सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मुस्कुराउँदा—तपाईंलाई फाइदा हुन्छ!

मुस्कुराउँदा—तपाईंलाई फाइदा हुन्छ!

मुस्कुराउँदा—तपाईंलाई फाइदा हुन्छ!

जापानका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

यो निष्कपट छ भने सबै शंका उपशंका हट्‌छ। यसले वर्षौंको दौडान बटुलेका पूर्वाग्रहहरू सबै हटाउँछ। अविश्‍वासको कारण कठोर भएको हृदयलाई पगाल्छ। यसले थुप्रै व्यक्‍तिलाई तनाउमुक्‍त बनाउनुका साथै आनन्दित महसुस गराउँछ। यसले भन्छ, “मलाई थाह छ। चिन्ता नगर।” यसले यस्तो आग्रह गर्छ, “सायद हामी मित्र हुनसक्छौं कि।” यस्तो शक्‍तिशाली साधन के हो? मुस्कान। हो तपाईंको मुस्कान।

मुस्कान भनेको के हो? साधारणतया शब्दकोशहरूमा ‘रमाइलो लाग्दा, अनुमति वा आनन्द व्यक्‍त गर्दा मुखका कुनाहरू अलिकतिमाथि फर्कने मौखिक अभिव्यक्‍ति’ भनेर मुस्कानको व्याख्या गरिएको छ। यहाँ नै न्यानो मुस्कानको रहस्य लुकेको छ। आफ्नो भावना नबोलीकन नै अरूलाई व्यक्‍त गर्ने माध्यम मुस्कान हो। निस्सन्देह, मुस्कानले हेला वा खिसी पनि व्यक्‍त गर्नसक्छ तर त्यो त पूर्णतया अर्कै विषय हो।

के मुस्कुराउँदा साँच्चै फरक पर्छ र? के कसैको मुस्कानले गर्दा तपाईंले ढुक्क वा तनाउमुक्‍त महसुस गरेको सम्झनुभएको छ? वा कोही नमुस्कुराउँदा चिन्तित वा अपहेलित महसुस गर्नुभएको छ कि? हो, मुस्कानले फरक पार्छ। मुस्कुराउने र जसलाई हेरेर मुस्कुराइएको हो, दुवैलाई यसले फरक पार्छ। बाइबल पात्र अय्यूबले आफ्ना शत्रुहरूबारे यसो भने: “म मुसुक्क हाँसिदिंदा तिनीहरूले साहस पाउँथे, मेरो अनुहार उज्यालो हुँदा तिनीहरूको मुखको अँध्यारो हट्‌थ्यो।” (अय्यूब २९:२४) अय्यूबको अनुहारको “उज्यालो[ले]” तिनको हँसिलो अनुहारलाई बुझाइरहेको हुनसक्छ।

आज पनि मुस्कानले सकारात्मक प्रभाव पार्छ। न्यानो मुस्कानले बढिरहेको तनाउलाई कम गर्न मदत गर्नसक्छ। यसले प्रेसर कुकरको सेफ्टी भल्भको जस्तै काम गर्नसक्छ। तनाउ वा निराशा महसुस गर्दा मुस्कानले तनाउ कम गर्न र निराशाको सामना गर्न मदत गर्छ। उदाहरणका लागि, तोमोकोले अक्सर अरूले उनलाई हेरिरहने गरेको याद गरिन्‌। अनि तिनीहरूसित उनको आँखा जुध्ने बित्तिकै तिनीहरूले अर्कोतिर हेर्ने भएकोले उनलाई तिनीहरूले आलोचना गरिरहेको जस्तो लाग्यो। तोमोकोले एक्लो महसुस गर्नुका साथै दुःखी हुन थालिन्‌। एक दिन एउटी मित्रले ती मानिसहरूसित आँखा जुध्दा मुस्कुराउनु भन्‍ने सल्लाह दिइन्‌। दुई हप्ता तोमोकोले त्यस्तै गरिन्‌ र सबै जनाले उनको मुस्कान फर्काएको देखेर छक्क परिन्‌! तनाउ सबै गायब। उनी भन्छिन्‌: “जीवन साँच्चै आनन्ददायी भएको छ।” हो, मुस्कानले अरूसित व्यवहार गर्दा अप्ठ्यारो महसुस नगर्न र अझ मित्रैलो हुन मदत गर्छ।

