सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्नो पुरुषार्थ देखाउन बुबा बन्‍नैपर्छ र?

आफ्नो पुरुषार्थ देखाउन बुबा बन्‍नैपर्छ र?

युवा जनहरू सोध्छन्‌ . . .

आफ्नो पुरुषार्थ देखाउन बुबा बन्‍नैपर्छ र?

“ ‘मेरी छोरी त्यहाँ बस्छे अनि छोराचाहिं यता,’ भन्‍ने थुप्रै [केटाहरू] मैले चिनेको छु र तिनीहरूले यसो भन्‍ने तरिकाबाटै तिनीहरू आफ्ना छोराछोरीको ख्याल राख्दैनन्‌ रहेछ भन्‍ने म बुझ्छु।”—ह्‍यारोल्ड।

संयुक्‍त राज्यमा वर्षेनी दस लाख केटीहरू गर्भवती हुन्छन्‌। यी आमाहरूले जन्माउने अधिकांश बच्चाहरू विवाहै नगरी जन्मिएका हुन्छन्‌। यी किशोरावस्थाका आमाहरूमध्ये ४ जनामा १ जनाले अर्को दुई वर्षभित्र दोस्रो सन्तान जन्माइसक्छन्‌। एटलान्टिक मन्थ्ली पत्रिका यसो भन्छ: “यही क्रम जारी रह्‍यो भने हाल जन्मने आधाजति बच्चाहरूले मात्र आफ्नो बाल्यावस्था आफ्नै आमा र बुबासित बिताउनसक्नेछन्‌। अधिकांश अमेरिकी बच्चाहरूले आफ्नो जीवनका केही वर्षहरू त आमा मात्र भएको परिवारमा बिताउनेछन्‌।”

अन्य विकसित मुलुकहरूको तुलनामा संयुक्‍त राज्यमा किशोरीहरूले गर्भधारण गर्ने दर बढी भए तापनि विवाह नै नगरी बच्चा जन्माउने समस्याचाहिं विश्‍वव्यापी तवरमा व्याप्त हुन थालेको छ। बेलाइत र फ्रान्सजस्ता केही युरोपेली मुलुकहरूमा यसरी जन्मने बच्चाहरूको संख्या संयुक्‍त राज्यको जति नै छ। अफ्रिका अनि दक्षिण अमेरिकाका केही मुलुकहरूमा किशोरीहरूले बच्चा जन्माउने दर संयुक्‍त राज्यको भन्दा दोब्बर छ। यो समस्या यसरी बढ्‌नुको कारण के हो?

यस समस्याको कारण

केही हदसम्म, हामी बाँचिरहेको यो “डरलाग्दो समय[मा]” भइरहेको नैतिक पतन नै यसको प्रमुख कारण हो। (२ तिमोथी ३:१-५) हालैका दशकहरूमा पारपाचुकेको दर अकासिएको छ। समलैंगिकता र अन्य वैकल्पिक जीवनशैली आजको समाजमा प्रत्यक्ष देखा पर्न थालिसक्यो। युवाजनहरू सञ्चार माध्यमले फैलाउने गलत धारणाहरूको तारो भइरहेका छन्‌। अश्‍लील गीत तथा गीति भिडियो, आपत्तिजनक पत्रपत्रिका तथा विज्ञापन, टिभी कार्यक्रम तथा सिनेमाहरूमा कुनै रोकटोकबिना जोसुकैसँग यौन सम्पर्क राखेको प्रस्तुत गरिन्छ। गर्भपतन र नियोजनका साधनहरू सजिलै पाइने भएकोले पनि जवानहरूबीच यौन सम्बन्ध राख्दा त्यसको परिणाम भोग्नु पर्दैन भन्‍ने धारणा व्याप्त भएको छ। एक अविवाहित बुबा यसो भन्छन्‌: “म कुनै जिम्मेवारीबिना यौन सम्पर्क राख्न चाहन्छु।” अर्कोचाहिं यसो भन्छन्‌, “यौन सम्बन्ध राख्नु त मोजमस्ती गर्नलाई हो।”

