सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विशाल सेतो शार्क—संकटमा

विशाल सेतो शार्क—संकटमा

विशाल सेतो शार्क—संकटमा

विशाल सेतो शार्क सबैभन्दा ठूलो मांसाहारी माछा हो। यो, मानिस तथा अरू जीवित प्राणीहरूका लागि सबैभन्दा भयावह प्राणी हो। यद्यपि, अहिले सबै ठाउँमा अथवा अस्ट्रेलिया, ब्राजिल, नामिबिया, दक्षिण अफ्रिका र संयुक्‍त राज्यजस्ता वरपर पानीले घेरिएका राष्ट्रहरूका साथै भूमध्यसागरमा पनि यो संकटमा परेका सामुद्रिक जीवहरूमध्ये पर्छ। अन्य राष्ट्र तथा राज्यहरूले पनि यसको जगेर्ना गर्ने विचार गरिरहेका छन्‌। तर हत्यारा भनेर सबैलाई थाह भएको जन्तुलाई किन संरक्षण गर्ने? यो कुनै साधारण प्रश्‍न होइन अहिले पढ्‌दै गएपछि थाह पाउनेछौं। न त सेतो शार्कबारे जनसाधारणको धारणा सधैं तथ्य कुरामा आधारित भएको छ।

स्पर्म ह्वेल तथा किलर ह्वेललेजस्तै यो विशाल सेतो शार्कले a पनि आफूभन्दा सानो जन्तुहरू जे भेट्टायो त्यही खान्छ। यो शार्कजगतका राजा अर्थात्‌ सुपरशार्क हो। यसले माछा, डल्फिनदेखि लिएर शार्कसमेत कसैलाई बाँकी राख्दैन, सबैलाई हजम गर्छ। तर जसै यसको उमेर ढल्कँदै जान्छ, आकृति ठूलो हुन्छ अनि सुस्त हुन्छ, यसले सील, पेन्गुइन र सडेगलेका जीवहरूमा विशेष गरी ह्वेलको सिनु खान रुचाउँछ।

आफ्नो आहार खोज्न तिनीहरू आफ्नो तीखो दृष्टिलगायत सम्पूर्ण इन्द्रियहरू प्रयोग गर्छन्‌। तिनीहरूको सुँघ्ने शक्‍तिबारे कुरा गर्ने हो भने यसले जस्तै प्रकारको गन्ध पनि चालपाई हाल्छ! तथापि, यसबाहेक यसको कान पनि असाध्यै टाठो हुने भएकोले यसलाई टाठो काने भने पनि फरक नपर्ला।

शार्कको शरीरको दुवैपट्टि हल्का दबाउ महसुस गर्नसक्ने संवेदनशील कोषहरूले गर्दा यसका कान झनै चंखो हुन्छ। निकै टाढाको कुरा सुन्‍नसक्ने यसको कानले सबै कुरा सुन्‍नसक्छ। यसले विशेष गरी पानीको तरंग चाल पाइहाल्छ। जस्तै: भालाको चुच्चोमा छटपटाइरहेको माछा। तसर्थ, माझीले भालामा अल्झेर छटपटाइरहेको रक्‍ताम्मेभएको माछालाई जतिसक्दो चाँडै पानीबाट बाहिर निकाल्नु नै बुद्धिमानी हुनेछ।

शार्कको छैटौं इन्द्रिय पनि हुन्छ। नाकको वरपर हुने आम्प्युला अफ लोरेन्जीनी भनिने नलीहरूले गर्दा यसले आफ्नो सिकारको मुटुको धड्‌कन, फुल्काको चाल अथवा मांसपेशीहरूबाट उत्पन्‍न हुने हल्का विद्युतीय तरंग चाल पाउँछ। वास्तवमा, यो छैटौं इन्द्रिय असाध्यै टाठो हुन्छ, यसै मार्फत पृथ्वीको महासागरसितको चुम्बकीय क्षेत्रबारे शार्कले सूचना पाउँछ। यसकारण शार्कले उत्तर र दक्षिण दिशा पनि थाह पाउँछ।

