सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यी सबैको अर्थ के हो?

यी सबैको अर्थ के हो?

यी सबैको अर्थ के हो?

तपाईंले हालसालैको नैतिक स्तरलाई केलाउनुभयो भने एउटा स्पष्ट लहर देख्नुहुनेछ। निस्सन्देह, आज बहुसंख्यक मानिसहरूको नैतिक स्तर झन्‌ झनै खस्कँदैछ। यसको साँचो अर्थ के हो?

केही व्यक्‍तिविशेषले भनेझैं, के यसको अर्थ हाम्रो सम्पूर्ण सभ्यताको नै विनाश हुने हो? वा समयको दौडान यस्ता परिवर्तनहरू हुनु सामान्य कुरा हो?

थुप्रै मानिसहरूले पछिल्लो कुरा नै सही हो भन्ठान्छन्‌। तिनीहरू हाम्रो समयको नैतिक पतन एउटा लहर मात्र हो र यस्तो कुरा इतिहासमा दोहरिंदै गर्छन्‌ भन्‍ने विचार राख्छन्‌। तिनीहरू परिस्थितिले फेरि अर्कै मोड लिनेछ र मानिसहरूको पुनः उच्च नैतिक स्तर कायम हुनेछ भनेर निर्धक्क छन्‌। के तिनीहरूको सोचाइ सही हो?

“आखिरी दिन”

आउनुहोस्‌, हामी शताब्दीयौंसम्म नैतिकताका विषयमा निर्देशनपुस्तक मानिएको अर्थात्‌ परमेश्‍वरको वचन, बाइबलले के भन्छ हेरौं। बाइबलले मानव इतिहासको सबैभन्दा महत्त्वपूर्ण युगबारे दिएको भविष्यसूचक विवरणलाई आजको संसारसित तुलना गर्नु अत्यन्तै चाखलाग्दो छ। यस समयावधिलाई बाइबलमा “आखिरी दिन” वा “जगत्‌को अन्त” भनिएको छ। (२ तिमोथी ३:१; मत्ती २४:३) यी अभिव्यक्‍तिहरूले संकेत गरेझैं यस समयावधिको अन्त निश्‍चित हुनुका साथै नयाँ युगको सुरुआत पनि हुनेछ।

परमेश्‍वरको वचनले आखिरी दिन “डरलाग्दो” हुनेछ भनेर भविष्यवाणी गरेको थियो। चनाखो पर्यवेक्षकहरूलाई आखिरी दिन चिन्‍न मदत गर्न बाइबलले यस असाधारण समयावधिबारे थुप्रै स्पष्ट विवरण वा मिश्रित चिह्नहरू दिएको छ।

मानिसहरूको खराब स्वभाव

ती चिह्नहरूमध्ये आज छर्लंगै भएको एउटा पक्षलाई विचार गर्नुहोस्‌: ‘मानिसहरू भक्‍तिको भेष चाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने हुनेछन्‌।’ (२ तिमोथी ३:२, ५) इतिहासको अन्य कुनै समयमा यस्तो स्पष्ट र जोडदार ढंगमा धर्मलाई तिरस्कार गरिएको छैन। एक मात्र अख्तियारवाला परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्नेहरू एकदमै थोरै छन्‌ र अधिकांश मानिसहरू बाइबल मात्र सत्यको स्रोत हो भनी स्वीकार्दैनन्‌। निस्सन्देह, धर्महरू अझै अस्तित्वमा छन्‌ तर प्रभावहीन भएका छन्‌। धर्म देखावटी कुरा मात्र भएको छ।

बाइबलले अर्को चिह्न यसरी उल्लेख गरेको छ: “मानिसहरू . . . असंयमी, निष्ठूर” हुनेछन्‌ अनि “अधर्म बढ़ने हुनाले धेरैका प्रेम सेलाएर जानेछ।” (२ तिमोथी ३:२, ३; मत्ती २४:१२) “निष्ठूर” भनेर अनुवाद गरिएको युनानी शब्दको विभिन्‍न अर्थहरूमध्ये एउटा “मानव सहानुभूति र भावशून्यता” पनि हो। आज जवानहरूको बढ्‌दो संख्याले आफूलाई “निष्ठूर” प्रमाणित गरिरहेका छन्‌ र झन्‌ धेरै जघन्य अपराधहरू गर्छन्‌।

