हाम्रो परिवार कसरी एक भयो
हाम्रो परिवार कसरी एक भयो
ल्हास तथा युदिथ भेस्टरगारको वृत्तान्तमा आधारित
उनीहरूको घर डेनमार्कमा अक्सर देखिने कुनै पनि सुखी परिवारको घरजस्तै छ। शान्त गाउँ; आरामदायी घर अनि रमाइलो बगैंचा। घरभित्र भित्तामा परिवारको स्वस्थ अनि हाँसिरहेका बच्चाहरूको एउटा ठूलो तस्बिर झुण्ड्याइएको छ।
परिवारका बुबा, ल्हास, यहोवाका साक्षीहरूको मण्डलीमा प्राचीन छन्। तिनकी श्रीमती युदिथ अग्रगामी हुन् (पूर्ण-समय सुसमाचारवाहक)। यिनीहरूको दाम्पत्य जीवन अहिले सुखमय र आनन्ददायी भए तापनि पहिले यस्तो थिएन। ल्हास र युदिथको जीवनमा धेरै समस्या र तीतोपन छाएको थियो। त्यसैले तिनीहरूले पारपाचुके गरे र यसरी तिनीहरूको परिवारसमेत टुक्रियो। तर अहिले यो परिवार एक भएको छ। कसरी? तिनीहरू आफै बताउँछन्।
ल्हास र युदिथ आफ्नो विवाह किन टुक्रियो र तिनीहरू फेरि कसरी एक भए, त्यसबारे बताउन अप्ठ्यारो मान्दैनन्। आफ्नो अनुभवले अरूलाई पनि मदत गर्नसक्छ जस्तो तिनीहरूलाई लाग्छ।
सुरुआत एकदम राम्रो थियो
ल्हास: अप्रिल १९७३ मा हाम्रो विवाह भयो र हाम्रो जीवनमा निकै खुसियाली छाएको थियो। हाम्रो संसार सुन्दर अनि निकै आशालाग्दो थियो। हामीलाई न बाइबल न त यहोवाका साक्षीहरूबारे नै थाह थियो। तर यस संसारमा भएका सबै मानिसहरूले परिश्रम गरेमा यो संसारलाई बस्न लायकको अझ राम्रो ठाउँ बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास थियो। त्यसकारण, हामी थुप्रै राजनैतिक गतिविधिहरूमा भाग लिनथाल्यौं। हाम्रो परिवारमा तीन जना हृष्टपुष्ट छोराहरू, मार्टिन, टमस अनि योनास थपिंदा त हाम्रो आनन्दको सीमै रहेन।
युदिथ: म सरकारी कार्यालयको शाखा प्रशासक थिएँ। म राजनैतिक अनि मजदुर युनियनमा पनि भाग लिने गर्थें। बिस्तारै बिस्तारै मेरो बढुवा हुँदैगयो।
ल्हास: अनि मचाहिं एउटा विशाल मजदुर युनियनमा काम गर्थें र मैले ठूलो पद पनि पाएँ। हाम्रो पेसागत जिन्दगी आकाशमा उँभो उँभो उक्लदैं थियो अनि कालो बादल कतै पनि थिएन।
टाढिन थाल्यौं
ल्हास: तर हामी आ-आफ्नै काममा यत्तिबिघ्न व्यस्त हुनथाल्यौं, एकअर्कासित समय बिताउन पनि झन् झन् मुस्किल हुन थाल्यो। हामी दुवै एउटै राजनैतिक पार्टीसित सम्बन्धित भए तापनि हाम्रो काम नदीका दुई किनारजस्तै विपरीत थियो। हाम्रा तीन छोराहरूको हेरचाह अरूले गर्नुपर्ने भयो र तिनीहरू शिशु निकेतनहरूमा राखिए। हामी दुवै आ-आफ्नै कुरामा मग्न भएकाले हाम्रो परिवार भताभुंग हुन थाल्यो। कथंकदाचित् दुवै जना घरमा भयौं कि त अक्सर झगडा सुरु भइहाल्थ्यो। अनि मैले मन हलका पार्न रक्सीको सहारा लिन थालें।
