सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एल निन्यो भनेको के हो?

एल निन्यो भनेको के हो?

एल निन्यो भनेको के हो?

पेरू, लिमासँगै अरू बेला सुक्खा रहने अपुरम्याक नदीले कार्मेनको सबै जसो धनमाल स्वात्तै बगाएर लग्दा तिनले यसरी विलाप गरिन्‌: “मेरो मात्र होइन। अरू थुप्रैको यस्तै हाल भएको छ।” लिमाको सुदूर

उत्तरतिर घनघोर वर्षाले तटीय साक्कुरा मरुभूमिको एक भागलाई केही समयको निम्ति पेरूको दोस्रो सबैभन्दा ठूलो तालमा परिणत गरिदियो। यसले जम्मा ५,००० वर्ग किलोमिटर ठाउँ ढाकेको थियो। पृथ्वीको अन्य भागमा चाहिं अत्यधिक बाढी, तीव्र गतिले बहने तुफानका साथै खडेरीले गर्दा अनिकाल, महामारी, विनाशकारी आगलागी हुनुका साथै बालीनाली, सम्पत्ति र वातावरणलाई क्षति पुऱ्‍यायो। यी सबै हुनुको कारण के थियो? थुप्रैले यसको दोष एल निन्योलाई दिन्छन्‌। यो जुन १९९७ को अन्ततिर उष्ण कटिबन्धीय वा भूमध्यसागरीय प्रशान्त महासागरबाट सुरु भएर झन्डै आठ महिनासम्म यथावत रह्‍यो।

यो एल निन्यो भनेको वास्तवमा के हो? यो कसरी सुरु हुन्छ? यसका प्रभावहरू किन यस्तो व्यापक छ? ज्यान र धनसम्पत्तिलाई पुऱ्‍याउने खतरालाई कम गर्न अर्को चोटि एल निन्यो कहिले हुन्छ, के ठीकसित पूर्वानुमान लगाउन सकिन्छ?

यो पानी न्यानो भएपछि सुरु हुन्छ

“सीधै भन्‍ने हो भने एल निन्यो पेरूको तटनेर हरेक दुई वा सात वर्षमा देखा पर्ने न्यानो पानीको धार हो” भनी न्युजवीक पत्रिका बताउँछ। पेरूका तटका नाविकहरूले त्यस्तो न्यानो पानीको धार उत्पन्‍न हुने गरेको याद गर्न थालेको सयौं वर्ष भइसक्यो। ती न्यानो धारहरू अक्सर क्रिसमसको समयतिर उत्पन्‍न हुने हुँदा त्यसलाई एल निन्यो नाउँ दिइएको थियो, यसको अर्थ स्पेनी भाषामा बालक येशू हो।

पेरूको तटवर्ती पानी न्यानो हुनुको अर्थ त्यस इलाकामा धेरै वर्षा हुनु हो। यस्तो वर्षाको कारण मरुभूमि ढकमक्क हुन्छ र पशुहरू मोटाघाटा हुन्छन्‌। घनघोर वर्षा हुँदा त्यस भेगमा बाढी पनि आउँछ। यसबाहेक, समुद्रको न्यानो सतहले तलको पोषक चिसो पानीलाई माथि आउन दिंदैन। त्यसैकारण, थुप्रै जल प्राणीहरू र केही चराहरूसमेत आहारको खोजीमा अन्यत्र बसाइँ सर्छन्‌। अनि अन्ततः एल निन्योको प्रभाव पेरूको तटवर्ती इलाकाभन्दा अन्य टाढटाढा ठाउँहरूमा पनि पर्न थाल्छ। a

