सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो विश्‍वास—यसको अर्थ के हो?

साँचो विश्‍वास—यसको अर्थ के हो?

बाइबलको दृष्टिकोण

साँचो विश्‍वास—यसको अर्थ के हो?

“विना विश्‍वास उहाँलाई रिझाउन असम्भव छ। किनभने जो परमेश्‍वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्‍ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्‍ने अवश्‍य विश्‍वास गर्नुपर्छ।”–हिब्रू ११:६.

विश्‍वास भनेको के हो? कोही कोही मानिस परमेश्‍वरको अस्तित्वको ठोस प्रमाण नभए तापनि उहाँमाथि विश्‍वास गर्नु नै विश्‍वास हो भन्छन्‌। अमेरिकी पत्रकार एच. एल. म्याकेनले विश्‍वासबारे यसो भने, “हुन नसक्ने कुरामा अतार्किक विश्‍वास।” बाइबलमा व्याख्या गरिएको विश्‍वास पनि त्यस्तै हो त? विश्‍वास के हो भनेर स्पष्टसित बुझ्नु अत्यावश्‍यक छ किनभने माथि भनिएझैं ‘विना विश्‍वास परमेश्‍वरलाई रिझाउन असम्भव छ।’

बाइबल यसो भन्छ: “विश्‍वासचाहिं आशा राखेका कुराको निश्‍चयता . . . हो।” (हिब्रू ११:१) तसर्थ, विश्‍वास सही ज्ञानमा आधारित हुन्छ र त्यही तथ्यहरूको आधारमा सही निर्णय गर्न सकिन्छ। विश्‍वास गर्न भरोसा मात्र भएर पुग्दैन तर कारण पनि चाहिन्छ।

जस्तै मानि लिनुहोस्‌: तपाईंको एउटा मित्र छ र तिनीबारे तपाईं यसो भन्‍न सक्नुहुन्छ: “म तिनीमाथि भरोसा गर्नसक्छु। तिनले आफ्नो वचन पूरा गर्नेछन्‌ भनेर विश्‍वस्त छु। मलाई कुनै समस्या पऱ्‍यो भने तिनले पक्कै मेरो सहायता गर्नेछन्‌।” तपाईंले निश्‍चय पनि एक दुई दिनअगाडि मात्र चिनेको मानिसबारे त्यसो भन्‍नसक्नु हुन्‍न, होइन त? तपाईंले त्यस व्यक्‍तिमाथि भर पर्न सक्नुहुन्छ भनेर थुप्रै प्रमाण पाएको हुनुपर्छ। धार्मिक विश्‍वास पनि त्यस्तै हो। त्यो भरपर्दो प्रमाणमा आधारित हुनुपर्छ र आशा अनि विश्‍वास जगाउन सक्ने हुनुपर्छ।

विश्‍वास कि पत्यार?

आज विश्‍वास गरिने थुप्रै कुराहरूलाई विश्‍वास होइन तर पत्यार भन्‍न सकिन्छ। किनकि पत्यार भनेको कुनै ठोस आधार वा कारणबिना नै विश्‍वास गर्न तयार हुनु हो। अक्सर भावनामा बहेर र अन्धविश्‍वासको आधारमा पनि पत्यार गरिन्छ। यो दृढ विश्‍वास होइन किनभने यसको कुनै भरपर्दो आधारै हुँदैन।

पत्यार गर्ने मानिसहरूले बाइबल सत्य विपरीत निर्णयहरू पनि गर्नसक्छन्‌। बाइबलले आधारहीन विश्‍वासबारे यस्तो चेताउनी दिन्छ: “निर्बुद्धि मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्‍यकतालाई बुझ्छ।” (हितोपदेश १४:१५) प्रेरित पावलले लेखे: “सबै कुराको जाँच गर, जुन असल छ, त्यसैमा लागिरहो।” (१ थिस्सलोनिकी ५:२१) बाइबलले पत्यार गर्न प्रोत्साहित गर्दैन। बरु, प्रमाणको आधारमा विश्‍वास गर्न प्रोत्साहित गर्छ।

साँचो विश्‍वास र पत्यार छुट्याउन सक्ने हुनु नितान्त गम्भीर कुरा हो। कुनै व्यक्‍ति धर्मात्मा भए तापनि तिनीसित साँचो विश्‍वास नहुन सक्छ। पावलले यसो भने: “सबैमा विश्‍वास छैन।” (२ थिस्सलोनिकी ३:२) तर कोही कोही व्यक्‍तिसित बाइबलमा आधारित विश्‍वास र यसले तिनीहरूको जीवनलाई असर गर्छ।