युदिथ: हामीलाई एकअर्काको र बच्चाहरूको माया त थियो तर हाम्रो माया जुन तरिकामा हुर्कनु पर्ने थियो, त्यो तरिकामा हुर्कन सकेन बरु, ओइलाउन थाल्यो। हाम्रो सम्बन्धमा फाटो
आउन थाल्यो। फलतः, बच्चाहरू पनि यस समस्यामा मिचिन पुगे।ल्हास: पारिवारिक जीवनलाई फेरि सफल पार्न अथक प्रयास गर्न मैले जागिर छोड्ने विचार गरें। सन् १९८५ मा शहर छोडेर अहिले बसिरहेको गाउँमा बसाइँ सऱ्यौं। केही समयका लागि परिस्थितिमा केही सुधार त आयो तर मेरी श्रीमती र म फेरि आ-आफ्नै कुराहरूमा डुब्नथाल्यौं। आखिरीमा फेब्रुअरी १९८९ मा हाम्रो १६ वर्ष लामो वैवाहिक जीवनको अन्त भयो। हाम्रो परिवार भताभुंग भयो।
युदिथ: हाम्रो परिवार यसरी तितरबितर भएको अनि हाम्रा छोराहरू दुःखी भएको देख्दा मलाई असह्य भयो। तर हामी दुईबीच यत्तिबिघ्न तीतोपन आइसकेको थियो, छोराहरूको अभिभारा आपसमा बाँड्नसमेत चाहेनौं र यसरी छोराहरू मलाई सुपुर्द गरियो।
ल्हास: हाम्रो टुक्रँदै गएको परिवारलाई जोगाउने केही अनौठा प्रयास युदिथ र मैले गरेका थियौं। हामीले मदतको लागि परमेश्वरलाई समेत प्रार्थना गऱ्यौं। तर परमेश्वरबारे हामीलाई त्यति ज्ञान थिएन।
युदिथ: प्रार्थनाको कुनै जवाफ नपाएकोले हामी परमेश्वरले सुन्नुहुन्न रहेछ भन्ने निष्कर्षमा पुग्यौं। तर परमेश्वरले प्रार्थना सुन्नुहुँदो रहेछ भनेर त्यसपछि मात्र हामीले थाह पायौं र यसको लागि हामी कृतज्ञ छौं।
ल्हास: हामी आफैले पनि प्रयास गर्नुपर्छ अनि आफ्नो जीवनमा आवश्यक परिवर्तन गर्नुपर्छ भनेर त हामीले सोचेकै थिएनौं। त्यसैकारण, हामीले सम्बन्धविच्छेद जस्तो दुःखलाग्दो वास्तविकतालाई अंगाल्नुपऱ्यो।
ल्हासमा अप्रत्याशित परिवर्तन
ल्हास: एक्लै जीवन बिताइरहेको बेला, मलाई पूर्णतया परिवर्तन गर्ने अप्रत्याशित घटनाहरू हुन थाले। एकदिन मैले यहोवाका साक्षीहरूले दिएका दुइटा पत्रिका लिएँ। यसअघि यहोवाका साक्षीहरूलाई बिना कारण त्यसै फर्काइ दिने गरेको थिएँ। तर यी पत्रिकाहरू हेर्दै जाँदा वास्तवमा यहोवाका साक्षीहरू परमेश्वर र येशू ख्रीष्ट दुवैमाथि विश्वास गर्दा रहेछन् भनेर थाह पाएँ। यो थाह पाउँदा म असाध्यै छक्क परें। तिनीहरू पनि मसीही हुन् भन्ने आभाससमेत मलाई थिएन।
त्यसैबेलातिर म एउटी आइमाईसित सँगै बस्न थालेको थिएँ। तिनी कुनै समय यहोवाका साक्षी भएकी रहिछन्। मैले तिनलाई थुप्रै प्रश्नहरू सोधें र तिनले मलाई बाइबलबाट परमेश्वरको नाउँ यहोवा हो भनेर देखाइन्। त्यसोभए, “यहोवाका साक्षीहरू” शब्दको अर्थ त “परमेश्वरका साक्षीहरू” पो रहेछ!
