सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

धूम्रपान किन छोड्‌ने?

धूम्रपान किन छोड्‌ने?

धूम्रपान किन छोड्‌ने?

धूम्रपान लामो अनि आनन्दित जीवन बिताउन चाहनेहरूका लागि पटक्कै होइन। निकै समय- देखि धूम्रपान गर्नेहरू अन्तमा त्यही चुरोटका कारण मर्ने सम्भावना २ मा १ छ। विश्‍व स्वास्थ्य संघ (डब्लू एच ओ)-का महानिर्देशक यसो भन्छिन्‌: “चुरोटमा . . . बडो होसियारीसाथ मृत्यु नहोउञ्जेल अम्मली गराउने गरी ठीक मात्रामा मिलाएर निकोटिन राखिएको हुन्छ।”

अतः, धूम्रपान छोड्‌ने एउटा कारण, यसले स्वास्थ्य अनि जीवनमा पार्ने खतरा हो। धूम्रपानको २५ भन्दा बढी ज्यानमारा रोगहरूसँग सम्बन्ध छ। उदाहरणका लागि, यो हृदयघात, मस्तिष्कघात, दीर्घकालीन ब्रोन्काइटिस, फोक्सो सुन्‍निने रोग र विभिन्‍न क्यान्सर र विशेष गरी फोक्सो क्यान्सरको कारक तत्त्व हो।

अवश्‍य, व्यक्‍तिविशेषले चुरोट पिउन थालेको वर्षौं भइसकेपछि यी रोगहरूमध्ये कुनै एउटाले च्याप्नसक्छ। यसबाहेक, चुरोट पिउँदैमा व्यक्‍तित्व आकर्षक हुँदैन। विज्ञापनहरूमा धूम्रपान गर्नेहरूलाई आकर्षक अनि स्वस्थ देखाइन्छन्‌। तर वास्तविकता भिन्‍नै छ। धूम्रपान गर्दा सास गन्हाउँछ, दाँतहरू फोहर देखिन्छन्‌ र औंलाहरू पहेंला हुन्छन्‌। अनि पुरुषहरू त नपुंसक पनि हुन्छन्‌। धूम्रपान गर्ने व्यक्‍ति खोक्न थाल्छ र उसलाई सास फेर्न गाह्रो हुन्छ। धूम्रपान गर्नेहरूको समय नपुग्दै अनुहार चाउरी पर्ने र अन्य चर्म रोगहरूले सताउने सम्भावना पनि बढी हुन्छ।

धूम्रपानले कसरी अरूलाई पनि असर गर्छ

बाइबल “आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू” भन्छ। (मत्ती २२:३९) छिमेकी अनि सबैभन्दा नजिकको छिमेकी, आफ्नै परिवारलाई माया गर्नु धूम्रपान छोड्‌ने अर्को सशक्‍त कारण हो।

धूम्रपानले अरूलाई हानि पुऱ्‍याउँछ। केही समयअघिसम्म, चुरोट पिउने मानिसले बिना रोकटोक जतासुकै अनि जत्तिखेर पनि चुरोट सल्काउन सक्थ्यो। तर हाल अरूले खाएको चुरोटको धुवाँमा सास फेर्दा हुने खतराहरूप्रति धेरैभन्दा धेरै मानिसहरू सतर्क हुन थालेका छन्‌। उदाहरणका लागि, चुरोट नपिउने व्यक्‍तिले पिउने व्यक्‍तिसित विवाह गरेको छ भने फोक्सोको क्यान्सर हुने खतरा ३० प्रतिशत बढी हुन्छ। चुरोट नपिउने आमाबाबुको सन्तानको तुलनामा चुरोट पिउने आमाबाबुको सन्तानलाई जन्मेको दुई वर्षभित्र निमोनिया वा ब्रोन्काइटिस हुने सम्भावना बढी हुन्छ।

