एनाकोण्डा—के तिनीहरू आफ्नो भेद खोल्दैछन्?
एनाकोण्डा—के तिनीहरू आफ्नो भेद खोल्दैछन्?
ब्यूँझनुहोस!-का स्टाफ लेखकद्वारा
तपाईंलाई पनि मलाई जस्तै लाग्छ कि लाग्दैन त्यो त थाह भएन, तर ठूलठूला सर्पहरू देख्दा म यत्ति मोहित हुन्छु, अन्य कमै जनावरले मात्रै मलाई त्यसो गरेका छन्। अनि ठूला सर्पहरू भन्नाले म अजिंगर परिवारमा पर्ने एनाकोण्डाको कुरा गर्दैछु। अचम्मको कुरा के छ भने, यत्ति ठूलो प्राणी भएर पनि यसअघि यसको व्यवहारबारे भने त्यति थाह लागेको थिएन।
सन् १९९२ मा जीवशास्त्री केसुस ए. रिभास र न्यु योर्क वाइल्डलाइफ कन्जरभेसन सोसाइटीका (डब्लू सि एस) अनुसन्धानकर्ताहरूले पहिलो पटक यी बडेमानका प्राणीको जंगलमै बसेर अध्ययन सुरु गरे। a भेनेज्वेलाको दलदले प्रान्तमा गरिएको यो छ वर्षे लामो अध्ययनबाट केही नयाँ तथ्यहरू पत्ता लागेको मैले थाह पाउँदा, तिनीहरूले के सिके होलान् भन्ने कौतूहलता ममा जाग्यो। आज म त्यही कुरा पत्ता लगाउने कोसिस गर्नेछु।
नाउँ तथा प्रजाति
पारिलो घाम लागिरहेको दिन, दिउँसोपख, म ब्रूक्लिनस्थित आफ्नो अफिसबाट निस्केर न्यु योर्क शहरको ब्रोंक्स चिडियाखानास्थित डब्लू सि एस-को प्रधान कार्यालयमा पुगें। त्यतिञ्जेल मैले एनाकोण्डाबारे थुप्रै जानकारी हासिल गरिसकेको थिएँ।
अचम्मलाग्दो कुरा के छ भने, एनाकोण्डा नाउँको प्रादुर्भाव त्यसको आफ्नो घर दक्षिण अमेरिकाबाट नभई अन्तैबाट भएको हुनसक्छ। कसै कसैको भनाइअनुसार यो नाउँ तामिल शब्द एन्नाइ जसको अर्थ हो, “हात्ती” अनि कोल्रा, जसको अर्थ हो “मार्ने”-बाट लिइएको हो। अरूको विचारमा यो सिंहला शब्द हेनाकाठ्या-बाट (हेना-को अर्थ “चट्याङ” अनि काठ्या-को अर्थ “डाँठ”) प्रादुर्भाव भएको हो। श्रीलंकामा अजिंगरलाई बुझाउन प्रयोग गरिने यस मूल शब्द नै पुर्तुगाली व्यापारीहरूले एसियाबाट दक्षिण अमेरिकामा प्रयोग गर्न थालेको सम्भावना बढी छ।
शब्दको गलत प्रयोगको
सम्बन्धमै कुरा गर्ने हो भने, एनाकोण्डाको वैज्ञानिक नाउँ इउनेक्टेस मुरिनुस-समेत सही छैन। इउनेक्टेस-को अर्थ “कुशल पौडीबाज” हो र यो ठ्याक्कै सुहाउँछ। तर मुरिनुस-को अर्थ “मुसाजस्तो रंगको” हो। गाढा हरियो रंगको सर्पलाई यो नाउँ “वास्तवमा सुहाउँछ जस्तो देखिंदैन” भनी एउटा पुस्तक उल्लेख गर्छ।यस प्राणीको वैज्ञानिक नाउँ तथा विभाजनबारे उल्लेख गर्नुपर्ने अर्को कुरा पनि छ। एनाकोण्डाबारे लेखिएका लेखहरूमा अक्सर यसका दुई प्रजाति छन् भनिएको छ। एक थरी यही लेखमा उल्लेख गरिएको हरियो एनाकोण्डा अथवा पानीमा बस्ने अजिंगर हो र यो विशेष गरी अमेजोनको दलदल र ओरिनोको जलाशय तथा गियनामा घस्रँदै हिंड्छ। अर्को थरिको चाहिं पहेंलो एनाकोण्डा हो। यो अलि सानो हुन्छ (इ. नोटेउस) र यो पाराग्वे, ब्राजिलको दक्षिणतिर र अर्जेन्टिनाको उत्तरतिर पाइन्छ।
