सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सफाचट दाह्री

सफाचट दाह्री

सफाचट दाह्री

अस्ट्रेलियाका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

एक जना मानिसलाई दाह्री खौरन प्रति दिन पाँच मिनेट लाग्छ भने तिनले ५० वर्षसम्म यो क्रम कायमै राखेमा आफ्नो अनुहारबाट रौं खुर्कन लगभग ६३ दिन बिताएको हुनेछ! हरेक दिन गर्नुपर्ने यो काम लोग्ने मानिसहरूलाई कस्तो लाग्छ?

हालै गरिएको एउटा अनौपचारिक सर्वेक्षणबाट दाह्री काट्‌ने सन्दर्भमा यस्ता टीकाटिप्पणीहरू पाइयो: “मलाई मनै पर्दैन।” “मलाई पटक्कै मन पर्दैन।” “जीवनमा थुप्रै खतराहरूमध्ये यो पनि एउटा हो।” “मिल्ने भए सकेसम्म पन्छाउने कामहरूमध्ये यो पनि एउटा हो।” कोही कोही लोग्ने मानिसहरूलाई दाह्री खौरन यत्तिको झन्झट लागे पनि किन खौरन्छन्‌ त? आउनुहोस्‌, दाह्री खौरने विषयमा अलि बढी कुरा थाह पाइराखौं। कतै जवाफ भेटिएला कि।

पहिले सिपीको खोल, अहिले एक चोटि प्रयोग गरेर फ्याँक्ने छुरा

के तपाईं सिपीले दाह्री खौरेको कल्पना गर्न सक्नुहुन्छ? सार्कको दाँतले नि? अथवा चकमक ढुंगाको तिखो धारले? मानिसहरूले दाह्री खौरन अचम्म अचम्मका साधनहरू प्रयोग गरेका छन्‌! पुरातन मिश्रका मानिसहरूले सानो बञ्चरोजस्तो तामाको छुरा चलाउँथे। हालै आएर १८ औं र १९ औं शताब्दीमा इंग्ल्याण्डको शेफिल्ड भन्‍ने ठाउँमा घाँटी काट्‌ने छुराहरू बनाउन थालियो। एकदमै सिंगारिएका यी छुराहरूको बीचमा खोपिल्टा परेको ब्लेड हुन्छ र प्रयोगमा नभएको बेला बींडमा दोबारेर राख्न मिल्छ। यी मालहरू एकदमै जतन गरेर प्रयोग गर्नुपर्थ्यो र यो प्रयोग गर्न सिक्दा त पक्कै पनि छाला खुइलिएर रगत बग्थ्यो होला। अलि लापरवाह मानिसहरूले त अलि बढी नै चोटपटक सहनु परेको हुनुपर्छ। तथापि, २० औं शताब्दीमा आशाको किरण देखियो।

सन्‌ १९०१ को कुरा हो, अमेरिकामा किङ क्याम्प जिलेट नाउँको व्यक्‍तिले एक चोटि प्रयोग गरेर फ्याल्ने सुरक्षित छुरा बनाउन थाले। यो कुरा सारा संसारलाई मन पऱ्‍यो र विभिन्‍न डिजाइनका छुराहरू बनिन थाले। जस्तै, चाँदी वा सुनको जलप लगाइएका बींड भएका छुराहरू। हालैका उपलब्धिहरूमा एक चोटि प्रयोग गरेपछि फ्याल्नै पर्ने छुरा, दुइटा वा तीनवटा ब्लेड भएको छुरा अनि सजिलै टाउको घुम्ने छुरा इत्यादि छन्‌।

बजारमा पहिलो चोटि १९३१ मा देखा परेका विद्युतीय छुराहरू पनि छन्‌। त्यसको लोकप्रियता र प्रभावकारिता बढ्‌दै गएको छ र दाह्री सफाचट बनाउन चाहनेहरू चाहिं अझै पनि ब्लेड नै प्रयोग गर्न रुचाउँछन्‌।

कहिले फेसनमा हुन्छ त कहिले हुँदैन

मानवजातिको परापूर्वकालदेखि नै कहिले दाह्री पाल्ने गरिन्थ्यो त कहिले गरिंदैनथ्यो। पुरातन मिश्रको दैनिक जीवन पुस्तकमा बताएअनुसार पुरातन मिश्रीहरू “शरीरमा रौं हुनेहरू भनी कहलिएका थिएनन्‌ तर राम्ररी बनाइएका छुराहरूले सफाचट बस्ने मानिसहरू भनेर चिनिन्थे र तिनीहरूले छुराहरू छालाको खोलमा भिर्थे।” यस्तो चलन भएको हुँदा हिब्रू कैदी यूसुफले फिरऊनको सामु हाजिर हुनुअघि दाह्री र कपाल खौरनुको कारण बुझ्नसक्छौं।—उत्पत्ति ४१:१४.