मसित बस्ने त्यस आइमाईले मेरोलागि यहोवाका साक्षीहरूको सम्मेलन भवनमा हुने जनभाषणमा उपस्थित हुने प्रबन्ध मिलाइन्। त्यहाँ देखेका सुनेका कुराहरूले मेरो चासो जाग्यो। अझ धेरै सिक्न म स्थानीय राज्यभवनमा गएँ र बाइबल अध्ययन स्थापित भयो। मेरो जीवनशैली गलत रहेछ भनेर बुझ्न मलाई धेरै समय लागेन। अतः म मेरी आइमाई साथीबाट अलग्गिएँ र आफ्नै घरमा एक्लै बस्न थालें। म केही समयसम्म हिचकिचाइ रहें तर पछि फेरि यहोवाका साक्षीहरूसित सम्पर्क राखें र बाइबल अध्ययन कायम गरें।
यद्यपि, मलाई अझै पनि केही शंका भने लागिरहेकै थियो। के यहोवाका साक्षीहरू वास्तवमा परमेश्वरकै मानिसहरू हुन् त? मैले सानो छँदा सिकेका कुराहरूचाहिं के हुन्? म सेभेन्थ-डे एड्भेन्टिस्ट परिवारमा हुर्केको थिएँ। त्यसैकारण, म एड्भेन्टिस्ट सेवकलाई भेट्न गएँ। तिनी मसित प्रत्येक बुधबार बाइबल पढ्न सहमत भए भने यहोवाका साक्षीहरूले मसित प्रत्येक सोमबार अध्ययन गर्थें। म यी दुवै समूहबाट मुख्यतः चारवटा विषयहरूमा सुस्पष्ट जवाफ चाहन्थें: ख्रीष्टको
पुनरागमन, पुनरुत्थान, त्रिएकको शिक्षा र मण्डली संगठित हुनुपर्ने तरिका। केही महिनामै मेरा सबै शंका निदान भए। यी प्रत्येक चार विषयहरूमा र अन्य सम्पूर्ण कुराहरूमा यहोवाका साक्षीहरूको विश्वास मात्र पूर्णतया बाइबलमा आधारित थियो। फलतः, रमाउँदै मण्डलीका सम्पूर्ण गतिविधिहरूमा मैले भाग लिन थालें र चाँडै यहोवालाई आफ्नो जीवन समर्पण पनि गरें। अनि मे १९९० मा मैले बप्तिस्मा लिएँ।युदिथलाई के भयो?
