सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“अमर” जीनको खोज

“अमर” जीनको खोज

“अमर” जीनको खोज

अधिकांश सभ्यताका मानिसहरूको अमरत्वबारे थुप्रै लोककथा तथा नीतिकथाहरू छन्‌। उदाहरणका लागि, अफ्रिकामा एउटा यस्तो कथा छ, परमेश्‍वरले छेपारोलाई मानिसजातिलाई अमरत्व दिन पठाउनुभएको थियो रे तर त्यो यति ढिलो हिंड्यो कि मृत्युको सन्देश लिएर आएको अर्को छेपारो नै चाँडो आइपुगेछ। जे कुरा पनि पत्याउने मानिसजातिले दोस्रो छेपारोको सन्देश स्वीकारेछ अनि अमर हुनबाट वञ्चित भएछ रे।

शताब्दीयौंको दौडान दार्शनिकहरूले पनि मानिसहरू किन मर्छन्‌, भन्‍ने प्रश्‍नको जवाफ पत्ता लगाउने कोसिस गरेका छन्‌। सा.यु.पू चौथो शताब्दीमा युनानी दर्शनशास्त्री अरस्तुले मानिसको जीवन चलिरहनु शरीरले तातो र चिसोलाई कत्तिको सन्तुलनमा राख्नसक्छ, त्यसमा निर्भर हुन्छ भनेर सिकाए। तिनले यसो भने: “तापको कमीको कारण नै मानिस सधैं मर्छ।” अर्कोतर्फ प्लेटोले मानिसको मृत्युपछि पनि आत्मा अमर रहन्छ भनेर सिकाए।

आज, आधुनिक विज्ञानले धेरै प्रगति गरेको छ तर जीववैज्ञानिकहरूले हामी किन बूढो हुन्छौं र मर्छौं भनेर अझै प्रश्‍न गर्छन्‌। लण्डनको द गार्डियन विक्ली-ले यसो भन्यो: “चिकित्सा विज्ञानको सबैभन्दा ठूलो रहस्य मानिस किन मुटुसम्बन्धी रोग वा क्यान्सरको कारण मर्छ भन्‍ने होइन तर मानिसको शरीरमा सबै कुरा राम्रै चलिरहेको बेला पनि किन मर्छ भन्‍ने हो। मानव कोषहरू विभाजित भएर करिब ७० वर्षसम्म नवीकरण हुँदै जान्छ भने किन यो अकस्मात्‌ ठप्प बन्द हुन्छ?”

बूढो हुने प्रक्रियालाई बुझ्न जीन विशेषज्ञ तथा अणु जीववैज्ञानिकहरूले कोषहरूतर्फ ध्यान दिन थालेका छन्‌। थुप्रै वैज्ञानिकका विचारमा यी अति सूक्ष्म एकाइहरूमै लामो आयुको रहस्य लुकेको छ। उदाहरणका लागि, कोही कोहीले आनुवंशिक इन्जिनियरिङको मदतद्वारा वैज्ञानिकहरूले चाँडै क्यान्सर तथा मुटु रोगको उपचार पत्ता लगाउने छन्‌ भन्‍ने पूर्वानुमान लगाउँछन्‌। मानिसहरूको सधैंभरि बाँच्ने रहर पूरा गर्न विज्ञान कत्तिको सफल भएको छ त?

कोषको रहस्य पत्ता लगाउने

पहिलेका वैज्ञानिकहरूले कोषहरूबारे अध्ययन गर्ने प्रयास गरे तापनि तिनीहरूसित आवश्‍यक साधनको अभाव थियो। कोष र त्यसभित्रको संरचना अध्ययन गर्नसकेको गत शताब्दीदेखि मात्र हो। तिनीहरूले के पत्ता लगाएका छन्‌? विज्ञानसम्बन्धी लेखक रिक गोरले यसो भने: “कोषको आफ्नै एउटा सूक्ष्म संसार हुँदो रहेछ।”

