के नैतिकता पहिलाभन्दा झनै खस्कँदैछ?
के नैतिकता पहिलाभन्दा झनै खस्कँदैछ?
तपाईंले कुनै इतिहासकारलाई “आज मानिसहरूको नैतिकता पहिलेभन्दा राम्रो छ कि खराब?” भनेर सोध्नुभयो भने तिनीहरूले विभिन्न समयावधिको नैतिक अवस्था तुलना गर्न गाह्रो हुन्छ भन्लान्। तिनीहरूको विचारमा हरेक युगलाई आफ्नै समय परिस्थितिअनुसार जाँच्नुपर्छ।
उदाहरणका लागि, युरोपमा १६ औं शताब्दीदेखि सुरु भएको हिंस्रक अपराधहरूलाई विचार गर्नुहोस्। हत्या काण्डहरू ४०० वर्षअघि पनि हुन्थे। मानिसहरू अक्सर कानुन आफ्नै हातमा लिन्थे र रक्तपातपूर्ण दुस्मनी सामान्य थियो।
तथापि, इतिहासकार आर्नि यारिक र योहान सोडरबर्गले मानिस्कोभारडेट ओक माख्टेन नामक (मानव मर्यादा र शक्ति) पुस्तकमा सन् १६०० देखि १८५० मा कुनै कुनै ठाउँमा “साँच्चै सभ्य सामाजिक जीवन” थियो भनी बताउँछन्। मानिसहरू अरूका आवश्यकताहरूको राम्रो ख्याल राख्ने भएका थिए। अर्को शब्दमा भन्ने हो भने, तिनीहरू झनै समानुभूतिशील भएका थिए। अर्का इतिहासकार आजको तुलनामा १६ औं शताब्दीमा चोरी अनि त्यस्तै अन्य अपराधहरू अत्यन्तै कम थियो भनी बताउँछन्। विशेष गरी, गाउँघरमा डाँकाहरू छँदै थिएनन् भने पनि हुन्छ।
तथापि, त्यतिबेला दासप्रथाको चलन थियो र यसको कारण इतिहासमा पहिले कहिल्यै नभएको क्रूर घटनाहरू भए। जस्तै, युरोपेली व्यापारीहरूले लाखौंको संख्यामा अफ्रिकीहरूलाई बन्दी बनाएर आफ्नो देशमा लग्थे र अमानवीय व्यवहार गर्थे।
अतः बितेका शताब्दीहरूलाई ऐतिहासिक दृष्टिकोणले हेऱ्यौं भने केही राम्रा, केही नराम्रा उदाहरण पाउँछौं। यद्यपि, २० औं शताब्दीको दौडान साथै वर्तमान समयमा पनि, अत्यन्तै भिन्न, गम्भीर र वास्तवमा भन्ने हो भने, पहिले कहिल्यै नभएका घटनाहरू भइरहेका छन्।
बीसौं शताब्दी—निर्णायक मोड
इतिहासकार यारिक र सोडरबर्ग यस्तो टिप्पणी गर्छन्: “सन् १९३० को दशकमा हिंसा र नरहत्याको संख्या फेरि वृद्धि हुन थाल्यो र दुःखको कुरा, आधी शताब्दी बितिसक्दा पनि यो क्रम बढ्नु सिवाय घटेको छैन।”
थुप्रै टिप्पणीकारहरूका अनुसार २० औं शताब्दीको दौडान व्यापक रूपमा नैतिक पतन भएको छ। नीतिशास्त्रबारे एउटा निबन्धले यसो भन्छ: “विगत
३०/४० वर्षमा नैतिक तवरमा स्वीकार्य र अस्वीकार्य कुरामा अनि यौन विचारधारामा आमूल परिवर्तन भएको स्पष्टै देखिन्छ। पहिला समाजले कडा नियमहरूको आधारमा नैतिक तवरमा के सही छ भनेर स्पष्ट निर्णय गर्थ्यो भने आजकाल व्यक्तिविशेषले स्वतन्त्र भई आफै निर्णयहरू गर्ने गर्छन्।”यसको अर्थ, यौन आचरण र नैतिकताका अन्य पक्षको सन्दर्भमा अधिकांश मानिसहरू आफूलाई जस्तो मन लाग्यो त्यस्तै निर्णय गर्न सकिन्छ भन्ठान्छन्। यस कुराको पुष्टि दिन उक्त निबन्धमा संयुक्त राज्य अमेरिकामा सन् १९६० मा जन्मिएका सबै बच्चाहरूमध्ये ५.३ प्रतिशत अविवाहित आमाबाबुबाट जन्मेका थिए भन्ने तथ्यांक प्रस्तुत गरिएको छ। सन् १९९० मा त्यो संख्या २८ प्रतिशत थियो।