चुरोट पिउने गर्भवती आइमाईहरूले गर्भको बच्चालाई खतरामा पारिरहेका हुन्छन्‌। चुरोटमा पाइने निकोटिन, कार्बन मोनोअक्साइड र अन्य खतरनाक रासायनिक तत्त्वहरू आमाको रक्‍तनलीहरू हुँदै सिधै गर्भको बच्चासम्म पुग्छ। फलतः आफसे आफ गर्भपतन हुने, मृत बच्चा जन्मने र भर्खर जन्मेको शिशुको मृत्यु हुने सम्भावना निकै बढी हुन्छ। यसबाहेक, गर्भवती छँदा धूम्रपान गर्ने आमाले जन्माएको बच्चाको आकस्मिक मृत्यु हुने खतरा पनि तीन गुणा बढी हुन्छ।

महँगो छ

चुरोट छोड्‌ने अर्को कारण धूम्रपान महँगो हुनु पनि हो। विश्‍व बैंकले गरेको अध्ययनअनुसार धूम्रपानले स्वास्थ्यमा प्रत्यक्ष पारेका असरहरूको कारण वर्षेनी करिब दुई खरब अमेरिकी डलर खर्च भएको अनुमान छ। निस्सन्देह, यसमा धूम्रपानले गर्दा हुने रोगहरूको पीडाको मूल्य त गाभिएकै छैन।

चुरोट पिउने व्यक्‍तिको खर्च हिसाब गर्नु सजिलो छ। तपाईं धूम्रपान गर्नुहुन्छ भने, तपाईंले दिनमा चुरोट किन्‍न खर्च गर्नुहुने कुल पैसालाई ३६५ ले गुणा गर्नुहोस्‌। त्यसले तपाईंले वर्षभरि चुरोटमा खर्च गर्नुहुने पैसा देखाउँछ। त्यसपछि, यो संख्यालाई दसले गुणा गर्नुहोस्‌ र आगामी दस वर्षमा हुने खर्च थाह पाउनुहुनेछ। यसरी हिसाब गरेर हेर्दा तपाईं छक्कै पर्न सक्नुहुनेछ। यत्तिका पैसाले तपाईं के के गर्न सक्नुहुन्थ्यो होला, विचार गर्नुहोस्‌ त।

धूम्रपानको विकल्प सुरक्षित होला?

चुरोट कारखानाहरूले टार अनि निकोटिन कम भएका चुरोटहरू अर्थात्‌ हल्का वा नरम खालका चुरोटले स्वास्थ्यमा पार्ने असर कम गर्छ भन्‍ने विज्ञापनहरू दिन्छन्‌। तथापि, टार र निकोटिन कम भएको चुरोट पिउन थाल्नेहरूलाई पहिलेकै मात्राको निकोटिनको तलतल लाग्न थाल्छ। फलतः, विकल्प खोज्नेहरू अक्सर अझ धेरै अनि लामो सर्को तान्छन्‌ वा पहिलेभन्दा झन्‌ धेरै चुरोट पिउँछन्‌। यसरी पिउँदैनन्‌ भने पनि चट्टै चुरोट छोड्‌नेहरूको तुलनामा तिनीहरूमा हुने स्वास्थ्य लाभ निकै मन्द हुन्छ।

त्यसोभए, पाइप र सिगारबारे चाहिं के भन्‍न सकिन्छ? चुरोट कारखानाहरूले धेरै समय अघिदेखि प्रतिष्ठाको प्रतीकको रूपमा अघि सारेको पाइप र सिगार पनि चुरोट जत्तिकै घातक छन्‌। सिगार वा पाइप पिउने व्यक्‍तिले धुवाँ ननिले तापनि तिनीहरूमा ओंठ, मुख अनि जिब्रोको क्यान्सर हुने खतरा धेरै हुन्छ।

मुखमा हालिने सुर्ती नि? यस्ता सुर्ती दुई तरिकाले खाइन्छ: मुखमा च्यापेर वा चपाएर। धूलो खैनी अक्सर बट्टा वा प्लास्टिकको पोकामा बेचिन्छ। अक्सर खैनी खानेहरू खैनीलाई तल्लो ओंठभित्र अथवा दाँया वा बाँया गालामा च्याप्छन्‌। चपाएर खाने सुर्तीचाहिं लामो रेसाको रूपमा अक्सर पोकामा बेचिन्छ। नाउँबाटै थाह भएअनुसार यो चपाइन्छ, चुसिंदैन। खैनी र सुर्ती दुवैले सास दुर्गन्धित बनाउँछ, दाँतमा कस बस्छ, मुख अनि घाँटीको क्यान्सर गराउँछ र निकोटिनको लत लगाउँछ। पछि क्यान्सर हुनसक्ने घाउखटिराहरू मुखमा आउँछन्‌, गिजा र दाँत वरपरका हड्डीहरू खिइन्छन्‌। स्पष्ट छ, खैनी र सुर्ती सेवन गर्नु चुरोटको बुद्धिमानी विकल्प होइन।

