सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

भारतको जनसंख्या एक अरब पुग्यो

संयुक्‍त राष्ट्रको जनसंख्या विभागअनुसार भारतको जनसंख्या अगस्त १९९९ मा एक अरब पुग्यो। भारतको जनसंख्या ५० वर्षअघि हालको तुलनामा एक तिहाइ मात्र थियो। वर्षेनी हालको १.६ प्रतिशतकै दरले जनसंख्या बढ्‌ने हो भने चार दशक जतिमा भारतले चीनलाई उछिनेर सबैभन्दा धेरै जनसंख्या भएको देश बन्‍नेछ। “विश्‍वको कुल जनसंख्याको एक तिहाइ त अहिल्यै भारत र चीनमा छ” भनी द न्यु योर्क टाइम्स रिपोर्ट गर्छ। आधी शताब्दीभन्दा कम समयमा भारतको औसत आयु ३९ बाट बढेर ६३ वर्ष पुगेको छ।

जिब्रोको हेरविचार

तपाईंको जिब्रोपछाडि लुक्ने जिवाणुले सल्फर ग्याँस उत्पादन गर्छ। यसैकारण, सास गनाउँछ भनी प्रिन्स जोर्ज सिटिजन अखबार रिपोर्ट गर्छ। “जिवाणुहरू अक्सिजन नहुने सुक्खा ठाउँमा फस्टाउँछन्‌। त्यसैले हामीले फोक्सोमा हावा पठाउने ठाउँबाट टाढा चिरा परेका ठाउँहरूमा तिनीहरू बस्छन्‌” भनी रिपोर्ट बताउँछ। दन्त मन्जन र फ्लस गर्दा फाइदा त हुन्छ तर दन्त मन्जनले २५ प्रतिशत जति जिवाणुहरू मात्र हटाउँछ। दन्त चिकित्सक आलेन ग्रोभका अनुसार पुरातन युरोपमा चलाइने जिब्री नै “गन्हाउने सासबाट बच्ने एक मात्र प्रभावकारी साधन हो।” “जिब्रो सफा र स्वास्थ राख्न बुरुसभन्दा” प्लास्टिकको जिब्री “धेरै उत्तम हो” भनी सिटिजन बताउँछ।

“जीवनको लागि सबैभन्दा महत्त्वपूर्ण पदार्थ”

“पानी जीवनको लागि सबैभन्दा महत्त्वपूर्ण पदार्थ हो। किनभने शरीरको धेरैजसो भाग पानीले नै बनेको छ” भनी टोरोन्टो स्टार अखबार रिपोर्ट गर्छ। “शरीरमा पानीको मात्रा २० प्रतिशत कम हुँदा समेत खतरा हुनसक्छ।” पानीले हाम्रो शरीरको तापक्रम नियन्त्रण गर्नुका साथै “रक्‍तनली तथा शरीरका अन्य अंगहरूबाट पोषक तथा फोहर पदार्थहरू ओसारपसार गर्छ। पानीले जोर्नी र ठूलो आन्द्रालाई पनि चिप्लो पार्छ जसले गर्दा कब्जियत हुँदैन।” एक वयस्कले प्रति दिन सरदर दुईदेखि तीन लिटर पानी पिउनुपर्छ। कफी, सोडा वा अन्य मादक पदार्थ पिउँदा वास्तवमा झन्‌ धेरै शुद्ध पानी पिउनुपर्छ किनभने तिनीहरूको कारण विजलन हुनसक्छ। खानपिन सम्बन्धी एक विशेषज्ञअनुसार तिर्खा लाग्नुलाई पानी पिउन संकेतको रूपमा लिनु हुँदैन किनभने तपाईंलाई तिर्खा लागुञ्जेल तपाईंको शरीरमा विजलन भइसकेको हुन्छ। उक्‍त अखबारअनुसार “दिनभरि हरेक घण्टा एक गिलास पानी पिउँदा प्रायजसो मानिसहरूको पानीको आवश्‍यकता पूरा हुन्छ।”