सेतो शार्कको परिचय

यसलाई विशाल सेतो शार्क भनिए तापनि यसको पेट मात्र सेतो अथवा फिक्का रंगको हुन्छ। पछिल्तिरको भाग भने प्रायजसो गाढा खरानी रंगको हुन्छ। यसको पेटमा देखिने दुई रंग शार्कपिच्छे फरक फरक हुन्छ। यसले गर्दा तिनीहरूलाई रंग बदल्न सजिलो त हुन्छ नै, वैज्ञानिकहरूलाई पनि प्रत्येक शार्कबाट फरक छुट्याउन मदत मिल्छ।

शार्कहरू कतिसम्म ठूला हुन्छन्‌? “ठूलठूला सेता शार्कहरू [५.८ मिटरदेखि ६.४ मिटरसम्म] लामा हुन्छन्‌” भनी  ग्रेट ह्वाइट शार्क पुस्तकले बताउँछ। यस आकारको माछा २,००० किलोग्रामभन्दा धेरै तौलको हुनसक्छ। तथापि, यसको जलगोलाजस्तो जीउमा रहेको पछिल्तिर फर्केका त्रिकोण आकारका पखेटाहरूको मदतले यी विशाल जन्तुहरू पानीमा क्षेप्यास्त्रजस्तै तेज गतिले सललल पौडनसक्छन्‌। तेज रफ्तारमा पौडन मदत गर्ने यी समानुपातिक पुच्छर अरू सार्क जगतमै पाउन गाह्रो छ किनभने अरूहरूको पुच्छर समानुपातिक हुँदैन।

सेतो शार्कको विशेषताका साथसाथै डरलाग्दो कुरा भनेको यसको विशाल कोन आकारको टाउको, नीरस कालो आँखा र यसको तीखो धारिलो, दाँतीदार अनि तिनकुने दाँत हो। यी दुइधारे “चक्कुहरू” टुक्रा भयो वा झऱ्‍यो भने पनि ती दाँतहरूको पछिल्तिर दाँतहरूको अर्को लहर हुन्छ।

उष्ण रक्‍तधारी भएर शक्‍ति पाएको

ल्यामिन्डे परिवारमा पर्ने माको, पोर्विगल र सेतो शार्कहरूको रक्‍तसंचार प्रणाली अरू शार्कहरूभन्दा एकदमै फरक छ। तिनीहरूको रगतको तापक्रम पानीको तापक्रमभन्दा तीन देखि पाँच डिग्री सेल्सियस बढी हुन्छ। तिनीहरूको उष्ण रगतले पाचन प्रक्रिया छिटो गर्छ अनि शक्‍ति र सहनशक्‍ति बढाउँछ। टुना जस्ता सामुद्रिक माछाहरू खाने माको एकै झोंक्कामा पानी भित्र १०० किलोमिटर प्रतिघण्टाको वेगले सललल पौडनसक्छ!

शार्कहरू पौडँदा छातीमा रहेको पखेटाले माथि माथि उचाल्न मदत गर्छ। शार्कको तौलको एक चौथाइ भाग ओगट्‌ने कलेजोमा भएको तेलले तैरन मदत गर्छ तर बिस्तारै तैरेको खण्डमा यस्तो तैरने क्षमताको बावजूद यिनीहरू डुब्छन्‌! यसबाहेक, शार्कका थुप्रै जातिहरूले सास फेर्न पौडिरहनुपर्छ किनभने यसप्रकार तिनीहरूले अक्सिजनयुक्‍त पानी आफ्नो मुख तथा फुल्काहरूबाट लिनसक्छन्‌। यसैकारण तिनीहरू जहिले पनि झडंग रिसाएर मुख खोलिरहेको जस्तो देखिन्छ!

नरभक्षी?