यसबाहेक, प्राविधिक र आर्थिक क्षेत्रमा द्रुत गतिले भएको विकास र यसको कारण पैदा भएको लोभको कारण झन्‌ धैरे मानिसहरूले पुरानो मूल्यमान्यतालाई लत्त्याएका छन्‌। तिनीहरू अरूको रत्तिभर ख्याल नराखी आफ्ना स्वार्थी इच्छाहरू सकेसम्म पूरा गर्न जे पनि गर्न तयार छन्‌, चाहे त्यसको लागि बेइमानी नै गर्न किन नपरोस्‌। स्वार्थपनको अर्को प्रमाण जुवाडेहरूको तीव्र वृद्धि हो अनि विगत केही दशकको अपराध तथ्यांकले यसको स्पष्ट प्रमाण दिन्छ।

विशेष गरी, हाम्रो समयमा व्याप्त एउटा चिह्न यो हो: “मानिसहरू . . . परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने” हुनेछन्‌। (२ तिमोथी ३:२, ४) यसको एउटा उदाहरण हो, मानिसहरू कामुक आनन्द चाहन्छन्‌ तर तिनीहरू विवाह बन्धनमा बाँधिएर जीवनभर सँगै बस्ने जिम्मेवारी वहन गर्नचाहिं चाहँदैनन्‌। यसले गर्दा भताभुंग भएका परिवारहरू, दुःखी र परिवारप्रति कुनै मायाको भावना नै नभएका केटाकेटीहरू, एक्लो आमाबाबु र यौनजन्य रोगहरूको अत्यन्तै वृद्धि भएको छ।

यस चिह्नको अर्को पक्ष “मानिसहरू स्वार्थी, धनका लोभी” हुनेछन्‌। (२ तिमोथी ३:२) जर्मन पत्रिका दि जाइट-अनुसार “[आजको अर्थव्यवस्थाको] सबैभन्दा महत्त्वपूर्ण प्रेरक तत्त्व नै स्वार्थपना” हो। मानिसहरूले आज जत्तिको पहिला कहिल्यै पैसालाई महत्त्व दिएका छैनन्‌। यस स्वार्थपनको पछि लाग्दा अन्य मूल्यमान्यतालाई बिर्सेका छन्‌।

विश्‍वघटनाहरू

मानव मूल्यमान्यताको पतनबारे व्याख्या गर्नुको अलावा मानव परिवारलाई असाधारण उथलपुथलले पनि प्रभाव पार्नेछ भनी बाइबलले भविष्यवाणी गरेको थियो। उदाहरणका लागि, बाइबलले यसो भन्छ, “जाति, जातिको विरुद्धमा, र राज्य, राज्यको विरुद्धमा उठ्‌नेछ, ठूला ठूला भैंचालो जानेछ, औ विभिन्‍न ठाउँहरूमा रूढ़ी र अनिकाल हुनेछ।”—लूका २१:१०, ११.

इतिहास केलाएर हेऱ्‍यौं भने २० औं शताब्दीमा जस्तो सीमित समयावधिमा विश्‍वलाई नै हल्लाउने धेरै घटनाहरू भएको अनि धेरै मानिसहरू त्यसमा मुछिएको कहिल्यै छैन। उदाहरणका लागि, त्यस अवधिमा १० करोडभन्दा बढी मानिसहरू युद्धहरूमा मारिए। यो संख्या, पहिलेका केही शताब्दीहरूमा लडिएका युद्धहरूमा मरिएका सबै मानिसहरूको संख्या जोड्‌दा पनि कैयौं गुणा धेरै हुन्छ। बीसौं शताब्दीमा पहिला कहिल्यै नभएको दुइटा बेग्लै प्रकारका युद्ध भए र त्यसलाई विश्‍व युद्ध भनियो। पूरा विश्‍व नै मुछिने गरी पहिला कहिल्यै यस्तो किसिमको भिडन्त भएको थिएन।

दुष्ट प्रेरक तत्त्व

बाइबलले शक्‍तिशाली दुष्ट प्राणीको अस्तित्वबारे पनि बताउँछ। त्यसलाई “दियाबल र शैतान” भनिन्छ। त्यसको उद्देश्‍य नै मानिसजातिलाई साँचो मूल्यमान्यताबाट अलग गरेर नैतिक भ्रष्टाचारमा पुऱ्‍याउनु हो। आखिरी दिनमा “आफ्नो अल्प समय थाह पाएर . . . ठूलो क्रोधसँग” त्यो यस पृथ्वीमा आएको छ भनेर बाइबल बताउँछ।—प्रकाश १२:९, १२.

