सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

संयुक्‍त राज्य अमेरिकाका जेलहरूमा बढ्‌दो जनसंख्या

“अहिले अमेरिकामा जतिको कैदीहरूको संख्या अन्य कुनै पनि प्रजातान्त्रिक राष्ट्रमा छैन र साम्यवादी सरकार भएका प्रायजसो देशहरूमा पनि त्यत्तिको छैन” भनी दी इकोनमिस्ट टिप्पणी गर्छ। “गत वर्ष प्रत्येक १५० [अमेरिकी] नागरिकहरूमध्ये (केटाकेटीलगायत) एक जना थुनामा थिए।” अमेरिकामा थुनामा पर्नेहरूको संख्या जापानमा भन्दा २० गुणा, क्यानाडामा भन्दा ६ गुणा र पश्‍चिम युरोपेली राष्ट्रहरूको भन्दा ५ देखि १० गुणा बढी छ। संयुक्‍त राज्य अमेरिकामा १९८० देखि यता कैदीहरूको संख्या चौखण्ड बढेको छ। अहिले थुनामा पर्नेहरूमध्ये ४,००,००० भन्दा बढी लागू पदार्थको कारण हुन्‌ तर १९८८ देखि यता लागू पदार्थ दुर्व्यसनीहरूको संख्या यथावत रहेको छ। दी इकोनमिस्ट-ले यस्तो प्रश्‍न गर्छ: “अपराधिक गतिविधि रोक्न जेल प्रभावकारी उपाय होस्‌ या नहोस्‌, अमेरिकाले कतिञ्जेल अपराधीलाई पटक पटक जेलमा थुन्‍ने प्रणालीलाई टेवा पुऱ्‍याइरहन सक्ला?”

आरमागेडोनसम्बन्धी बाजी लगाउने

हरेक हप्ता थुप्रै बेलायतीहरूले “आरमागेडोनसम्बन्धी बाजी लगाइरहेका छन्‌” भनी द गार्डियन बताउँछ। जम्मा १,००१ जना वयस्कहरूसित गरिएको सर्वेक्षणअनुसार ३३ प्रतिशतले विश्‍वयुद्धको कारण नै पृथ्वीको अन्त हुनेछ भने, २६ प्रतिशतले बढ्‌दो विश्‍व तापक्रमले पृथ्वीको विनाश हुनेछ भने। अरू कतिपय चाहिं धूमकेतुसित जुधेर नाश हुनेछ भने। अनि सर्वेक्षण गरिएको ५९ प्रतिशतले “राष्ट्रिय चिट्ठा जित्नुभन्दा त पृथ्वीको अन्त नै चाँडै हुने सम्भावना बढी छ” भन्‍ने विचार व्यक्‍त गरे भनी द गार्डियन बताउँछ। आरमागेडोनबारे किन यस्तो परिकल्पना? “हुनसक्छ मानिसहरू सहस्र वर्षबाट प्रभावित भएर वा विनाशको डरले पनि यसो भएको हो” भनी अखबारले टिप्पणी गर्छ।

“बाबेलको धरहरा”

युरोपेली संघमा (इ यु) ११ वटा औपचारिक भाषाहरू छन्‌ र अझ अर्को १० वटा थपिनसक्छ भनी पेरिसको अखबार इन्टरनेशनल हेरल्ड ट्रिब्युन रिपोर्ट गर्छ। हाल इ यु-को कार्यकारिणी समिति युरोपेली आयोगमा संयुक्‍त राष्ट्र संघको मुख्यालयमा भन्दा चार गुणा बढी अनुवादक तथा दोभासेहरू छन्‌। संयुक्‍त राष्ट्र संघको औपचारिक भाषा जम्माजम्मी पाँच वटा छन्‌। संयुक्‍त युरोप बनाउन तथा इ यु-को गतिविधि अझ सरल पार्न प्रयासहरू गरिए तापनि भाषाको सन्दर्भमा भनेचाहिं उल्टो भइरहेको छ। प्रत्येक सदस्य राष्ट्रले आफ्नै मातृभाषाको समर्थन गर्छ। त्यस अखबारले यसो भन्छ, “त्यहाँ बाबेलको धरहरा जस्तै भइरहेको छ।” यसको अर्को समस्या “युरोभाषा” पनि हो अर्थात्‌ युरोपेली संघभित्र बोलिने बेग्लै शब्दावली। एक जना अनुवादकले बताएअनुसार राजनीतिज्ञहरूलाई कुरा स्पष्ट गरी बोल्न लगाउनु नै चुनौती भएको छ किनभने “अक्सर तिनीहरूको ध्येय नै स्पष्ट नबोल्ने हुन्छ।”

