सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अंगप्रत्यंग छेड्‌नेबारे के भन्‍न सकिन्छ?

अंगप्रत्यंग छेड्‌नेबारे के भन्‍न सकिन्छ?

युवा जनहरू सोध्छन्‌ . . .

अंगप्रत्यंग छेड्‌नेबारे के भन्‍न सकिन्छ?

‘मैले पहिलो चोटि जिब्रो र शरीरको अरू भागमा छेडेको मानिसहरू देख्दा मलाई लाग्यो “वाह! क्या राम्रो!” ’—लिजा।

यस्तो विचार राख्ने लिजा मात्रै होइन। आँखीभौं, जिब्रो, ओठ र नाइटोलगायत शरीरका अन्य भागमा मुन्द्री र टप लाउने जवानहरूको संख्या बढ्‌दो छ। यसलाई अंगप्रत्यंग छेड्‌ने भनिन्छ। a

सोह्र वर्षीया हिथरलाई पनि आफ्नो विभिन्‍न अंग छेड्‌न हतार भइसक्यो। आफ्नो नाइटोमा मुन्द्री झुन्ड्याउन पाए “भयंकर राम्रो” देखिन्छ भनेर तिनी विश्‍वस्त छिन्‌। अझ १९ वर्षीय जोले जिब्रोमा सुनको सानो टप ढल्काइसकेको छ। अनि अर्की एक सानी केटीले चाहिं आँखीभौं छेडिन्‌ किनभने तिनी “मानिसहरू चकित पर्ने गरी झ्वाट्टै केही देखून्‌” भन्‍ने चाहन्थिन्‌।

गहना लगाउने कुरा नयाँ होइन। बाइबल समयमा पनि ईश्‍वरभक्‍त स्त्री रिबेकाले नत्थ लगाएकी थिइन्‌। (उत्पत्ति २४:२२, ४७) मिश्रबाट आउँदा इस्राएलीहरूले कुण्डलहरू लगाएका थिए। (प्रस्थान ३२:२) तर त्यस्ता गहनाहरू कान वा नाक छेडेर लगाएको हो कि होइन, थाह छैन। तथापि, आफ्नो मालिकप्रति वफादारीको चिह्न स्वरूप विश्‍वासी दासहरूले आफ्नो कान छेड्‌ने गर्थे। (प्रस्थान २१:६) अन्य संस्कृतिहरूमा पनि छेड्‌ने सामान्य चलन थियो। एजटेक र माया जातिहरू आफ्नो धर्मले गर्दा जिब्रो छेड्‌ने गर्थे। अफ्रिका र दक्षिण अमेरिकी इन्डियनहरूमाझ जिब्रो छेड्‌ने चलन अझै व्याप्त छ। नाकमा नत्थ लगाउने चलन मालेनेसिया, भारत र पाकिस्तानमा अझै छ।

केही वर्षअघिसम्म पश्‍चिमी मुलुकमा स्त्रीहरूले मात्र छेड्‌ने गर्थे, त्यो पनि कान मात्र। तर अहिले दुवै लिंगका किशोर तथा वयस्कहरूले शरीरको हुने जति सबै ठाउँमा छेडेको देखिन्छ।

तिनीहरू किन छेड्‌ने गर्छन्‌

थुप्रैले अहिले चलिरहेको फेसनको कारण छेड्‌ने गर्छन्‌। अरूचाहिं अझ सुन्दर देखिने आशमा त्यसो गर्छन्‌। निश्‍चय पनि यस्तो चलन फेसनमा आउनुको मुख्य कारण प्रख्यात मोडल, खेलाडी तथा लोकप्रिय संगीतकारहरूले छेड्‌न थालेकाले नै हो। अनि केही युवाहरूको निम्ति छेड्‌नु भनेको स्वतन्त्रताको अभिव्यक्‍ति हो र आफ्नो छुट्टै पहिचान बनाउने प्रयास तथा माध्यम हो। सम्पादक जोन लियो यस्तो टिप्पणी गर्छन्‌: “अंगप्रत्यंग छेड्‌नुको मुख्य कारण आमाबाबु र मध्यमवर्गलाई रिस उठाउनुजस्तो देखिन्छ।” असन्तुष्टि, बेग्लै हुने चाहना र विद्रोही भावको कारण यस्तो आत्म-अभिव्यक्‍ति आवश्‍यक भएजस्तो देखिन्छ।

गहिरो मानसिक वा भावनात्मक आवश्‍यकता पूरा गर्न छेड्‌नेहरू पनि छन्‌। उदाहरणका लागि, कोही कोही जवानहरू छेड्‌नाले आफ्नो आत्मसम्मान बढ्‌छ भन्ठान्छन्‌। बाल दुर्व्यवहारका सिकार भएकाहरू चाहिं त्यसलाई शरीरमा आफ्नो नियन्त्रण भएको देखाउने माध्यम ठान्छन्‌।