विशेषज्ञलाई भेट्नुहोस्
अहिले म ब्रोंक्स चिडियाखानामा आइपुगें। १०७ हेक्टर जंगलले ढाकेको यस वन्यजन्तु पार्कमा ४,००० भन्दा धेरै जीवजन्तुहरूलगायत एक दर्जनजति एनाकोण्डा पाइन्छ। डब्लू सि एस-का डिपार्टमेन्ट अफ हेर्पोटोलोजीका (उभयचरको अध्ययन) खाकी लुगा लगाएका विलियम होल्मस्ट्रम मलाई भेट्न यहाँ चिडियाखानाको मूलद्वारमा आउनु भएको रहेछ। चस्मा लगाएका, जुंगा पालेका, न्यु योर्क निवासी ५१ वर्षीय श्री होल्मस्ट्रम हँसिलो मिजासका हुनुहुन्छ। उहाँ चिडियाखानाको उभयचर विभागमा विभिन्न प्रजातिका उभयचरहरू संकलन गर्नुहुन्छ र भेनेज्वेलामा गएर एनाकोण्डाको अध्ययनमा समेत भाग लिइसक्नुभएको छ। उहाँको भनाइअनुसार अहिले वैज्ञानिकहरूले एनाकोण्डाको तेस्रो प्रजाति ( इ. देस्चाउन्सिइ) पनि अस्तित्वमा भएको स्वीकारेका छन् र यो ब्राजिलका उत्तरतिर र फ्रेन्च गियनाको तटवर्ती इलाकामा पाइन्छ। b आज दिउँसो श्री होल्मस्ट्रम मेरो गाइड हुनुभएको छ।
अरूलाई सुगा, कुकुर मन परेजस्तै मेरो गाइडलाई सर्प मन पर्दो रहेछ भनेर थाह पाउन मलाई धेरै बेर लागेन। सानो छँदादेखि नै घरमा सालामान्डर, भ्यागुता अनि त्यस्तै खालका अन्य प्राणीहरू पाल्ने गरेको उहाँले मलाई बताउनुभयो। “बुबालाई ती मन पर्थ्यो। अनि आमा चुपचाप सहनुहुन्थ्यो।” हो, श्री होल्मस्ट्रम काटीकुटी उहाँको बुबाजस्तै हुनुहुँदो रहेछ।
प्रभावशाली आकृति तथा अत्यन्त विविधता
सय वर्ष पुरानो उभयचर घरभित्र, हामी दुवै एनाकोण्डा राखिएको ठाउँमा पुग्यौं। मलाई असाध्यै हेर्न रहर लागेको प्राणीबारे पहिल्यै केही अनुमान लगाएको भए तापनि यसलाई प्रत्यक्ष देख्दा म तीन छक परें। अजंगको शरीर अनि गजबको बनोट देख्दा त म आश्चर्यचकित भएँ। बुच्चो नाकसहितको टाउको मान्छेको हत्केलाभन्दा ठूलो भए तापनि अजंगको शरीरले गर्दा टाउको सानो देखिंदो रहेछ। यो ५ मिटर लामो आकर्षक पोथी उभयचर लगभग ८० किलोग्रामको छ भनेर मेरो गाइडले मलाई बताउनुभयो। यसको जीउ टेलिफोनको खम्बा जत्रो मोटो भए तापनि यो एनाकोण्डा १९६० तिर समातिएकी विश्व रेकर्ड कायम गर्ने करिब २२७ किलोग्रामकी पोक्ची एनाकोण्डाको तुलनामा “फिस्टी चरी” जस्ती मात्र रहिछे!
