रक्तविहीन औषधोपचार तथा शल्यक्रियाको—बढ्दो माग
रक्तविहीन औषधोपचार तथा शल्यक्रियाको—बढ्दो माग
“रगत अनि शल्यक्रिया गरिएका बिरामीहरूसित काम गर्नेहरू सबैले रक्तविहीन शल्यक्रियामाथि गौर गर्नुपर्छ।”—डा. योआखीम बल्ट, एनिस्थिजियोलोजी प्राध्यापक, लुड्विग्शाफेन, जर्मनी।
एड्सको महामारीले गर्दा वैज्ञानिक तथा चिकित्सकहरू शल्यक्रिया गर्ने कोठा अझ सुरक्षित बनाउन बाध्य भएका छन्। स्पष्टतः, यसको अर्थ, अझै कडीकडाइसाथ रगत जाँच्नु हो। तर यी कदमहरू अपनाइए तापनि रक्तक्षेपणबाट हुने खतराहरूबाट पूर्णतया सुरक्षित हुन सकिंदैन भनेर विशेषज्ञहरू भन्छन्। ट्रान्स्फ्यूजन पत्रिका यसो भन्छ, “रगतलाई पहिलेको तुलनामा सुरक्षित गराउन निकै स्रोत तथा साधन खर्च गरे तापनि रगत कहिल्यै पूर्णतया सुरक्षित हुन नसक्ने भएकोले बिरामीहरूले [दान दिइएको] रक्तक्षेपण नगर्ने प्रयास गरिरहनेछन् भनेर हामी विश्वस्त छौं।”
त्यसैले होला, थुप्रै चिकित्सकहरूले रक्तक्षेपण गर्न
नपरोस् भनेर निकै होस पुऱ्याउन थालेका छन्। सान फ्रान्सिस्को, क्यालिफोर्नियाका डा. एलेक्स जापोल्नस्की भन्छन्, “वास्तवमा, रक्तक्षेपण गर्नु राम्रो होइन। त्यसैकारण, हामी कसैलाई पनि रक्तक्षेपण गर्न नपरोस् भन्ने भरमग्दुर प्रयास गरिरहेका छौं।”आम जनताहरू पनि रक्तक्षेपणका खतराहरूदेखि सतर्क हुन थालेका छन्। वास्तवमा, १९९६ मा गरिएको सर्वेक्षणअनुसार ८९ प्रतिशत क्यानेडियालीहरूले दान दिइएको रगतको साटो त्यसका विकल्पहरू प्रयोग गर्न चाहे। जर्नल अफ भास्कुलर सर्जरी उल्लेख गर्छ, “सबै बिरामीले यहोवाका साक्षीहरूले जस्तै रक्तक्षेपण इन्कार गर्दैनन्। तथापि, रोग सर्ने खतरा र रोग प्रतिरोध क्षमतामा त्यसले पुऱ्याउनसक्ने आँचले बिरामीहरूका लागि विकल्प खोज्नैपर्ने कुरा प्रस्ट पारेको छ।”
मन पराएको पद्धति
खुसीको कुरा, यसको विकल्प छ र त्यो हो, रक्तविहीन औषधोपचार तथा शल्यक्रिया। थुप्रै बिरामीहरू यसलाई अन्तिम उपायको रूपमा होइन तर आफूले मन पराएको उपचारविधि ठान्छन् र यसको जायज कारण छ। बेलाइती कन्सल्टेन्ट सर्जन, स्टीभन जेफ्री पोलार्ड, रक्तविहीन शल्यक्रिया गर्नेहरूमा रोग सर्ने डर र मृत्यु हुने दर “झन्डै रक्तक्षेपण गर्नेहरूको जत्तिकै छ” भनी स्वीकार्छन्। तर रक्तविहीन शल्यक्रिया गर्नेहरू “शल्यक्रियापछि रगतको कारण हुने संक्रमण तथा जटिल अवस्थाहरूबाट जोगिन्छन्” भन्दै जोड दिन्छन्।