व्यवहारिक खाने बानी

सरदर १० देखि १४ वर्षबीचमा केटीहरू २५ सेन्टीमिटर अग्लो हुनुका साथै तिनीहरूको वजन १८ देखि २२ केजी बढ्‌छ भने १२ देखि १६ वर्षबीचमा केटाहरू ३० सेन्टिमिटर अग्लो हुनुका साथै वजन २२ देखि २७ केजीसम्म बढ्‌छ। यसरी हलक्क बढ्‌ने समयमा किशोरकिशोरीहरूलाई आफ्नो वजन बढेको देखेर चिन्ता लाग्नु असामान्य कुरा होइन र कति त आफ्नो वजन नियन्त्रण गर्नतिर पनि लाग्छन्‌। “वजन घटाउन खाना कम खाने गर्नु समस्याको सही हल होइन र यसो गर्न सुझाउ पनि दिइँदैन” भनी खानपिनसम्बन्धी विशेषज्ञ लिन रोब्लिन द टोरोन्टो स्टार-मा लेख्छिन्‌। यसो गर्दा शरीरले आवश्‍यक पोषक तत्त्वहरू पाउँदैन भनी रोब्लिन टिप्पणी गर्छिन्‌। साथै, खानपिनसित बढी खेलवाड गर्दा “अस्वास्थ्यकर बानी बस्नसक्छ र अझ भोजनसम्बन्धी गम्भीर असन्तुलन पैदा हुन्छ।” किशोरकिशोरीहरूले आफ्नो शरीरको बनौटबारे व्यवहारिक दृष्टिकोण राखेर स्वस्थकर वजन कायम राख्न “पोषक खाना खानु, सक्रिय जीवन बिताउनु र आफूबारे सकारात्मक विचारधारा राख्नुपर्छ” भनी तिनी टिप्पणी गर्छिन्‌।

केटाकेटी अनि सुर्तीको खतरा

विश्‍व स्वास्थ्य संघको (डब्लु एच ओ) अनुमानअनुसार धूम्रपानको धूँवाले विश्‍वका ५० प्रतिशत केटाकेटीको स्वास्थ्य खतरामा पारेको छ भनेर लण्डनको गार्डियन अखबार रिपोर्ट गर्छ। अरूले तानेको चुरोटको धूवाँमा पर्दा मात्र पनि दम, अन्य सासप्रश्‍वाससम्बन्धी समस्या, बच्चाको आकस्मिक मृत्यु, मध्यकानको रोग र क्यान्सर हुनसक्छ। धूम्रपान गर्नेहरूका बच्चाहरूको बौद्धिकता र आनीबानीमा पनि धेरै प्रभाव पार्छ भनेर अनुसन्धानबाट थाह लागेको छ। आमाबाबु दुवै धूम्रपान गर्नेहरूको केटाकेटीलाई स्वास्थ्य समस्या हुने सम्भावना ७० प्रतिशत बढी हुन्छ र परिवारमा धूम्रपान गर्ने एक जना मात्र हुँदा पनि रोग लाग्ने सम्भावना ३० प्रतिशत बढी हुन्छ। डब्लु एच ओ-ले आमाबाबु दुवैलाई धूम्रपानको कारण परिवारमा हुने खतराहरूबारे सिकाउन र स्कूल तथा केटाकेटीहरू प्रायजसो जाने ठाउँमा धूम्रपान निषेध गर्न आग्रह गरिरहेको छ।

पर्यटनको जित

विश्‍व पर्यटन संगठनको (डब्लु टि ओ) भविष्यवाणीअनुसार “अन्तरराष्ट्रिय पर्यटकहरूको आगमन प्रति वर्ष हालको ६२ करोड ५० लाखबाट बढेर २०२० सम्ममा १.६ अरब पुग्नेछ” भनी द युनेस्को कुरियर रिपोर्ट गर्छ। ती पर्यटकहरूले २० खरब अमेरिकी डलरभन्दा बढी खर्च गर्ने अनुमान गरिएको छ र यसपछि “पर्यटन व्यवसाय नै विश्‍वको सबैभन्दा ठूलो उद्योग हुनेछ।” अहिलेसम्मको सबैभन्दा लोकप्रिय गन्तव्यस्थान युरोप हो। सबैभन्दा धेरै पर्यटकहरू फ्रान्स गए। सन्‌ १९९८ मा ७ करोड पर्यटकहरू त्यहाँ गए। तथापि, सन्‌ २०२० सम्ममा चीनले यस स्थान ओगट्‌ने अडकल गरिएको छ। तर अन्तरराष्ट्रिय यात्रा केही खास वर्गमै सीमित छ। सन्‌ १९९६ मा संसारको साढे तीन प्रतिशत जनसंख्या मात्र विदेश घुम्न गयो। विश्‍व पर्यटन संगठनले यो संख्या २०२० सम्ममा ७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