बाइबलमा दियाबललाई “यस संसारको रीतिअनुसार, आकाशको शक्‍तिको मालिकअनुसार, अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्मा” भनिएको छ। (एफिसी २:२) अदृश्‍य प्रदूषित हावाले हामीलाई चालै नपाई असर गरेझैं दियाबलले पनि थुप्रै मानिसमाथि चालै नपाई प्रभाव जमाइरहेको छ।

उदाहरणका लागि, आज थुप्रै आधुनिक सञ्चार माध्यमहरूमा शैतानको प्रभाव देखिन्छ: भिडियो, चलचित्र, टेलिभिजन, इन्टरनेट, विज्ञापन, पुस्तक, पत्रिका र अखबार। विशेष गरी, निर्बोध केटाकेटीमा केन्द्रित विषयवस्तुमा जातीयवाद, प्रेतवाद, अनैतिकता र हिंसाजस्ता घृणित कुराहरू अचाक्ली हुन्छन्‌।

सोझो हृदय भएका थुप्रै मानिसहरू आखिरी दिनबारे बाइबलको विवरण र हाम्रो समयको विश्‍व परिस्थितिबीच समानता देखेर प्रभावित भएका छन्‌। हो, २० औं शताब्दी अगाडिका कुनै कुनै विश्‍वघटना बाइबल विवरणसित मेल खाएको जस्तो नदेखिएको होइनन्‌। तर २० औं शताब्दीको दौडान र अहिले २१ औं शताब्दीमा मात्र बाइबलले अन्तको दिनबारे दिएको चिह्नको सबै पक्ष स्पष्टै देखिएको छ।

आउन लागेको नयाँ युग

न त मानिसजातिको विनाश हुनेछ भन्‍नेहरू न यस्तै चलिरहनेछ भन्‍ने मानिसहरू नै सही साबित भएका छन्‌। बरु, बाइबलले अहिले शैतानले प्रभुत्व जमाइरहेको संसारको ठाउँमा एकदमै भिन्‍न संसार हुनेछ भनेर प्रस्टै बताउँछ।

येशूले आखिरी दिनका चिह्नका केही पक्षहरू बताइसक्नु भएपछि यसो भन्‍नुभयो: “त्यसैगरी तिमीहरू पनि जब यी कुरा भइरहेका देख्छौ, तब परमेश्‍वरको राज्य नजीकै छ भनी जान।” (लूका २१:३१) परमेश्‍वरको स्वर्गीय राज्य येशूको प्रचारकार्यको मुख्य विषय थियो। (मत्ती ६:९, १०) अनि परमेश्‍वरले उहाँलाई यस राज्यको राजा नियुक्‍त गर्नुभयो र यस राज्यले चाँडै यस पृथ्वीमा शासन गर्न थाल्नेछ।—लूका ८:१; प्रकाश ११:१५; २०:१-६.

आखिरी दिनको अन्तमा ख्रीष्टद्वारा सञ्चालन हुने परमेश्‍वरको स्वर्गीय राज्यले आफ्ना शत्रु दियाबल तथा त्यसका समर्थकहरूलाई नाश गर्नेछ र अहिले नैतिक तवरमा पतित समाजको सट्टा धार्मिक नयाँ संसार बसालिनेछ। (दानियल २:४४) प्रमोदवनमा परिणत भएको नयाँ संसारमा साँचो हृदय भएका मानिसहरूले अनन्त जीवनको आनन्द उठाउनेछन्‌।—लूका २३:४३; २ पत्रुस ३:१३; प्रकाश २१:३, ४.

आजको नैतिक तवरमा भ्रष्ट संसार मन नपराउने र आखिरी दिनबारे भविष्यवाणी गरिएको मिश्रित चिह्नहरू वर्तमान संसारमा पूरा भइरहेको छ भनेर बुझ्ने मानिसहरूले उत्तम भविष्यको आशा गर्नसक्छन्‌। यसको लागि हामी मानवजातिको ख्याल राख्नुहुने सर्वोच्च परमेश्‍वरलाई धन्यवाद चढाउनसक्छौं किनकि उहाँले आफ्ना सृष्टिको निम्ति महिमायुक्‍त उद्देश्‍य साँच्नुभएको छ।—भजन ३७:१०, ११, २९; १ पत्रुस ५:६, ७.

यहोवाका साक्षीहरू तपाईंलाई हाम्रो मायालु सृष्टिकर्ता र नैतिक तवरमा स्वच्छ संसारमा जीवन बिताउनसक्ने प्रत्याशाबारे सिक्न आमन्त्रित गर्छन्‌। बाइबलले भनेझैं “अनन्त जीवन यही यो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।”—यूहन्‍ना १७:३.

[पृष्ठ १०-मा भएको चित्र]

शुद्ध मन भएका मानिसहरूले प्रमोदवनरूपी संसारमा अनन्त जीवनको आनन्द उठाउनेछ