सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गाईहरू बिदा मनाउन जाँदा!

गाईहरू बिदा मनाउन जाँदा!

गाईहरू बिदा मनाउन जाँदा!

स्वीट्‌जरल्याण्डका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

स्वीट्‌जल्याण्डमा हजारौं गाईहरू वर्षेनी बिदा मनाउन जान्छन्‌ भनेर के तपाईंलाई थाह छ? अनि तिनीहरू खुसी भएको देखेर तपाईं छक्कै पर्नुहुनेछ!

स्वीट्‌जरल्याण्डको चिसो, हिउँ पर्ने जाडो याममा दूध दिने गाईहरूलाई गोठमा राखिन्छ। चहकिलो पहेंलो रंगका टुकी फूलहरू ढकमक्क फुलेको हरियो मैदानमा चर्न जान पाउने वसन्त ऋतु आउँदा गाईहरू साह्रै खुसी हुन्छन्‌। नयाँ ऋतु र आफू वरपरको वातावरणमा आएको परिवर्तन देखेर समय समयमा हावामा बुर्लुक्क उफ्रेर तिनीहरू आफ्नो खुसीयाली व्यक्‍त गर्छन्‌।

मे महिना वा जून महिनाको सुरुसम्ममा हिउँ सबै पग्लिसक्ने भएकोले उचाइमा पनि अझ थप मैदानहरू उपलब्ध हुन्छ। अब गाईहरूको पहाडमा गर्मीका महिनाहरू बिताउने समय भएको छ।

पानीको राम्रो व्यवस्था भएको चरन

स्वीट्‌जरल्याण्डका अग्ला अग्ला स्थानहरूमा झन्डै १०,००० चर्ने मैदानहरू छन्‌ र यसले लगभग १०,००० वर्ग किलोमिटर भूभाग ढाक्छ। यो स्वीट्‌जरल्याण्डको कुल भूभागको एक चौथाइ हो। अतः यस अनमोल स्रोतको जगेर्ना गर्न निकै ध्यान दिइन्छ।

मैदानबाट झाडी र झारपातहरू हटाउन मानिस तथा पशु दुवै सँगै मिलेर काम गर्छन्‌। यसको लागि, किसानहरू पेशेवर गोठालाहरूलाई झन्डै ५,००,००० गाईहरूको जिम्मा लगाउँछन्‌। दूध दिने गाईलगायत कोरलीहरूलाई गर्मी बिदामा ट्रक वा रेलमा राखेर पहाडतिर लगिन्छ।

माथि टुप्पासम्मै ट्रक वा रेल नपुग्ने भएकोले यात्राको अन्तिम भाग पैदल नै जानुपर्छ। जसै गर्मी बढ्‌दै जान्छ बगाल पनि माथि चढ्‌दै गर्छ। कुनै कुनै चर्ने ठाउँ समुद्रको सतहभन्दा २,००० देखि २,२०० मिटर अग्लो हुन्छ र त्यहाँ गाईवस्तुले मीठो घाँस तथा सुन्दर रंगीचंगी फूलहरू पाउँछन्‌। पहाडमा झरनाहरू प्रशस्त हुने भएकोले पिउने पानीको कुनै चिन्ता हुँदैन।

गाईले दिएको उन्‍नत दूध कहिलेकाहीं पिउन वा प्रशोधन गर्न तल ओसारिन्छ। तर साधारणतया पहाडकै छेउछाउका क्याबिनमै मख्खन वा चिज बनाइन्छ। गर्मीका दिनहरू छोटो हुँदै गएपछि गाईको बगाललाई तलका मैदानहरूमा ल्याइन्छ। अब फेरि तिनीहरूको जाडोको घरमा फर्कने समय भएको छ र यो अक्सर मौसम हेरेर सेप्टेम्बर महिनाको अन्ततिर हुन्छ। हो, तिनीहरूको गर्मीको बिदा सिद्धिनै लागेको छ! तर त्योभन्दा पहिला एउटा विशेष शोभा यात्राको आयोजना गरिन्छ।

महत्त्वपूर्ण दिन!

प्रत्येक गाईले दिएको दूधको मात्राको रेकर्ड राखिएको हुन्छ र धेरै दूध दिने गाईलाई तिनीहरूले दिएको दूधको मात्रा अनुसार सिंगारिन्छ। अनि त्यसमध्ये पनि सबैभन्दा धेरै दूध दिने गाईले चाहिं बगालको नाइके हुने सुअवसर पाउँछ। नाइके गाईको टाउको रंगीचंगी कागतको फूल, रिबन र सानो सदाबहार रूखको हाँगाले सिंगारिन्छ। टाढैबाट तिनीहरूको आगमनको संकेत दिन थुप्रैको घाँटीमा घण्टी पनि झुन्डाइएको हुन्छ।

गोठालाहरू पनि यस विशेष दिनमा सेतो कमिज र बुट्टा भरेको कालो मखमलको इस्टकोट लाउँछन्‌। अनि तल बेसींमा चाहिं किसानहरू हर्षोलासका साथ सडकको दुवैतिर स्वागत गर्न बस्छन्‌।

तल बेंसीमा पुगेपछि गाईहरूलाई अर्को गर्मी नआउञ्जेलको लागि आ-आफ्नो मालिकको जिम्मा लगाइन्छ। तथापि, केही समय नबित्दै पहाडमा जाने अर्को बिदाको समय हुन्छ! कस्तो रमाइलो जिन्दगी!