वायु र पानीको कारण

पेरूको तटवर्ती समुद्रको तापक्रममा असामान्य वृद्धि के कारणले हुन्छ? यो बुझ्न पहिला वल्कर सर्कुलेसन भनिने ठूलो चक्रलाई बुझ्नु आवश्‍यक छ। b यो चक्र पूर्वीय र पश्‍चिमी उष्ण कटिबन्धीय प्रशान्त क्षेत्र बीचको वायुमण्डलमा हुन्छ। इन्डोनेसिया र अस्ट्रेलिया नजिकै पश्‍चिमतिर पानीको सतहमा सूर्यको ताप पर्न थालेपछि वायुमण्डलमा तातो र आर्द्र हावा मास्तिर उठ्‌न थाल्छ। फलतः पानीको सतहनेर हावाको चाप कम हुन्छ। माथि उडिरहेको हावा सेलाउँदै जाँदा त्यसले आर्द्रता गुमाउँछ र त्यस इलाकामा वर्षा हुन्छ। वायुमण्डलको माथिल्लो तहमा रहेको वायुले चाहिं सुक्खा हावालाई पूर्वतिर लग्छ। झन्‌ झन्‌ पूर्वतिर गएपछि हावा चिसो र गह्रौं हुँदै जान्छ अनि पेरू र इक्वेडर पुगेपछि झर्न थाल्छ। यसले गर्दा समुद्रको सतहमा वायुको चाप अत्यधिक हुनथाल्छ। अनि समुद्री सतहदेखि कम उचाइमा पर्ने इलाकाहरूमा चाहिं वाणिज्य वायु भनिने हावाको धार इन्डोनेसियातिर अर्थात्‌ फेरि पश्‍चिमतिरै बहन थाल्छ। यसप्रकार, अन्ततः चक्र पूरा हुन्छ।

उष्ण कटिबन्धीय प्रशान्त क्षेत्रको सतही तापक्रमलाई वाणिज्य वायुले कसरी प्रभाव पार्छ? “यी वायुहरूले साधारणतया सानो पोखरीमा आउने बतासको जस्तो काम गर्छन्‌। त्यसले पश्‍चिमी प्रशान्त महासागरतर्फ समुद्रको न्यानो पानीको सतहलाई ठेल्दै लग्छ र त्यहाँ समुद्रको सतह जस्तै इक्वेडरको भन्दा ६० सेन्टीमिटर बढ्‌नुका साथै तापक्रम पनि ८ डिग्री सेल्सियस न्यानो हुन्छ” भनी न्युजवीक बताउँछ। पूर्वी प्रशान्त महासागरमा पोषक चिसो पानी सतहमा आउन थाल्छ जसको कारण जलप्राणीहरू फस्टाउन थाल्छन्‌। अतः सामान्य वा एल निन्यो नभएको वर्षहरूमा पश्‍चिम प्रशान्त महासागरमा भन्दा पूर्व प्रशान्त महासागरमा समुद्रको सतह चिसो हुन्छ।

वायुमण्डलमा हुने कस्ता परिवर्तनहरूले गर्दा एल निन्यो हुने गर्छ? नेशनल जियोग्राफिक भन्छ, “किन हरेक केही वर्षमा वाणिज्य वायु कम हुन्छ वा पूरै हराउँछ, वैज्ञानिकहरूले यसको कारण अझै बुझ्न सकेका छैनन्‌।” यी वायुहरू सुस्ताएपछि इन्डोनेसियाको छेउछावैमा जम्मा भएको न्यानो पानी पूर्वतिर नै फर्कन्छ र यसको कारण पेरू तथा अन्य पूर्वीय इलाकाहरूमा समुद्रको सतहको तापक्रम बढ्‌छ। यस प्रक्रियाले वायुमण्डलीय प्रक्रियामा असर गर्छ। “पूर्वीय उष्ण कटिबन्धीय प्रशान्त महासागर न्यानो भएको कारण वल्कर सरकुलेशन कमजोर हुन्छ र यसैकारण मुसलधारे वर्षाको संवाहनिक मण्डल पूर्वतिर सर्छ, र पश्‍चिमतिरबाट मध्य भाग हुँदै पूर्वीय उष्ण कटिबन्धीय प्रशान्त महासागरमा सर्छ” भनी एउटा स्रोत बताउँछ। अतः सम्पूर्ण भूमध्यसागरीय प्रशान्त महासागरको मौसम प्रणाली नै प्रभावित हुन्छ।

