सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नैराश्‍यसित कसरी डट्‌ने

नैराश्‍यसित कसरी डट्‌ने

बाइबलको दृष्टिकोण

नैराश्‍यसित कसरी डट्‌ने

नैराश्‍यको सिकार नहुने व्यक्‍ति कोही पनि छैन। सबैले केही हदसम्म भए पनि नैराश्‍य अनुभव गर्नुपरेको छ। तथापि, कसै कसैलाई नैराश्‍यले यत्तिबिघ्न छोप्छ कि तिनीहरू बाँचिरहनुभन्दा त मर्नै रुचाउँछन्‌।

परमेश्‍वरका विश्‍वासी सेवकहरूसमेत निराश तुल्याउने समस्या तथा दबाउहरूबाट मुक्‍त थिएनन्‌ भनी बाइबलले देखाउँछ। उदाहरणका लागि, एलिया र अय्यूबलाई विचार गर्नुहोस्‌। तिनीहरू दुवैको परमेश्‍वरसित घनिष्ठ सम्बन्ध थियो। दुष्ट रानी ईजेबेलले मार्लिन्‌ भनेर भागेका एलियाले “[यहोवासित] आफ्नो मृत्युको निम्ति प्रार्थना गर्नलागे।” (१ राजा १९:१-४) धर्मी अय्यूबले घिनलाग्दो रोगदेखि दस छोराछोरीको मृत्युलगायत एकपछि अर्को गर्दै थुप्रै दुःखद घटनाहरूको सामना गर्नुपऱ्‍यो। (अय्यूब १:१३-१९; २:७, ८) नैराश्‍यको कारण तिनले यसो भने: “मेरा सबै कष्टहरूभन्दा ता मृत्युनै म चाहनेथिएँ।” (अय्यूब ७:१५) स्पष्ट छ, परमेश्‍वरका यी विश्‍वासी पुरुषहरूलाई साह्रै असह्‍य भएको थियो।

आज पनि कसै कसैलाई वृद्धावस्थाका दुःखदायी अवस्थाहरू, लोग्ने वा स्वास्नीको मृत्युको पीडा वा गम्भीर आर्थिक समस्याहरूले निराश तुल्याउनसक्छ। कहिल्यै अन्त होलाजस्तो नदेखिने तनाउ, तीता अनुभवका असरहरू वा पारिवारिक समस्याहरूले गर्दा अन्य कतिपय समुद्रको बीचमा हुऱ्‍याइएको त्यो मानिसजस्तो महसुस गर्छन्‌, जो हरेकपटक किनार लाग्ने प्रयत्न गर्दा, पानीका लहरले झन्‌ पर हुर्रिन्छ। एक जना पुरुषले यसो भने: “तपाईंलाई आफू निकम्मा महसुस हुनथाल्छ—मानौं, तपाईं बितिसक्नु भएपछि त कसैलाई पनि तपाईंको अभाव खट्‌किने छैन। कहिलेकाहीं असाध्यै एक्लो महसुस हुन्छ।”

कहिलेकाहीं परिस्थितिमा हेरफेर हुँदा यस्तो असह्‍य दबाउबाट मुक्‍ति पाइन्छ। तर परिस्थिति परिवर्तन हुने छाँटकाँट छैन भने नि? त्यतिखेर बाइबलले हामीलाई नैराश्‍यसित डट्‌न कसरी मदत गर्नसक्छ?

बाइबलले मदत गर्नसक्छ

एलिया र अय्यूब समस्यामा पर्दा यहोवासित तिनीहरूलाई सम्भाल्ने क्षमता अनि शक्‍ति थियो। (१ राजा १९:१०-१२; अय्यूब ४२:१-६) आज हाम्रोलागि कत्ति सान्त्वनादायी कुरा! बाइबल यसो भन्छ: “परमेश्‍वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ, सङ्‌कष्टमा अति सजिलैसँग पाइने सहायक।” (भजन ४६:१; ५५:२२) नैराश्‍यले हामीलाई एकदमै विचलित तुल्याउला तर यहोवाले हामीलाई उहाँको धार्मिकताको दाहिने हातले पक्रिराख्नु हुनेछ भनी प्रतिज्ञा गर्नुभएको छ। (यशैया ४१:१०) हामी कसरी यस्तो मदत पाउनसक्छौं?

प्रार्थनामार्फत “परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, [हाम्रो] हृदय र [हाम्रो] विचारलाई येशूमा रक्षा गर्नेछ” भनी बाइबल बताउँछ। (फिलिप्पी ४:६, ७) नैराश्‍यको कारण हामी आफ्नो समस्याबाट उम्कने बाटो नदेखौंला। तथापि, “प्रार्थनामा अटूटसँग” लागिरह्‍यौं भने धीरज धारण गर्न हामीलाई चाहिने बल दिनुहुँदै यहोवाले हाम्रो हृदय र विचारलाई रक्षा गर्न सक्नुहुन्छ।—रोमी १२:१२; यशैया ४०:२८-३१; २ कोरिन्थी १:३, ४; फिलिप्पी ४:१३.

