सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

डिएसटि—समय अगावै प्रस्तुत गरिएको विचार?

डिएसटि—समय अगावै प्रस्तुत गरिएको विचार?

डि एस टि—समय अगावै प्रस्तुत गरिएको विचार?

किन थुप्रै मानिसहरूले वर्षको दुई चोटि आफ्नो घडी मिलाउनुपर्छ? घडी चलाख वा ढिला गर्नुपर्दा कसै कसैलाई साँच्चै झन्झट लाग्नसक्छ। कुन बेला के गर्ने? अंग्रेजी पदावली “स्प्रिङ फरवर्ड र फल ब्याक” अर्थात्‌ “बसन्तमा अघि र हेमन्तमा पछि” भन्‍ने वाक्यले वसन्त ऋतुमा चलाख गर्ने र हेमन्त ऋतुमा ढिलो गर्ने भनी मानिसहरूलाई सम्झना दिलाउँछ। डे लाइट सेभिङ टाइम (डि एस टि) अर्थात्‌ दिन लम्ब्याउने प्रचलन कसरी सुरु भयो? अनि कसले सुरु गऱ्‍यो?

इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार सर्वप्रथम सन्‌ १७८४ मा बेन्जामिन फ्रान्कलिनले दिन लम्ब्याउने सुझाउ दिए। त्यसको एक शताब्दीभन्दा धेरै समयपछि विलियम विलेट नाउँ गरेका अंग्रेजले जोडतोडका साथ यसको लागि अभियान चलाए। तथापि, संसदले यो पारित गर्नुअघि नै विलेटको मृत्यु भयो।

अंग्रेज लेखक टोनी फ्रान्सिसका अनुसार विलेट चिजेलहर्स्ट केन्टको एक दक्ष निर्माता थिए र गर्मीको एक बिहान सबेरै पेट्‌स वुडमा घोडा चढ्‌दै जाँदा तिनको मनमा उक्‍त विचार फुऱ्‍यो। घोडा चढ्‌दै जाँदा तिनले थुप्रै घरहरूमा झ्यालहरू अझै ढ्यामढुम बन्द भएको देखे। त्यो देखेर सायद तिनलाई “दिनको उज्यालो बेकारमा फालेको” जस्तो लागेको हुनसक्छ। त्यसपछि, घडीको काँटछाँट गर्ने विधान बेलायती संसदमा पारित गर्न तिनले निकै दौडधूप गर्न थाले। सबै घडीलाई वसन्त र गृष्म ऋतुको बेला बीस २०/२० मिनेट गरेर ८० मिनेट चलाख गर्ने र शरद्‌ ऋतुमा चाहिं फेरि ढिला गर्दा साँझमा अलि धेरैबेरसम्म दिनको उज्यालोको फाइदा उठाउन मदत गर्छ।

विलेटले आफ्नो एउटा पर्चामा यस्तो लेखे भनेर फ्रान्सिस रिपोर्ट गर्छन्‌: “सृष्टिकर्ताले मानिसलाई दिनुभएको सर्वोत्कृष्ट वरदानहरूमध्ये एउटा प्रकाश हो। दिनको उज्यालो छाउँदा रमाहट छाउँछ, फिक्रीहरू त्यति बोझिला हुँदैनन्‌ र जीवनमा संघर्ष गर्न साहस पाइन्छ।”

राजा एडवर्ड सातौंले संसदले नियम पारित गरुञ्जेल पर्खिरहेनन्‌। तिनले आफ्नो १९,५०० एकड जग्गा भएको स्यानड्रिङह्‍याम शाही भवनलाई दिनको उज्यालो बचाउने क्षेत्र घोषणा गरे। तिनले पछि विन्डसर र बालमोर शाही सम्पत्तिहरूमा पनि त्यस्तै परिवर्तन लागू गरे।

राजनीतिज्ञहरू आखिरमा डि एस टि लागू गर्न कुन कुराले राजी भए? कृतिम प्रकाशको खपतलाई कम गरेर तिनीहरू प्रथम विश्‍वयुद्धको दौडान इन्धन बचाउन चाहन्थे! त्यस्तै कारणले गर्दा चाँडै अन्य देशहरूले पनि यसै गर्न थाले। बेलायतमा दोस्रो विश्‍वयुद्धको दौडान दोबर गर्मीयामको समयमा समेत गरियो। यसो गर्दा गर्मीमा दुई घण्टाको भिन्‍नता र जाडोमा एक घण्टाको भिन्‍नता मिलाउन सकियो।

पेट्‌स वुडमा विलियम वेट्‌सको एउटा स्मारक छ। यो तपाईंले दायाँको तस्बिरमा देख्न सक्नुहुन्छ। “ ‘गर्मीयामको समय’-को निम्ति अनवरत लड्‌ने” व्यक्‍तिलाई उक्‍त स्मारक समर्पित गरिएको छ। सनडायल अर्थात्‌ सूर्य घडीको मुनि यस्तो कुँदिएको छ: “होरस नन न्युमेरो निसि इस्टेभास” जसको अर्थ हो, “गर्मीका महिनाहरू हुन्‌ भने मात्र म घण्टा गन्छु।”

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

With thanks to the National Trust