सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रूसीहरू धार्मिक स्वतन्त्रतालाई मूल्यवान्‌ ठान्छन्‌

रूसीहरू धार्मिक स्वतन्त्रतालाई मूल्यवान्‌ ठान्छन्‌

रूसीहरू धार्मिक स्वतन्त्रतालाई मूल्यवान्‌ ठान्छन्‌

सन्‌ १९९१ मा सोभियत संघ विघटन भएदेखि त्यहाँका मानिसहरूले परमेश्‍वरको उपासना गर्ने धेरै स्वतन्त्रता पाएका छन्‌। अन्य देशहरूमा बसाइँ सर्ने मानिसहरूले पनि यस्तो स्वतन्त्रताको मूल्यांकन गरेका छन्‌।

पहिलेको सोभियत संघमा बसोबास गर्ने थुप्रै मानिसहरूका लागि परमेश्‍वरको उपासना गर्न एक ठाउँमा खुल्लमखुल्ला भेला हुन पाउनु असाध्यै प्रिय कुरा हो। तिनीहरू दशकौंसम्म यस्तो स्वतन्त्रताबाट बञ्चित थिए।

सन्‌ १९१७ को बोल्सेभिक क्रान्तिपश्‍चात्‌ रूसमा बाइबल पढ्‌न खतरापूर्ण साबित हुनथाल्यो। अनि कमैले मात्र बाइबल पढ्‌न आफ्नो स्वतन्त्रतालाई दाउमा लगाए। तर यहोवाका साक्षीहरू अरू मानिसहरू भन्दा भिन्‍नै थिए। साँच्चै भन्‍ने हो भने, उक्‍त क्रान्तिको झन्डै ४४ वर्षपछि अर्थात्‌ अप्रिल १६, १९५६ मा न्युजविक पत्रिकाले पूर्वी जर्मनीको एक युवकबारे उल्लेख गर्दै यसो भन्यो: “यहोवाका साक्षीहरू बाहेक कसैले बाइबल पढ्‌दैनन्‌।” तैपनि, बाइबल अध्ययन सञ्चालन गरेकाले अनि बाइबलको सन्देश प्रचार गरेकाले साक्षीहरूलाई झ्यालखानाहरूमा थुनियो र श्रम शिविरहरूमा हालियो। तर जुनसुकै ठाउँमा भए तापनि तिनीहरूले आफ्नो बाइबल आधारित आशालाई कहिल्यै आफ्नो नजरबाट हटाएनन्‌ भनेर सँगैको पेटीले देखाउँछ।

सन्‌ १९९१ मा सोभियत संघ विघटन हुन थाल्दा साक्षीहरूले बाइबल आधारित निर्देशन दिने सातवटा अधिवेशनहरू सम्पन्‍न गरे। जम्मा ७४,२५२ जना उपस्थित भएका थिए। दुई वर्षपछि अर्थात्‌ १९९३ मा सोभियत संघका पहिलेका १५ वटा गणतन्त्रहरूमध्ये ४ वटामा सम्पन्‍न आठवटा अधिवेशनमा १,१२,३२६ जना भेला भए। a तिनीहरूमध्ये हजारौंले सोभियत झ्यालखाना र श्रम शिविरहरूमा थुप्रै वर्ष बिताइसकेका थिए। कुनै अवरोधबिना परमेश्‍वरको उपासना गर्ने स्वतन्त्रत पाएकोमा यी विश्‍वासी मसीहीहरू असाध्यै कृतज्ञ छन्‌।

सन्‌ १९९३ देखि यता पहिलेको सोभियत गणतन्त्रका मानिसहरूले आफ्नै मुलुकमा प्रत्येक वर्ष मसीही जमघटहरूमा एकसाथ भेला हुन पाउने सुअवसरलाई मूल्यवान्‌ ठानेका छन्‌। उदाहरणका लागि, पहिलेको सोभियत गणतन्त्रमा सम्पन्‍न “परमेश्‍वरको भविष्यसूचक वचन” नामक ८० वटा जिल्ला अधिवेशनमा यहोवाका जम्मा २,८२,३३३ साक्षीहरू र तिनीहरूका साथीभाइहरू उपासना गर्न एकसाथ भेला भए। अनि जम्मा १३,४५२ ले बप्तिस्मा लिए।