विशेष गरी, यस्तो मनोवृत्ति गरिब युवा पिंढीमा व्याप्त हुनसक्छ। अनुसन्धानकर्ता इलाइजा एन्डरसनले घना आवादी भएको शहरका युवाहरूसित लिएको अन्तरवार्ता र अवलोकनअनुसार “थुप्रै केटाहरूका लागि यौन सम्पर्क राख्नु स्थानीय समाजमा प्रतिष्ठाको चिह्न हो; यौन सम्पर्क राख्न सफल हुनु भनेको त छातीमा अर्को तक्मा भिरेसरह हो।” वास्तवमा, एक अविवाहित पुरुषले यौन सम्पर्क राख्न सफल हुनु भनेको त “दराजमा अर्को एउटा शिल्ड सजाएर राख्नुसरह हो” भन्‍ने धारणा व्याप्त छ भनेर ब्यूँझनुहोस्‌!-लाई बताए। यस्तो कठोर मनोवृत्तिको कारण के हो? प्रायजसो यस्ता घटनाहरूमा घना बस्ती भएका शहरहरूका जवानहरूको जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्‍तिहरू “तिनीहरूको आफ्नो समूहका साथीहरू हुन्‌” भनी एन्डरसन व्याख्या गर्छन्‌। “ती साथीहरूले नै व्यक्‍तिविशेषको आचरणको स्तर निर्धारण गर्छन्‌ अनि त्यस व्यक्‍तिले त्यही स्तरअनुरूप जीवन बिताउनु महत्त्वपूर्ण छ।”

यसरी एन्डरसनको अवलोकनअनुसार थुप्रै ठिटाहरूका लागि यौन सम्बन्ध राख्न सफल हुनु भनेको “अर्को व्यक्‍ति र विशेष गरी ठिटीहरूलाई मूर्ख बनाउने” दाउपेच सिवाय अरू केही होइन। तिनी अझै भन्छन्‌, “यस खेलमा ठिटाले आफूलाई प्रस्तुत गर्ने तरिका, उसको पहिरन, कपालको ढाँचा, जीउडाल, नाच्ने क्षमता अनि कुराकानी गर्ने क्षमता आदि समावेश हुन्छ।” अनि थुप्रै जवान केटाहरू यो “खेल” जित्न सफल पनि हुन्छन्‌। तर एन्डरसन यस्तो उल्लेख गर्छन्‌: “केटी गर्भवती भई भने केटा पछि हट्‌छ।”—यङ अनवेड फादर्स—चेन्जिङ रोल्स एण्ड इमर्जिङ पोलिसिज, रबर्ट लर्मन तथा थिओडोरा उम्सद्वारा संशोधित।

परमेश्‍वरको दृष्टिकोण

तर के वास्तवमा बुबा बन्दैमा आफ्नो पुरुषार्थ प्रमाणित हुन्छ र? के यौन खेल मात्र हो? हाम्रो सृष्टिकर्ता यहोवा परमेश्‍वरअनुसार होइन। आफ्नो वचन बाइबलमा परमेश्‍वरले यौन सम्बन्धको उच्च उद्देश्‍य छ भनेर प्रस्टाउनुभएको छ। प्रथम पुरुष र स्त्रीको सृष्टिको वर्णन गरिसकेपछि बाइबल यसो भन्छ: “परमेश्‍वरले तिनीहरूलाई आशिष दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, ‘फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै . . . जाओ।’ ” (उत्पत्ति १:२७, २८) बच्चाहरूलाई तिनीहरूका बुबाहरूले त्यागून्‌ भन्‍ने आशय परमेश्‍वरले कहिल्यै राख्नुभएन। उहाँले प्रथम पुरुष अनि स्त्रीको विवाह गरिदिनुभएर तिनीहरूलाई स्थायी बन्धनमा बाँधिदिनुभयो। (उत्पत्ति २:२४) त्यसकारण, प्रत्येक बच्चाको आमा अनि बुबा दुवै होस्‌ भन्‍ने इच्छा उहाँको थियो।

तैपनि, केही समयपछि नै पुरुषहरूले थुप्रै स्वास्नी राख्न थाले। (उत्पत्ति ४:१९) केही स्वर्गदूतले समेत “मानिसका छोरीहरूलाई सुन्दरी देखे” भनेर हामीलाई उत्पत्ति ६:२ ले बताउँछ। मानव शरीर धारण गरेर यी स्वर्गदूतहरूले लोभिंदै “आफ्नो आफ्नो रुचिका पत्नीहरू ल्याए।” नूहको जलप्रलयले यी प्रेतहरूलाई आफ्नो आत्मिक लोकमा फर्कन बाध्य पाऱ्‍यो। तथापि, बाइबलले संकेत गरेअनुसार अहिले तिनीहरू पृथ्वी वरपर मात्र सीमित छन्‌। (प्रकाश १२:९-१२) अतः, शैतान र त्यसका प्रेतहरूले आज मानिसहरूमाथि ठूलो प्रभाव पार्छन्‌। (एफिसी २:२) ठिटाहरूले जन्माउनै नचाहेका र माया गर्नै नचाहेका बच्चाहरू जन्माएर थाहै नपाई यस्तै दुष्ट प्रभावमा परेको देखाइरहेका छन्‌।