यो रक्तविहीन औषधोपचार कसरी सुरु भयो? एक अर्थमा भनौं भने यो प्रश्न नै अनौठो छ। किनकि वास्तवमा, रक्तविहीन औषधोपचारको सुरुआत रगतको प्रयोग हुनुभन्दा निकै अघिदेखि भएको थियो। यथार्थमा, २० औं शताब्दीको सुरुमा रक्तक्षेपण गर्ने प्रविधि नियमित तवरमा प्रयोग गर्न नथालिएसम्म यही प्रणाली प्रयोगमा थियो। तथापि, हालैका दशकहरूमा कसै कसैले रक्तविहीन शल्यक्रियालाई लोकप्रिय बनाएका छन्। उदाहरणका लागि, १९६० को दशकमा नामुद सर्जन डेन्टन कुलीले कुनै कुनै ओपन-हार्ट सर्जरी रगतको प्रयोगबिनै गरेका थिए।
सत्तरीको दशकतिर रक्तक्षेपण गरिएका मानिसहरूमा हेपाटाइटिस बढ्न थालेपछि थुप्रै चिकित्सकहरूले रगतको विकल्प खोज्न थाले। सन् १९८० को दशकसम्ममा त थुप्रै चिकित्सकहरूले रक्तविहीन शल्यक्रिया सुरु गर्न थालिसकेका थिए। एड्सको महामारी चर्किएपछि यी टोलीहरूसित यिनीहरूकै जस्तो प्रणाली अपनाउन इच्छुक अन्य टोलीहरूले लगातार विचारविमर्श गर्न थाले। अनि १९९० को दशकदेखि थुप्रै अस्पतालहरूले आफ्ना बिरामीहरूलाई रक्तविहीन उपचार गर्ने विकल्प दिन थाले।
हाल चिकित्सकहरूले शल्यक्रिया गर्दा र पहिले पहिले रगत नभई नहुने आकस्मिक उपचारहरूमा समते रक्तविहीन प्रविधिहरू सफलतासाथ प्रयोग गर्न थालिसकेका छन्। “मुटु, रक्तनली, स्त्रीरोग तथा प्रजनन अनि हाडजोर्नीसम्बन्धी अनि मूत्रसाय आदिको ठूलो शल्यक्रियासमेत रगत वा रगतबाट बनेका साधनहरू प्रयोग नगरीकनै सफलतासाथ गर्न सकिएको छ,” भनी क्यानेडियन जर्नल अफ एनिस्थिजिया-मा डि. एच. डब्लू वङ उल्लेख गर्छन्।
रक्तविहीन शल्यक्रियाको एउटा फाइदा के हो भने, यो उच्च गुणस्तरीय उपचार हो। “रगत बहन नदिन शल्यचिकित्सकको सीप ज्यादै महत्त्वपूर्ण हुन्छ,” भनी क्लेभल्याण्ड, ओहायोका शल्यचिकित्सा निर्देशक डा. बेन्जामिन जे. रेइखस्टिन बताउँछन्। दक्षिण अफ्रिकाको कानुनी पत्रिकाअनुसार कुनै कुनै अवस्थाहरूमा रगतको प्रयोगबिना गरिएका शल्यक्रियाहरू नै “छिटो, सफा र सस्तो” हुनसक्छन्। उक्त पत्रिका अझै यसो भन्छ: “थुप्रै घटनाहरूमा रक्तविहीन शल्यक्रिया भइसकेपछि गर्नुपर्ने स्याहारसुसार सस्तो र छोटो भएको प्रमाणित भएको छ।” विश्वभरि १८० भन्दा धेरै अस्पतालहरूमा अहिले रक्तविहीन औषधोपचार तथा शल्यक्रियासम्बन्धी विशेष कार्यक्रमहरू हुनुका केही कारणहरू यी हुन्।
रगत अनि यहोवाका साक्षीहरू
आफ्नो बाइबलआधारित कारणहरूले गर्दा यहोवाका साक्षीहरू रक्तक्षेपण गर्न इन्कार गर्छन्। a तर तिनीहरू रगतको विकल्पहरू भने अवश्य स्वीकार्छन्, अझ भनौं, हरहालतमा खोज्छन्। न्यु योर्क अस्पतालमा शल्यचिकित्सा निर्देशक छँदा डा. रिचार्ड के. स्पेन्सले यसो भनेका थिए, “यहोवाका साक्षीहरू सबैभन्दा राम्रो औषधोपचार गर्न खोज्छन्। तिनीहरू शल्यचिकित्सकले पाउनसक्ने सबैभन्दा शिक्षित बिरामी हुन्।”