नोर्टे डामको विश्वविद्यालयमा भाषण दिंदा सं.रा.-का सिनेटर जो लिबरम्यानले हाम्रो समयमा “मूल्यमान्यता भन्ने कुरा पूरै शून्य भएको छ, . . . अनि पहिलादेखि नै सही र गलत ठानिंदै आएका कुराहरू पनि बिस्तारै हराइसके” भनेर बताए। लिबरम्यानका अनुसार यस्तो परिवर्तनको लहर “विगत दुई पुस्तादेखि सुरु भइरहेको छ।”
धार्मिक आस्थाको पतन
बीसौं शताब्दीको दौडान भएको यस उल्लेखनीय वृद्धिको सम्बन्धमा इतिहासकार तथा विश्लेषकहरूको कस्तो राय छ? “समाजमा विगत दुई शताब्दीको दौडान भएका सबैभन्दा महत्त्वपूर्ण परिवर्तनहरूमध्ये एउटा धार्मिक आस्थाको पतन हो” भनेर मानिस्कोभारडेट ओक माख्टेन पुस्तक टिप्पणी गर्छ। धर्मनिरपेक्षताको अर्थ “मानिसहरूले आफ्नै विचारधाराअनुसार अडान लिने अवसर पाउनु हो। यो विचार . . . १८ औं शताब्दीमा ज्योतिका दार्शनिकहरूबाट सुरु भएको थियो। . . . तिनीहरू नै बाइबल मात्र सत्यको स्रोत हो भनेर इन्कार गर्ने पहिलो व्यक्तिहरू थिए।” यसप्रकार, नैतिक निर्देशनको निम्ति पहिला जस्तो मानिसहरूले धर्म र अझ विशेष गरी मसीहीजगत्को मुख ताक्न छोडेका छन्।
तर १८ औं शताब्दीमा सुरु भएको यस विचार लोकप्रिय हुन किन २०० वर्षभन्दा बढी समय लाग्यो? माथि उल्लिखित पुस्तक यसो भन्छ, “यस्ता विचारधाराहरू सजिलै जनसमक्ष प्रस्तुत गर्न सकिंदैनथ्यो। धर्मनिरपेक्षताको विचारधारा फैलिन समय लाग्यो।”
विगत २०० वर्षमा परम्परागत नैतिक स्तर तथा मसीही मूल्यमान्यताहरू तिरस्कार गर्ने मानिसहरूको वृद्धि बिस्तारै भए तापनि २० औं शताब्दीको दौडान द्रुत गतिमा भयो। अझ विशेष गरी, विगत केही दशकमा यसमा निकै वृद्धि भएको छ। यसको कारण के हो?
स्वार्थ र लोभ
एउटा महत्त्वपूर्ण कारण त, २० औं शताब्दीको दौडान प्राविधिक र आर्थिक क्षेत्रमा भएको तीव्र विकास हो। जर्मन खबरपत्रिका दि जाइट-को एउटा
लेखमा हामी “पहिले पहिलेका शताब्दीहरूजस्तो अपरिवर्तनशील युगमा होइन गतिशील युगमा बाँचिरहेका छौं” भनेर बताइएको थियो। यसले गर्दा खुला बजार व्यवस्था सुरु भयो र यो प्रतिस्पर्धा अनि स्वार्थमा आधारित छ भनेर पनि त्यस लेख बताउँछ।त्यस लेखले अझ यसो भन्छ: “यस स्वार्थपनलाई केही कुराले पनि रोक्न सक्दैन। फलस्वरूप निर्ममता र भ्रष्टाचार बढ्छ। यो हाम्रो दिनचर्याको भाग नै भइसक्यो र यसले थुप्रै देशका सरकारहरूलाई समेत प्रभावित गरेको छ। मानिसहरू आफ्नै फाइदा मात्र सोच्छन् साथै आफ्नै चाहनाहरूपछि मात्र दौडधूप गर्छन्।”