कोष भन्‍ने कुरा कत्तिको जटिल हुन्छ भनी बुझ्न विचार गर्नुहोस्‌, एउटा कोषमा अणु भनिने स-साना एकाइहरू खरबौं वटा हुन्छन्‌। तैपनि, वैज्ञानिकहरूले कोषको बनौटलाई हेर्दा यो अत्यन्तै व्यवस्थित हुनुका साथै डिजाइनको प्रमाण पाउँछन्‌। स्टानफोर्ड विश्‍वविद्यालयका आनुवंशिक तथा अणु जीवविज्ञानका सहप्राध्यापक फिलिप हानवाल्ट यसो भन्छन्‌: “सबैभन्दा सरल जीवित कोष बढ्‌न मात्र पनि हजारौं हजार रासायनिक प्रतिक्रियाहरू व्यवस्थित ढंगमा हुनुपर्छ।” तिनी अझ यसो भन्छन्‌: “यी साना रासायनिक कारखानाहरूमा व्यवस्थित ढंगमा हुने प्रक्रियाहरू वैज्ञानिकहरूको क्षमताभन्दा एकदमै बाहिरको कुरा हो।”

अतः कल्पना गर्नुहोस्‌, जैविक माध्यमद्वारा मानिसको आयु लम्ब्याउन कत्ति गाह्रो हुन्छ। यसको निम्ति जीवनको आधारभूत एकाइलाई पूर्णतया बुझ्नु मात्र होइन तर ती एकाइहरूमा आफूले चाहेजस्तो परिवर्तन गर्न पनि सिक्नुपर्छ! जीववैज्ञानिकहरूले के कस्ता चुनौतीहरू सामना गर्छन्‌ ती बुझ्न हामी मानव कोषलाई एकछिन नियालेर हेरौं।

सबै कुरा जीनमै निर्भर हुन्छ

प्रत्येक कोषमा न्युक्लियस भनिने जटिल नियन्त्रण केन्द्र हुन्छ। न्युक्लियसले निश्‍चित निर्देशनहरूद्वारा कोषको गतिविधि संचालन गर्छ। यी निर्देशनहरू क्रोमोजोममा सञ्चित हुन्छन्‌।

हाम्रो क्रोमोजोममा मुख्यतया प्रोटिन र डिअक्सिरिबोन्युक्लिक एसिड हुन्छ। यसलाई छोटकरीमा डि एन ए भनिन्छ। a वैज्ञानिकहरूलाई डि एन ए-बारे सन्‌ १८६० को दशकको अन्ततिरदेखि थाह भए तापनि त्यसको सूक्ष्म संरचना सन्‌ १९५३ मा मात्र पूर्णतया बुझे। तैपनि, जीववैज्ञानिकहरूलाई डि एन ए अणुहरूले आनुवंशिक जानकारी संचय गर्न चलाउने “भाषा” बुझ्न झन्डै अर्को एक दशक लाग्यो।—पृष्ठ २२ को पेटी हेर्नुहोस्‌।

सन्‌ १९३० को दशकमा जीन वैज्ञानिकहरूले प्रत्येक क्रोमोजोमको टुप्पाको डि एन ए-को सानो भागले क्रोमोजोमलाई स्थिर राख्न मदत गर्दो रहेछ भनेर पत्ता लगाए। यसलाई टिलमेर्स भनिन्छ। यो शब्द टेलोस (अन्त) र मेरोस (भाग) भन्‍ने दुई युनानी शब्द मिलेर बनेको हो। डि एन ए-का यी साना भागले जुत्ताको फित्ताको टुप्पाको सानो प्लास्टिकको टुक्राले जस्तै काम गर्छ। टिलमेर्स भएन भने हाम्रो क्रोमोजोम छुट्टिन्छन्‌ र सानो सानो टुक्रामा विभाजित हुन्छन्‌, टाँसिन्छन्‌ वा अस्थिर हुन्छन्‌।

तथापि, अनुसन्धानकर्ताहरूले प्रायजसो सबै प्रकारको कोषको टिलमेर्स कोष विभाजनसँगसँगै छोटो छोटो हुँदै जाँदो रहेछ भनेर पत्ता लगाए। अतः लगभग ५० चोटि विभाजन भएपछि कोषको टिलमेर्स अत्यन्तै सानो हुन्छ र विभाजन हुन बन्द हुन्छ अनि अन्ततः मर्छ। कोषहरू निश्‍चित संख्यामा मात्र विभाजित हुन्छन्‌ र मर्छन्‌ भनेर सर्वप्रथम डा. लियोनार्ड हेफ्लिकले सन्‌ १९६० को दशकमा रिपोर्ट गरेका थिए। त्यसैकारण, यस प्रक्रियालाई थुप्रै वैज्ञानिकहरूले हेफ्लिक सीमितको संज्ञा दिन्छन्‌।

