सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के जिन्दगी सस्तो हुँदैछ?

के जिन्दगी सस्तो हुँदैछ?

के जिन्दगी सस्तो हुँदैछ?

“यस संसारमा जिन्दगीको मोल सस्तो छ। अत्यन्तै कम मूल्यमै जिन्दगीको मोलतोल गर्न सकिन्छ र पैसाको लागि हर काम गर्न तयार मानिसहरूको कुनै अभाव छैन।”—द सक्टसम्यान।

अप्रिल १९९९ को दौडान कोलोराडो, लिटलट्‌न शहरको कोलमबाइन हाइ स्कूलमा दुई किशोरहरूले गरेको घातक आक्रमणबाट सारा संसार स्तब्ध भयो। त्यस घटनामा १५ जनाले आफ्नो ज्यान गुमाउनुपरेको थियो। अनुसन्धानको क्रममा एक जना आक्रमणकारीको बेव साइट भएको पत्ता लाग्यो र त्यस बेव साइटमा यस्तो लेखिएको थियो: “मृत मानिसहरूले जवाफसवाल गर्दैनन्‌!” दुवै आक्रमणकारीहरूको उक्‍त दुःखद्‌ घटनामा मृत्यु भयो।

हत्याको समस्या विश्‍वभरि नै विद्यमान छ र हेरक दिन असंख्य मानिसहरूको हिंसात्मक मृत्यु हुन्छ। दक्षिण अफ्रिकामा सबैभन्दा उच्च हत्या दर छ। त्यहाँ सन्‌ १९९५ मा प्रत्येक १,००,००० बासिन्दामा ७५ जनाको हत्या भयो। एउटा दक्षिण अमेरिकी देशमा विशेष गरी जिन्दगी अत्यन्तै सस्तो छ। राजनैतिक कारणले गर्दा त्यस देशमा सन्‌ १९९७ को दौडान ६,००० मानिसहरूको हत्या गरियो। मिलेमतोमा कसैको हत्या गर्नु पनि सामान्य प्रक्रिया हो। त्यस देशबारे एउटा रिपोर्टमा यस्तो उल्लेख गरिएको छ: “आश्‍चर्य लाग्दो ढंगमा केटाकेटीको हत्यामा पनि वृद्धि भएको छ: सन्‌ १९९६ मा ४,३२२ केटाकेटी मारिए र यो दुई वर्षभित्रमा ४० प्रतिशतले वृद्धि हो।” तथापि, केटाकेटी आफै पनि हत्यारा भएर निस्केका छन्‌। तिनीहरू अन्य केटाकेटी वा आफ्नै आमाबाबुको हत्या गर्छन्‌। जिन्दगी साँच्चै सस्तो भएको छ।

किन “हत्या संस्कृति”?

यी तथ्य तथा तथ्यांकले के प्रमाणित गर्छ? जिन्दगीप्रतिको अनादर झनै बढिरहेको छ। शक्‍तिका भोका तथा पैसाका लोभी मानिसहरू निस्संकोच अरूको हत्या गर्छन्‌। लागू पदार्थका व्यापारीहरू पूरै परिवारको हत्या गर्ने आदेश दिन्छन्‌। तिनीहरू अक्सर “छप्काउनु,” “सफाचट गर्नु,” “खत्तम गर्नु” वा “सिध्याउनु” जस्ता शब्दहरू चलाएर आफ्नो नियोजित हत्यालाई हल्का तुल्याउने कोसिस गर्छन्‌। जातिसंहारले गर्दा स्थिति झनै नाजुक हुनुका साथै जिन्दगीको मोल झनै सस्तो भएको छ। फलस्वरूप, विश्‍वभरि टिभी समाचारहरूमा हत्याका घटनाहरू दैनिक समाचारको अभिन्‍न भाग भइसक्यो।