अतः, असलै कारणले धर्मशास्त्र यसो भन्छ: “परमेश्‍वरको इच्छा, अर्थात्‌ तिमीहरूको पवित्रतानै यही हो, कि व्यभिचारबाट अलग बस। तिमीहरूमा हरेकले आफ्ना आफ्ना पात्रलाई पवित्रता र इज्जतमा कसरी आफैले ग्रहण गर्नुपर्छ, सो जान। परमेश्‍वरलाई नचिन्‍ने अन्यजातिहरूको जस्तो कुइच्छाको कामनामा होइन। यस कुरामा कसैले अपराध गरेर आफ्नो भाइलाई खराबी नगरोस्‌। किनभने प्रभुले यी सबै कुरामा बदला लिनुहुन्छ।”—१ थिस्सलोनिकी ४:३-६.

‘व्यभिचारबाट अलग बस्ने’? थुप्रै ठिटाहरू यो धारणा सुन्‍ने बित्तिकै नाक खुम्च्याउँछन्‌। आखिर तिनीहरू जवान छन्‌ अनि तिनीहरूको इच्छा तीव्र छ! तर याद गर्नुहोस्‌, व्यभिचार गर्दा अरू विरुद्ध ‘अपराध गरेर खराबी गरिरहेको हुन्छ।’ व्यभिचार गरेपछि लोग्नेको सहयोगबिना एक्लैले बच्चा हुर्काउनु पर्ने गरी केटी विरुद्ध खराबी गरिरहेको हुँदैन र? अनि उसलाई गुप्ताङमा आउने लुतो, भिरिंगी, धातुमेह वा एड्‌सजस्ता यौनजन्य रोगहरू सर्नसक्ने खतराबारे चाहिं के भन्‍नुहुन्छ? हो, कहिलेकाहीं यस्ता अवस्थाहरूबाट जोगिन सकिन्छ। तैपनि, विवाहअघि नै यौन सम्बन्ध राख्दा केटीको असल नाउँ जोगाउने तथा विवाह गर्दा कुमारी नै रहने अधिकार हनन हुन्छ। त्यसकारण, व्यभिचारबाट अलग रहनुमा भलाइ छ र यसले परिपक्वता झल्काउँछ। हो, ‘आ-आफ्नो पात्रलाई पवित्रतामा आफैले ग्रहण गर्न’ र विवाहपूर्व यौन सम्बन्धबाट अलग रहन आत्मसंयमी हुनुपर्छ र दृढ निश्‍चयी हुनुपर्छ। तर यशैया ४८:१७, १८ ले हामीलाई बताएअनुसार परमेश्‍वरले आफ्नो व्यवस्था मार्फत ‘हामीलाई हाम्रै फाइदाको निम्ति सिकाउनुहुन्छ।’

“पुरुषार्थी होओ”

त्यसोभए, जवान ठिटोले आफूलाई वास्तविक पुरुष कसरी साबित गर्नसक्छ त? नाजायज बच्चा जन्माएर त पक्कै पनि सक्दैन। बाइबल यस्तो आग्रह गर्छ: “होशियार बस, विश्‍वासमा दृढ़ भइबस पुरुषार्थी होओ, बलिया होओ। तिमीहरू जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्‌।”—१ कोरिन्थी १६:१३, १४.

याद गर्नुहोस्‌, ‘पुरुषार्थी हुनुमा’ होसियार हुनु, विश्‍वासमा दृढ हुनु, साहसी हुनु र मायालु हुनु समावेश छ। निस्सन्देह, यो सिद्धान्त पुरुष अनि स्त्री दुवैमा उत्तिकै लागू हुन्छ। तपाईंले यस्ता आध्यात्मिक गुणहरू खेती गर्नुभयो भने मानिसहरूले तपाईंलाई आदर गर्ने असल कारण पाउनेछन्‌ र तपाईंलाई वास्तविक पुरुषको रूपमा सम्मान गर्नेछन्‌! आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुष येशू ख्रीष्टबाट शिक्षा लिनुहोस्‌। उहाँको पुरुषार्थ अनि सतावट भोग्नुपर्दा र मर्नु पर्दासमेत उहाँको अनुहारमा झल्किएको साहसलाई विचार गर्नुहोस्‌। तर येशूले विपरीत लिंगका व्यक्‍तिहरूसित कस्तो व्यवहार गर्नुहुन्थ्यो?