छक्कलाग्दो कुरा के छ भने, गत वर्ष संसारका अन्य देशहरूमा पनि रूसी भाषामा अधिवेशनहरू सम्पन्‍न भयो। पहिलेको सोभियत संघदेखि बाहिरका देशहरूमा सम्पन्‍न यस्ता चारवटा अधिवेशनमा ६,३३६ जना उपस्थित भए! ती अधिवेशनहरू कहाँ भए? अनि यति धेरै रूसी भाषीहरू बाइबलमा किन उत्कट चासो राख्छन्‌? आउनुहोस्‌, सर्वप्रथम दोस्रो प्रश्‍नलाई छोटकरीमा विचार गरौं।

तिनीहरू आध्यात्मिक आवश्‍यकता महसुस गर्छन्‌

रूसको समृद्धशाली धार्मिक इतिहास छ। शताब्दीयौंअघि यहाँ निर्मित भव्य कैथ्रीड्रल मसीहीजगत्‌मै सुप्रसिद्ध छ। तर रोमन क्याथोलिक चर्चले जस्तै रूसी अर्थोडक्स चर्चले पनि मानिसहरूलाई बाइबलबारे केही सिकाएन।

हालै प्रकाशित द रसियन ट्रेजिडि—द बर्डन अफ हिस्ट्री पुस्तक भन्छ: “बाइबल कहिले पनि रूसी चर्चको सैद्धान्तिक अंग हुनसकेन।” फलतः, धर्मसम्बन्धी रूसी विद्वान सेर्गे ईभानेन्कअनुसार “तथ्य कुरा के हो भने, अर्थोडक्स अनुयायीहरूसित बाइबलबारे ज्ञान नभएकोले विश्‍वासमा नभएकाहरूको तुलनामा अर्थोडक्स चर्चका थुप्रै सदस्यहरूलाई अन्धविश्‍वास, तन्त्रमन्त्र अनि जादुगरीले अझै प्रभाव पारेको थियो।”

प्रसिद्ध रूसी लेखक टोल्सटोयले पनि यस्तै महसुस गरे। तिनले लेखे: “[रूसी अर्थोडक्स] चर्चको शिक्षा धुर्त्याईं अनि हानिकारक छलले भरिनुका साथै त्यसले घोर अन्धविश्‍वास र मन्त्रविद्यालाई व्यवहारमा उतारेको छ भन्‍ने कुरामा म पूरा विश्‍वस्त हुन थालेको छु। यसले गर्दा मसीही शिक्षाको अर्थ नै ओझेलमा परेको छ।”

चर्चको यस्तो अवस्थाले गर्दा रूसी साम्यवाद अनि त्यसको नास्तिक अफवाह तथा “धर्म मानिसहरूका लागि अफिम हो” भन्‍ने चिरपरिचित नाराको जन्म भयो। केही समय नबित्दै साम्यवाद एउटा धर्म नै बन्यो र यसलाई अक्सर लाल धर्म भनिन्थ्यो। तर लाल धर्म अस्तित्वमा रहिरहनसकेन। सन्‌ १९९१ मा सोभियत संघ विघटन हुँदा लाखौं मानिसहरू अलमल्लमा परे। यहोवाका साक्षीहरूको प्रोत्साहन पाएर थुप्रै रूसीहरूले बाइबलमा जवाफ खोजे।

रूसको राम्रो शैक्षिक प्रणालीले गर्दा रूसीहरू संसारका शिक्षित मानिसहरूमध्ये पर्छन्‌। तसर्थ, रूसीहरूले बाइबल पढ्‌ने मात्र गरेनन्‌ तर यसका शिक्षाहरूलाई पनि प्रेम गर्न थाले। त्यसैताक, खास गरी १९९० को दशकमा पहिलेको सोभियत संघबाट लाखौं मानिसहरू जर्मनी, ग्रीस र संयुक्‍त राज्यजस्ता अन्य देशहरूमा बसाइँ सरे। नतिजा?