अश्‍शूरीहरूको भने निकै बाक्लो दाह्री हुन्थ्यो। एकदमै नचाहिंदो हदसम्म तिनीहरूले आफ्नो दाह्रीको स्याहारसुसार गर्थे, दाह्री घुमार्ने, बाट्‌ने अनि अनेक किसिमले मिलाउने आदि गर्थे।

पुरातन समयका इस्राएली पुरुषहरू ठीक्कको दाह्री पाल्थे अनि त्यसलाई राम्ररी छाँट्‌न छुराको प्रयोग गर्थे। त्यसोभए, परमेश्‍वरको व्यवस्थाले इस्राएली पुरुषहरूलाई “आफ्नो कपाल छेउदेखि काट्‌दै लगेर गोलाकार नबनाउनू, औ आफ्नो दाह्रीको कुना-कुना नछाँट्‌नू” भन्‍ने आज्ञा दिनुको अर्थ के थियो? यो कपाल वा दाह्री नकाट्‌नु भन्‍ने आज्ञा थिएन। बरु, इस्राएलीहरूलाई वरपरका मूर्तिपूजक राष्ट्रहरूको जस्तो अनावश्‍यक धार्मिक प्रचलनहरूको नक्कल नगर्नु भन्‍ने सल्लाह थियो। aलेवी १९:२७; यर्मिया ९:२५, २६; २५:२३; ४९:३२.

पुरातन युनानी समाजमा सुग्धरी उच्च कुलीन घरानाबाहेक सबैले दाह्री पाल्थे। रोममा दाह्री खौरने चलन सा.यु.पू. दोस्रो शताब्दीतिर सुरु भएको पाइन्छ र त्यसको निकै शताब्दीपछिसम्म दिनदिनै दाह्री खौरने चलन कायमै रह्‍यो।

तथापि, रोमी साम्राज्यको पतनपछि फेरि दाह्री पाल्ने चलन सुरु भयो र १,००० वर्षसम्म अर्थात्‌ १७ औं शताब्दीको बीचतिरसम्म त्यस्तै भयो तर त्यसपछि फेरि दाह्री खौरेर सफाचट हुने चलन आयो। यसरी दाह्री सफाचट खौरने चलन १८ औं शताब्दीसम्म रह्‍यो। तर, १९ औं शताब्दीको सुरुदेखि बीचतिरसम्ममा फेरि दाह्री पाल्ने नै चलन भयो। यसैकारण, वाच टावर सोसाइटीका पहिलो अध्यक्ष, सि. टि. रसल र सँगी मसीही, डब्ल्यु. ई. भान आम्बर्ग दुवैले एकदमै स्टाइलले छाँटेको दाह्री पालेका चित्रहरू छन्‌ र त्यो त्यतिबेलाको समयअनुसार मर्यादित र उपयुक्‍त थियो। तथापि, २० औं शताब्दीको सुरुतिर फेरि दाह्री पाल्ने चलन चल्यो र यो अहिले पनि थुप्रै देशहरूमा लोकप्रिय छन्‌।

के तपाईं पनि दिनहुँ ऐनाअगाडि उभिएर दाह्री खौरने लाखौं मानिसहरूमध्ये हुनुहुन्छ? यदि हुनुहुन्छ भने, तपाईं सकेसम्म यसलाई पीडाविहीन, रक्‍तविहीन अनि अत्यधिक प्रभावकारी बनाउन चाहनुहुन्छ होला। त्यसो गर्न, “छुराले दाह्री खौरन उपयोगी सुझाउहरू” पेटी हेर्नुभए बेस हुनेछ। हुनसक्छ, यी कतिपय सुझाउहरू तपाईंले प्रयोग गरिरहनुभएको होला। कुरा जे सुकै होस्‌—दाह्री सफाचट बनाउनुहोस्‌!