येशूले पनि आइमाईहरूसित संगत गर्नुभयो र त्यो संगतिबाट आनन्द उठाउनुभयो। उहाँका थुप्रै स्त्री अनुयायीहरू पनि थिए र तिनीहरूमध्ये कतिपयले त “आफ्ना धनले उहाँको [र उहाँका प्रेरितहरूको] सेवा गर्दथिए।” (लूका ८:३) विशेष गरी, उहाँ लाजरसका दुई दिदीहरूसित घनिष्ट हुनुहुन्थ्यो। वास्तवमा, बाइबल भन्छ, “येशूले मार्था, तिनकी बहिनी . . . लाई प्रेम गर्नुहुन्थ्यो।” (यूहन्‍ना ११:५) येशू सिद्ध हुनुभएकोले पक्कै पनि उहाँ बुद्धिमान्‌, सुन्दर अनि बलिष्ठ हुनुहुन्थ्यो। तर के उहाँले यी आइमाईहरूलाई अनैतिक काम गर्न लोभ्याउन आफ्नो बुद्धि, सुन्दर रूप वा आकर्षक शरीर प्रयोग गर्नुभयो र? यसको विपरीत बाइबल येशूबारे यसो भन्छ: उहाँले “नता कुनै पाप गर्नुभयो।” (१ पत्रुस २:२२) ‘उहाँका पाउनेर उभिएर रूँदै उहाँका पाउ आँसुले भिजाउँदै आफ्नो शिरका कपालले पुछ्‌ने’ पापीनी भनेर चिनिएकी कुख्यात आइमाई वा हुनसक्छ, वेश्‍यासित समेत उहाँले अनुचित व्यवहार गर्नुभएन। (लूका ७:३७, ३८) येशूले यो असहाय आइमाईको कमजोरीको फाइदा उठाउने विचारसम्म पनि गर्नुभएन। आफ्नो भावनालाई वशमा राख्नसक्ने क्षमता उहाँले प्रकट गर्नुभयो र साँचो पुरुषत्वको पहिचान दिनुभयो। उहाँले आइमाईहरूलाई यौनभोग वस्तुको रूपमा होइन तर माया अनि आदर पाउनको योग्य व्यक्‍तिविशेषको रूपमा व्यवहार गर्नुभयो।

यदि तपाईं जवान मसीही ठिटो हुनुहुन्छ भने, साथीहरूको होइन तर येशूको उदाहरण पछ्याउनुहोस्‌। यसो गर्नुभयो भने तपाईंले अरू विरुद्ध ‘अपराध गरेर खराबी गरिरहनु भएको’ हुनेछैन। यसले तपाईंलाई नाजायज बच्चाको बुबा हुने जस्तो दुःखदायी घटनाबाट पनि जोगाउनेछ। हो, व्यभिचारबाट अलग रहनुभएकोमा तपाईंलाई अरूले पक्कै पनि जिस्क्याउलान्‌। तर अन्ततः, साथीहरूको क्षणिक अनुमोदनभन्दा परमेश्‍वरको अनुमोदन प्राप्त गर्नु नै तपाईंका लागि हितकर हुनेछ।—हितोपदेश २७:११.

तर विगतमा अनैतिक जीवन बिताएर अहिले आफ्नो अनैतिक चालबाट फर्किसकेको छ र साँचो पश्‍चात्ताप गरिसकेको छ भने, त्यस्तो ठिटोबारे के भन्‍नसकिन्छ? यदि कुरा त्यसो हो भने, यौन अनैतिकतामा फसेका पश्‍चात्तापी राजा दाऊदले जस्तै परमेश्‍वरले माफ गर्नुहुन्छ भनेर तिनी पनि ढुक्क हुनसक्छन्‌। (२ शमूएल ११:२-५; १२:१३; भजन ५१:१, २) तर विवाह नगरिकनै बच्चा जन्मियो भने पनि त्यस जवान ठिटाले केही गम्भीर निर्णयहरू गर्नु पर्ने हुनसक्छ। के तिनले त्यो ठिटीसित विवाह गर्नुपर्छ? के त्यो बच्चाप्रति तिनको कुनै दायित्व रहन्छ? अर्को अंकमा यी प्रश्‍नहरू छलफल गरिनेछन्‌।

[पृष्ठ १५-मा भएको चित्र]

थुप्रै जवानहरू यौन सम्बन्ध राख्दा त्यसको परिणाम भोग्नुपर्दैन भन्‍ने गलत धारणा राख्छन्‌