जर्मनीमा उपासना गर्न स्वतन्त्रता

अठारौं र १९ औं शताब्दीमा थुप्रै जर्मनहरू रूसमा बसाइँ सरे। तीमध्ये सबैभन्दा प्रसिद्धचाहिं १५ वर्षीया जोफी हुन्‌। आफ्नो पतिपछि १७६२ मा तिनी रूसको शासक बनिन्‌। तिनको लामो शासनको अन्तरालमा जोफीलाई महान्‌ केथ्रीन भन्‍न थालियो र तिनले जर्मन किसानहरूलाई रूसमा बसोबास गर्न बोलाइन्‌। पछि दोस्रो विश्‍वयुद्धमा जर्मनले सोभियत संघलाई आक्रमण गर्दा ती जर्मनहरूलाई साइबेरिया अनि काजकस्तान, किरगिस्तान र उज्बेकिस्तान जस्ता सोभियत गणतन्त्रतिर सारियो। जर्मनीको आर्थिक अवस्था राम्रो भएकोले हाल थुप्रै रूसीभाषी जर्मनहरूका साथसाथै पहिलेको सोभियत संघका थुप्रै मानिसहरू त्यहाँ बसाइँ सरेका छन्‌।

डिसेम्बर १९९२ मा जर्मनीको बर्लिनमा प्रथम रूसीभाषी मण्डली स्थापित भयो। गत वर्षसम्ममा जर्मनीका तीनवटा रूसीभाषी क्षेत्रमा ५२ वटा मण्डली र ४३ वटा साना समूहहरू स्थापित भइसकेका छन्‌। जुलाई ३० देखि अगस्त १ सम्म कलोनमा सम्पन्‍न “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशनमा ४,९२० जनाको शिखर उपस्थिति थियो। साथै १६४ जनाले बप्तिस्मा लिएर यहोवालाई आफ्नो जीवन समर्पण गरेको जनसमक्ष प्रकट गरे। गत अप्रिल १ मा जर्मनीको रूसीभाषी मण्डलीहरूमा येशूको मृत्युको स्मरणार्थ उत्सवमा ६,१७५ जना उपस्थित भए।

संयुक्‍त राज्यमा रूसीहरू

संयुक्‍त राज्यमा पनि पहिलेको सोभियत संघबाट थुप्रै रूसीभाषीहरू बसाइँ सरेका छन्‌। द न्यु योर्क टाइम्स-को यस्तो रिपोर्ट थियो: “सन्‌ १९९१ देखि १९९६ भित्र ब्रूकलिनमा सबैभन्दा बढी रूसी आप्रवासीहरू आएका छन्‌। त्यसैताक संयुक्‍त राज्यको अध्यागमन तथा नागरिकता प्रदान सेवाले पहिलेको सोभियत संघबाट ३,३९,००० भन्दा बढी आप्रवासीहरूलाई संयुक्‍त राज्यमा बसाइँ सर्ने अनुमति दिए।”

यसअघिको दसकमा पहिलेको सोभियत संघबाट लगभग ४,००,००० यहूदीहरू न्यु योर्क शहर र त्यस वरपरका इलाकामा बसाइँ सरेका थिए भनेर पनि पछि जनवरी १९९९ को टाइम्स बताउँछ। यसको अतिरिक्‍त, हालैका वर्षहरूमा हजारौं रूसीहरू संयुक्‍त राज्यका अन्य भागहरूमा बसाइँ सरेका छन्‌। उदाहरणका लागि, उत्तरी क्यालिफोर्नियामा लगभग ३५,००० नयाँ रूसी आप्रवासीहरू आएका छन्‌। फलतः पहिलेको सोभियत संघबाट आप्रवासीहरू आउने सबैभन्दा ठूलो केन्द्रहरूमध्ये यो तेस्रो भएको छ। पहिलो र दोस्रोचाहिं न्यु योर्क र लस एन्जलस हो। यी रूसीभाषीहरूले बाइबल अध्ययन गर्ने सुअवसरलाई पनि स्वीकारेका छन्‌ र सयौं व्यक्‍तिहरू साँचो परमेश्‍वर यहोवाको उपासक भएका छन्‌।

अप्रिल १, १९९४ मा संयुक्‍त राज्य, न्यु योर्कमा यहोवाका साक्षीहरूको पहिलो रूसीभाषी मण्डली स्थापित भएको थियो। पछि पेन्सिलभेनिया, क्यालिफोर्निया र वाशिङटनमा रूसीभाषी मण्डलीहरू स्थापित भए। यस देशका अन्य थुप्रै भागहरूमा अध्ययन समूहहरू स्थापित हुन थाले।