भाले एनाकोण्डाले त्यति बडेमानको जीउ त चिताउँदै नचिताए पनि हुँदो रहेछ। हेर्पोटोलोजीका विज्ञहरूलाई भाले एनाकोण्डा पोथीको तुलनामा सानो हुन्छ भन्ने थाह भए तापनि पोथीको अगाडि अत्यन्तै सानो हुँदो रहेछ भनेर चाहिं अध्ययनद्वारा मात्रै पत्ता लाग्यो। वास्तवमा, अध्ययनले देखाएअनुसार औसतन पोथीहरू भालेभन्दा झन्डै पाँच गुणा ठूलो हुन्छन्। जीवशास्त्री केसुस रिभासले पत्ता लगाएअनुसार भालेपोथीबीचको आकारको भिन्नताले झुक्याउनसक्छ। तिनले एनाकोण्डाको बच्चा पालेका रहेछन् तर त्यसले तिनलाई जहिले पनि टोकिरहने भएकोले तिनी छक्क परेका थिए। पछि जंगलमै बसेर अध्ययन गर्दा मात्र
आफूले त पूर्ण वयस्क अनि मापाको भाले एनाकोण्डा पो पालेका रहेछन् भनेर थाह पाए!देख्नु हुनेलाई इनाम!
एनाकोण्डाको बडेमानको शरीरले गर्दा नै त्यो असामान्य जन्तु भएको भए तापनि यसको लम्बाइ पनि त्यत्तिकै प्रभावशाली हुन्छ। हो, हलिवूडको चलचित्रमा देखाइएजस्तै एनाकोण्डा एकदमै विशाल अर्थात् एउटा सिनेमामा देखाइएजस्तै १२ मिटर लामो नभए तापनि तिनीहरूको अत्यधिक लम्बाइ नौ मिटर जति हुनसक्छ भन्ने सोचाइले नै हामीलाई स्तब्ध बनाउनसक्छ।
तथापि, यस्तो विशाल एनाकोण्डा विरलै पाइन्छ। अध्ययनको दौडान समातिएकी अजंगकी पोथी एनाकोण्डा ९० किलोग्राम र करिब पाँच मिटर लामो थिई। वास्तवमा, बडेमानका एनाकोण्डा पाउन धेरै गाह्रो छ। त्यसैकारण, आजभन्दा ९० वर्षअघि न्यु योर्क जुलोजिकल सोसाइटी-ले (डब्लू सि एस-का अग्रणी) ९.२ मिटरभन्दा लामो जीवित एनाकोण्डा समात्नेलाई इनामस्वरूप दिइने भनिएको १,००० अमेरिकी डलर आजसम्म कसैले दाबी गर्न आएको छैन। श्री होल्मस्ट्रमले बताउनुभयो, “यो इनाम दाबी गर्न दक्षिण अमेरिकाबाट वर्षमा दुइचार पटक फोन त आइरहन्छ, तर प्रमाणको निम्ति तिनीहरूले समातेको एनाकोण्डाको प्रमाण पठाउनू भनेपछि तिनीहरूको दाबी फुस्सा हुन्छ।” अँ, साँच्चै, यो ९.२ मिटर लामो एनाकोण्डाको निम्ति तोकिएको इनाम अहिले ५०,००० अमेरिकी डलर पुगिसक्यो है!