स्वास्थ्यलाई खतरा

तर के यसरी अंगप्रत्यंग छेड्‌नु सुरक्षित छ त? थुप्रै स्वास्थ्यकर्मीहरूले कुनै कुनै अंग छेड्‌नु सुरक्षित छैन भन्छन्‌। निश्‍चय पनि, आफै छेड्‌नु खतरापूर्ण छ। अनि पेसेवर भनौंदाहरूकहाँ जाँदा पनि भिन्दै प्रकारका खतराहरू हुनसक्छन्‌। यसरी छेड्‌न सिक्नेहरूमध्ये थुप्रैले विस्तृत प्रशिक्षण नलिई आफ्नो साथी, पत्रपत्रिका वा भिडियोहरूबाट सिकेका हुन्छन्‌। फलस्वरूप, तिनीहरूले स्वास्थ्यकर तरिका नअपनाउन सक्छन्‌ वा छेड्‌नुको खतरा समेत थाह नहुनसक्छ। साथै यी छेड्‌ने काम गर्ने थुप्रैलाई शरीरको रचना नै राम्ररी थाह हुँदैन। यो गम्भीर समस्या हो किनभने गलत ठाउँमा छेड्‌दा रगत धेरै जानसक्छ। नसामा पऱ्‍यो भने कहिल्यै निको नहुने गरी बिगार हुनसक्छ।

अर्को गम्भीर खतरा संक्रमण हो। जीवाणुहीन नबनाइएका औजारहरू चलाउँदा हेपाटाइटिस, एड्‌स, क्षयरोग र धनुष्टंकारजस्ता खतरनाक रोगहरू लाग्नसक्छ। उमालेर जीवाणुहीन बनाइएका औजार चलाएर छेडे तापनि पछि राम्ररी हेरविचार गर्नुपर्छ। उदाहरणका लागि, नाइटोमा छेड्‌दा हरबखत लुगासित रगड्‌ने हुँदा दुख्नसक्छ। त्यसैकारण, यो निको हुन नौ महिनासम्म पनि लाग्नसक्छ।

लोतीमा भन्दा नाक वा कानको कुर्कुरे हाडमा छेड्‌नु बढी खतरनाक हुन्छ भनेर डाक्टरहरू बताउँछन्‌। अमेरिकन एकेडेमि अफ फेसियल प्लास्टिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जरी नामक पत्रिका भन्छ: “कानको माथिल्लो भागमा थुप्रै प्वाल पार्नु निकै खतरनाक हो किनभने गम्भीर संक्रमण भयो भने कानको माथिल्लो भाग पूरै गुमाउनु पर्नसक्छ। नाकको नत्थ पनि खतरनाक नै छ। यस ठाउँमा संक्रमण भएको खण्डमा नजिकैको रक्‍तनलीहरू क्षति भएर मस्तिष्कसम्म फैलिनसक्छ।” त्यस पत्रिकाको अन्तमा यसो भनिएको छ: “छेड्‌नु नै छ भने, कानको लोतीमा मात्र छेड्‌नुपर्छ।”

अन्य खतराहरू नराम्रो दाग बस्ने र गहनाहरूले गराउने प्रतिक्रिया हो। स्तनजस्तो संवेदनशील ठाउँमा छेड्‌दा लुगामा अल्झियो वा तानियो भने सजिलै हानि हुनसक्छ। जवान केटीको स्तनमा घाउको दाग बस्यो भने दूधको नलीहरू बन्द हुन्छ र समयमै उपचार गराएन भने भविष्यमा बच्चालाई दूध खुवाउन गाह्रो हुन्छ वा सक्दै सकिंदैन।

हालै अमेरिकी दन्त चिकित्सक संघले मुखका भागहरूमा छेड्‌नु सार्वजनिक स्वास्थ्य खतरा हो भनेर बताएको छ। मुखका भागहरूमा छेड्‌नुका अन्य खतराहरू, गहना निल्दा निसासिनु, जिब्रो लाटो हुनु र स्वाद नपाउनु, लामो समयसम्म रगत आउनु, दाँत टुक्रा हुनु, थुक धेरै आउनु, राल आएको आएकै हुनु, गिजामा घाउ हुनु, बोली स्पष्ट नहुनु र सास फेर्दा, चपाउँदा र निल्दा गाह्रो हुनु हुन्‌। केन्द्र नाउँ गरेकी एक युवतीले जिब्रो छेड्‌दा तिनको जिब्रो “बेलुनजस्तो सुन्‍नियो।” अझ त्यसमाथि छेड्‌ने मानिसले चिउँडोमा लगाउन बनाइएको मुन्द्री तिनको जिब्रोमा लगाइदिएछ र यसले केन्द्रको जिब्रो काट्यो र जिब्रोको भित्रसम्मै क्षति पुऱ्‍यायो। तिनले झन्डै बोल्ने क्षमता नै गुमाएकी।

परमेश्‍वरले आफ्ना जन इस्राएलीहरूलाई आफ्नो शरीरको आदर गर्नू र काटेर चोट नबनाउनू भन्‍नुभयो। (लेवी १९:२८; २१:५; व्यवस्था १४:१) आज मसीहीहरू मोशालाई दिइएको व्यवस्था अन्तर्गत नभए तापनि तिनीहरूलाई अझै आफ्नो शरीरको आदर गर्न प्रोत्साहित गरिन्छ। (रोमी १२:१) अतः के अनावश्‍यक शारीरिक खतराबाट बच्नु बेस होइन त? यद्यपि, तपाईंले स्वास्थ्यबाहेक विचार गर्नुपर्ने अन्य पक्षहरू पनि छन्‌।

यसले कस्तो सन्देश दिन्छ?