खोलामा भएको ठूलो ढुंगाजस्तै

उष्ण कटिबन्धीय प्रशान्त महासागरका पानीका धारहरूभन्दा धेरै टाढाको हावापानीलाई पनि एल निन्योले अदलबदल गर्नसक्छ। कसरी? यसले आफ्नो माध्यमको रूपमा हावाको स्थानान्तरण प्रक्रियालाई चलाउँछ। स्थानीय वायुमण्डलमा भएको गतिविधिले टाढटाढासम्म पार्ने असरलाई खोलाको बीचको एउटा ठूलो ढुंगाले गर्दा पूरै खोलामा देखा परिरहने तरंगसित तुलना गर्न सकिन्छ। न्यानो उष्ण कटिबन्धीय समुद्रको सतहमाथि उठिरहेको बाक्लो वर्षा बादलले वायुमण्डलमा ढुंगाले जस्तो अवरोध खडा गर्छ र फलतः यसले धेरै टाढाको मौसम परिपाटीमा असर गर्छ।

उच्च अक्षांशमा एल निन्यो अझ बलियो हुन्छ र त्यसले जेट स्ट्रिम भनिने तीव्र गतिमा बहने पूर्वीय वायुको ठाउँ ओगट्‌छ। यी अक्षांशहरूका प्रायजसो आँधी प्रणालीहरू जेट स्ट्रिमद्वारा नियन्त्रित हुन्छन्‌। जेट स्ट्रिम तीव्र हुनुका साथै त्यसले दिशा परिवर्तन गर्दा मौसमी हावापानीमा पनि आमूल परिवर्तन गर्नसक्छ। उदाहरणका लागि, उत्तर संयुक्‍त राज्यको भागहरूमा एल निन्योले गर्दा जाडो सामान्यतया भन्दा कम हुन्छ भने केही दक्षिणी राज्यहरूमा पानी धेरै पर्नुका साथै धेरै जाडो हुन्छ।

कत्तिको पूर्वानुमान गर्न सकिन्छ?

खास आँधीहरूको प्रभाव केही दिनअगाडि मात्र पूर्वानुमान गर्न सकिन्छ। एल निन्योको पूर्वानुमानबारे पनि के त्यसै भन्‍न सकिन्छ? सकिंदैन। एल निन्योको पूर्वानुमान गर्दा क्षणिक मौसमको मात्र पूर्वानुमान नगरी महिनौंको दौडान ठूलो इलाकामा हुने असामान्य हावापानीको पूर्वानुमान गरिन्छ। अनि हावापानी अनुसन्धानकर्ताहरूले एल निन्यो पूर्वानुमान गर्ने सन्दर्भमा केही हदसम्म सफलता हासिल गरेका छन्‌।

उदाहरणका लागि, १९९७-९८ एल निन्योको पूर्वानुमान झन्डै छ महिनाअघि मे १९९७ मा गरिएको थियो। उष्ण कटिबन्धीय प्रशान्त महासागरभरि नै अहिले समुद्रको सतहदेखि ५०० मिटरमुनिसम्मको पानीको तापक्रम नाप्न ७० वटा यन्त्रहरू तैराएर राखिएको छ। कम्प्युटरले हावापानीको उक्‍त तथ्यांकहरूको आधारमा मौसमको पूर्वानुमान गर्छ।

पहिले नै मानिसहरूलाई एल निन्योबारे सजग गराइयो भने सम्भाव्य परिवर्तनहरूको लागि तयार रहनसक्छन्‌। उदाहरणका लागि, १९८३ देखि पेरूमा एल निन्यो पूर्वानुमान गर्नाले थुप्रै किसानहरूलाई धेरै पानी पर्ने मौसमलाई सुहाउने किसिमको गाइवस्तु पाल्न वा बाली लगाउन प्रोत्साहन दिइएका छन्‌ भने मछुवाहरू चाहिं माछा मार्नुको सट्टा न्यानो पानीमा फस्टाउने झिंगे माछा पालन गर्नमा लागेका छन्‌। हो, सही पूर्वानुमानको साथसाथै अग्रिम तयारी गऱ्‍यो भने एल निन्योले मानिस र आर्थिक क्षेत्रमा पार्ने प्रभावलाई कम गर्नसक्छ।