एकदम नजिकबाट
मेरो गाइडले मलाई उभयचर गृहको दोस्रो तलामा लानुभयो र त्यहाँ एनाकोण्डा राखिएको रहेछ। साथै त्यहाँ बच्चा जन्माउँदो पनि रहेछ। यो ठाउँ अलि तातो अनि ओसिलो छ। मैले हेर्न खोजेको प्राणीलाई राम्ररी देखोस् भनेर श्री होल्मस्ट्रमले यो बडेमानकी पोथी एनाकोण्डा राखिएको कोठाको ढोका नै खोल्नुभयो।
हामी दुईबीच अर्थात् एनाकोण्डा र मबीच लगभग दुई मिटरको दूरी थियो अनि बीचमा केही अवरोध थिएन। त्यतिखेरै एनाकोण्डाले बिस्तारै आफ्नो टाउको उठायो र छिटोछिटो हामीतिर लम्कियो। अब त एनाकोण्डाको र हामीबीचको दूरी मात्र एक मिटर जत्ति थियो।
“पछि हटौं है, यसलाई भोक लागेजस्तो छ,” श्री होल्मस्ट्रमले भन्नुभयो। मैले उहाँले भन्नुभएझैं गरिहालें। उहाँले त्यो कोठाको ढोका थुन्नुभयो र एनाकोण्डाले आफ्नो टाउको फर्कायो र गुँडुलो परेको शरीरको बीचतिर लगेर राख्यो।
एनाकोण्डाको आक्रामक हेराइलाई वास्ता नगरी रातो रंगको धर्का भएको यसको टाउकोलाई राम्ररी नियाल्न पाउनु भयो भने, यसको आकारप्रकार अनौठो रहेछ भन्ने थाह पाउनुहुनेछ। उदाहरणका लागि, एनाकोण्डाका आँखा र नाथ्री टाउकोको बीचतिर नभई सबैभन्दा माथिल्लो भागमा हुँदो रहेछ। यसले गर्दा गोहीले जस्तै यसले पनि आँखा र नाथ्री मात्र पानीको सतहमा देखिने गरी आफ्नो टाउकोलगायत सम्पूर्ण शरीर नै पानीमुनि लुकाउन सक्दो रहेछ। त्यसैकारणले पो सिकारले पत्तो नपाउने गरी यो सिकारनेर पुग्न सक्दो रहेछ।
कस्सिएको गुँडुलो र खुकुलो च्यापु
एनाकोण्डा विषालु हुँदैन। यसले सिकारलाई आफ्नो गुँडुलोमा बेस्सरी कसेर मार्छ। यसले सिकारलाई माऱ्याकमुरुक पार्दैन, बरु, सिकारले सास फाल्दा कस्दै लान्छ र अन्तमा सिकार निसासिएर मर्छ। हाँसदेखि मृगसम्म झन्डै सबथोकलाई यसले आफ्नो सिकार बनाउँछ। तथापि, एनाकोण्डाले मान्छेलाई निलेको भरपर्दो रिपोर्ट विरलै पाइन्छ।
सर्पहरूले आफ्नो आहार चपाउन वा टुक्य्राउन नसक्ने भएको हुँदा एनाकोण्डाले पनि आफ्नो मृत सिकारलाई सुलुत्तै निल्नु सिवाय अर्को उपाय छैन, चाहे त्यो सिकार आफ्नो मुखभन्दा ठूलै किन नहोस्। वास्तवमा, तपाईंले पनि एनाकोण्डाले जस्तै खानालाई मुखबाट ठेल्न सक्नुभयो भने, तपाईं सिंगै नरिवललाई बदाम जस्तै