संयुक्‍त राज्यमा पहिलो चोटि

गत अगस्त २० देखि २२ सम्म न्यु योर्क शहरमा सम्पन्‍न पहिलो रूसीभाषी जिल्ला अधिवेशनमा उपस्थित हुन पाउँदा सारा संयुक्‍त राज्य र क्यानाडाबाट आएका ६७० जना रोमाञ्चित भए। सबै भाषणहरू रूसी भाषामा प्रस्तुत गरियो। क्यालिफोर्निया, लस एन्जलेसको रूसी मण्डलीका सदस्यहरूले याकूब र एसावबारे बाइबलको विवरण प्रस्तुत गर्ने पूर्ण नाटकीय वेशभूषासहितको नाटक मञ्चन गरे। यो नाटक साँच्चै अधिवेशनको विशेषता थियो।

अधिवेशनको अर्को विशेषता थियो, १४ जनाको बप्तिस्मा। उनीहरूलाई सँगैको फोटोमा देख्न सकिन्छ। तिनीहरूमध्ये थुप्रैले न्यु योर्क शहरमा बप्तिस्मा लिन ओरिगनस्थित पोर्टल्याण्ड र क्यालिफोर्नियास्थित लस एन्जलस तथा सान फ्रान्सिस्कोदेखि लगभग ४,००० किलोमिटर लामो यात्रा गरे। पहिला यीमध्ये १४ जना पहिलेको सोभियत गणतन्त्र अर्मेनिया, अजरबैजान, बेलारूस, मोल्डोभा, रूस र युक्रेनमा बसोबास गर्थे। उनीहरूको अनुभवले उनीहरू परमेश्‍वरको ज्ञान र उहाँको उपासना गर्ने स्वतन्त्रताको कत्तिको कदर गर्दा रहेछन्‌ भनेर देखाउँछ।

सेट्‌लाना (अघिल्लो लहर, बायाँदेखि तेस्रो) मस्कोमा हुर्केबढेकी हुन्‌। तिनले १७ वर्षकी हुँदा आफूभन्दा निकै जेठो प्रसिद्ध गायकसित बिहे गरिन्‌ र १९८९ मा सानो बालकसहित संयुक्‍त राज्यमा बसाइँ सरिन्‌। तिनका पति थुप्रै देश विदेशको भ्रमणमा गए र पाँच वर्षपछि तिनीहरूको सम्बन्धविच्छेद भयो।

सँगै काम गर्ने एउटी साक्षीलाई भेट्‌दा सेट्‌लानालाई तिनका साथीहरूले “[तिम्रो] जीवनलाई आफ्नो अधीनमा राख्ने र [तिम्रो] सबै धनसम्पत्ति थुत्ने पन्थसित” संगत नगर है भनेर चेताउनी दिए। तैपनि, तिनले बाइबलको शिक्षा सिक्न चाहिन्‌। बाइबलमा परमेश्‍वरको नाउँ देखाउँदा तिनले भनिन्‌: “साक्षीहरूले मात्र परमेश्‍वरको नाउँ परिचित गराउने गरेको देखेर म असाध्यै प्रभावित भएँ।”

युवावस्थामा छँदा आन्द्रे (पछिल्लो लहर, बायाँदेखि तेस्रो) खेलाडीको रूपमा थप प्रशिक्षण लिन साइबेरियाबाट हाल सेन्ट पिटर्सबर्ग भनिने ठाउँतिर लागेका थिए। त्यसको लगत्तै सोभियत संघ विघटन भयो अनि १९९३ मा २२ वर्षको उमेरमा आन्द्रे संयुक्‍त राज्यतर्फ लागे। तिनी भन्छन्‌: “मैले परमेश्‍वरबारे सोच्न थालें अनि रूसी अर्थोडक्स चर्च धाउन थालें। एक चोटि रूसी इस्टर उत्सवमा परमेश्‍वरसित नजिक हुन रातभर चर्चमा बिताएँ।”