के डा. हेफ्लिकले कोषहरू बूढो हुनुको कारण पत्ता लगाए? थुप्रैले पत्ता लगाए भन्ठाने। सन्‌ १९७५ मा नेचर/साइन्स एनुएल-ले बूढो हुने प्रक्रियाबारे नयाँ धारणा प्रतिपादन गर्ने व्यक्‍तिहरूले “सबै जीवित प्राणीहरूसित आत्म विनाशक प्रक्रिया हुन्छ अर्थात्‌ बुढ्यौलीको घडी हुन्छ, जुन कुनै समयमा गएर आफै ठप्प बन्द हुन्छ” भन्‍ने विश्‍वास गर्छन्‌। त्यसपछि, मानिसहरूको बूढो हुने प्रक्रिया बल्ल अन्त हुने हो कि भनेर आशाका किरणहरू देखिन थाल्यो।

सन्‌ १९९० को दशकमा क्यान्सर कोषबारे अध्ययन गरिरहेका अनुसन्धानकर्ताहरूले यस “कोषीय घडी”-बारे अर्को महत्त्वपूर्ण कुरा थाह पाए। तिनीहरूले हानिकारक कोषसित जसरी भए पनि कोषीय घडीलाई मिचेर अनगिन्ती संख्यामा विभाजित हुने क्षमता रहेको पत्ता लगाए। यो पत्ता लागेपछि जीववैज्ञानिकहरूले सर्वप्रथम १९८० को दशकमा पत्ता लागेको अनौठो इनजाइमको नै पुनः अनुसन्धान गर्नुपऱ्‍यो जुन सन्‌ १९८० पछि सबै प्रकारको क्यान्सर कोषमा हुन्छ भनेर थाह लागेको थियो। त्यो इन्जाइमको नाउँ टिलमेरास हो। यसले के गर्छ? सरल शब्दमा भन्‍ने हो भने, टिलमेरास एउटा चाबीजस्तो हो जसले टिलमेर्सलाई लम्ब्याएर कोषको “घडी”-लाई पुनः चालु गर्छ।

बुढेसकालको अन्त?

चाँडै अणु जीव विज्ञान क्षेत्रमा टिलमेरासको अध्ययन एकदम चासोको विषय भयो। फलतः जीववैज्ञानिकहरूले टिलमेरासलाई चलाएर सामान्य कोष विभाजन हुँदा छोट्टिदैं जाने टिलमेर्सलाई छोटो हुनदेखि रोक्न सक्यो भने सायद बूढो हुने प्रक्रियालाई रोक्न वा केही हदसम्म ढिलाइ गर्न सकिन्छ कि भन्‍ने अवधारणाहरू निस्के। चाखलाग्दो कुरा के छ भने, जेरोन कर्पोरेसन न्युज-को रिपोर्टअनुसार टिलमेरासबारे अध्ययन गरिरहेका अनुसन्धानकर्ताहरूले सामान्य मानव कोषमा फेरबदल गरेर “असीमित संख्यामा विभाजन हुने क्षमता” विकास गर्न सकिन्छ भनेर प्रदर्शन गरिसकेका छन्‌।

यस्ता प्रगतिहरू भए तापनि निकट भविष्यमा जीववैज्ञानिकहरूले टिलमेरास चलाएर मान्छेको आयु केही हदसम्म लम्ब्याउनसक्छन्‌ भनेर विश्‍वास गर्ने कारण छैन। किन? एउटा कारण त मान्छे बूढो हुनुमा टिलमेर्स कमजोर हुँदै जानु मात्र समावेश छैन। उदाहरणका लागि, रिभर्सिङ ह्‍युमन एजिङ पुस्तकका लेखक डा. माइकल फस्सेलका टिप्पणीलाई विचार गर्नुहोस्‌: “हामीले आज बूढो हुने प्रक्रियाबारे जे-जति सिकेका छौं त्यसमाथि विजय हासिल गऱ्‍यौं भने तापनि हामीलाई अहिले थाह नभएको अन्य कुनै प्रक्रियाले गर्दा बूढो हुनेछौं। हामीले टिलमेर्सलाई अनिश्‍चित कालसम्म तन्कायौं भने अहिले बुढेसकालमा लाग्ने सामान्य रोगहरू नलाग्ला तर हामी अन्ततः थाक्नेछौं अनि मर्नेछौं।”

निस्सन्देह, बूढो हुने प्रक्रियाको अन्य थुप्रै जैविक कारणहरू छन्‌। तर हाल वैज्ञानिकहरू ती कारणहरू पत्ता लगाउन सक्षम भएका छैनन्‌। मासाचुसेट्‌स इन्सटिच्युट अफ टेक्नोलजिका लियोनार्ड ग्वेरन्टे भन्छन्‌: “बूढो हुने प्रक्रिया अहिलेसम्म पनि रहस्य नै भएर रहेको छ।”—साइन्टिफिक अमेरिकन, १९९९ हेमन्त ऋतु।