देखावटी माग्ने

थुप्रै माग्नेहरू साँच्चै दयनीय अवस्थामा हुन्छन्‌ तर कोही कोही भने वास्तवमा त्यस्तो दयनीय अवस्थामा हुँदैनन्‌ भनी भारतबाट प्रकाशित द वीक नामक पत्रिकाले रिपोर्ट गर्छ। भारतको महाराष्ट्र राज्यमा बैसाखी टेक्दै एक जना माग्ने ट्राफिकमा रोकिरहेको गाडीमा माग्न आए। त्यस गाडीचालकले तिनलाई वास्ता नगरी आफ्नो प्रेमिकासितै कुरा गरिरहे। त्यसैकारण माग्नेले ठूलो ठूलो स्वरमा माग्न थाल्यो। त्यसपछि गाडीचालकले झ्याल खोलेर माग्नेलाई घचेट्‌दा तिनको पैसा सबै भूइँमा छरपस्ट भयो। त्यो “अपांग” माग्ने एकाएक सद्दे भयो र आफ्नो बैसाखीले गाडीको ऐना फुटाउन थाल्यो। अनि “अरू गाडीहरूमा मागिरहेका तिनका अन्य ‘अन्धा,’ ‘लंगडा’ र ‘अपांग’ भई टोपलेका साथीहरू सबैले” ढुंगा, लट्ठी र बैसाखीले हान्‍न र अन्ततः त्यस जवान मानिसलाई गाडीबाट घिसार्दै बाहिर निकाल्न “तिनको मदत गर्न आए” भनी द वीक पत्रिका बताउँछ। समयमै प्रहरी आइपुगेकोले ती माग्नेहरू भागाभाग गरे।

अत्यन्तै कम काम पनि स्वास्थ्यको लागि राम्रो होइन

जर्मनीमा ५०,००० जागिरेहरूमा गरिएको अनुसन्धानले एकदमै व्यस्त रहनेहरूभन्दा जागिरमा त्यति धेरै खट्‌नु नपर्नेहरूलाई स्वास्थ्यमा नराम्रो असर परेको कुरा प्रस्ट पाऱ्‍यो। “एकदमै चुनौतीपूर्ण जागिरमा खट्‌नुपर्ने जागिरेहरूभन्दा एउटै प्रकारको काम गरेको गरेकै र आफूले चाहेजस्तो काम गर्न नपाउने मानिसहरू दुई गुणा बढी बिरामी हुन्छन्‌” भनी अग्सबर्ग आल्जेमाइन टिप्पणी गर्छ। कम चुनौतीपूर्ण काम भएका मानिसहरूलाई जस्तो कामसित सम्बन्धित तनाउ कसलाई पनि हुँदैन र यस्ता व्यक्‍तिहरू नै कामबाट धेरै गयल हुन्छन्‌। त्यो रिपोर्टअनुसार पर्याप्त काम नभएका व्यक्‍तिहरू साधारणतया “उच्च रक्‍तचाप, पेट, ढाड र जोर्नीहरूको समस्याबाट पीडित” हुन्छन्‌।

पटक्कै फाइदा छैन

“चुरोट खाँदैमा मानिसहरू दुब्लो हुने होइन” भनी युनिभर्सिटी अफ क्यालिफोर्निया बर्क्ली वेलनेस लेटर रिपोर्ट गर्छ। “विशेष गरी थुप्रै युवतीहरू चुरोट खाँदा दुब्ला होइन्छ भन्‍ने विश्‍वासमा चुरोट खान थाल्छन्‌।” तर १८ देखि ३० वर्षका ४,००० वयस्कहरूमा गरिएको अध्ययनअनुसार “सात वर्षसम्म अवलोकन गर्दा चुरोट खाएको होस्‌ या नहोस्‌, सामान्यतया वजन (वर्षेनी एक पाउण्डभन्दा अलि बढीको दरमा) बढेको पाइयो।” त्यस लेखको अन्तमा यसो भनिएको छ: “चुरोट खाँदैमा वजन नियन्त्रण हुने होइन। यसले पटक्कै फाइदा गर्दैन।”