युदिथ: हाम्रो विवाह टुक्रनै लाग्दा म फेरि चर्च जान थालेकी थिएँ। ल्हास यहोवाको साक्षी बन्यो रे भनेको सुन्दा मलाई पटक्कै मन परेको थिएन। हाम्रो दस वर्षको कान्छो छोरा योनास कहिलेकाहीं आफ्नो बुबालाई भेट्न जान्थ्यो तर योनासलाई साक्षीहरूको कुनै पनि सभामा लैजान मैले ल्हासलाई मनाही गरेकी थिएँ। ल्हासले आफ्नो हकको निम्ति सरकारसित अपिल गर्नुभयो तर सुनुवाइ मेरै हकमा भयो।
मेरो पनि एक जना लोग्नेमान्छेसित भेट भएको थियो। यसबाहेक, म राजनीति अनि हरप्रकारका सामाजिक क्रियाकलापमा झन् झनै विथोलित हुँदै गएँ। त्यसकारण, त्यतिखेर कसैले हाम्रो परिवारलाई फेरि एक बनाउने कुरा गर्नु त असम्भवै देखिन्थ्यो।
यहोवाका साक्षीहरू विरुद्ध जानकारी जम्मा गर्न म स्थानीय चर्चका सेवकलाई भेट्न गएँ। तर तिनले तुरुन्तै आफूलाई साक्षीहरूबारे केही थाह नभएको र आफूसित साक्षीहरूबारे केही साहित्यहरू पनि नभएको अवगत गराए। तिनले मलाई साक्षीहरूबाट परै बस्नू मात्र भने। तर यसले यहोवाका साक्षीहरूप्रतिको मेरो नकारात्मक दृष्टिकोणमा कुनै परिवर्तन ल्याएन। यद्यपि, त्यतिखेरै सोच्दै नसोचेको तरिकामा मैले तिनीहरूलाई भेट्नैपर्ने भयो।
स्वीडेनमा बसिरहनुभएका मेरो दाइ यहोवाको साक्षी हुनुभएको थियो र मैले राज्यभवनमा हुन लागेको उहाँको विवाहको निम्तो पाएकी थिएँ। यो घटनाले साक्षीहरूप्रतिको मेरो दृष्टिकोणमा एकदमै परिवर्तन ल्यायो। मैले तिनीहरू रमाइलो गर्न मन नपराउने, पट्टाइलाग्दा व्यक्तिहरू भन्ठानेकी थिएँ तर तिनीहरू वास्तवमा त्यस्ता होइनन् रहेछ भनी थाह पाउँदा त म छक्कै परें। तिनीहरू दयालु, आनन्दित अनि रमाइला रहेछन्।
त्यसैबीच मेरा भूतपूर्व श्रीमान् ल्हास पूर्णतया परिवर्तन भइसक्नुभएको थियो। उहाँ पहिलेभन्दा धेरै जिम्मेवार, छोराहरूसित समय बिताउने, दयालु, आफ्नो बोली नियन्त्रणमा राख्ने अनि पहिलेजस्तो मात्तिने गरी रक्सी नखाने हुनुभएको थियो। उहाँको व्यक्तित्व अत्यन्तै आकर्षक हुन थालेको थियो! मैले उहाँ जस्तो होस् भनेर चाहेकी थिएँ, अहिले त्यही रूपमा हुनुहुन्थ्यो। तर उहाँकी विवाहित पत्नीको रूपमा रहन नपाएकी र सायद कुनै दिन उहाँको अर्कै आइमाईसित विहे हुन्छ होला भन्ने सोच्दा म साह्रै हतास हुन्थें!
त्यसपछि, उहाँले थाह नपाउने गरी “आक्रमण” गर्ने षड्यन्त्र रचें। योनास आफ्नो बुबासित बसिरहेको बेला मैले आफ्नी दिदी र बहिनीसित योनास र ल्हासलाई भेट्न जाने योजना मिलाए। हामीले योनासलाई उसकी सानीआमाहरूले भेट्न चाहेको बहाना बनाएका थियौं। हामी मेलामा भेट्ने भयौं। मेरा दिदी र बहिनीले छोरालाई सम्हाले भने ल्हास र म एउटा बेन्चमा बसेर कुरा गर्न थाल्यौं।