चिकित्सकहरूले यहोवाका साक्षीहरूको रक्तविहीन शल्यक्रिया थुप्रै गरिसकेका छन्। कार्डियोभास्कुलर सर्जन डेन्टन कुलीको अनुभव विचार गर्नुहोस्। बितेको २७ वर्षभित्र तिनको टोलीले यहोवाका साक्षीहरूको ६६३ वटा रक्तविहीन ओपन-हार्ट सर्जरी गरिसकेका छन्। रगतको प्रयोगबिना नै मुटुको सफलतासाथ शल्यक्रिया गर्नसकिन्छ भनी यसले प्रमाणित गर्छ।
हो, यहोवाका साक्षीहरूले रगत लिन इन्कार गरेको हुँदा थुप्रैले तिनीहरूको आलोचना गरेका छन्। तर एसोसिएशन अफ एनेस्थेटिस्ट अफ ग्रेट ब्रिटेन एण्ड आयरल्याण्डद्वारा प्रकाशित गाइडले यहोवाका साक्षीहरूको अडानलाई “जीवनप्रति आदरको संकेत” भनेका छन्। वास्तवमा, सबैको निम्ति यस्तो रक्तविहीन सुरक्षित उपचारविधि उपलब्ध हुनसक्नुको पछाडि यहोवाका साक्षीहरूको धार्मिक अडानको पनि ठूलो हात छ। “शल्यक्रिया गर्नुपरेका यहोवाका साक्षीहरूले नर्वेको स्वास्थ्य सेवामा उन्नति गर्ने तरिका देखाउनुका साथै त्यसो गर्ने दबाउ दिएका छन्” भनी नर्वेको नेशनल हस्पिटलका प्राध्यापक स्टान ए. इमान्सन लेख्छन्।
चिकित्सकहरूलाई रक्तविहीन उपचार गर्ने मदत दिन यहोवाका साक्षीहरूले मदतकारी सम्पर्क समिति गठन गरेका छन्। हाल, विश्वभरि १,४०० भन्दा धेरै हस्पिटल लिऐजन कमिटीहरू रक्तविहीन औषधोपचार तथा शल्यक्रियासम्बन्धी ३,००० भन्दा बढी लेखहरूबाट संकलन गरिएका सूचना तथा जानकारीहरू चिकित्सक तथा अनुसन्धानकर्ताहरूलाई उपलब्ध गराउन सक्षम छन्। “यहोवाका साक्षीहरूको हस्पिटल लिऐजन कमिटीहरूको मेहनतले गर्दा आज यहोवाका साक्षीहरू मात्र होइन तर अधिकांश बिरामीहरूलाईसमेत अनावश्यक तवरमा त्यत्तिकै रगत दिइने सम्भावना कम भएको छ” भनी बस्टन कलेज ल स्कूलका प्राध्यापक डा. चार्ल्स बारन उल्लेख गर्छन्। b
यहोवाका साक्षीहरूले रक्तविहीन औषधोपचार तथा शल्यक्रियासम्बन्धी संकलन गरेका जानकारीहरूले औषधोपचार क्षेत्रका थुप्रै व्यक्तिहरूलाई फाइदा पुऱ्याएको छ। उदाहरणका लागि, अटोट्रान्स्फ्यूजन: थेराप्युटिक प्रिन्सिपल्स एण्ड ट्रेन्ड्स पुस्तकका लेखकहरूले रक्तक्षेपणका विकल्पहरू के छन्, त्यससम्बन्धी जानकारी दिन यहोवाका साक्षीहरूलाई आग्रह गरेका थिए। साक्षीहरूले राजीखुसीसाथ तिनीहरूको आग्रह पूरा गरिदिए। कृतज्ञ हुँदै उक्त लेखकहरूले पछि यसो भने: “यस सम्बन्धमा हामीले जति पनि अध्ययन गऱ्यौं, त्यसमा यहोवाका साक्षीहरूले जस्तो रक्तक्षेपण नगर्न अपनाउन सकिने विभिन्न तरिकाहरूको सटीक तथा पूर्ण जानकारी संकलन गरेको हामीले अरू कतै देखेनौं।”