सुलुत्तै निल्न सक्नुहुन्छ। हैन, एनाकोण्डाले कसरी त्यसो गर्न सकेको होला?“यसले आफ्नो सिकारमाथि आफ्नो बंगारालाई हिंडाउछ,” श्री होल्मस्ट्रम बताउनुहुन्छ। एनाकोण्डाको बंगारा टाउकोमा खुकुलोसित अडेको हुन्छ भनेर उहाँले भन्नुभयो। ठूलो सिकारमाथि दाँत गाड्नअघि यसको तल्लो बंगारा तल झुल्छ र फैलन्छ। त्यसपछि, एनाकोण्डाले आफ्नो तल्लो दायाँ वा बाँयापट्टिको बंगारालाई अघि सारेर पछिल्तिर फर्केका दाँतहरू सिकारमा गाड्छ र बंगारालाई सिकारसँगसँगै भित्र तान्छ। अनि त्यसको तल्लो बाँकी बंगाराले पनि त्यसै गर्छ। त्यसको माथिल्लो बंगाराले पनि केही हदसम्म त्यस्तै गर्नसक्छ। पालैसित बंगारालाई अघिपछि सार्ने प्रक्रियाले गर्दा वास्तवमा यो प्राणीको बंगारा सिकारमाथि हिंडिरहेजस्तै देखिन्छ। एनाकोण्डालाई सिकार निल्न घण्टौं लाग्छ र निलिसकेपछि सर्पले निकै चोटि मुख बाएर हाई काढ्छ र त्यसपछि यसको लचकदार टाउकोको विभिन्न भागहरू आ-आफ्नै ठाउँमा टक्क मिल्छ।
यसरी सिकार निल्दा एनाकोण्डा नसर्कनुको कारण के होला? यसको तन्कनसक्ने सासनली मुखको पींधमा भएकोले गर्दा यो सर्कंदैन। सिकारलाई मुखभित्र लैजाँदै गर्दा एनाकोण्डाले आफ्नो सासनलीलाई मुखको अघिल्तिर ठेल्छ। यसरी, मुखको टुप्पैसम्म आइपुगेको सासनलीले सिकार निल्दै गर्दा सास फेर्न मदत गर्छ।
कुनचाहिं कुन हो?
मेरो गाइड सिसा-घरको ढकनी खोल्नुहुन्छ र तलतिर दुइटा बच्चा एनाकोण्डा देखाउनुहुन्छ। ती दुई एकअर्कासित दुरुस्त मिल्ने भएकाले भेनेज्वेलामा सयौं जंगली एनाकोण्डाहरूको अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले कुनचाहिं कुन हो, कसरी छुट्याउन सके होलान् भनेर मलाई ताजुब लाग्छ।
तिनीहरूले सर्पहरूमा फलामे पेपरक्लिप डामेर कुनचाहिं कुन हो भनेर छुट्याउने प्रयास गरेका थिए भनी श्री होल्मस्ट्रमले बताउनुभयो। तिनीहरूले यो “फलामलाई” तताएर एनाकोण्डाको टाउकोमा सानो छाप डाँमेका रहेछन्। यो तरिका निकै सफल रह्यो तर सर्पले काँचुली नफेरुञ्जेल मात्र! तथापि, प्रत्येक एनाकोण्डाको आफ्नै विशिष्ट चिह्न हुँदो रहेछ भनेर ती अनुसन्धानकर्ताहरूले पछि मात्र थाह पाए। प्रत्येक सर्पको पहेंलो पुच्छरमुन्तिर कालो थोप्ला हुँदो रहेछ र यो मानिसको औंठाछापजस्तै प्रत्येक सर्पको पनि आ-आफ्नै किसिमको हुँदो रहेछ। “हामीले १५ पत्रे लामो कत्लामा भएको छापको चित्र कोरे मात्र पुग्ने रहेछ अनि त्यसपछि त हामीले अध्ययन गरेका ८०० सर्पहरूलाई आरामले चिन्न सक्ने भइहाल्यौं।”
छरितो, तन्दुरुस्त वा बलियो?