मैले हाम्रो भविष्यबारे कुरा उठाउने बित्तिकै ल्हासले खल्तीबाट एउटा किताब निकाल्नुहुँदा म त छक्कै परें। त्यो किताबको नाउँ थियो, मेकिङ योर फ्यामेली लाइफ ह्याप्पी। a उहाँले त्यो किताब मलाई दिनुभयो अनि परिवारमा पति र पत्नीको भूमिकाबारे दिइएको अध्याय पढ्न आग्रह गर्नुभयो। उहाँले मलाई शास्त्रपदहरू पनि खोजेर पढ्न विशेष आग्रह गर्नुभयो।
पछि, ल्हास र म बेन्चबाट उठ्दा मैले उहाँको हात समात्न खोजें तर उहाँले विनम्रतासाथ अस्वीकार गर्नुभयो। ल्हास उहाँको नयाँ विश्वासअनुसार मेरो दृष्टिकोण नबुझीकन मसित कुनै सम्बन्ध राख्न चाहनु हुन्नथ्यो। यसले गर्दा मेरो चित्त दुख्यो र मलाई अलि रिस पनि उठ्यो तर उहाँको यो विचार तार्किक लाग्यो र उहाँलाई फेरि आफ्नो श्रीमान्को रूपमा पाउने हो भने, उहाँले यसो गर्नु मेरै भलाईको निम्ति नै थियो।
यी सबले गर्दा यहोवाका साक्षीहरूबारे पहिलेभन्दा धेरै जान्ने उत्सुकता जाग्यो। लगत्तै भोलिपल्ट, मैले चिनेकी एक जना यहोवाको साक्षीलाई भेटें र उहाँ र उहाँका श्रीमान्ले उहाँहरूको धर्मबारे मलाई चाहिएको जानकारी दिनुहुने प्रबन्ध मिलायौं। उहाँहरूले मेरो भएभरका प्रश्नहरूको जवाफ बाइबलबाटै दिनुभयो। यहोवाका साक्षीहरूको शिक्षा पूर्णतया बाइबलमा आधारित रहेछ भनेर मैले बुझें। हामीले छलफल गरेको प्रत्येक बुँदालाई सत्य हो भनेर स्वीकार्न म बाध्य भएँ।
त्यसैबखत मैले इभान्जलिकल लुथरन चर्चबाट आफ्नो नाउँ काटें र राजनैतिक गतिविधि पनि त्यागें। मैले चुरोट पिउनसमेत छोडें। चुरोट छोड्नु नै मलाई सबैभन्दा गाह्रो
लागेको थियो। अगस्त १९९० मा मेरो बाइबल अध्ययन सुरु भयो र अप्रिल १९९१ मा मैले यहोवाको एक साक्षीको रूपमा बप्तिस्मा लिएँ।उनीहरूको दोस्रो विवाह
युदिथ: अब हामी दुवै बप्तिस्मा प्राप्त साक्षीहरू भयौं। हामी दुवै विपरीत दिशामा लागेको भए तापनि दुवैले बाइबल अध्ययन गऱ्यौं। बाइबलका असल शिक्षाहरूले गर्दा हामी पहिलेभन्दा फरक भयौं। हामीलाई अझै पनि एकअर्काको चिन्ता लाग्थ्यो, सायद पहिलेभन्दा पनि धेरै। हामी फेरि वैवाहिक बन्धनमा बाँधिन स्वतन्त्र थियौं त्यसैकारण, हामीले फेरि विवाह गऱ्यौं। हामीले दोस्रो पटक विवाह वाचा गऱ्यौं तर यसपाली यहोवाका साक्षीहरूको राज्यभवनमा।
ल्हास: पत्याउनै नसकिने कुरा भएरै छाड्यो अर्थात् हाम्रो परिवार फेरि एक भयो! हामी अत्यन्तै आनन्दित अनि हर्षित थियौं!