त्यसैताक सेट्‌लानाले आन्द्रेलाई भेटिन्‌ अनि आफूले बाइबल अध्ययनद्वारा सिक्दै गरेका कुराहरू तिनलाई बताइन्‌। तिनी सेट्‌लानासित यहोवाका साक्षीहरूको सभामा जान राजी भए र पछि बाइबल अध्ययन स्वीकारे। पछि जनवरी १९९९ मा उनीहरू विवाह बन्धनमा बाँधिए। उक्‍त अधिवेशनमा बप्तिस्मा लिएपछि उनीहरू अत्यन्तै हर्षित देखिन्थे।

पेभिलको (पछिल्लो लहर, बायाँदेखि चौथो) जन्म काजकस्तानस्थित करागन्डा नजिकै भएको थियो तर पछि रूसको नाल्चिकमा बसाइँ सरे। यो ठूलो शहर, निकै लडाइँ मच्चिएको चेचेन्या अनि दागेस्तान नजिकै पर्छ। पेभिलले अगस्त १९९६ मा पहिलोपल्ट साक्षीहरूलाई भेटेका थिए तर अर्को महिना तिनी सान फ्रान्सिस्कोमा बसाइँ सरिहाले। तिनी लागू पदार्थ दुर्व्यसनी भए अनि एउटी छोरीको बुबा पनि बने। तिनले छोरीलाई आमासँग रूसमै छोडे।

संयुक्‍त राज्यमा आउनसाथै पेभिलले यहोवाका साक्षीहरूसित सम्पर्क राखे अनि तिनी बाइबल अध्ययन गर्न राजी भए। तिनले आफ्नो जीवनशैली सुधार्नुका साथै आफ्नी छोरीकी आमालाई आफूले पाएको नयाँ विश्‍वासबारे पत्राचार गरे। अहिले उनले साक्षीहरूसित अध्ययन गरिरहेकी छिन्‌ र पेभिलसँग विवाह गरेर क्यालिफोर्नियामा छोरीसहित यहोवाको सेवा गर्न संयुक्‍त राज्य आउने योजना बनाएकी छिन्‌।

जर्जी (पछिल्लो लहर, बायाँदेखि दोस्रो) मस्कोमा जन्मे हुर्केका थिए। तिनी १९९६ मा संयुक्‍त राज्यमा बसाइँ सरे र अजरबैजानबाट आएकी फ्लोरासित अर्को वर्ष विवाह गरे। जर्जी रूसी अर्थोडस्क चर्च धाउँथे तर एउटा प्रहरीधरहरा पढेपछि तिनको मनमा त्रिएकबारे प्रश्‍नहरू खडा भए। वाच टावर सोसाइटीलाई पठाएको पत्रको जवाफमा तिनले शुड यु बिलिभ इन द ट्रिनिटी? पुस्तिका प्राप्त गरे। सन्‌ १९९८ मा तिनी र फ्लोराले बाइबल अध्ययन गर्न थाले। अहिले फ्लोराले पनि बप्तिस्मा लिने योजना बनाएकी छिन्‌।

यस अधिवेशनको अर्को विशेषता थियो, सोही सप्ताहन्तमा सम्पन्‍न अधिवेशनमा भेला भएका १५,१०८ भाइबहिनीहरूले मस्कोबाट पठाएको शुभेच्छा। मस्कोमा ६०० जनाले बप्तिस्मा लिए भनेर घोषणा  गर्दा न्यु योर्क शहरमा उपस्थित प्रतिनिधिहरू अति रोमाञ्चित भए! विशेष गरी संयुक्‍त राज्य र अन्य ठाउँहरूमा अखबार तथा टेलिभिजन कार्यक्रमहरूमा अधिवेशन सुरु हुने दिनसम्म दिइएको नराम्रो रिपोर्टले गर्दा केही होला कि भन्‍ने कुरालाई सम्झेर तिनीहरू रोमाञ्चित भए।

मस्कोमा के भइरहेको थियो

साक्षीहरूले जुलाई २१, १९९९ मा मध्य मस्को नजिकै तथा रूसी अर्थोडक्सको विशाल चर्चसँगै भएको ओलम्पिक स्टेडियम प्रयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरे। तर अधिवेशन सुरु हुनु हप्तादिन अघि नै विरोध खडा हुनेछ भन्‍ने कुरा प्रस्ट भयो। स्टेडियमको भाडा चुक्‍ता गरिससेको भए तापनि बुधबार, अगस्त १८ सम्म साक्षीहरूले स्टेडियम प्रयोग गर्ने अनुमती पाएका थिएनन्‌। पृष्ठ २८ को पेटीमा देखाइएझैं, रूसमा यहोवाका साक्षीहरू कानुनी मान्यताप्राप्त संगठन हो भनेर अधिकृतहरूलाई जोड दिइयो।