हालसम्म भेट्टिएका ३६८ जातिका शार्कहरूमध्ये खतरनाकचाहिं २० प्रकारका मात्र हुन्‌। संसारमा वर्षेनी १०० जना जति मानिस शार्कको आक्रमणले घाइते हुन्छन्‌ र यस्तो आक्रमण गर्ने शार्कहरू चार प्रकारका मात्र छन्‌। त्यसमध्ये करिब ३० वटा मात्र प्राणघातक आक्रमणहरू हुन्‌। ती चार वटा जातिहरूमा बुल शार्कले सबैभन्दा धेरै मानव ज्यान लिएको छ र बाँकी टाइगर शार्क, सामुद्रिक ह्वाइटटीप शार्क र सेतो शार्क हुन्‌।

अचम्मको कुरा, सेतो शार्कले आक्रमण गरेकाहरूमध्ये कमसेकम ५५ प्रतिशत र कुनै कुनै ठाउँमा त ८० प्रतिशत मानिसहरूको ज्यानै भने गएन। त्यस्तो डरलाग्दो सिकारीको आक्रमणबाट त्यति धेरै बच्नसक्नुको कारण के हो?

टोक्ने र ओकल्ने

सेतो शार्कले सुरुमा बेस्सरी टोकेपछि घाइते बनाएर ओकल्छ। अनि त्यो घाइते सिकार मरिसकेपछि मात्र खान्छ। यसकारण मानिसहरू त्यसको सिकार भएका छन्‌ भने भाग्ने मौका पाउँछन्‌। कहिल्यै एक्लै नपौडनु भन्‍ने सल्लाह मानेकोले आफूसित भएका साथीहरूले नडराईकन बचाउन सकेका छन्‌।

तथापि, सेतो शार्कको अर्को बेग्लै किसिमको स्वभावले गर्दा पनि यस्तो पनि प्राणघाती अवस्थाबाट बच्नसक्छ। अरू शार्कहरूलाई रगतको गन्धले उन्मत्त बनाएजस्तो यो सेतो शार्कलाई बनाउँदैन। तर सेतो शार्कले टोक्ने र ओकल्ने नीति अपनाउनुको कारण के हो?

यसो गर्नुको कारण तिनीहरूको आँखा हो भनेर एक जना वैज्ञानिक अनुमान लगाउँछन्‌। अरू शार्कहरूको जस्तो तिनीहरूको आँखा जोगाउने ढकनी हुँदैन। बरु, कुनै मुठभेट हुन लागेको छ भने आँखा भित्रै घुम्न थाल्छ। आँखा खुल्लै हुने भएकोले, हुनसक्छ सीलको पन्जाले यस आँखामा कोतरिनसक्छ। तसर्थ, सेतो शार्कले आफ्नो सिकारलाई मरेतुल्य बनाएर आफू पनि फुत्कन खोज्छ।

सेता शार्कहरूले बच्चाहरूले जस्तै व्यवहार गर्छन्‌ भन्‍ने कुरा पनि नबिर्सनुहोस्‌। जेसुकै होस्‌, तिनीहरूले मुखैमा हाल्छन्‌! “दुर्भाग्यको कुरा, विशाल सेतो शार्कले टोक्दा, भयानक परिणाम पनि हुनसक्छ” भनेर सिड्‌नीका सामुद्रिक जीव वैज्ञानिक जोन वेस्ट बताउँछन्‌।

यो सेतो शार्क खतरनाक जनावर भए तापनि मान्छेको मासु मीठो स्वाद लिएर खान खोज्ने दानवचाहिं होइन। एक जना गोताखोरले समुद्रभित्र ६,००० घण्टा बिताउँदा पनि दुइटा मात्र सेतो शार्क देखे र ती दुवैले आक्रमण पनि गरेनन्‌। वास्तवमा भनौं भने, मानिस देखेर सेतो शार्क आफै भाग्छ।

सामुद्रिक अनुसन्धानकर्ता झाक-इभ कस्टियु र तिनका मित्र केप भर्ड टापुमा पौडिरहेको बेला विशाल सेतो शार्कको नजिकै पुगे। त्यस घटनाबारे तिनले यसरी लेखे “त्यतिबेला जे भयो, त्यस्तो होला भनेर त हामीले सोचेकै थिएनौं। एकदमै तर्सिएर त्यो विशाल जन्तुले पानीको छालजस्तो दिसाको थुप्रो निकालेर सुइँकुच्चा ठोक्यो।” तिनले अन्तमा यसो भने: “हामीले अनुभव गरेको घटनालाई विचार गर्दा, जनसाधारणको यस प्राणीबारे सोचाइ र हामीले देखेको कुरामा आकाश जमिनको फरक पायौं।”

