृष्ठ २६-मा भएको चित्र]

हाई काढ्‌दा मुख छोप्ने र शोक सन्तप्तहरूलाई फूल दिनेजस्ता केही पुरातन चलनहरूले आफ्नो सुरुको महत्त्व गुमाइसकेका छन्‌