औषधोपचार क्षेत्रमा भएका प्रगतिहरूका कारण थुप्रैले रक्तविहीन औषधोपचारलाई नै ध्यान दिन थालेका छन्। अब भविष्यमा के कस्ता प्रगतिहरू हुनेछन् भनी के हामी आशा गर्नसक्छौं? एड्सको जीवाणु पत्ता लगाउने प्राध्यापक ल्यूक मोंतान्या भन्छन्: “यस क्षेत्रमा हामीले बुझ्दै गएको कुराहरूले अब चाँडै रक्तक्षेपण हराउनैपर्छ भनी देखाउँछ।” त्यतिञ्जेलका लागि, रगतका विकल्पहरू उपलब्ध छन्, जसले थुप्रैको ज्यान जोगाइसकेको पनि छ।
[फुटनोटहरू]
a लेवी ७:२६, २७; १७:१०-१४; व्यवस्था १२:२३-२५; १५:२३; प्रेरित १५:२०, २८, २९; २१:२५ हेर्नुहोस्।
b निम्तो पाएको खण्डमा, हस्पिटल लिऐजन कमिटीहरूले अस्पतालका कर्मचारीहरूलाई प्रस्तुतिहरू पनि देखाउँछन्। यसबाहेक, तिनीहरूको सहयोगको लागि विशेष आग्रह गरिएको खण्डमा चिकित्सकसँग पहिल्यै खुलस्त अनि स्पष्ट कुराकानी गर्न बिरामीलाई सहयोग पनि गर्छन्।
[पृष्ठ ७-मा भएको पेटी/चित्रहरू]
केही डाक्टरहरू के भन्छन्
‘रक्तविहीन शल्यक्रिया यहोवाका साक्षीहरूका लागि मात्र नभई सबै बिरामीहरूका लागि हो। मेरो विचारमा प्रत्येक डाक्टर यसमा राजी हुनुपर्छ।’–डा. योआखीम बल्ट, एनिस्थिजियोलोजीका प्राध्यापक, लुड्विग्शाफेन, जर्मनी।
“रक्तक्षेपण पहिलेभन्दा सुरक्षित भए तापनि त्यसले रोग प्रतिरोध क्षमतामा पुऱ्याउनसक्ने प्रतिकूल असर अनि हेपाटाइटिस वा यौनजन्य रोगका खतराहरू भने अझै हटाउन सकिएको छैन।”–डा. टेरेन्स साकी, मेडिसिनका क्लिनिकल असिस्टेन्ट प्राध्यापक।
“अधिकांश चिकित्सकहरू रक्तक्षेपण गर्न हतार गर्छन् र विचारै नपुऱ्याई रक्तक्षेपण गरिहाल्छन्। म त्यस्तो गर्दिनँ।” –डा. एलेक्स जापोल्न्स्की, सान फ्रान्सिस्को हार्ट इन्स्टीच्युटका कार्डिक सर्जरीका निर्देशक।
“पेटको शल्यक्रिया गर्दा रक्तक्षेपण गर्नुपर्ने कारण देख्दिनँ।”–डा. योहानेस शेल, जीना, जर्मनीका सर्जरीका प्राध्यापक।
[चित्रहरू]
डा. योआखीम बल्ट
डा. टेरेन्स जे. साकी
[पृष्ठ ८ र ९-मा भएको पेटी/चित्रहरू]
रक्तविहीन औषधोपचार तथा शल्यक्रिया
केही तरिकाहरू
तरल पदार्थ: रगतको मात्रालाई कायम राख्न र रक्तसञ्चारमा गतिरोध नपुऱ्याउन रिङगर्स ल्याक्टेट झोल, डेक्सट्रान, हाइड्रोजाइथेल स्टार्च र अन्य तरल पदार्थहरू प्रयोग गरिन्छन्। अहिले जाँचिएका केही तरल पदार्थहरू अक्सिजनवाहकसमेत साबित भएका छन्।
औषधी: जेनेटिकल इन्जिनियरिङ प्रविधिद्वारा तयार पारिएका प्रोटिनहरूले रातो रक्तकणिकाहरू (इरिथ्रोपोइटीन), रक्त प्लेट्लेट्स (इन्टरल्यूकीन-११) र विभिन्न सेतो रक्तकणिकाहरू (जी एम-सी एस एफ, जी-सी एस एफ) अझ धेरै उत्पादन गर्न शरीरलाई मदत गर्छ। अन्य औषधीहरूले शल्यक्रिया गर्दा धेरै रगत बग्न दिंदैन (अप्रोटीनन्, एन्टिफाइब्रनोलिटिक्स) वा प्रशस्त मात्रामा रक्तस्राव हुन नदिन (डेस्मोप्रेसिन) मदत गर्छ।
