सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भासा—दुर्घटनाबाट आकर्षणको चीज

भासा—दुर्घटनाबाट आकर्षणको चीज

भासा—दुर्घटनाबाट आकर्षणको चीज

स्वीडेनका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

अगस्त १०, १६२८, स्वीडेनको राजधानी स्टकहोममा घमाइलो दिन थियो। तीन वर्ष लगाएर निर्माण गरिएको शाही युद्धजहाज भासा-को पहिलो यात्रा हेर्न बन्दरगाहमा टन्‍नै मानिसहरू ओइरिएका थिए, यो जहाज स्वीडेनको नौसेनामा सामेल हुनेथियो।

भासा सामान्य युद्धजहाज थिएन। यो संसारकै सबैभन्दा पराक्रमी जहाज होस्‌ भन्‍ने राजा गुस्ताभो द्वितीय अडोल्फस भासा चाहन्थे। डेनिसहरूले दुई तले तोप डेक भएको जहाज बनाउन लागेका छन्‌ भन्‍ने सुनेर तिनले पनि आफ्नो जहाजमा दोस्रो तल्ला थप्ने आदेश दिएका थिए भनी कसै कसैले भनेका छन्‌। तिनी, आफ्नो परिवारको नाउँ धारण गर्ने जहाज कसैको भन्दा कम भएको चाहँदैनथे।

यसको पहिलो यात्रामा शाही शक्‍ति र महिमाको प्रदर्शन हुने आशा राखिएको थियो। यसमा ६४ वटा तोप र ७०० भन्दा बढी मूर्तिकला र सजावटका वस्तुहरू थिए। त्यस जहाजको मूल्य स्वीडेनको कुल राष्ट्रिय उत्पादनको ५ प्रतिशतभन्दा बढी थियो। यो शक्‍तिशाली युद्ध साधन र कला प्रदर्शनी सम्भवतः त्यतिबेला बनाइएको सबैभन्दा भव्य कुराहरूमध्ये एउटा थियो। त्यसैले, यसले आफ्नो पहिलो यात्रा स्टकहोमबाट सुरु गर्दा मानिसहरू हर्षोल्लासका साथ हेर्न आउनु कुनै छक्कलाग्दो कुरा होइन!

दुर्घटना र बेइज्जती

तथापि, भासा-ले एक किलोमिटर मात्र के यात्रा गरेको थियो, तुफानी बतास आउँदा त्यो एकातिर ढल्कियो। अनि तोप हान्‍ने प्वालबाट पानी भित्र छिर्यो र डुब्यो। यो सायद नौसेनाको इतिहासमा सबैभन्दा छोटो यात्रा थियो होला!

दर्शकहरू वाल्ल परे। स्वीडेनको नौसेनाको सान, युद्ध वा समुद्रको हिंस्रक लहरको कारण होइन तर आफ्नै बन्दरगाहमा आएको सामान्य बतासले डुब्यो। त्यसमाथि, जहाजमा भएको झन्डै ५० जना मानिसको मृत्युले थप बेइज्जती भयो। भासा राष्ट्रिय गौरवको प्रतीक हुनुको साटो बेइज्जत र निराशाको कुरा हुन पुग्यो।

यस बेइज्जतीपूर्ण दुर्घटनाको दोषी पत्ता लगाउन समिति गठन गरियो। तर कसैलाई पनि दोषी ठहऱ्‍याइएन किनभने प्रमाणहरूले राजा र स्वीडेनको नौसेनाको उप-महारथी क्लाँस फ्लेमिङतर्फ प्रश्‍न खडा गऱ्‍यो।

राजाको आदेशले गर्दा निर्माताहरूले आफ्नो अनुभवभन्दा बाहिरको डिजाइनहरू बनाउनु परेको थियो। तसर्थ, भासा-को अनुपात पटक्कै मिलेको थिएन। डुब्नुभन्दा केही समयअघि उप-महारथी फ्लेमिङले जहाज कत्तिको स्थिर छ भनेर परीक्षण गर्न लगाएका थिए। परीक्षणको रूपमा जहाजको एक छेउदेखि अर्को छेउसम्म ३० जना मानिसहरू लहरै दौडेका थिए। तीन फन्को लाएपछि उप-महारथीले के थाह पाए भने, दौड्‌न रोकिएन भने जहाज त्यतिबेला नै डुब्नेछ। त्यसैले तिनले परीक्षणलाई त रोके तर प्रथम यात्रालाई भने रोकेनन्‌। राजा र उप-महारथीजस्ता महत्त्वपूर्ण मानिसहरूतर्फ प्रश्‍न खडा भएकोले कसैमाथि पनि अभियोग लगाइएन।