छोड्‌दा हुने फाइदाहरू

मानौं, तपाईंले चुरोट पिउन थाल्नुभएको निकै भइसक्यो। चुरोट छोड्‌दा तपाईंलाई के फाइदा हुन्छ? अन्तिम खिल्ली तान्‍नुभएको २० मिनेटमै तपाईंको रक्‍तचाप सामान्य हुन्छ। हप्तादिनपछि तपाईंको शरीर निकोटिनरहित हुन्छ। महिनादिनपछि तपाईंको खोकी, पिनास, थकावट र सास फेर्न गाह्रो हुनु आदि जम्मै कम हुन थाल्छ। पाँच वर्षपछि फोक्सोको क्यान्सरले मृत्यु हुनसक्ने खतरा ५० प्रतिशतले घट्‌छ। १५ वर्षपछि, तपाईंलाई हृदयघात हुनसक्ने सम्भावना चुरोट कहिल्यै पिउँदै नपिएको व्यक्‍तिको जत्ति नै हुन्छ।

तपाईंलाई खाना स्वादिलो लाग्न थाल्छ। तपाईंको सास, शरीर अनि लुगाफाटा गन्हाउन छाड्‌छ। चुरोट किन्दा लाग्ने खर्च जोगिन्छ। तपाईंलाई आफूले ठूलो उपलब्धि हासिल गरेको महसुस हुन्छ। तपाईंका छोराछोरी छन्‌ भने, तपाईंको उदाहरणले गर्दा तिनीहरूले धूम्रपान गर्ने सम्भावना पनि घट्‌छ। तपाईंको आयु लम्बिन्छ। यसबाहेक, तपाईं परमेश्‍वरको इच्छाअनुसार चलिरहनुभएको हुनेछ, किनकि बाइबल यसो भन्छ: “शरीर[का] . . . सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं।” (२ कोरिन्थी ७:१) चुरोट छोड्‌न ढिलो भइसक्यो भनेर नठान्‍नुहोस्‌; बरु, जति छिटो छोड्‌नुभयो, त्यत्ति नै बेस।

चुरोट छोड्‌नु किन यत्ति गाह्रो

चुरोट छोड्‌छु भनेर कम्मर कस्नेहरूलाई समेत चुरोट छोड्‌न साह्रै गाह्रो हुन्छ। विशेष गरी, चुरोटमा पाइने निकोटिन, असाध्यै लत लाग्ने लागू पदार्थ भएकोले पनि त्यसो भएको हो। डब्लू एच ओ यसो भन्छ: “सबैभन्दा धेरै लत बसाउने लागू पदार्थहरूको सूची तयार पार्ने हो भने, निकोटिनले, हेरोइन [र] कोकेनलाई उछिन्छ।” हेरोइन र कोकेनको जस्तो निकोटिनको तुरुन्तै अनि प्रत्यक्ष असर देखिंदैन। त्यसैले पनि निकोटिनले पुऱ्‍याउने असरलाई अक्सर बेवास्ता गरिन्छ। चुरोटले दिने हल्का आनन्दको कारण प्रायजसो मानिसहरू एकपछि अर्को चुरोट सल्काइरहन्छन्‌। हो, निकोटिनले तपाईंको मुडलाई असर गर्छ; यसले तनाउ कम गर्छ। तथापि, निकोटिनको तलतलले गर्दा नै चुरोटले तनाउ कम गरेजस्तो लागेको हो।