शुक्रबार बिहान लगभग १५,००० जना अधिवेशनमा उपस्थित हुन तम्तयार थिए। तसर्थ, साक्षी प्रतिनिधिहरू चिन्तामा डुबिरहेका थिए। थुप्रै प्रतिनिधिहरू निकै किलोमिटर टाढाका शहरहरूबाट मस्को आएका थिए। केही समय छलफल गरेपछि अन्ततः अगस्त १९, राती ८:०० बजेतिर स्टेडियमको व्यवस्थापनले अधिवेशन सम्पन्‍न गर्न सक्नुहुन्छ भनेर खुसीसाथ साक्षी प्रतिनिधिहरूलाई सूचना दिए। अधिवेशन सम्पन्‍न गर्नुमा हाम्रो कुनै आपत्ति छैन भनेर शहर व्यवस्थापनले बतायो।

भोलिपल्ट बिहान हजारौं मानिसहरू स्टेडियमतर्फ ओइरिए। साक्षी स्वयंसेवकहरूले रातभर जाग्राम रहेर तयारी गरेका थिए। अधिवेशन सम्पन्‍न नगर्न विरोध गरिंदैछ भनेर पहिला जानकारी दिइएका प्रेस रिपोर्टरहरू पनि अधिवेशनको पहिलो दिनमा आएका थिए। तिनीहरूमध्ये एक जनाले यसो भने: “बधाई छ! तपाईंहरूको अधिवेशन सुरु हुँदैछ भन्‍ने थाह पाउँदा हामीलाई खुसी लाग्यो।”

व्यवस्थित चालचलनको उदाहरण

स्टेडियम व्यवस्थापनले सुरक्षात्मक कदम चाल्नु दूरदर्शी हो भन्ठाने। त्यसैकारण, विमानस्थलमा यात्रुहरूलाई जाँच्न प्रयोग गरिनेजस्तो मेटल डिटेक्टर लिएका सुरक्षाकर्मीहरू स्टेडियमका सबै प्रवेशद्वारहरूमा खडा थिए। स्टेडियमका चारैतिर प्रहरीहरू पनि तैनाथ गरिएको थियो। निकै ठूलो खतराको बावजूद व्यवस्थित ढंगमा अधिवेशन सम्पन्‍न भयो।

स्टेडियममा बम राखिएको छ भनेर शनिबार अपराह्न एक जना व्यक्‍तिले फोन गऱ्‍यो। अन्तिम दुई वटा भाषण बाँकी रहेको बेला उक्‍त चेताउनी आएको थियो। अतः स्टेडियम व्यवस्थापनको अनुरोधमा तुरुन्तै स्टेडियम खाली गर्ने छोटो घोषणा गरियो। सबै जना व्यवस्थित ढंगमा स्टेडियमबाट बाहिर निस्केको देख्दा स्टेडियमका अधिकृत तथा प्रहरीहरू तीन छक परे। तिनीहरूले यस्तो त कहिल्यै देखेकै थिएनन्‌! यसरी व्यवस्थित ढंगमा बाहिर निस्कने पूर्वाभ्यास पो गरिएको थियो कि भनेर तिनीहरूले सोधे।

बम फेला परेन। शनिबार बाँकी रहेको कार्यक्रम भोलिपल्ट प्रस्तुत गरिने भयो। अधिवेशन देखेर स्टेडियमका अधिकृतहरू खुसी भए।