अंगप्रत्यंक छेड्‌नेबारे बाइबलले कुनै खास आज्ञा दिंदैन। तर हामीलाई “लज्जालु र सरल भई सिंगारिऊन्‌” भनी बताउँछ। (१ तिमोथी २:९) कुनै कुनै कुरा संसारको एउटा भागमा भद्र ठानिए तापनि महत्त्वपूर्ण प्रश्‍न हो तपाईं बस्ने इलाकामा कस्तो ठानिन्छ। उदाहरणका लागि, संसारको एउटा भागमा स्त्रीहरूले कान छेड्‌नु राम्रै ठानिन्छ। तर अर्को देश वा समाजमा भने त्यसलाई अपमानको रूपमा लिइन्छ।

ख्याति प्राप्त हस्तीहरूबीच अंगप्रत्यंग छेड्‌नु, मुन्द्री लगाउनु लोकप्रिय भए तापनि पश्‍चिमी मुलुकमा पुरुषहरूले यसरी छेड्‌नु सामान्यतया अझै स्वीकार्य भइसकेको छैन। यसको एउटा कारण त, यो लामो समयदेखि कैदी, मोटरसाइकल गिरोह, पंक र समलिंगीहरूको चिह्न हो। थुप्रैले अंगप्रत्यंग छेड्‌नुलाई विद्रोहको चिह्नको रूपमा लिन्छन्‌। कतिपय पुरुषहरूले यसलाई घृणित ठान्छन्‌। आस्ले नाउँ गरेकी एक मसीही युवती यसो भन्छिन्‌: “मेरो कक्षामा भर्खरै एउटा केटाले आफ्नो नाक छेडेको छ। ऊ आफूले त्यसो गरेकोमा असाध्यै राम्रो देखिएँ भन्ठान्छ। तर मलाई त घिनलाग्छ!”

त्यसैकारण त अमेरिकाको एउटा प्रख्यात पसलमा ग्राहकहरूसित सीधै सम्पर्क हुने कर्मचारीहरूलाई एउटा कानमा एउटा मात्र प्वाल पार्न पाउने र शरीरको अन्य भागमा छेड्‌न निषेध गरेको छ। कम्पनीका प्रवक्‍ता भन्छिन्‌, “मानिसहरूको कस्तो प्रतिक्रिया हुन्छ, भन्‍न सकिंदैन।” त्यस्तै गरी, पेसाबारे सल्लाह दिने व्यक्‍तिहरू पनि जागिरको लागि आवेदन भर्ने कलेजका युवकहरूलाई “मुन्द्री वा शरीरको अन्य भागमा नछेड्‌न र युवतीहरूलाई चाहिं . . . नाकमा नत्थ नलगाउन” सल्लाह दिन्छन्‌।

विशेष गरी, जवान मसीहीहरू प्रचार कार्यमा भाग लिंदा लगायत अन्य समयमा अरूलाई कस्तो प्रभाव परिरहेको होला भनेर सजग हुनुपर्छ। ‘सेवामा कलंक नलागोस्‌ भनेर तिनीहरू कुनै कुरामा केही बाधा दिन’ चाहँदैनन्‌। (२ कोरिन्थी ६:३, ४) छेड्‌नेबारे तपाईंको व्यक्‍तिगत विचारधारा जस्तो सुकै भए तापनि तपाईंको बाह्‍य रूपले निश्‍चय पनि तपाईंको मनोवृत्ति र जीवनशैलीबारे केही बताइरहेको हुन्छ। तपाईं कस्तो सन्देश दिन चाहनुहुन्छ?

निस्सन्देह, यस सन्दर्भमा अन्तिम निर्णय तपाईं अनि तपाईंको आमाबाबुकै हो। “यस संसारसित एकै चालका नहोओ” भनेर बाइबल स्पष्ट सल्लाह दिन्छ। (रोमी १२:२) आखिरमा नतिजा तपाईंले नै भोग्नुपर्छ।

[फुटनोट]

a यस लेखमा हामीले थुप्रै देशहरूमा सामान्यतया गरिने र समाजले स्वीकार्ने भद्र प्रकारको छेड्‌ने प्रचलनलाई संकेत गरिरहेका होइनौं। बरु, आजकाल लोकप्रिय भइरहेको अचाक्ली किसिमले छेड्‌ने चलनहरूलाई संकेत गरेका हौं।– मे १५, १९७४, प्रहरीधरहरा अंग्रेजी अंकको पृष्ठ ३१८-१९ हेर्नुहोस्‌।

[पृष्ठ १४-मा भएको चित्र]

अंगप्रत्यंग छेड्‌नु जवानहरूबीच असाध्यै लोकप्रिय भएको छ