ज्वालामुखी विरुद्ध मसीही प्रेम
ज्वालामुखी विरुद्ध मसीही प्रेम
क्यामरूनका ब्यूँझनुहोस्! संवाददाताद्वारा
गत वर्ष पश्चिमी अफ्रिकी राष्ट्र क्यामरूनमा भयानक विस्फोटन भयो। माउन्ट क्यामरून समुद्रको सतहभन्दा ४,०७० मिटर अग्लो ज्वालामुखी हो। भनिन्छ, यस पटकको विस्फोटन अर्थात् २० औं शताब्दीको पाचौं सबैभन्दा विनाशकारी र गम्भीर खालको थियो।
मार्च २७, १९९९ शनिबार अपराह्णदेखि उत्पात सुरु भएको थियो। पहाडकै फेदमा अवस्थित ब्यूया शहरका प्रत्यक्षदर्शीहरूअनुसार भित्ता, घर तथा रूखहरूसमेत बेतोडले हल्लियो। त्यसको भोलिपल्ट साँझ साढे आठ बजेतिर एकदमै भयानक कम्पन भयो। सत्तरी किलोमिटर टाढा डुवाला शहरमा पनि यसको धक्का महसुस गरिएको थियो। मंगलबार, मार्च ३०, १९९९ का दिन ले मेसाजाँ-को शीर्ष समाचारले यस्तो घोषणा गऱ्यो: “माउन्ट क्यामरूनको विस्फोटन—२,५०,००० व्यक्तिहरू प्रभावित।” यसले अझ यसो भन्यो: “दुई दिनमा ५० चोटि भुइँचालो आयो। अहिले नै ज्वालामुखी विस्फोटन हुने ४ वटा क्रेटर देखा परिसके र ब्यूयाको राष्ट्रपति भवन तथा सयौं घरहरू खत्तम भइसके।”
ब्यूयामा लगभग ८० जना जति यहोवाका साक्षीहरू बसोबास गर्छन्। राज्यभवनको रूपमा प्रयोग गरिएको घरलगायत थुप्रै भवनहरू मर्मतै गर्न नमिल्ने गरी क्षतिग्रस्त भए। तर धन्न, कसैको ज्यान भने गएन।
मसीही प्रेम व्यवहारमा
यस डरलाग्दो विस्फोटनले गर्दा भएको क्षति कम गर्न मसीही प्रेम तुरुन्तै सक्रिय भयो। उद्धार समिति गठन गरियो, यहोवाका साक्षीहरूको परिचालक निकायले अत्यावश्यक कोशको प्रबन्ध गऱ्यो र सयौं साक्षीहरूले राजीखुसी मायालु ढंगमा आफ्नो समय, बल र पैसा खर्च गरे।
यहोवाका साक्षीहरूको मण्डलीहरूले खाद्यान्न सामग्रीहरू पठाए। एक जना साक्षीले सिमेन्टका १,००० वटा ब्लकहरू दिए। अर्को एक जनाले कम मूल्यमा एल्मुनियमका छतहरू किन्ने प्रबन्ध मिलाइदिए। अर्को एक जनाचाहिं काठको प्रबन्ध गर्न १६ किलोमिटर पैदल यात्रा गरे। एक जवान मानिसले त आफ्नो विवाह नै पछि सारे अनि भावी सासु-ससुरालाई तिर्न जम्मा गरी राखेको दुलहीको मोलको पैसा करौंती मर्मत गर्न चलाए। अनि तिनी तीन हप्तासम्म जंगलमा बसेर एउटा घर बनाउन पुग्ने काठ काटे! हट्टाकट्टा जवान मसीही भाइहरूले पाँच किलोमिटर पर बिसाइएको ट्रकसम्म काठ ओसार्न टाउकोमा भारी बोके।
क्षतिग्रस्त इलाकामा ६० जना स्वयम्सेवकहरू भेला भएपछि