युदिथ: हाम्रो विवाहमा हाम्रा छोराहरू, थुप्रै नातेदार अनि हाम्रो नयाँ तथा पुराना थुप्रै साथीहरू उपस्थित भए। यो अनौठो अनुभव थियो। अतिथिहरूमध्ये हामीलाई हाम्रो पहिलो विवाहदेखि चिन्नेहरू पनि थिए। उहाँहरूले हामीलाई फेरि एकसाथ देख्न पाउँदा रमाइलो मान्नुका साथै यहोवाका साक्षीहरूबीच साँचो आनन्द देखेर छक्क पनि परेका थिए।
छोराहरू
ल्हास: असाध्यै खुसीको कुरा, हाम्रो बप्तिस्मापछि हाम्रा दुई छोराहरूले पनि आफ्नो जीवन यहोवामा समर्पण गरे।
युदिथ: योनास सानो छँदा बुबालाई भेट्न जाँदादेखि नै बाइबल सच्चाइसित परिचित थियो र ऊ त्यसबेलादेखि नै बाइबल सच्चाइको मूल्यांकन गर्थ्यो। ऊ भन्थ्यो, “बुबा बाइबलको कुरा पालन गर्नुहुन्छ,” त्यसकारण, ऊ आफ्नो बुबासित बस्न चाहन्छ। उसले मलाई यो कुरा बताउँदा ऊ मात्र दस वर्षको थियो। योनासले बप्तिस्मा लिंदा १४ वर्षको थियो। उसले आफ्नो पढाइ पूरा गरिसक्यो र अहिले ऊ पूर्ण-समय सेवकको रूपमा सेवा गरिरहेको छ।
ल्हास: हाम्रो जेठो छोरा मार्टिन अहिले २७ वर्ष पुगिसक्यो। हामीमा भएको परिवर्तन देखेर उसले पनि सोच्न थाल्यो। ऊ घर छोडेर देशको अर्कै भागमा बस्न गएको थियो। दुई वर्षअघि उसले स्थानीय यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेछ। तर पाँच महिना नबित्दै ऊ बप्तिस्माको लागि तयार भइसकेको थियो। मसीहीको रूपमा अहिले उसले आफ्नो भविष्यको राम्रो योजना बनाएको छ।
हाम्रो माहिलो छोरा टमस यहोवाको साक्षी भइसकेको त छैन। तर हामी अझै पनि उसलाई माया गर्छौं र उसित राम्रो सम्बन्ध छ। हाम्रो परिवारमा भएका परिवर्तनहरू देखेर ऊ पनि खुसी छ। हामीले बाइबलबाट सिकेका सिद्धान्तहरूले गर्दा नै हाम्रो परिवार फेरि एक भएको हो भनी हामी सबै सहमत छौं। तीनै छोराहरूलगायत हामी दुवै जना फेरि एक साथ एकै छानामुनि बारम्बार भेला भइरहन पाउनु हाम्रोनिम्ति कत्ति ठूलो आशिष्!
अहिले हाम्रो जीवन
ल्हास: हामी सिद्ध भयौं भन्न खोजेका त होइनौं। तर हामीले सफल वैवाहिक जीवनको मूल कुञ्जी भेट्टायौं—त्यो हो, माया अनि आपसी आदर। अहिले हाम्रो विवाहको जग पहिलेको भन्दा फरक छ। अहिले हामी दुवैले हामीभन्दा महान् अख्तियारलाई स्वीकारेका छौं र हामी यहोवाकै निम्ति बाँचिरहेका छौं भनेर दुवैले बुझेका छौं। युदिथ र म साँच्चै एक भएका छौं र हामी आफ्नो भविष्यप्रति ढुक्क छौं।
युदिथ: मेरो विचारमा हामी, विवाह अनि परिवारसम्बन्धी सर्वोत्तम सल्लाहकार यहोवा हुनुहुन्छ भन्ने जीवित प्रमाण हौं।
[फुटनोट]
a सन् १९७८ मा वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित। अब उप्रान्त छापिंदैन।
[पृष्ठ २२-मा भएको चित्र]
ल्हास र युदिथ १९७३ मा भएको प्रथम विवाहको अवसरमा
[पृष्ठ २३-मा भएको चित्र]
यी तीन केटाहरूले आफ्नो एकताबद्ध परिवार गुमाए अनि फेरि पाए
[पृष्ठ २५-मा भएको चित्र]
आज ल्हास र युदिथ बाइबल सिद्धान्तले गर्दा एक भएका छन्