सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

गंगामा लासको बिगबिगी

इलेक्ट्रोनिक टेलिग्राफ भन्छ, “मोक्ष मिल्छ वा आत्माले शरीरबाट स्वतन्त्रता पाउँछ भन्‍ने विश्‍वास लिएर हिन्दूहरूले शताब्दीयौंदेखि मृतकहरूको लासलाई गंगामा बगाउँदै आएका छन्‌। पच्चीस सय किलोमिटर लामो र गहिरो गंगाको तेज धारले सडेका हजारौं लासहरू बगाइदिए त ठीकै छ। तर गंगामा वर्षौंको दौडान कारखानाबाट आएका मैलाकुचैला र यहाँ फालिएका फोहरले गर्दा यो नदी बिस्तारै बग्न थाल्नुका साथै यसको गहिराइ पनि घटेको छ।” फलस्वरूप, लासहरू “झारपातमा अल्झिन्छन्‌ र हप्तौंसम्म त्यहीं रहन्छन्‌।” सन्‌ १९८० को अन्ततिर गंगामा हजारौं मांसाहारी कछुवाहरू हालेर सरकारले यो समस्या समाधान गर्ने प्रयास गऱ्‍यो। तर १९९४ देखि यो योजना रद्द गरियो किनकि कछुवाहरूले लासहरू खाएर साध्यै भएन र सिकारीहरूले कछुवाहरूलाई समात्न पनि थाले। नयाँ अभियानस्वरूप मानिसहरूलाई आफ्नो नातेदारहरूको मृत लास नदी नजिकै जलाउन वा गाड्‌न आग्रह गरिंदैछ।

अपहरण गर्ने व्यापार

यु. एस. न्युज एण्ड रिपोर्ट भन्छ: “मेक्सिको, कोलम्बिया, हङकङ र रूसजस्ता ठाउँहरूमा मानिसहरू अपहरण गर्नु मालामाल हुने व्यापार भएको छ। मोटो रकम माग्न गरिएका अपहरणहरूको संख्या संसारभरि नै गत तीन वर्षमा वृद्धि हुँदै गएको छ।” सबैभन्दा बढी अपहरण ल्याटिन अमेरिकामा भएको छ। त्यहाँ १९९५ देखि १९९८ सम्ममा ६,७५५ जनाको अपहरण भयो। त्यसपछि एसिया र सुदूर पूर्व (६१७), युरोप (२७१), अफ्रिका (२११), मध्यपूर्व (११८) अनि उत्तर अमेरिका (८०) आउँछ। अपहरण गरिएका धेरैजसो व्यक्‍तिहरू स्थानीय व्यापारी र जमिनदारहरू भए तापनि विदेशी सहयोगमा काम गर्ने, व्यापारको सिलसिलामा यात्रा गर्ने वा पर्यटकहरू सबैलाई खतरा छ। अपहरण गरिएको व्यक्‍तिलाई छुटाउनुका साथै अपहरणकारीहरूसित कुरा गर्ने पेशेवर र मनोवैज्ञानिक सल्लाहकारहरूलाई पैसा तिर्न अन्तरराष्ट्रिय कम्पनीहरूले अपहरण बीमा गर्न थालेका छन्‌। अपहरणकारीहरू व्यवस्थित छन्‌ र तिनीहरू कुन व्यक्‍तिबाट कति रकम मुठ्याउन सकिन्छ र कत्तिको खतरा छ भनेर अनुसन्धान गर्छन्‌। तिनीहरूले आफ्नो कब्जामा रहेकाहरूलाई साधारणतया राम्रो व्यवहार गर्छन्‌ किनकि यसो गरेमा अपहरित व्यक्‍तिहरूले सुइँकुच्चा ठोक्ने प्रयास गर्दैनन्‌ र आफ्नो हातबाट पैसा उम्कदैंन भनी तिनीहरूलाई थाह छ। उक्‍त पत्रिका भन्छ: “संसारभरि अपहरण गरिएका १० मध्ये १ जनाले मात्र ज्यान गुमाउँछ।” तर सोही पत्रिका यस्तो चेताउनी दिन्छ: “स्थानीय प्रहरीदेखि सावधान हुनुहोस्‌। तिनीहरूको अक्सर अपहरणकारीहरूसित साँठगाँठ हुन्छ।”