जैविक हेमोस्टाट: कोलाजीन र सेल्युलोजद्वारा बनाइएका पट्टीहरू सीधै घाउमा लगाएर रक्तस्राव रोक्न सकिन्छ। फाइब्रन ग्लु र सिलन्टले घाउ बन्द गर्न वा रक्तस्राव भइरहेको ठूलो र गहिरो घाउलाई बन्द गर्नसक्छ।
रगत जोगाउने: शल्यक्रिया गर्दा वा चोट लाग्दा बहेको रगतलाई साल्भेजिङ मेसिनले जोगाउँछ। उक्त मेसिनमा बिरामीको शरीरबाट पठाइएको रगत सफा गरिन्छ र त्यो रगत मेसिनबाट फेरि बिरामीकै शरीरमा पुऱ्याइन्छ। अत्यन्त जटिल अवस्थाहरूमा यस्तो मेसिन प्रयोग गरेर कैयौं लिटर रगत जोगाउन सकिन्छ।
शल्यक्रिया गर्ने औजारहरू: कुनै कुनै उपकरणले रक्तनलीहरूलाई एकै चोटि काट्न र तुरुन्तै बन्द गर्नसक्छ। अन्य उपकरणहरूले चाहिं ठूलठूला घाउहरूबाट बहिरहेको रगतलाई रोक्छ। ल्याप्रोस्कोपिक र गहिरो घाउ नपार्ने अन्य उपकरणहरूले ठूलो घाउ बनाएर गर्नुपर्ने शल्यक्रियाहरूमा धेरै रक्तस्राव हुन दिंदैन।
शल्यक्रिया गर्ने तरिकाहरू: अनुभवी डाक्टरहरूसित परामर्श गर्दै शल्यक्रिया गर्ने विस्तृत योजना गरिएको छ भने शल्यक्रिया गर्ने टोली जटिल अवस्थाहरूबाट जोगिनसक्छ। रक्तस्राव रोक्न तुरुन्तै कदम चाल्नु अत्यावश्यक छ। तर २४ घण्टाभन्दा ढिलो गरेमा बिरामीको मृत्यु हुने सम्भावना बढी हुन्छ। ठूलो शल्यक्रिया गर्नुपरेको छ भने त्यसलाई स-सानो शल्यक्रियामा विभाजित गरेर पनि रक्तस्राव कम गर्नसकिन्छ।
[पृष्ठ १०-मा भएको पेटी/चित्रहरू]
रक्तविहीन औषधोपचार—नयाँ “स्तरीय उपचार”?
ब्यूँझनुहोस्!-ले रक्तविहीन औषधोपचार तथा शल्यक्रियाका फाइदाहरूबारे यस क्षेत्रका चार विशेषज्ञहरूसित छलफल गरेको थियो।
धार्मिक आस्थाको कारण रक्तक्षेपण गर्न इन्कार गर्ने बिरामीहरूको अलावा अरू क-कसले रक्तविहीन औषधोपचारमा चासो देखाएका छन्?
डा. श्पान: हाम्रो केन्द्रमा रक्तविहीन औषधोपचार गर्न आग्रह गर्ने बिरामीहरू अक्सर अत्यन्त जानिफकार बिरामीहरू हुन्।
डा. शान्डर: सन् १९९८ मा व्यक्तिगत कारणका लागि रक्तक्षेपण गर्न इन्कार गर्ने बिरामीहरूको संख्या धार्मिक कारणले गर्दा इन्कार गर्नेहरूको भन्दा धेरै थियो।
डा. बोइड: उदाहरणका लागि, क्यान्सरका बिरामीहरूलाई नै लेऔं। रक्तक्षेपण नगर्दा यिनीहरूको स्वास्थ्यमा छिटो सुधार भएको र फेरि त्यतिबिघ्न रोग नबल्झिएको निकै पटक देखिएको छ।
डा. श्पान: हामी अक्सर विश्वविद्यालयका प्राध्यापक र उहाँहरूको परिवारको रगत प्रयोग नगरिकनै उपचार गर्छौं। शल्यचिकित्सकहरूसमेत रक्तक्षेपण नगरिदिनुहोस् भन्छन्! उदाहरणका लागि, एक जना शल्यचिकित्सक, आफ्नी श्रीमतीको शल्यक्रिया गर्नुपर्दा हामी कहाँ आउनुभएको थियो र भन्नुभयो, “एउटा कुराको ख्याल गरिदिनुस् है, मेरी श्रीमतीलाई रक्तक्षेपण गर्नु नपरोस्!”