अझ त्यसमाथि टेलिभिजन तथा चलचित्रहरूमा प्रदर्शन गरिने हिंसा र नरसंहारको महिमा हेर्ने हो भने हाम्रो सम्पूर्ण समाज नै मृत्युमा केन्द्रित विकृत संस्कृतिमा डुबेको छजस्तो देखिन्छ। यस सन्दर्भमा इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “बीसौं शताब्दीको अन्तका वर्षहरू हेर्ने हो भने, मृत्यु अचाक्ली लोकप्रिय विषय भएको छ। त्यसभन्दा अघि मृत्यु मुख्यतः जटिल वैज्ञानिक दृष्टिकोण र केही हदसम्म दार्शनिक अवलोकनमा सीमित थियो जुन सुन्दा छक्क लाग्छ।” क्याटोलिनाका सांस्कृतिक नृवंशशास्त्री प्राध्यापक जोसेफ फेरेक्ग्लाका अनुसार “हाम्रो समाजमा अब मृत्यु भनेको उच्चारण गर्न नहुने निषेधित विषय होइन र अतः आज दर्शनशास्त्रीहरूले सबैभन्दा धेरै प्रयोग गर्ने विषय भएको छ।”

सायद, यस “हत्या संस्कृति”-को सबैभन्दा उल्लेखनीय पक्ष मानव जीवन र नैतिक मूल्यमान्यताभन्दा शक्‍ति, प्रभुत्व, पैसा र सुखभोग महत्त्वपूर्ण छ भन्‍ने लोकप्रिय धारणा होला।

यस तथाकथित्‌ “हत्या संस्कृति” कसरी फैलियो? वरपर भएको यस नकारात्मक प्रभावबाट आफू र आफ्ना छोराछोरीलाई जोगाउन आमाबाबुले के गर्नसक्छन्‌? यस्तै केही प्रश्‍नहरूको जवाफ यसपछिका लेखहरूमा दिइनेछ।

[पृष्ठ ४-मा भएको पेटी/चित्र]

जीवनको मोल कति छ?

▪ “[भारतको, मुम्बाइमा] ग्यांगका जवान सदस्यहरू पैसाका यति भोका हुन्छन्‌ कि ५,००० रुपैया [११५ अमेरिकी डलर] जस्तो कम पैसामा पनि मान्छे मार्न तयार हुन्छन्‌।”—फार इस्टर्न इकोनोमिक रिभ्यु।

▪ “चुरोट दिन नमान्दा बटुवाको हत्या।”—सान्टियागो, चिलीको ला टेरसेरा-मा शीर्षसमाचार।

▪ “रूसमा [सन्‌ १९९५ मा] साधारणतया मिलेमतोमा मार्न ७,००० अमेरिकी डलर भए पुग्छ। . . . साम्यवाद शासनको अन्तपछि भएको आर्थिक वृद्धि सँगसँगै मिलेमतोमा मार्ने प्रचलन पनि तीव्र रूपमा वृद्धि भएको छ।”—रोयटर्स, साप्ताहिक मस्को न्युज-मा आधारित।

▪ “आफ्नो गर्भवती पत्नी र सासुलाई मार्न एक किशोरलाई १,५०० अमेरिकी डलर दिएको अभियोगमा ब्रूकलिनका एक घडेरी दलाल पक्राउमा।”—न्यु योर्क टाइम्स।

▪ ‘[बेलायतमा] सुनियोजित हत्या सस्तो हुँदैछ . . . पाँच वर्षअघि एक जना मानिसको हत्या गराउन [३०,००० पाउण्ड स्टर्लिंग] लाग्थ्यो भने अहिले घटेर ५,००० देखि [१०,००० पाउण्ड स्टर्लिंग] भएको छ।’—द गार्डियन।

▪ ‘निर्मम बाल्कन ग्यांगहरूअघि माफियाका कर्तुतहरू फिक्का देखिन्छन्‌। यी नयाँ प्रकारका अपराधीहरू हुन्‌। तिनीहरूको नयाँ नियम र नयाँ हातहतियारहरू छन्‌। तिनीहरूसित विष्फोटक पदार्थ र मेशिन गन छ अनि तिनीहरू यो चलाउन हिचकिचाउँदैनन्‌।’—द गार्डियन विक्ली।