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स, खण्ड १, पृष्ठ २६६ र १०२१ हेर्नुहोस्‌।

[पृष्ठ २३-मा भएको पेटी/चित्र]

छुराले दाह्री खौरन उपयोगी सुझाउहरू

दाह्री खौरने सन्दर्भमा लोग्नेमानिसहरूको रौं नामक पुस्तकले केही सुझाउहरू यसप्रकार दिएको छ। b

. दाह्री जुँगा नरम बनाउने: अनुहारको रौंलाई नरम बनाउने एक मात्र तरिका प्रशस्त मात्रामा तातो पानी राखेर हो। मिल्छ भने, नुहाइसक्नुभएपछि दाह्री जुँगा खौरनुहोस्‌ किनभने नुहाउँदा दाह्रीमा पानी धेरै पर्ने हुनाले नरम भइसकेको हुन्छ।

. दाह्री जुँगा खौरनुअघि केही दल्ने: सबै प्रकारका साबुन, क्रिम वा तेलले मुख्यतया तीनवटा काम गर्छ। (१) दाह्री जुँगालाई भिजाउँछ, (२) दाह्रीलाई ठाडठाडो बनाउँछ अनि (३) छालालाई चिप्लो बनाउँछ जसले गर्दा छुरा लगाउन सजिलो हुन्छ। तपाईं आफ्नो लागि सबैभन्दा उपयुक्‍त के हुन्छ, त्यही छान्‍न सक्नुहुन्छ। अर्को कुरा, के तपाईंले कन्डिशनर प्रयोग गर्नुभएको छ? यो पनि रौं नरम पार्नको लागि नै हो।

३. सही छुराको सही प्रयोग: सही छुरा भनेको धारिलो छुरा हो। बोधो छुराले तपाईंको छाला बिगार्न सक्छ। रौं जतातिर फर्केको छ, त्यतैतिर काट्‌नुहोस्‌। विपरीत दिशाबाट काट्‌दा सफाचट त हुन्छ तर छालाभित्रसम्म काट्‌न सक्छ र रौं प्वालबाट नभई बाहिरतिर उम्रन थाल्छ। पुरुष होस्‌ या महिला, जथाभावी खौंरदा जीवाणु संक्रमण हुनसक्छ र त्यसले गर्दा खटिरा निस्कनसक्छ भनी कसै कसैले बताएका छन्‌।

४. दाह्री जुँगा खौरिसकेपछि सुरक्षा: हरेक चोटि दाह्री खौरंदा तपाईंको आँखाले नदेखिने तर छालाको एक तह खौरनुहुन्छ र यो छालामा सजिलै संक्रमण हुनसक्छ। त्यसकारण, पहिला तातो पानी अनि पछि प्वाल बन्द गरेर ओसिलो राख्न चिसो पानीले पखालेर सबै फोहर पखाल्नुपर्छ। चाहनुहुन्छ भने, छाला बचाउन र मुलायम बनाउन आफ्टरशेभ लगाउन सक्नुहुन्छ।

[फुटनोट]

b यस लेखमा लोग्ने मानिसहरूको रौं खौरने विषय छलफल गरिएको छ। थुप्रै मुलुकहरूमा महिलाहरूले पनि शरीरका कुनै कुनै भागको रौं खौरने गर्छन्‌। त्यसकारण, तिनीहरूका लागि पनि यहाँ दिइएका केही बुँदाहरू उपयोगी हुनसक्छन्‌।

[पृष्ठ २४-मा भएको पेटी/चित्र]

दाह्री जुँगा भनेको के हो?

दाह्री जुँगा भनेको अनुहारमा उम्रने रौं हो। यो केराटीन र अन्य प्रोटिनले बनिएको हुन्छ। केराटीन लोग्नेमानिस र जनावरहरूको शरीरमा उत्पादन हुने रेशेदार, सल्फरयुक्‍त प्रोटिन हो। अनि रौं, नङ, प्वाँख, खुर र सिङको आधारभूत तत्त्व हो। मानिसहरूको शरीरमा हुने विभिन्‍न प्रकारका रौंमध्ये दाह्री जुँगा सबैभन्दा साह्रो र बलियो हुन्छ। यो रौं, बराबरको मोटाइ भएको तामाको तार काट्‌न जत्तिकै गाह्रो हुन्छ। मानिसको अनुहारमा सालाखाला २५,००० जति रौंहरू हुन्छन्‌ र प्रति २४ घण्टामा आधा मिलिमिटरको दरले बढ्‌छन्‌।

[स्रोत]

Men: A Pictorial Archive from Nineteenth-Century Sources/Dover Publications, Inc.

[पृष्ठ २४-मा भएको चित्र]

दाह्री खौरने कहिले फेसनमा हुन्छ त कहिले हुँदैन

अश्‍शूरी

मिश्री

रोमी

[स्रोत]

Museo Egizio di Torino

Photographs taken by courtesy of the British Museum