डा. शान्डर: मेरो एनेस्थेसिया विभागका सदस्यहरू भन्छन्: ‘रगत नलिने बिरामीहरूको स्वास्थ्यमा अरूको जत्तिकै र अझ भनौं भने, त्योभन्दा राम्रो सुधार भएजस्तो देखिन्छ। हामीले किन दु-दुइटा उपचार स्तर अपनाउनु पऱ्यो? यो उपचारविधि उत्तम छ भने सबैलाई यही तरिकामा उपचार गर्नुपऱ्यो।’ त्यसकारण, अहिले हामी रक्तविहीन औषधोपचारलाई नै स्तरीय उपचार बनाउने विचार गरिरहेका छौं।
श्री अर्नशअ: हो, यसो हेर्दा, रक्तविहीन शल्यक्रिया यहोवाका साक्षीहरूका लागि मात्र हो कि जस्तो देखिन्छ। तर हामी, सबैको त्यसरी नै उपचार गर्न चाहन्छौं।
रक्तविहीन प्रक्रिया निकै महँगो छ कि कम छ?
श्री अर्नशअ: यो कम खर्चिलो छ।
डा. शान्डर: रक्तविहीन औषधोपचार गर्दा कुल खर्चमा २५ प्रतिशतले कटौती हुन्छ।
डा. बोइड: खर्चकै कुरा गर्ने हो भने पनि हामी सबैले अपनाउनुपर्ने प्रक्रिया यही नै हो।
यो रक्तविहीन औषधोपचार प्रबन्ध प्रयोग गर्ने सम्बन्धमा हामीले कत्तिको उन्नति गऱ्यौं त?
डा. बोइड: मेरो विचारमा निकै उन्नति भइसक्यो। तर उन्नतिको कुनै अन्त छैन। हरेक पल्ट फर्केर हेर्दा रगत प्रयोग नगर्नुपर्ने नयाँ जायज कारण फेला पार्छौं।
[चित्रहरू]
डा. डोनाट आर. श्पान एनिस्थिजियोलोजीका प्राध्यापक, जुरिक, स्वीट्जरल्याण्ड
डा. आर्ये शान्डर असिस्टेन्ट क्लिनिकल प्रोफेसर अफ एनिस्थिजियोलोजी, संयुक्त राज्य
श्री पीटर अर्नशअ एफ आर सी एस, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, लण्डन, बेलाइत
डा. मार्क इ. बोइड प्रोफेसर अफ अब्सट्रेटिक्स एण्ड गाइनोकोलोजी, क्यानाडा
[पृष्ठ ११-मा भएको पेटी]
बिरामीको भूमिका
▪ उपचार गर्नु अगावै रक्तविहीन उपचारका विकल्पहरूबारे आफ्नो डाक्टरसित कुरा गर्नुहोस्। विशेष गरी, गर्भवती स्त्रीहरू, स-साना बच्चाहरूका आमाबाबुहरू र वृद्धहरूले यसो गर्नु महत्त्वपूर्ण छ।
▪ आफ्नो इच्छा लिखित रूपमा प्रकट गर्नुहोस्। अझ विशेष गरी, यसका लागि कानुनी कागजात उपलब्ध छ भने।
▪ तपाईंको चिकित्सक रक्तविहीन उपचार गर्न चाहँदैनन् भने तपाईंको इच्छाको कदर गर्ने अर्को चिकित्सक खोज्नुहोस्।
▪ रगतको कुनै कुनै विकल्पलाई काम गर्न केही समय लाग्छ। अतः, तपाईंलाई शल्यक्रिया गर्नुपर्ने छ भने, ढिलाइ नगर्नुहोस्।