साँचो विश्‍वासले मानिसलाई परमेश्‍वरसित नजिक बनाउँछ

विश्‍वासलाई भरोसा अनि आस्थाका मूलहरूले बनेको मालासित तुलना गर्न सकिन्छ जसले मानिसलाई परमेश्‍वरसित नजिक बनाउँछ। तर यसप्रकारको विश्‍वास खेती गर्नुपर्छ। यो हामीले जन्मजात पाउने कुरा होइन। तपाईंले साँचो विश्‍वास कसरी विकास गर्न सक्नुहुन्छ? बाइबल यसो भन्छ: “विश्‍वास सुनाइबाट, र सुनाइचाहिं ख्रीष्टको वचनबाट आउँछ।”—रोमी १०:१७.

अतः परमेश्‍वर र उहाँको पुत्र येशू ख्रीष्टको शिक्षालाई चिन्‍न तपाईंले समय दिनु आवश्‍यक छ। प्रयासबिना ज्ञान हासिल गर्न सकिंदैन। (हितोपदेश २:१-९) बाइबल कत्तिको भरपर्दो छ भनेर पत्ता लगाउन तपाईंले यत्न गर्नुपर्छ।

तथापि, साँचो विश्‍वास भनेको ज्ञान हासिल गर्नु वा कुनै कुरा साँचो हो भनेर विश्‍वास गर्नु मात्र होइन। मानिसको हृदय अर्थात्‌ उत्प्रेरणाको मूल पनि यसमा समावेश छ। रोमी १०:१० यसो भन्छ: “मानिसले हृदयबाट धार्मिकतालाई विश्‍वास” गर्नसक्छ। यसको अर्थ के हो? ईश्‍वरीय कुराहरूबारे मनन गर्दै तिनीहरूको निम्ति मूल्यांकन विकास गर्दा बाइबलको सन्देश तपाईंको हृदयमा गड्‌नेछ। परमेश्‍वरको प्रतिज्ञाअनुसार गर्न उत्प्रेरित हुँदा र उहाँको आशिष्‌हरूको प्रमाण देख्नु भएपछि तपाईंको विश्‍वास बढ्‌नुका साथै बलियो हुनेछ।—२ थिस्सलोनिकी १:३.

साँचो विश्‍वास एकदम मूल्यवान्‌ सम्पत्ति हो! हामीलाई डोऱ्‍याउने उहाँको क्षमता अनि हाम्रा आवश्‍यकताहरू पूरा गर्ने उहाँको इच्छुकतामा विश्‍वास गर्दै हामी कठिन परिस्थितिहरूको सामना गर्नसक्छौं। यसबाहेक, परमेश्‍वरको पुत्र येशू ख्रीष्टले विश्‍वासको चिरकालीन फाइदाबारे यसो भन्‍नुभयो: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) अनन्त जीवन—विश्‍वास हुनेहरूको निम्ति कस्तो अद्‌भुत वरदान!

आफ्ना सेवकहरूलाई इनाम दिने परमेश्‍वरको प्रतिज्ञामाथि विश्‍वास गर्दा त्यसले जीवनप्रति नयाँ दृष्टिकोण राख्न मदत गर्छ। साँचो विश्‍वासमा “उहाँलाई खोज्नेहरूलाई” प्रतिफल दिने परमेश्‍वरको योग्यतामा विश्‍वास गर्नु पनि समावेश छ भनेर हिब्रू ११:६ ले बताउँछ। अतः साँचो विश्‍वास भनेको पत्यार होइन न त परमेश्‍वरको अस्तित्वमाथि मात्र विश्‍वास गर्नु हो। साँचो विश्‍वासमा उहाँलाई साँच्चै खोज्नेहरूलाई प्रतिफल दिने परमेश्‍वरको योग्यतालाई स्वीकार्नु पनि समावेश छ। के तपाईं साँच्चै साँचो हृदयले परमेश्‍वरलाई चिन्‍न चाहनुहुन्छ? चाहनुहुन्छ भने, उहाँको वचन बाइबलबाट सही ज्ञान हासिल गर्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईंको विश्‍वासले इनाम पाउनेछ।—कलस्सी १:९, १०.

[पृष्ठ २०-मा भएको चित्रको स्रोत]

Drawings of Albrecht Dürer/Dover Publications, Inc.