सेतो शार्कको सिकार

सन्‌ १९७० को दशकमा प्रकाशित जज भन्‍ने पुस्तकले जनसाधारणको धारणालाई निकै प्रभाव पारेको छ र पछि त्यसमै आधारित चलचित्र पनि बनाइयो। रातारात सेतो शार्क दुष्ट जन्तुको रूपमा देखा पर्छ र “इनाम पाउन चाहने सिकारीहरूको ठूलो समूहले त्यस नरभक्षीको टाउको अथवा बंगारा ल्याउने पहिलो व्यक्‍ति को हुनेछ भनेर प्रतिस्पर्धा गर्नथाले” भनी ग्रेट ह्वाइट शार्क पुस्तक बताउँछ। पछि गएर एउटा दाँतको मूल्य १,००० अमेरिकी डलरसम्म (अस्ट्रेलियामा) र बंगाराकै भने २०,००० अमेरिकी डलरसम्ममा बिक्री हुन्थ्यो।

तथापि, त्योभन्दा बढी सेता शार्कहरू पैसा कमाउनकै लागि मारिन्छन्‌। यसबाहेक, विशेष गरी पखेटाको बढ्‌दो माग पूरा गर्न वर्षेनी अन्य लाखौं प्रकारका शार्कहरू समातिन्छन्‌। शार्कको संख्या घटिरहेकोले हालैका वर्षहरूमा यसको जगेर्ना गर्न जागरूक गराउने काम जारी छ।

जनचेतना बढ्‌दैछ

शार्कहरू समुद्रमा बिरामी परेका, मर्नलागेका, कमजोर तथा मरेकाहरूलाई खानेहरू भनी चिनिन्छन्‌। तसर्थ, शार्कहरू पर्याप्त छन्‌ भने महासागर नै सफा र स्वस्थ रहन्छ।

शार्कहरूको अस्तित्वनै खतरामा परिरहेको बुझेर स्पिसिज सर्भाइवल कमिशन अफ दि इन्टरनेशनल युनियन फर द कन्जरभेशन अफ नेच्योरले शार्कसम्बन्धी सम्पूर्ण समस्याहरूको अध्ययन गर्न शार्क विशेषज्ञहरूको समूह गठन गरेको छ। तथापि, सेतो शार्कको अध्ययन गर्नु त्यति सजिलो छैन। किनभने तिनीहरू प्रशस्त मात्रामा छैनन्‌ र बन्द इलाकामा राख्दा मरिहाल्छन्‌। त्यसैले प्राकृतिक वातावरणमै छोडेर तिनीहरूको अध्ययन गर्नुपर्छ।

शार्कबारे अहिले मानिसहरूले धेरै कुरा बुझेका यी रोमाञ्चकारी प्राणीहरूप्रतिको सोचाइमा परिवर्तन आउन थालेको छ। तर सेता शार्कहरू भने जस्तातस्तै छन्‌। यो दानवै नभए पनि खतरनाक जनावर भने अवश्‍यै हो। यसकारण सावधान हुनुपर्छ र त्यसको आदर गर्नुपर्छ। हो, धेरै नै आदर गर्नुपर्छ!

[फुटनोट]

a यो विशाल सेतो शार्क विभिन्‍न नाउँले चिनिन्छ। उदाहरणका लागि, अस्ट्रेलियामा यसलाई ह्वाइट पोइन्टर भनिन्छ भने दक्षिण अफ्रिकामा ब्लु पोइन्टर।

[पृष्ठ ११-मा भएको चित्र]

यी शार्कहरूको मुख ठूलो अनि डरलाग्दो हुन्छ

[पृष्ठ १०-मा भएको चित्रको स्रोत]

Photos by Rodney Fox Reflections

South African White Shark Research Institute