तोकेरै प्रार्थना गर्दा पनि हामी लाभान्वित हुनसक्छौं। आफ्ना भावनाहरू शब्दमा व्यक्‍त गर्न गाह्रो होला तर हामी कस्तो महसुस गरिरहेका छौं र हाम्रो विचारमा समस्याको जड के हो, त्यो हामीले यहोवालाई राम्ररी बताउन सक्नुपर्छ। स्थिर भइरहन हामीलाई बल दिनुहोस्‌ भनेर दिनहुँ बिन्ती गर्नु आवश्‍यक छ। हामीसित यस्तो आश्‍वासन छ: “उहाँसित डराउनेहरूको इच्छा उहाँले पूरा गर्नुहुनेछ। उहाँले तिनीहरूको पुकारा पनि सुन्‍नुहुनेछ, र तिनीहरूलाई बचाउनुहुनेछ।”—भजन १४५:१९.

प्रार्थनाको अलावा एकलकाँटे नहुन पनि प्रयास गर्नैपर्छ। (हितोपदेश १८:१) आफ्नो समय र शक्‍ति अरूलाई मदत गर्न प्रयोग गर्दा पनि कसै कसैले बल पाएको महसुस गरेका छन्‌। (हितोपदेश १९:१७; लूका ६:३८) मारिया नाउँ गरेकी आइमाईलाई विचार गर्नुहोस्‌। a तिनले क्यान्सरसित मात्र संघर्ष गर्नु परेको होइन, वर्षदिनभित्रै परिवारका आठ सदस्यहरूलाई गुमाउनुपऱ्‍यो। तर अन्ततः, तिनले ओछ्यान छोडेर दैनिक कामकुरामा लाग्ने प्रयत्न गरिन्‌। तिनी अरूलाई बाइबलबारे सिकाउन दिनदिनै जसो निस्कन र नियमित तवरमा मसीही सभाहरूमा उपस्थित हुन थालिन्‌। तर जसै मारिया घर फर्कन्थिन्‌, तिनलाई नैराश्‍यले ग्वाम्मै छोपिहाल्थ्यो। तैपनि, अरूलाई मदत पुऱ्‍याउन सकिरहेकी छु भन्‍ने कुरा विचार गर्दै मारियाले धैर्य धारण गर्न सकिन्‌।

तर प्रार्थना गर्न गाह्रो भयो वा एकलकाँटे हुनदेखि आफैलाई रोक्न सकेनौं भने नि के गर्ने? त्यतिखेर, हामीले मदतको निम्ति गुहार्नैपर्छ। बाइबल हामीलाई “मण्डलीको धर्म-गुरुहरूलाई” बोलाउन प्रोत्साहित गर्छ। (याकूब ५:१३-१६) तारनतार एकदमै खिन्‍न महसुस गरिरहेका एक पुरुषले यसो भने: “कहिलेकाहीं आफूले भरोसा गरेको व्यक्‍तिसित कुरा गर्दा त्यसले मन शान्त पार्न र आफ्ना भावनामा नबहकिन मदत मिल्छ। फलतः व्यावहारिक भई सोच्न मदत मिल्छ।” (हितोपदेश १७:१७) हो, नैराश्‍य निकै समयसम्म लम्बियो र अचाक्ली छ भने औषधोपचार गर्नुपर्ने र दक्ष व्यक्‍तिसित उचित मदत लिनु आवश्‍यक पनि हुनसक्छ। bमत्ती ९:१२.

नैराश्‍यबाट सजिलै उम्कने तरिकाहरू नभए तापनि परमेश्‍वरले हामीलाई आफ्ना समस्याहरूसित डट्‌न दिनुहुने उहाँको क्षमतालाई कहिल्यै कम नसम्झौं। (२ कोरिन्थी ४:८) प्रार्थनामा अटूटसित लाग्दा, एक्लै हुनदेखि जोगिंदा अनि दक्ष सहयोग प्राप्त गर्दा फेरि स्थिर हुन मदत पाउनेछौं। परमेश्‍वरले, हामीले महसुस गर्ने अचाक्ली नैराश्‍यको जरै उखेलिदिनुहुनेछ भनी बाइबलले प्रतिज्ञा गरेको छ। मसीहीहरूले “अघिअघिका कुराहरूको सम्झना” नहुने दिन पर्खंदै उहाँमा भर पर्ने अठोट गरेका छन्‌।—यशैया ६५:१७; प्रकाश २१:४.

[फुटनोटहरू]

a तिनको वास्तविक नाउँ होइन।

b ब्यूँझनुहोस्‌!-ले कुनै पनि उपचार विधिलाई प्रोत्साहित गर्दैन। मसीहीहरूले आफूले गर्ने कुनै पनि उपचार बाइबल सिद्धान्त विपरीत छ कि छैन पक्का गर्नुपर्छ। थप जानकारीका लागि वाचटावर, अक्टोबर १५, १९८८, पृष्ठ २५-९ हेर्नुहोस्‌।