रिस पोख्ने

भावनात्मक तनाउबाट मुक्‍त हुन “निर्जीव वस्तुहरूजस्तै, तकिया वा मुक्का हान्‍न बनाइएको विशेष पोकामा हिर्काएर रिस पोख्दा झगडालु बानी कम हुनुको साटो अझ बढ्‌छ” भनी क्यानाडाको नेशनल पोस्ट रिपोर्ट गर्छ। आयोवा विश्‍वविद्यालयमा मनोविज्ञानका सहप्राध्यापक डा. ब्राड जे. बुशम्यानले यस्तो टिप्पणी गरे: “लोकप्रिय सञ्चार माध्यममा रिस पोख्ने सन्दर्भमा अनुसन्धानमूलक लेखहरूभन्दा निकै प्रचारप्रसार भएको पाइन्छ।” पोस्ट अझ यसो भन्छ, अनुसन्धानकर्ताहरूले “भावनात्मक तनाउ मुक्‍त गर्ने एउटा राम्रो तरिका निर्जीव वस्तुहरूमा रिस पोख्नु हो भन्‍ने सुझाउ दिने पुस्तक तथा लेखहरूले उल्टो मानिसहरूलाई आत्म-संयम प्रयोग नगरी रिस पोखाउन उक्साइरहेको” पाइयो।

चिहानको बढ्‌दो भाउ

चिहानमा गाड्‌दा खर्च एकदमै धेरै लाग्ने भएकाले थुप्रै मानिसहरूले मृतकहरूलाई जलाउन थालेका छन्‌। राष्ट्रिय अन्त्येष्टि निर्देशक संघअनुसार संयुक्‍त राज्य अमेरिकामा परम्परागत ढंगमा अन्त्येष्टि गर्न १९९६ मा ४,६०० अमेरिकी डलर पर्थ्यो। त्यसको तुलनामा “जलाउँदा प्रयोग गरिने बाकसको प्रकार र खरानी राख्ने भाँडो जम्मा ५०० देखि २,००० अमेरिकी डलरजति मात्र पर्छ” भनी शिकागो सन टाइम्स बताउँछ। साथै, जलाउन जग्गाको आवश्‍यक पनि पर्दैन र परम्परागत शैलीमा अन्त्येष्टि क्रिया गर्दा अर्को थप ४० प्रतिशत खर्च लाग्छ। त्यस पत्रिकाअनुसार १९९७ मा संयुक्‍त राज्य अमेरिकामा २३.६ प्रतिशतले जलाए भने अब अर्को दस वर्षमा यो संख्या बढेर ४२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

मुखको क्यान्सरको महामारी

भारत, दिल्लीमा मुखको क्यान्सरबाट पीडितहरूको संख्या लस एन्जेलस, क्यालिफोर्नियाको भन्दा चौबर छ भनी द इन्डियन एक्प्रेस रिपोर्ट गर्छ। हाल, दिल्लीमा क्यान्सर रोगद्वारा पीडित लोग्नेमानिसहरूमध्ये १८.१ प्रतिशत मुखको क्यान्सरद्वारा पीडित छन्‌। यो १९९५ भन्दा १० प्रतिशतले वृद्धि हो। मुखको क्यान्सरको मुख्य कारण सुर्ती, बिंडी (भारतीय चुरोट) र पान मसाला (सुर्ती, सुपारीको धुलो र अन्य मसलाहरू) हुन्‌। त्यस अखबारले स्कूल जाने केटाकेटीहरूमा पान मसालाको प्रयोग एकदमै बढी देखिनु चिन्ताको विषय हो भनेका छन्‌। एक जना अनुसन्धानकर्ताका अनुसार सिंगो भारत नै “मुखको क्यान्सरको महामारी” तर्फ लम्किरहेको छ।