क्यान्सर र गोलभेडा

गोलभेडामा प्रोस्टेट ग्रन्थीको क्यान्सर रोक्नसक्ने पदार्थ हुनसक्छ भनी अमेरिकन एसोसिएसन फर क्यान्सर रिसर्चले हालै गरेको अध्ययनबाट पत्ता लागेको छ। गोलभेडाको रंग रातो बनाउने पदार्थ अर्थात्‌ लाइकोपेनले प्रोस्टेट ग्रन्थीमा क्यान्सर लाग्नसक्ने ट्युमरलाई घटाउनसक्छ र शरीरका अन्य कोषिकाहरूमा क्यान्सर फैलिनदेखि रोक्छ। यु.एस. नेशनल क्यान्सर इन्स्टिच्युटले गरेको अध्ययनद्वारा “गोलभेडा र यसबाट तयार गरिएका पदार्थहरू प्रोस्टेट ग्रन्थीको क्यान्सरमा मात्र होइन तर प्यानक्रिअस, फोक्सो र ठूलो आन्द्राको क्यान्सरका लागि समेत लाभदायी छ, भन्‍ने पत्ता लागेको छ।”

आमाको मोल

एउटी आमाले वर्षभरि गर्ने सबै जागिरहरूको तलब जोड्‌ने हो भने कति हुन्छ? द वाशिंटन पोस्ट-अनुसार उनले वर्ष दिनमा ५,०८,७०० अमेरिकी डलर कमाउन सक्छिन्‌! आमाहरूले गर्ने कामहरूको औसत तलबको अध्ययनको आधारमा यो रकम निकालिएको हो। उनीहरूले वर्ष दिनमा पाउने औसतन तलबसहित रिपोर्टमा उल्लेख गरिएका १७ वटा पेसामध्ये केही यसप्रकार छन्‌: बच्चाहरूको रेखदेख गर्ने, १३,००० अमेरिकी डलर; बस चालक, ३२,००० डलर; मनोचिकित्सक, २९,००० डलर; जनावरहरूको रेखदेख गर्ने, १७,००० डलर; औपचारिक नर्स, ३५,००० डलर; मुख्य भान्से, ४०,००० डलर अनि लेखनदास, १९,००० डलर। यस अध्ययनका सञ्चालक वित्तीय सेवा कम्पनीका अध्यक्ष रिक इडेलम्यानअनुसार उक्‍त रकममा सोशल सेक्योरिटिको खर्च र अवकास भत्ताहरू समावेश छैन।

बाँस फुल्दा खतरा

उत्तरी भारतको विशाल क्षेत्र बाँसको जंगलले ढाकेको छ। बाँस फुल्न थालेपछि मणिपुर र मिजोराम राज्यमा डर उत्पन्‍न हुन थालेको छ। किन? किनकि यस क्षेत्रमा माउतोङ भनिने विशेष प्रकारको बाँसहरू ५० वर्षमा एकपल्ट मात्र फुल्छन्‌ र ती फूलहरूद्वारा मुसाहरू आकर्षित हुन्छन्‌। मुसाहरूले ती बाँसका फुलहरू खाँदै लगातार बच्चा जन्माउँछन्‌। त्यसपछि अन्‍नबाली स्वाहा पारेर अन्ततः अनिकाल नै ल्याउँछन्‌। द टाइम्स अफ इन्डिया-अनुसार १९५४/५५ मा बाँस फुलेपछि १९५७ मा अनिकाल मच्चिएको थियो। अर्को अनिकालबाट बच्न मिजोराम राज्य सरकारले मुसा मार्ने अभियान सुरु गऱ्‍यो। सरकारले मुसाको एउटा पुच्छरको लागि एक रुपियाँ दियो। गत अप्रिलसम्ममा ९०,००० वटा पुच्छर जम्मा भइसकेका छन्‌ र मुसा मार्ने अभियान चालू राख्न कोशको माग भइरहेको छ।