विषालु अमेरिकी सर्पको बदला

“राटल स्नेक नामक विषालु अमेरिकी सर्पले मरिसकेपछि तपाईंलाई आक्रमण गर्नसक्छ। अनि मरणोपरान्त पनि बदला लिने यस्तो अनौठो बानी छक्कलाग्दो तर प्रायः भइरहने कुरा हो” भनी न्यु साइन्टिस्ट रिपोर्ट गर्छ। सं.रा.अ.-को एरिजोनामा यस विषालु सर्पको टोकाइको निम्ति ११ महिनाभित्र उपचार गरिएको ३४ बिरामीमध्ये ५ जनालाई मरिसकेको सर्पले आक्रमण गरेको थियो भनी यस प्रक्रियाबारे अनुसन्धान गरिरहेका दुई डाक्टरहरूले बताए। यस्तो सर्पले टोकेको एक जना व्यक्‍तिले त सर्पलाई गोली हानेर मारिसकेपछि टाउको र जीउ छुट्याइदिएका थिए र चल्न बन्द भएपछि मात्र टाउको समातेका थिए। तर यसले एक्कासि आक्रमण गरेर दुइटै हातमा टोक्यो। जीउबाट छिनालिसकेको राटलस्नेकको टाउकोले “मरेको एक घण्टापछिसम्म पनि अगाडि हल्लिने जेसुकै कुरालाई पनि आक्रमण गर्न खोज्छ” भनेर पूर्व अध्ययनहरूले देखाउँछ भनी पत्रिकाले बताउँछ। उभयचरसम्बन्धी विशेषज्ञहरूका अनुसार “नाक र आँखाबीच हुने सर्पको इन्फ्रारेड सेन्सरले गर्दा यस्तो भएको हो।” डा. जेफ्रि शुकार्ड टुक्रा गरिएको सर्पलाई “सानो सर्पको रूपमा लिनुपर्छ” भनी चेताउनी दिन्छन्‌। “यसलाई छुनै परे तापनि लामो लट्ठीले छुन म सल्लाह दिन्छु” भनी तिनी भन्छन्‌।

विद्युत्‌ शक्‍तिको अनौठा स्रोतहरू

▪ न्यु क्यालिडोनियाको ऊँभा टापुमा पेट्रोल छैन तर विद्युत्‌ उत्पादन गर्न त्यहाँ नरिवलको तेल प्रयोग गरिन्छ भनेर फ्रान्सिसी पत्रिका साँयन्स अँ अभिनेंर रिपोर्ट गर्छ। फ्रान्सेली इन्जिनियर लियनरले १८ वर्ष लगाएर नरिवलको तेलबाट चल्ने इन्जिन बनाए। इन्जिन सुरु गरेपछि विलवणीकरण संयन्त्र चल्छ र यसले टापुका २३५ परिवारहरूलाई पिउने पानी आपूर्ति गर्छ। लियनरका अनुसार तिनको १६५ किलोवाट मेसिनले डिजेल इन्जिनले जत्तिकै विद्युत्‌ शक्‍ति दिनुका साथै इन्धन पनि त्यत्तिकै परिमाणमा खपत गर्छ।