जीवविज्ञानी तथा आनुवंशिक विशेषज्ञहरूले मानिसहरू किन बूढो हुन्छन्‌ र मर्छन्‌ भनेर कोषको अनुसन्धान गरिरहे तापनि परमेश्‍वरको वचनले खास कारण बताउँछ। यसले सरल ढंगमा यसो भन्छ: “जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।” (रोमी ५:१२) हो, मानव मृत्युको हल विज्ञानले कहिल्यै पत्ता लगाउन सक्ने छैनन्‌। त्यो हो, हामी जन्मजात पापी छौं।—१ कोरिन्थी १५:२२.

अर्कोतर्फ, हाम्रो सृष्टिकर्ताले ख्रीष्टको छुडौतीको बलिदानद्वारा जन्मजात पापका प्रभावहरू हटाउने प्रतिज्ञा गर्नुभएको छ। (रोमी ६:२३) सृष्टिकर्तालाई बुढेसकाल र मृत्यु हटाउने तरिका थाह छ भनेर हामी पक्का हुनसक्छौं किनभने भजन १३९:१६ यसो भन्छ: “मेरो रचना नभई तपाईंका आँखाले मलाई देखेका थिए, म अपूर्ण रूपमै भएको तपाईका आँखाले देखेका थिए।” किनकि वास्तवमा यहोवा परमेश्‍वरले नै आनुवंशिक कोड लेख्नुभएको हो। तसर्थ, उहाँले आफ्नै तोकिएको समयमा उहाँका आवश्‍यकताहरू पूरा गर्ने आज्ञाकारी मानिसहरूको जीन सधैंको लागि काम गर्ने बनाउनुहुनेछ।—भजन ३७:२९; प्रकाश २१:३, ४.

[फुटनोट]

a डि एन ए-बारे विस्तृत जानकारीको निम्ति ब्यूँझनुहोस्‌!, सेप्टेम्बर ८, १९९९ अंग्रेजी अंकको पृष्ठ ५-१० हेर्नुहोस्‌।

[पृष्ठ २२-मा भएको पेटी]

डि एन ए-को “भाषा”

डि एन ए-का आधारभूत एकाइ वा “अक्षरहरू” बेस भनिने रासायनिक तत्त्वहरू हुन्‌। चार प्रकारका बेसहरू छन्‌। ती हुन्‌: थाइमिन, एडनाइन, ग्वानाइन र साइटोसाइन। तिनीहरूलाई अक्सर छोटकरीमा टि, ए, जि र सि लेखिन्छ। नेसनल जियोग्राफिक पत्रिका भन्छ: “ती चार तत्त्वहरूलाई चार अक्षर शब्दका अक्षरहरूको रूपमा लिनुहोस्‌। जसरी हामी अक्षरहरूलाई मिलाएर अर्थपूर्ण शब्दमा परिणत गर्छौं त्यस्तै गरी हाम्रो जीनका ए, टि, जि र सि-लाई कोषले बुझ्नसक्ने भाषामा तीन अक्षरले बनेको ‘शब्द’-मा मिलाएर राखिएका छन्‌” फलस्वरूप, आनुवंशिक “शब्दहरूले” “वाक्य” तयार पार्छन्‌ र यसले कोषहरूलाई कसरी खास प्रोटिनहरू निर्माण गर्ने भनेर निर्देशन दिन्छ। डि एन ए-का अक्षरहरू जुन ढंगमा मिलाएर राखिएको हुन्छ त्यसले कुनै प्रोटिन खाना पचाउने इन्जाइमको रूपमा काम गर्ने हो या संक्रमणहरूबाट बच्न रोग प्रतिरोधक हुने हो या शरीरमा पाइने हजारौं प्रकारको प्रोटिनहरूमध्ये एउटा हुने हो भनी निर्धारण गर्छ। त्यसैकारण त, द सेल भन्‍ने पुस्तकले डि एन ए-लाई “जीवनको आधारभूत रूपरेखा” भनेर संकेत गरेको छ।

[पृष्ठ २१-मा भएको चित्र]

क्रोमोजोमको टुप्पोले (यहाँ देखाइएको टल्किएको भाग) कोषहरूमा विभाजन हुन दिन्छ

[स्रोत]

Courtesy of Geron Corporation