धूम्रपान गर्नु एउटा बानी नै भएकोले चुरोट छोड्‌न गाह्रो हुन्छ। निकोटिनको लत लाग्नुको अतिरिक्‍त धूम्रपान गर्नेहरूलाई चुरोट सल्काउने र सर्को तान्‍ने बानी बसिसकेको हुन्छ। ‘खालि हात बस्नुपर्दा समय बितेको पत्तो हुँदैन,’ कसै कसैले भन्ला।

चुरोट छोड्‌न गाह्रो हुनुको तेस्रो कारण, त्यसलाई दैनिक जीवनमा गाभेर सामान्य गतिविधिको रूपमा प्रस्तुत गर्नु पनि हो। चुरोट कारखानाले धूम्रपान गर्नेहरू आकर्षक, सक्रिय, स्वस्थ अनि चतुर हुन्छन्‌ भनेर चित्रित गर्न वर्षेनी छ अरब अमेरिकी डलर विज्ञापनमा मात्र खर्च गर्छ। ती विज्ञापनहरूमा धूम्रपान गर्नेहरूलाई अक्सर घोडसवार गरिरहेको, पौडिरहेको, टेनिस खेलिरहेको वा अन्य मनोरम क्रियाकलापमा भाग लिइरहेको देखाइन्छ। चलचित्र तथा टिभी कार्यक्रमहरूमा पनि खलनायकहरू मात्र होइनन्‌ नायकहरूले पनि धूम्रपान गरिरहेको देखाइन्छ। कानुनव्यवस्थाले नै चुरोट बेच्ने छुट दिएको छ भने, जहाँसुकै सजिलै चुरोट किन्‍न पाइन्छ। अनि हामीमध्ये प्रायजसो धूम्रपान गर्नेहरूबीचमा नै हुन्छौं। तपाईं यी प्रभावहरूबाट भाग्न सक्नुहुन्‍न।

दुःखको कुरा, टाउको दुख्दा एस्प्रिन खान मिलेजस्तो धूम्रपानको तलतल मेटाउन खान मिल्ने कुनै चक्की छैन। चुरोट चटक्क छोड्‌न व्यक्‍तिविशेष आफै उत्प्रेरित हुनुपर्छ। तौल घटाउँदाजस्तै चुरोट छोड्‌न पनि लामो समयसम्म प्रयत्न गरिरहनुपर्छ। सफल हुने वा नहुने त्यो त धूम्रपान गर्ने व्यक्‍तिकै हातमा छ।

[पृष्ठ ५-मा भएको पेटी]

कलिलै उमेरमा अम्मली

संयुक्‍त राज्यमा गरिएको एउटा अध्ययनअनुसार धूम्रपानको रहर गर्ने ४ मध्ये १ जना जवानलाई यसको लत नै लाग्छ। यो दर कोकेन र हेरोइनको चस्का लिन खोज्नेहरूको जत्तिकै छ। धूम्रपान गर्न थालेकोमा चुकचुकाउने किशोरकिशोरीहरू ७० प्रतिशत भए तापनि कमैले मात्र छोड्‌नसक्छन्‌।

[पृष्ठ ५-मा भएको पेटी]

चुरोटको धुँवामा के हुन्छ?

चुरोटमा टारको अतिरिक्‍त अन्य ४,००० भन्दा धेरै किसिमका रासायनिक तत्त्वहरू हुन्छन्‌। यीमध्ये ४३ वटाले त क्यान्सर गराउँछ भनेर पत्ता लागिसक्यो। ती हुन्‌, साइनाइड, बेन्जिन, मिथानोल र एसेट्येलेन (टर्चमा प्रयोग गरिने इन्धन) आदि। चुरोटमा नाइट्रोजन अक्साइड र कार्बन मोनोअक्साइडजस्ता विषालु ग्याँसहरू पनि हुन्छन्‌। तथापि, चुरोटमा पाइने प्रमुख तत्त्वचाहिं निकोटिन नै हो। यसले असाध्यै लत लगाउँछ।

[पृष्ठ ६-मा भएको पेटी]