ग्रीस र अन्य ठाउँमा

अगस्तको अन्तिम सप्ताहन्त र सेप्टेम्बरको पहिलो सप्ताहन्तमा ग्रीसमा पनि रूसीभाषी जिल्ला अधिवेशनहरू भए अर्थात्‌ पहिला एथेन्स अनि त्यसपछि थिस्सलोनिकीमा। जम्मा ७४६ जना उपस्थित भए भने ३४ जनाले बप्तिस्मा लिए। ग्रीसमा ८ वटा रूसीभाषी मण्डलीहरू छन्‌ र पहिलेको सोभियत संघको दक्षिणी गणतन्त्रबाट आएका आप्रवासीहरूको १७ वटा स-साना समूहहरू छन्‌। यी मण्डली तथा समूहहरूमा रूसी भाषाका साथै आप्रवासीहरूले बोल्ने अन्य भाषामा सभाहरू सञ्चालन हुने गर्छन्‌।

एथेन्समा बप्तिस्मा लिनेहरूमध्ये एक जना भिक्टर हुन्‌। तिनी नास्तिक थिए तर अगस्त १९९८ मा एथेन्समा सम्पन्‍न यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय अधिवेशनमा तिनी उपस्थित भए। यस अधिवेशनमा तिनकी पत्नीले बप्तिस्मा लिइन्‌। त्यहाँ उपस्थित प्रतिनिधिहरूको प्रेम देखेर तिनी यति प्रभावित भए कि बाइबल अध्ययन गर्न नै उत्प्रेरित भएँ भनी तिनी बताउँछन्‌।

इगोर नामक व्यक्‍तिले पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक पाए। यो पुस्तक पढिसकेपछि तिनले आफूसित भएका प्रतिमाहरू मिल्काइ दिए। तिनले आफूलाई यहोवाको साक्षीसमेत भन्‍न थाले। तिनले एथेन्सको शाखा कार्यालयमा पत्राचार गरेपछि नोभेम्बर १९९८ मा साक्षीहरूले तिनीसित भेटघाट गरे। तिनी लगत्तै पहिलो चोटि मण्डलीको सभामा उपस्थित भए र त्यसपछि त एकपल्ट पनि सभा छुटाएका छैनन्‌। अब बप्तिस्मा लिएपछि इगोरले यहोवाका साक्षीहरूको पूर्ण-समय सेवक बन्‍ने लक्ष्य राखेका छन्‌।

यहाँ उल्लेख नगरिएका संसारका अन्य थुप्रै देशहरूमा रूसीभाषीहरू बसाइँ सरेका छन्‌। तिनीहरूमध्ये धेरैजसो बाइबल अध्ययन गर्ने र परमेश्‍वरको उपासना गर्न खुल्लमखुल्ला एक ठाउँमा भेला हुने स्वतन्त्रता पाएकोमा आनन्दित छन्‌। तिनीहरूका लागि यो सुअवसर असाध्यै प्रिय छ!

[फुटनोट]

a अहिले स्वतन्त्र भइसकेका पहिलेका १५ वटा गणतन्त्र यस प्रकार छन्‌: अर्मेनिया, अजरबैजान, इस्टोनिया, उज्बेकिस्तान, काजकस्तान, किरगिस्तान, जर्जिया, ताजकिस्तान, तुर्कमेनिस्तान, बेलारूस, मोल्डोभा, युक्रेन, रूस, लाट्‌भिया र लिथुआनिया।

[पृष्ठ २२-मा भएको पेटी]

बाइबललाई माया गर्ने रूसीहरू

यहोवाका साक्षीहरू साँच्चै बाइबल अध्ययन गर्ने व्यक्‍तिहरू हुन्‌ भनेर सम्मानित रूसी शास्त्रविद्‌ सेर्गे ईभानेन्कोले उल्लेख गरे। हालै प्रकाशित आफ्नो रूसी पुस्तक ओ ल्युड्याख, निकोग्दा नेइ रासत्याउशचिख्श्या एस बिब्लिये-मा (हरबखत बाइबल साथमा राख्ने मानिसहरू) तिनले सोभियत संघका साक्षीहरूको प्रारम्भिक इतिहासबारे यसरी लेखे: “आफ्नो विश्‍वासको कारण झ्यालखानाको चार भित्तामा थुनिंदासमेत यहोवाका साक्षीहरूले बाइबलको सदुपयोग गर्ने कुनै न कुनै बाटो निकाले।” यसलाई प्रस्ट्याउन तिनी निम्न अनुभव बताउँछन्‌।