हाम्रो पृथ्वीको मौसम परिपाटीबारे वैज्ञानिकहरूले गरेका अनुसन्धानले झन्डै ३,००० वर्षअघि पुरातन इस्राएलका राजा सुलेमानले लिपिबद्ध गरेका प्रेरित शब्दहरू सही प्रमाणित गर्छ। तिनले यस्तो लेखे: “बतास दक्षिणतिर बहन्छ, बतास उत्तरतिर बहन्छ, घुमेर फेरि चक्कर मार्छ।” (उपदेशक १:६) आधुनिक मानिसले हावाको धार र समुद्रका धारहरूको अध्ययन गरेर मौसम परिपाटीबारे धेरै कुरा थाह पाइसके। एल निन्यो जस्ता घटनाहरूबारे दिइएको चेताउनी सुनेर त्यस्ता ज्ञानहरूको लाभ उठाऔं।

[फुटनोटहरू]

a यसको विपरीत, ला निन्या हुनुको कारण (स्पेनी भाषामा “सानी केटी”) चाहिं समय समयमा दक्षिण अमेरिकाको पश्‍चिमी तटवर्ती पानीको तापक्रम कम हुनु हो। ला निन्याले पनि मौसममा प्रतिकूल असर पार्छ।

b सर गिल्बर्ट वल्करको नाउँमा यस चक्रको नाउँ राखिएको हो। तिनले १९२० को दशकमा यस प्रक्रियाबारे अध्ययन गरेका थिए।

[पृष्ठ २७-मा भएको पेटी]

एल निन्योको विनाशकारी इतिहास

१५२५: पेरूमा भएको एल निन्योको प्रथम ऐतिहासिक रेकर्ड।

१७८९-९३: एल निन्यो भारतमा ६,००,००० भन्दा बढी मानिसको मृत्यु अनि दक्षिणी अफ्रिकामा नराम्रो खडेरीको निम्ति जिम्मेवार थियो।

१९८२-८३: एल निन्योको कारण २,००० भन्दा बढीको ज्यान गयो र मुख्यतः उष्ण कटिबन्धीय इलाकाहरूमा १३ अरब अमेरिकी डलर बराबरको धनमालको नोक्सानी भयो।

१९९०-९५: क्रमैसित भएका तीन घटनाहरूको कारण अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा लामो एल निन्यो।

१९९७-९८: एल निन्योको कारण हुने बाढी र खडेरीबारे पूर्वानुमान गर्न धेरै हदसम्म सफल भए तापनि झन्डै २,१०० ले ज्यान गुमाउनुपऱ्‍यो र विश्‍वभरि ३३ अरब अमेरिकी डलर बराबरको क्षति भयो।

[पृष्ठ २५-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

सामान्य

वल्कर सरकुलेसन परिपाटी

शक्‍तिशाली वाणिज्य वायु

महासागरको न्यानो पानी

महासागरको चिसो पानी

एल निन्यो

जेट स्ट्रिमले दिशा बदल्छ

कमजोर वाणिज्य वायु

न्यानो पानी पूर्वतिर बहन्छ

साविकभन्दा न्यानो वा सुक्खा

साविकभन्दा चिसो वा ओसिलो

[पृष्ठ २६-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

एल निन्यो

माथिको ग्लोबमा देखाइएको रातो रंगले सामान्यभन्दा न्यानो पानीको तापक्रमलाई बुझाउँछ

सामान्य

पश्‍चिमी प्रशान्त महासागरमा न्यानो पानी जम्मा भएपछि पूर्वमा पोषक चिसो पानी बढ्‌छ

एल निन्यो

कमजोर वाणिज्य वायुको कारण न्यानो पानी फेरि पूर्वतिर नै बहन्छ र चिसो पानीलाई सतहमा आउनदेखि रोक्छ

[पृष्ठ २३, २४-मा भएको चित्र]

पेरू

जलाम्य साक्कुरा मरुभूमि

मेक्सिको

लिन्डा तुफान

क्यालिफोर्निया

हिलोको बाढी

[स्रोत]

Pages 24-5 left to right: Fotografía por Beatrice Velarde; Image produced by Laboratory for Atmospheres, NASA Goddard Space Flight Center; FEMA photo by Dave Gatley