अप्रिल २४ मा पुनर्निर्माण कार्य सुरु भयो। त्यसपछिका सप्ताहन्तहरूमा स्वयम्सेवकहरूको संख्या २०० सम्म पुग्यो। पूर्ण समय जागिर भएका तीन जना साक्षीहरू चाहिं आफ्नो काम सिद्धाएर आउँथे र मध्यरातसम्म निर्माण कार्यमा सघाउँथे। डुवालाका एक जना साक्षी बिहानभरि आफ्नो जागिरमा काम गरेपछि मोटरसाइकलबाट ७० किलोमिटर यात्रा गरेर पुनर्निर्माण कार्यमा मध्यरातसम्म काम गर्थे अनि मात्र आफ्नो घर फर्कन्थे। छवटा घर निर्माण गर्न दुई महिना पनि लागेन। यतिञ्जेल ब्यूया मण्डलीले निजी घरहरूमै सभाहरू सञ्चालन गरे अनि मण्डलीका सभाहरूको उपस्थिति प्रकाशकहरूभन्दा दोब्बर थियो।यसै अवधिमा उद्धार समितिले दूषित पानी स्वच्छ पार्न ४०,००० भन्दा बढी चक्कीहरू वितरण गऱ्यो र विषालु ग्याँस तथा ज्वालामुखीको खरानीको कारण श्वासप्रश्वास समस्याले पीडित दस जनाको उपचारको प्रबन्ध मिलायो। यस्तो मसीही प्रेम देख्नेहरूले कस्तो प्रतिक्रिया देखाए?
मसीही प्रेम उत्कृष्ट साबित हुन्छ
भाइहरूले घर निर्माण गरेको देखेपछि स्थानीय कृषि विभागका एक जना मानिसले यसो भने: “यो घरै एउटा ठूलो साक्षी हो। . . . प्रेमको प्रमाण हो।” एक जना शिक्षकले यस्तो टिप्पणी गरे: “मैले जिन्दगीमा यस्तो कहिल्यै देखेको छैन। . . . यो साँच्चै साँचो मसीही धर्मको चिनारी हो।”
व्यक्तिगत रूपमा लाभ उठाएकाहरूले पनि आफ्नो खुसी व्यक्त गरे। पैंसट्ठी वर्षीय बिरामी तिमोथीले यस्तो लेखे: “प्रत्येक चोटि हाम्रो नयाँ घर हेर्दा हाम्रो आँखा खुसीको आँसुले भरिन्छ। यहोवाले हाम्रोलागि गर्नुभएका कुराहरूको निम्ति हामी सधैं उहाँलाई धन्यवाद दिइरहन्छौं।” अर्कै धर्म मान्ने एउटी विधवा तथा उनका चार छोराछोरीको घर भत्किंदा उनीहरू निस्सहाय भए। त्यसमाथि मर्मत गर्न भाडामा लिएका मानिसहरूले निर्माण सामानहरू चोरे। स्वयम्सेवक साक्षीहरूले तिनको मदत गरे। उनी भन्छिन्: “तपाईंहरूलाई धन्यवाद दिन मसित शब्दै छैन। मेरो हृदय खुसीले गद्गद भएको छ।” प्राचीनकी पत्नी एलिजाबेथले यस्तो टिप्पणी गरिन्: “यहोवाको संगठनमा प्रेम भएको कारण म खुसी छु। यसबाट हामी जीवित परमेश्वरको सेवा गर्छौं भन्ने प्रमाणित हुन्छ।”
ज्वालामुखीको विस्फोटन विशाल थियो तर यसले मसीही भ्रातृत्वको प्रेमलाई निभाउन सकेन। हो, प्रेरित पावल लेख्न प्रेरित भएझैं “प्रेम कहिल्यै टल्दैन।”—१ कोरिन्थी १३:८.
[पृष्ठ १०-मा भएको चित्र]
पग्लेको लाभाले निकै क्षति पुऱ्यायो
[पृष्ठ ११-मा भएको चित्र]
क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न स्वयम्सेवकहरूले कडा मेहनत गरे
[पृष्ठ ११-मा भएको चित्र]
माउन्ट क्यामरून