श्री होल्मस्ट्रमको अफिसमा अन्तरवार्ता सिध्याएपछि उहाँले भेनेज्वेलामा खिच्नुभएको तस्बिर देखाउनुभयो। आपसमा बटारिएका भाले एनाकोण्डाहरूको त्यो तस्बिर देख्दा म अवाक भएँ। यसरी आपसमा बटारिएर ती एनाकोण्डाहरूले बनाएको यो गाँठोलाई सन्तान उत्पन्न गर्ने भकुण्डो भनिन्छ भनी उहाँले भन्नुभयो। (पृष्ठ २६ को तस्बिर हेर्नुहोस्।) “अनि यही भकुण्डोभित्र बीचमा कतै पोथी एनाकोण्डा हुँदिरहिछे। एकपटक त हामीले एउटी पोथीलाई १३ वटा भाले एनाकोण्डाले बटारेको देख्यौं।” आजसम्म त्यति धेरै भाले एनाकोण्डा पोथीसित बटारिएको हामीले देखेकै थिएनौं।
के ती भालेहरू झगडा गरिरहेका हुन्? यसलाई सुस्त चालमा खेलिएको कुस्ती प्रतियोगिता भने पनि हुन्छ। प्रत्येक प्रतिद्वन्द्वी भाले अर्कोचाहिंलाई ठेलेर पोथीसित सहवास गर्न खोज्छ। यो प्रतियोगिता दुईदेखि चार हप्तासम्म चलिरहन्छ। जित कसको हुन्छ? छरितोको (पोथीलाई सबैभन्दा पहिले भेट्टाउने भाले)? तन्दुरुस्तको (अत्यधिक शुक्रकीट उत्पन्न गर्ने भाले)? कि बलियोको (अरू भालेलाई पछार्नसक्ने भाले)? अनुसन्धानकर्ताहरूले चाँडै यसको जवाफ भेट्टाउने आशा गरेका छन्।
मेरो गाइडलाई यस्तो प्रभावशाली अनि रोचक यात्राको लागि धन्यवाद दिंदा दिन ढलिसकेको थियो। अफिस फर्कंदै गर्दा दिनभर सिकेका कुराहरूमाथि मैले विचार गरिरहें। हो, मलाई “एनाकोण्डाहरू रमाइला लाग्छन्” भन्ने जीवशास्त्री केसुस रिभासलाई जस्तो त अझै पनि लागेको छैन तरैपनि एनाकोण्डाहरूले मेरो सम्पूर्ण ध्यान खिंचेका थिए भनेरचाहिं म स्वीकार्छु। जंगलमा एनाकोण्डाहरूको पछिपछि लाग्ने अनुसन्धानकर्ताहरूलाई यी बडेमानका सर्पहरूले काँचुली फेर्दै आफ्नो अझ रोमाञ्चक अनि गोप्य भेद खोल्दैछन् कि, त्यो पर्खनु रमाइलो हुनेछ।
[फुटनोटहरू]
a भेनेज्वेलाको वाइल्डलाइफ डिपार्टमेन्ट तथा कन्भेन्सन अन इन्टरनेसनल ट्रेड इन इन्डेन्जर्ड स्पीसिज अफ वाइल्ड फ्लोरा एण्ड फाउनाले यो अध्ययनको खर्च बेहोरेको थियो।
b सोसाइटी फर द स्टडी अफ एम्फिबियन्स एण्ड रेप्टाइल्स-द्वारा प्रकाशित जर्नल अफ हेर्पोटोलोजी, संख्या ४, १९९७, पृष्ठ ६०७-९.
[पृष्ठ २६-मा भएको चित्र]
भेनेज्वेलाको जंगलमा एनाकोण्डाबारे गरिएको अध्ययन
[पृष्ठ २७-मा भएको चित्र]
विलियम होल्मस्ट्रम
[पृष्ठ २८-मा भएको चित्र]
एनाकोण्डाको सन्तान उत्पन्न गर्ने भकुण्डो