प्रिय व्यक्‍तिलाई घूम्रपान छोड्‌न मदत गर्ने

तपाईं घूम्रपान गर्नुहुन्‍न र धूम्रपानले पुऱ्‍याउने खतराप्रति सतर्क हुनुहुन्छ तर तपाईंका साथीभाइ तथा प्रिय व्यक्‍तिले घूम्रपान गरिरहन्छन्‌ भने, तपाईंलाई पक्कै पनि दिक्क लाग्छ। उहाँहरूलाई चुरोट छोड्‌न लगाउन तपाईं के गर्न सक्नुहुन्छ? कचकच, बिन्तीभाउ, बलजफ्ती र गिल्ला गर्दा विरलै सफलता हात लाग्नसक्छ। न त लम्बेतान भाषण छाँट्‌दैमा काम बन्छ। बरु, धूम्रपान गर्ने व्यक्‍तिले चुरोट छोड्‌नुको साटो दिक्क मानेर झनै चुरोट तान्‍नसक्छ। त्यसकारण, चुरोट छोड्‌नु गाह्रो छ र कतिपयलाई अरू व्यक्‍तिको तुलनामा चुरोट छोड्‌नु त असाध्यै गाह्रो हुन्छ भनेर बुझ्ने प्रयास गर्नुहोस्‌।

तपाईं कसैलाई पनि चट्ट चुरोट छोड्‌न लगाउन सक्नुहुन्‍न। चुरोट छोड्‌ने भित्री बल तथा दृढता त धूम्रपान गर्ने व्यक्‍तिकै मनबाट आउनुपर्छ। बरु, तपाईंले चुरोट छोड्‌ने इच्छा गर्ने व्यक्‍तिलाई प्रोत्साहन दिने र समर्थन गर्ने तरिकाहरू खोज्नुपर्छ।

तर तपाईं कसरी त्यसो गर्न सक्नुहुन्छ? उचित समय हेरेर आफ्नो माया जाहेर गरेर अनि चुरोट पिउने बानी देखेर आफूलाई लागेको चिन्ता प्रकट गरेर। चुरोट छोड्‌ने हर निर्णयको समर्थन गर्न तपाईं तयार हुनुहुन्छ भनेर पनि बताउनुहोस्‌। तर बातैपिच्छे यही कुरा दोहऱ्‍याइ रहनुभयो भने यो प्रभावहीन हुनेछ, अर्थविहीन हुनेछ।

तपाईंको प्रिय व्यक्‍तिले चुरोट छोड्‌ने निर्णय गऱ्‍यो भने, के गर्न सक्नुहुन्छ? चुरोट छोडेपछि चिढिने, खिन्‍न लाग्ने लक्षणहरू देखा पर्नेछन्‌ भनेर नबिर्सनुहोस्‌। टाउको दुख्ने र सुत्न गाह्रो हुने समस्याले पनि पिरोल्नसक्छ। यी लक्षणहरू अस्थायी हुन्‌ र यो नयाँ अनि स्वस्थ अवस्थामा आउन शरीरमा भएका काँटछाँट मात्र हुन्‌ भनेर आफ्नो प्रिय व्यक्‍तिलाई बताउनुहोस्‌। प्रफुल्लित अनि सकारात्मक हुनुहोस्‌। चुरोट छोड्‌ने प्रयासदेखि आफूलाई अत्यन्त खुसी लागेको कुरा पनि बताउनुहोस्‌। चुरोट छोड्‌ने प्रयास गरिरहेको बेला आफ्नो प्रिय व्यक्‍तिलाई तनाउग्रस्त अवस्थाहरूदेखि बचाउनुहोस्‌ ताकि, तिनले फेरि चुरोट पिउने बानी सुरु नगरून्‌।

तर तपाईंको प्रिय व्यक्‍तिले फेरि चुरोट पिउन थाल्नुभयो भने के गर्ने नि? तुरुन्तै आवेशमा नआउनुहोस्‌। कोमल व्यवहार गर्नुहोस्‌। त्यसलाई तपाईंहरू दुवैको लागि एउटा पाठको रूपमा लिनुहोस्‌ र अर्को पटक पक्कै सफलता हात लाग्नेछ भन्ठान्‍नुहोस्‌।

[पृष्ठ ७-मा भएको चित्र]

चुरोट कारखानाले वर्षेनी विज्ञापनमा मात्र छ अरब डलर खर्च गर्छ