सन्‌ १६६४-६५ मा स्वीडेनको भूतपूर्व सेनाले सरल डाइभिङ बेल चलाएर भासा-का प्रायजसो बन्दुकहरू फेला पारे। अनि भासा समुद्रको सतहभन्दा ३० मिटरमुनि दलदलमा झन्‌ झनै भासिंदै गएपछि मानिसहरूले यसलाई बिस्तारै बिर्सन थाले।

दलदलबाट बाहिर

अगस्त १९५६ मा सोखिन पुरातत्त्वविद्‌ आन्डर्स फ्रान्जेनले कोर स्याम्पलर चलाएर समुद्रमुनिबाट अग्राखको टुक्राहरू बाहिर निकाले। वर्षौंदेखि तिनले पुराना कागजातहरू अनुसन्धान गरेर समुद्रको पींधमा भासा-को खोजी गरिरहेका थिए। बल्ल तिनले भेट्टाए। एकदमै संवेदनशील तरिका चलाएर भासा-लाई दलदलबाट बाहिर निकालियो र पानीमुनिबाटै एकदमै जतन गरेर नावाश्रयमा लगियो।

अप्रिल २४, १९६१ का दिन फेरि एक चोटि उल्लसित दर्शकहरू स्टकहोमको बन्दरगाहमा जम्मा भए। समुद्रको पींधमा रहेको ३३३ भन्दा बढी वर्षपछि भासा फेरि देखा पऱ्‍यो र यस पटकचाहिं पर्यटकहरूको निम्ति आकर्षणको वस्तु र जलीय पुरात्त्वविद्‌हरूको निम्ति अनमोल खजाना साबित भयो। यस १७ औं शताब्दीको युद्ध जहाजमा भेट्टिएका २५,००० भन्दा बढी शिल्पतथ्यहरूले मनमोहक जानकारीहरू प्रदान गर्नुका साथै त्यतिबेलाको जहाज निर्माण तरिका र मूर्तिकलाबारे अनुपम अन्तरदृष्टि प्रदान गऱ्‍यो।

भासा र त्यसका शिल्पकलाहरू कसरी संरक्षित रहन सके? संरक्षित रहनुको केही कारण त डुब्दा जहाज नयाँ थियो, फेरि माटोमा संरक्षण गर्ने तत्त्व हुन्छ र काठलाई खाने कीराहरू नुनको मात्रा कम भएको पानीमा फस्टाउँदैनन्‌।

भासा-मा १२० टन स्थिर गराउने भार थियो। विशेषज्ञहरूले यस जहाजलाई स्थिर गराउन त्यसको दोब्बर भार चाहिने हिसाब गरे तर त्यसको लागि ठाउँ थिएन। साथै, त्यति भार थपेको खण्डमा तलको तोप डेकमा पानी छिर्ने सम्भावना थियो। जहाजको बाहिरी रूप भव्य थियो तर असन्तुलनताले गर्दा दुर्घटनाग्रस्त हुनुपुग्यो।

अहिले यो पुरानो संरक्षित साथै संसारलाई थाह भएको जहाज आफ्नै संग्रहालयभित्र सुरक्षित छ। प्रत्येक वर्ष १७ औं शताब्दीको शाही रवाफको झलक पाउन ८,५०,००० आगन्तुकहरू आउँछन्‌ र त्यो १६२८ को दुर्घटनाको कारण जस्ताको तस्तै छ। अख्तियारमा भएका मानिसहरूले आफ्नो अहम्‌ र लापरवाहीको कारण जहाज निर्माणका तौरतरिकाहरूलाई बेवास्ता गर्नु कस्तो मूर्खता हो भनेर यसले देखाउँछ।

[पृष्ठ २६-मा भएको चित्र]

राजा गुस्ताभो द्वितीय अडोल्फस भासा

[स्रोत]

Foto: Nationalmuseum, Stockholm

[पृष्ठ २७-मा भएको चित्र]

समुद्रको पींधमा रहेको ३०० भन्दा बढी वर्षपछि “भासा” विश्‍वको आकर्षणको चीज भएको छ

[स्रोत]

Genom tillmötesgående från Vasamuseet, Stockholm

[पृष्ठ २७-मा भएको चित्रको स्रोत]

Målning av det kapsejsande Vasa, av konstnär Nils Stödberg