“कैदीहरूलाई आफ्नो साथमा बाइबल राख्न निषेध गरिएको थियो। खोजतलास गरेर बाइबल खोसिन्थ्यो। एउटा उत्तरी शिविरमा यहोवाका एक जना साक्षी बिजुलीको मिस्त्री थिए। तिनले उच्च विद्युतशक्‍ति भएको ट्रान्सफर्मर युनिटमा बाइबलका पुस्तकहरू राखे। बाइबलका प्रत्येक पुस्तकलाई तारले बाँधिएको हुन्थ्यो र विद्युत्‌को झट्‌काबाट जोगिंदै कुनचाहिं तार तान्दा कुन पुस्तक फेला पार्न सकिन्छ भनी तिनलाई मात्र थाह थियो। उदाहरणका लागि, मत्ती रचित सुसमाचारको पुस्तक। सुरक्षाकर्मीहरूले आफ्नो आँखा च्यातीच्याती बाइबल खोजे पनि ती पुस्तकहरू भेट्टाउन सकेनन्‌। यसरी यो अनुपम बाइबल बच्यो।”

[पृष्ठ २८-मा भएको पेटी]

रूसमा यहोवाका साक्षीहरूको पुनः दर्ता भयो

यहोवाका साक्षीहरूले एक शताब्दीभन्दा अघिदेखि रूसमा सक्रियतासाथ परमेश्‍वरको राज्य घोषणा गरिरहेका छन्‌। तर सरकारद्वारा लगाइएको प्रतिबन्धले गर्दा मार्च २७, १९९१ सम्म साक्षीहरूले कानुनी मान्यता पाएका थिएनन्‌। सो दिन तिनीहरूलाई सोभियत संघस्थित यहोवाका साक्षीहरूको धार्मिक संगठनको प्रशासकीय केन्द्र भनेर दर्ता गरियो।

सेप्टेम्बर २६, १९९७ मा “अन्तस्करण र धार्मिक संस्थाको स्वतन्त्रतासम्बन्धी” नामक कानुन पारित गरियो। यो नयाँ कानुनबारे संसारभरिका अखबारहरूमा व्यापक चर्चा भयो। किन? किनकि थुप्रैले यो कानुन पारित गर्नुको उद्देश्‍य रूसका अल्पसंख्यक धर्ममाथि प्रतिबन्ध लगाउनु हो भन्‍ने देखे।

त्यसकारण, यहोवाका साक्षीहरू बल्लतल्ल १९९१ मा दर्ता भए तापनि अन्तस्करणको स्वतन्त्रतासम्बन्धी रूसको नयाँ कानुनअनुसार तिनीहरूका साथसाथै अन्य सबै धार्मिक संगठनहरूले पुनः दर्ता गर्नुपऱ्‍यो। फलतः थुप्रै प्रश्‍नहरू खडा भए। के रूसी अख्तियारवालाहरूले यहोवाका साक्षीहरूलाई फेरि थिचोमिचो गर्ने नीति अपनाउन लागेका हुन्‌? वा संघीय रूसको संविधानले दिएको धार्मिक सहिष्णुता र धार्मिक स्वतन्त्रतालाई मान्यता दिने हो?

अन्ततः जवाफ पाइयो। अप्रिल २९, १९९९ का दिन रूसी न्याय मन्त्रालयले “रूसमा यहोवाका साक्षीहरूको लागि प्रशासकीय केन्द्र” दर्ता भएको प्रमाणपत्र साक्षीहरूलाई दियो। फेरि कानुनी मान्यता पाउँदा साक्षीहरू असाध्यै खुसी भए!

[पृष्ठ २३-मा भएको चित्र]

संयुक्‍त राज्यमा सम्पन्‍न पहिलो रूसीभाषी जिल्ला अधिवेशन

[पृष्ठ २४-मा भएको चित्र]

लस एन्जलसको रूसी मण्डलीले न्यु योर्कमा मञ्चन गरेको बाइबल नाटक

[पृष्ठ २५-मा भएको चित्र]

न्यु योर्कमा बप्तिस्मा लिएका यी १४ जना, सोभियत संघका पहिलेका छ वटा गणतन्त्रबाट आएका हुन्‌

[पृष्ठ २६, २७-मा भएको चित्र]

मस्कोको ओलम्पिक स्टेडियममा १५,००० भन्दा बढी मानिसहरू भेला भए