▪ त्यस्तै गरी, भारतको गुजरात राज्यको कलाली गाउँमा गरिएको एउटा परीक्षणमा विद्युत्‌ उत्पादन गर्न गोरु प्रयोग गरिएको छ। नयाँ दिल्लीबाट प्रकाशित डाउन टु अर्थ पत्रिकाअनुसार यस्तो विद्युत्‌ उत्पादन गर्ने विचार एक वैज्ञानिक र तिनको भतिजीको हो। चार वटा गोरुले सानो जेनरेटर चलाउन गियरबक्समा जोडिएको डन्डा चलाउँछन्‌। त्यो जेनरेटर ब्याट्रीहरूमा जोडिएको हुन्छ र यसले पानीको पम्प र अन्‍नहरू कुट्‌ने मेसिन चलाउँछ। यस उर्जाको निम्ति प्रति युनिट अमेरिकी दस सेन्ट जति खर्च हुन्छ जबकि वायुमिल चलाउँदा प्रति युनिट १ डलर वा सौर पट्टी प्रयोग गर्दा प्रति युनिट २४ डलर खर्च हुन्छ भनी डाउन टु अर्थ बताउँछ। तथापि, गाउँलेहरूलाई वर्षमा तीन महिना गोरुहरू खेतमा काम गर्न चाहिने भएकोले अनुसन्धानकर्ताहरूले गोरुहरू उपलब्ध नभएको बेला ऊर्जा बचाउन प्रभावकारी विकल्प खोजिरहेका छन्‌।

सुस्वास्थ्यको निम्ति हिंड्‌ने

हिंड्‌दा वजन घट्‌ने र तनाउमुक्‍त हुने मात्र नभई “रक्‍तचाप घटाउन र हृदयघातबाट बच्न पनि” मदत गर्छ भनी टोरोन्टोबाट प्रकाशित द ग्लोब एण्ड मेल बताउँछ। स्वस्थ रहन समय दिनुपर्छ। कति दिने? क्यानाडा फिजिकल एक्टिभिटि गाइड टु हेल्थी एक्टिभ लिभिङ-का अनुसार तपाईं ठिक्क गतिमा हिंड्‌नुहुन्छ भने १०/१० मिनेट हिंडेर प्रति दिन जम्मा ६० मिनेट हिंड्‌नुपर्छ।” दिनकादिन ३० देखि ६० मिनेट छिट्‌छिटो हिंड्‌ने वा साइकल चढ्‌ने वा २० देखि ३० मिनेट दिनहुँ दौडने गर्दा पनि स्वस्थ रहन मदत गर्छ। हावा छिर्ने, लचकदार तलुवा र इनसोल भएको तथा औंलाहरू चल्न पुग्ने ठाउँ भएको हलुका जुत्ता लगाउन ग्लोब सुझाउ दिन्छ।

स्तनपानले वजन नियन्त्रण गर्छ?

अनुसन्धानकर्ताहरूका अनुसार तिनीहरूले स्तनपानको अर्को फाइदा पनि भेट्टाएका छन्‌। त्यो हो, यसले बच्चाहरू ठूला भएपछि अत्यन्तै मोटो हुनदेखि रोक्छ। जर्मन खबरपत्रिका फोकस-मा रिपोर्ट गरिएअनुसार म्युनिक विश्‍वविद्यालयको अनुसन्धान टोलीले पाँचदेखि छ वर्षसम्मका ९,३५७ बच्चाहरूको वजन र तिनीहरूलाई शैशवकालमा दिइएको खानाको किसिम पत्ता लगाए। तीन देखि पाँच महिना स्तनपान गराइएका बच्चाहरू कहिल्यै स्तनपान नगरिएका बच्चाहरूको तुलनामा ३५ प्रतिशत, स्कूलमा भर्ना होउञ्जेल अत्यन्तै मोटो हुने सम्भावना कम थियो। वास्तवमा, शिशुलाई जति धेरै स्तनपान गराइयो अत्यन्तै मोटाउने सम्भावना त्यत्ति नै कम भएको देखियो। एक अनुसन्धानकर्ताले भनेअनुसार आमाको दूधमा भएको तत्त्वलाई यस्तो लाभकारी प्रभावको श्रेय जान्छ। यसले शरीरको मेटाबलिज्मलाई मदत गर्छ।