सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मेक्सिकोमा के अझ बढी धार्मिक स्वतन्त्रता दिइनेछ?

मेक्सिकोमा के अझ बढी धार्मिक स्वतन्त्रता दिइनेछ?

मेक्सिकोमा के अझ बढी धार्मिक स्वतन्त्रता दिइनेछ?

मेक्सिकोका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

मेक्सिकोको कानुनले धार्मिक स्वतन्त्रताको ग्यारेन्टी दिन्छ। तैपनि, त्यस कानुनले धार्मिक स्वतन्त्रतामाथि अझ केही प्रतिबन्धहरू लगाएको छ। उदाहरणका लागि, यस देशमा धार्मिक अडानको कारण सैन्य सेवामा भाग नलिने विचारबारे पटक्कै थाह छैन भने पनि हुन्छ। त्यसैकारण, नेशनल अटोनोमस युनिर्भसिटी अफ मेक्सिकोको (यु एन ए एम) इन्स्टिच्युट अफ लिगल इन्भेस्टिगेसनले “मेक्सिको र विश्‍वमा धार्मिक अडान” विषयक अन्तरराष्ट्रिय गोष्ठी आयोजना गर्ने निर्णय गऱ्‍यो। यु एन ए एम-को इन्स्टिच्युट अफ लिगल इन्भेस्टिगेसन सरकारप्रति जवाफदेही भए तापनि यसको उद्देश्‍य कानुनहरू र यसको प्रयुक्‍तिबारे अनुसन्धान गर्नु हो। मेक्सिकोका यहोवाका साक्षीहरूलाई पनि “यहोवाका साक्षीहरू र धार्मिक अडान” विषयमा बोल्न प्रतिनिधि पठाउन आमन्त्रित गरिएको थियो।

प्राध्यापकहरूले मन्तव्य पेस गरे

स्पेनको ग्रानाडा कानुन विश्‍वविद्यालयका प्राध्यापक डा. जाभियर मार्टिनेज टोरोनले “अन्तरराष्ट्रिय कानुनमा धार्मिक अडान” विषयक प्रस्तुतिमा धार्मिक स्वतन्त्रता र आफ्नो धर्मको कारण केही कानुन वा दायित्वहरू पूरा गर्न नसक्ने प्रबन्ध अन्तरराष्ट्रिय जगत्‌मै स्वीकार्य भइसक्यो भनेर औंल्याए। तिनले स्पेनका यहोवाका साक्षीहरूको अवस्था र ग्रीसमा कोकिनाकिसको मुद्दा उल्लेख गरे। a

यु एन ए एम-को इन्स्टिच्युट अफ लिगल इन्भेस्टिगेसनका प्राध्यापक डा. होसे लुइस सोबोरनेस फर्नानडिजले “मेक्सिकोको अनुभव” भन्‍ने विषयमा आफ्नो मन्तव्य पेस गरे। पहिलो धारालाई संकेत गर्दै तिनले यसो भने: “धार्मिक संगठन र सार्वजनिक उपासनासम्बन्धी मेक्सिकोको कानुनले धार्मिक अडानलाई पूर्णतया निषेध गर्छ भने पनि हुन्छ।” मेक्सिकोको संविधानको पहिलो धारा यसो भन्छ: “धार्मिक विश्‍वासको कारण यस देशको कुनै पनि कानुन पालन नगर्ने छुट पाइँदैन। कानुनअनुसार पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व नगर्न कसैले धर्मको आधारमा आग्रह गर्न सक्दैन।” अन्तमा डा. सोबोरनेसले यसो भने: “मेक्सिकोमा धार्मिक अडान विषयमा अब चाँडै कानुन बनाउनु जरुरी छ जस्तो हामीलाई लाग्छ।”

मेक्सिकोमा प्रत्येक वर्ष सयौं साक्षी केटाकेटीले आफ्नो बाइबल आधारित विश्‍वासको कारण झन्डा सलामी गर्न इन्कार गरेकाले समस्या भोग्नुपरेको तिनले औंल्याए। कोही कोही साक्षी केटाकेटीलाई त स्कूलमा नाउँ दर्ता गर्नसमेत दिइँदैन। तथापि, मानव अधिकार आयोगमा अपिल गरेर थुप्रैले आफ्नो शिक्षा हासिल गर्ने अधिकार पुनः प्राप्त गरेका छन्‌। केही शिक्षकहरूले केटाकेटीलाई स्कूलबाट निष्कासन नगर्न ठोस कदमहरू चाले तापनि अरू केही शिक्षकहरूले त्यस्तो प्रयासको बेवास्ता गर्छन्‌। सरकारी अख्तियारवालाहरू साक्षीहरूको अडानप्रति उदार भए तापनि मेक्सिकोका स्कूलहरूले पालन गर्नुपर्ने कुनै नीतिनियमको चयन गरिएको छैन।

त्यस गोष्ठीमा अन्य धर्मका मानिसहरूले पनि पवित्र मानिएका दिनहरूमा जबरजस्ती काम गर्नुपर्ने, काम गर्दा आफ्नो धार्मिक विश्‍वास विपरीतको पहिरन लगाउनुपर्ने इत्यादि विषयहरूबारे छलफल गरिएको थियो। सैन्य सेवा र केही खास उपचारबारे पनि छलफल गरिएको थियो।