प्रिन्सटन विश्वविद्यालयका समाजशास्त्री रबर्ट वुथनाउले विस्तृत सर्वेक्षण गर्दा गत पुस्ताको तुलनामा अमेरिकीहरूले आज पैसालाई निकै महत्त्व दिन थालेका पाए। अध्ययनअनुसार “पैसाको लोभको कारण आदर, इमानदारिता र सामुदायिक सहयोगी भावनाजस्ता मूल्यमान्यतालाई वास्ता गर्न छोड्न थालेकोले थुप्रै अमेरिकीहरू चिन्तित छन्।”
समाजमा झन् धेरै लोभ बढेको छ किनभने थुप्रै ठूलठूला व्यापारीहरूले आफ्नो तलब निकै बढाउनुका साथै लाभप्रद अवकाश सुविधाहरूको प्रबन्ध गरेका छन् तर आफ्ना कामदारहरूलाई चाहिं तलब वृद्धिको मागमा अव्यवहारिक नहुनू भन्छन्। क्रिश्चियन काउन्सिल अफ स्वीडेनका नीतिशास्त्र तथा धर्मविज्ञानी निर्देशक चेल उभे निल्सलले यस्तो टिप्पणी गरे, “ठूलठूला व्यापारीहरूले आफ्नो फाइदा खोज्दा समस्या खडा हुन्छ किनभने तिनीहरूको अरूले पनि नक्कल गर्छन् र यसले साधारणतया मानिसहरूको अझै नैतिक पतन गराउँछ। निस्सन्देह, यसले समाजका साथै व्यक्तिगत नैतिकतामा अत्यन्तै नकारात्मक असर पार्छ।”
सञ्चार माध्यम
बीसौं शताब्दीको दौडान तीव्र नैतिक पतन हुनुको अर्को मुख्य कारण, सञ्चार माध्यम हो। सिनेटर लिबरम्यान बताउँछन्, “टेलिभिजन कार्यक्रम निर्माताहरू, चलचित्रका ख्यातिप्राप्त व्यक्तिहरू, फेसन विज्ञापनदाताहरू, ग्यांग्स्टा ऱ्याप संगीतकारहरू र अन्य थुप्रै इलेक्ट्रोनिक सञ्चार माध्यमसित सम्बन्धित मानिसहरू नयाँ मूल्यमान्यताको परिभाषा दिने स्रोत भएका छन्। यस्ता लहर सुरु गर्ने मानिसहरूले हाम्रो संस्कृति र अझ विशेष गरी केटाकेटीमाथि अत्यन्तै प्रभाव जमाएका
छन् अनि तिनीहरू आफूले फैलाइरहेको हानिकारक मूल्यमान्यताको निम्ति पटक्कै जिम्मेवार महसुस गर्दैनन्।”लिबरम्यानले उदाहरणस्वरूप क्यानिबल कर्स्प नामक हेभी मेटल समूहको एउटा गीत उल्लेख गरे। त्यस गीतमा एउटी स्त्रीलाई छुरी देखाएर गरेको बलात्कारको विस्तृत रूपमा बयान गरिएको छ। तिनी र तिनका एक सहकर्मीले त्यो गीत बजारमा ननिकाल्न रेकर्ड कम्पनीलाई आग्रह गरे। तर लिबरम्यानले भनेझैं तिनीहरूको केही सीप लागेन।
त्यसकारण, आज जिम्मेवार आमाबाबुले आफ्ना छोराछोरीलाई कसको कुरा सुन्न लगाउने र कसरी हुर्काउने भन्ने विषयमा सञ्चार माध्यमसित निकै संघर्ष गर्नु परिरहेको छ। तर सजग आमाबाबु नभएका परिवारहरूमा नि? लिबरम्यान भन्छन्, “त्यस्तो अवस्थामा सञ्चार माध्यमले नै निर्विवाद स्तरहरू तय गर्छ अनि केटाकेटीले सही र गलत छुट्याउने आधार, जीवनका प्राथमिकताहरू टेलिभिजन, चलचित्र र सिडीमा हेरेर अनि सुनेर सिकेअनुसार बनाउँछन्।” आजकाल यस सूचीमा इन्टरनेट पनि थपिएको छ।
फेरि “ढुंगे युगमा”
यी नकारात्मक प्रभावहरूका असर आजका युवा पीढीमा कसरी झल्किन्छ? एउटा त, हालका वर्षहरूमा धेरै केटाकेटी तथा किशोरकिशोरीले अन्य केटाकेटीलगायत वयस्कहरू विरुद्ध गरेका निर्मम हिंस्रक कार्यहरूलाई लिन सकिन्छ।