यहोवाका साक्षी र सिजर

मेक्सिकोस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयका सदस्यले साक्षीहरूको आधारभूत विश्‍वासको सारांश प्रस्तुत गरे। लूका २०:२५ मा बताइएको “जे सिजरका हुन्‌ सिजरलाई” तिर्नु भन्‍ने बाइबल सिद्धान्त मसीहीहरू पछ्याउँछन्‌ भनेर तिनले बताए। तिनले रोमी १३:१ पनि संकेत गरे, जहाँ मसीहीहरूलाई उच्च अख्तियारवालाहरूको आदर गर्नू भनिएको छ। तिनले यहोवाका साक्षीहरू सामान्य, कानुन पालक नागरिक हुन्‌ र तिनीहरू कर तिर्छन्‌, शान्तिपूर्वक जीवन बिताउँछन्‌, घर सफा राख्छन्‌ र आफ्ना बच्चाहरूलाई स्कूल पठाउँछन्‌ भनेर जोड दिए।

अनि तिनले, साक्षीहरूले झन्डा सलामी गर्न इन्कार गर्नुको धर्मशास्त्रीय आधार पनि प्रकाश पारे, जुन प्रस्थान २०:३-५ मा लिपिबद्ध दस आज्ञामा पाइन्छ: “मेरो सामने तैंले अरू कुनै देवता—देवीहरू नमान्‍नू। तैंले आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, औ माथि आकाश अथवा तल पृथ्वी र पृथ्वीमनि पानीमा भएको कुनै आकारको प्रतिमूर्ति नबनाउनू। तँ तिनीहरूका सामने ननिउरनू, तिनीहरूको पूजा नगर्नू।”

यहोवाका साक्षीहरू परमेश्‍वरको मात्र उपासना गर्छन्‌ र तिनीहरू कुनै पनि हालतमा मूर्तिपूजा गर्दैनन्‌। तथापि, तिनीहरू कहिल्यै राष्ट्रिय प्रतीकको अनादर वा त्यसबारे दुर्वचन बोल्दैनन्‌।

यस विषयमा यहोवाका साक्षीहरूको दृष्टिकोणमाथि जोड दिन पर्पल ट्रयाङ्‌गल्स नामक भिडियो देखाइएको थियो। त्यस भिडियोमा यहोवाका साक्षीहरूले नाजी जर्मनीको समयमा (१९३३-४५) लिएको दृढ अडान प्रस्तुत गरिएको छ। त्यसमा नाजी शासनको बेला कुसरो परिवारले आफ्नो विश्‍वासको खातिर लिएको दृढ अडानको कथा प्रस्तुत गरिएको छ। b

त्यसपछि, यहोवाका साक्षीहरूले रक्‍तक्षेपण इन्कार गर्नुको धर्मशास्त्रीय आधार पनि प्रस्तुत गरियो। (उत्पत्ति ९:३, ४; प्रेरित १५:२८, २९) विश्‍वभरि हस्पिटल लायजन कमिटीको प्रबन्धबारे बताइयो। यसबाहेक, यहोवाका साक्षीहरूको सहयोगी चिकित्सकहरूले गरेका सफल रक्‍तविहीन शल्यक्रियाहरूबारे पनि बताइयो।

प्रत्येक दिन झन्डै सय जना मानिसहरू त्यस गोष्ठीमा उपस्थित हुन्थे र तिनीहरूमध्ये कति जना वकिलहरू थिए। मेक्सिकोको धार्मिक मामिलासम्बन्धी कार्यालयका प्रतिनिधिहरू पनि उपस्थित थिए। उपस्थित सबैले धार्मिक अडानको सन्दर्भमा विशेषज्ञहरूको दृष्टिकोण सुन्‍ने अवसर पाए। यो विचार मेक्सिकोका विधायकहरूको निम्ति नयाँ भए तापनि थुप्रै प्रजातान्त्रिक देशहरू जस्तै फ्रान्स, पुर्तुगाल, स्पेन र संयुक्‍त राज्य अमेरिकाका साथसाथै पूर्व साम्यवादी राष्ट्रहरू जस्तै चेकिया र स्लोभाकियामा व्यापक रूपमा लागू भइसकेको छ।

[फुटनोट]

a सेप्टेम्बर १, १९९३ को प्रहरीधरहरा-को अंग्रेजी अंकमा “युरोपेली उच्च अदालतले ग्रीसमा प्रचार गर्ने अधिकारलाई कायम राख्छ” भन्‍ने लेख र डिसेम्बर १, १९९८ को अंकमा “कानुनी तवरमा सुसमाचारको रक्षा गर्ने” लेख हेर्नुहोस्‌।

b सेप्टेम्बर १, १९८५, प्रहरीधरहरा-को अंग्रेजी अंकमा “जेल र मृत्युको बावजूद मेरो परिवारको परमेश्‍वरको निम्ति प्रेम” नामक लेख हेर्नुहोस्‌। साथै जनवरी १५, १९९४, अंग्रेजी अंकको पृष्ठ ५ पनि हेर्नुहोस्‌।

[पृष्ठ २३-मा भएको चित्र]

मेक्सिकोका यहोवाका साक्षीहरू आफूले पाएको प्रचार गर्ने स्वतन्त्रतालाई मूल्यवान्‌ ठान्छन्‌