स्वीडेनमा १९९८ मा एउटा अविश्वसनीय घटना घट्यो। पाँच र सात वर्षका दुई केटाहरूले सँगै खेलिरहेका चार वर्षको केटालाई निसासिदिएर मारे! थुप्रैले यस्तो प्रश्न गरे: यस्तो सीमा नाघ्ने गरी अचाक्ली गर्न बच्चाहरूको मनले मान्छ र? एक बाल मनोविश्लेषकले यस्तो विचारणीय टिप्पणी गरे: “सीमै नाघ्ने गरी अचाक्ली नगर्न सिक्नुपर्छ। यी . . . बच्चाहरूले कस्तो नमुना पछ्याइरहेका छन् र आफू वरपरका वयस्कहरूबाट के सिकिरहेका छन्, त्यसमा निर्भर हुन्छ।”
हिंस्रक अपराधीबारे पनि त्यसै भन्न सकिन्छ। स्वीडेनका मनोचिकित्सक प्राध्यापक स्टान ल्याभेन्डरका अनुसार १५ देखि २० प्रतिशत सबै कैदीहरू मानसिक रोगी छन्। तिनीहरू अत्यन्तै आत्म-केन्द्रित छन्, समानुभूतिको कमी छ अनि सही र गलतबारे विचारधारा बुझ्न असक्षम वा अनिच्छुक छन्। अनुसन्धानकर्ताहरूले सामान्य देखिने केटाकेटी तथा युवकयुवतीहरूको समेत नैतिकता बोधो हुन थालेको पाएका छन्। “नैतिकताको क्षेत्रमा हामी फेरि ढुंगे युगतर्फ लस्किएका छौं” भनी दर्शनशास्त्रका प्राध्यापक क्रिस्टिना हफ सोर्मस् दाबी गर्छिन्। सही र गलत कुरा छुट्याउनुपर्दा आफ्ना प्रायजसो विद्यार्थीहरू अन्योलमा परेका तिनले याद गरिन्। अनि तिनीहरूले सही र गलत कुरा भन्ने नै छैन भनेर जवाफ दिन्छन्। तिनीहरूको भनाइअनुसार प्रत्येकले आफ्नो लागि असल र खराब आफै निर्धारण गर्नुपर्छ।
हालसालै तिनका धेरै विद्यार्थीहरूले मर्यादा अनि मानव मूल्यमान्यताको विरोध गर्न थालेका छन्। उदाहरणका लागि, आफ्नो पाल्तु पशु अनि आफूले चिन्दै नचिनेको मान्छेलाई बचाउनुपर्दा कसलाई बचाउनुहुनेछ भनेर प्रश्न गर्दा थुप्रैले आफ्नो पाल्तु पशुलाई छाने।
प्राध्यापक सोर्मस् भन्छिन्, “जवानहरू अज्ञानी, अविश्वासी, क्रूर वा छली भएका छन् भन्न खोजिएको होइन। सीधै भन्ने हो भने, सही र गलतको तिनीहरूलाई ज्ञानै छैन।” आज थुप्रै जवानहरूले सही र गलत भन्ने कुरा वास्तवमा साँच्चै छ कि छैन, भनी प्रश्न गर्छन् भनेर तिनी बताउँछिन् र तिनको विचारमा यही नै समाजको लागि सबैभन्दा ठूलो खतरा हो।
त्यसकारण, हाम्रो समयमा भइरहेको नैतिक पतन वास्तविकता हो। धेरै जना गम्भीर नतिजाहरू होलान् भनेर त्रसित छन्। माथि उल्लिखित दि जाइट-को लेखले आजको खुला बजार “समाजवाद पतन भएझैं बिस्तारै खस्केर जानसक्छ” भनेर बताउँछ।
यी सबैको अर्थ के हो? हामी कस्तो प्रकारको भविष्य आशा गर्नसक्छौं?
[पृष्ठ ६-मा भएको चित्र]
“टेलिभिजन कार्यक्रम निर्माताहरू, चलचित्रका ख्यातिप्राप्त व्यक्तिहरू, फेसन विज्ञापनदाताहरू, ग्यांग्स्टा ऱ्याप संगीतकारहरू . . . नयाँ मूल्यमान्यताको परिभाषा दिने स्रोत भएका छन्”