तपाईं र अरूमा पर्ने सकारात्मक प्रभाव

मुस्कानले मानिसलाई भावनात्मक तवरमा असर गर्नसक्छ। यसले सकारात्मक मनस्थिति विकास गर्न मदत गर्छ। मुस्कान, शारीरिक सुस्वास्थ्यको निम्ति पनि राम्रो हो। “हाँस्नु स्वास्थ्यको निम्ति राम्रो ओखती हो” भन्‍ने कथन नै छ। वास्तवमा कुनै पनि व्यक्‍तिको मनस्थिति तिनको शारीरिक सुस्वास्थ्यसित सम्बन्धित छ भनी चिकित्सा क्षेत्रमा संलग्न व्यक्‍तिहरू बताउँछन्‌। धेरै लामो समयदेखिको तनाउ, नकारात्मक भावनाहरू र त्यस्तै अरूले हाम्रो रोग प्रतिरोध क्षमतालाई कमजोर बनाउँछन्‌ भनेर थुप्रै अध्ययनहरूले देखाउँछन्‌। अर्कोतर्फ, मुस्कानले आनन्दित महसुस गराउँछ भने हाँसोले हाम्रो रोग प्रतिरोध क्षमतालाई बलियोसमेत बनाउँछ।

मुस्कानले अरूमा पनि सकारात्मक असर पार्छ। कल्पना गर्नुहोस्‌, तपाईंलाई कसैले सल्लाह वा ताडना दिइरहेको छ। तपाईं, सल्लाह दिने व्यक्‍तिको कस्तो अनुहार हेर्न रुचाउनुहुन्छ? भावशून्य वा कठोर अनुहारले रिस, झर्को लागेको, अपहेलना वा वैरभावसमेत बुझाउनसक्छ। अर्कोतर्फ, सल्लाहकारको न्यानो मुस्कान देख्दा के तपाईंलाई ढुक्क लाग्नुका साथै सल्लाह ग्रहण गर्न सजिलो हुँदैन र? निश्‍चय पनि मुस्कानले तनाउपूर्ण अवस्थामा असमझदारी हटाउन मदत गर्छ।

सकारात्मक सोचाइले मुस्कुराउन सजिलो पार्छ

निश्‍चय पनि हामीमध्ये अधिकांश ती पेसेवर अभिनेताहरू जस्तो छैनौं जो जस्तोसुकै अवस्थामा पनि तुरुन्तै मुस्कुराउन सक्छन्‌ र न त हामी त्यस्तो हुन चाहन्छौं। हामी आफ्नो मुस्कान निष्कपट र चोखो भएको चाहन्छौं। मानिसहरूसँग कुराकानी वा सम्पर्क राख्न सिकाउने स्कूलका निर्देशकले यस्तो टिप्पणी गरे: ‘तनाउमुक्‍त भएर भित्र हृदयदेखि नै मुस्कुराउनु महत्त्वपूर्ण छ नत्र भने तपाईंको मुस्कान नकली हुनेछ।’ हामी कसरी भित्र हृदयदेखि नै मुस्कुराउनसक्छौं? हामीलाई बाइबलले मदत गर्नसक्छ। हाम्रो बोलीको सन्दर्भमा मत्ती १२:३४, ३५ मा हामीलाई यसो भनिएको छ: “हृदयमा भरिएका कुरानै मुखले बोल्दछ। असल मानिसले असल ढुकुटीबाट असलै कुराहरू झिक्नेछ। तर दुष्ट मानिसले दुष्ट ढुकुटीबाट दुष्टै कुराहरू झिक्‍तछ।”

स्मरण रहोस्‌, मुस्कान नबोलीकन नै हाम्रा भावनाहरू व्यक्‍त गर्ने माध्यम हो। “हृदयमा भरिएका कुरानै मुखले बोल्दछ” र ‘असल कुराहरू’ “असल ढुकुटीबाट” नै निस्कन्छ भन्‍ने कुरालाई सम्झँदा निश्‍चय पनि निष्कपट मुस्कानको कुँजी हाम्रो सोचाइ र भावनाहरू नै हुन्‌ भन्‍न सकिन्छ। हो, हाम्रो मनमा भएको कुरा एक न एक दिन हाम्रो बोली र कार्यले मात्र होइन तर मुखैले देखाउनेछ। अतः हामीले सकारात्मक पक्षहरू हेर्ने र विचार गर्ने प्रयास गरिरहनुपर्छ। हामीले आफ्नो अनुहारमा देखाउने प्रतिक्रिया हाम्रो अरूबारे विचारधारा कस्तो छ, त्यसले पनि धेरै फरक पार्छ। त्यसैले, हामी आफ्नो परिवारका सदस्य, छिमेकी तथा असल मित्रहरूको राम्रो गुणहरूमा ध्यान दिने गरौं। त्यसो गऱ्‍यौं भने, मुस्कुराउन सजिलो हुन्छ। हृदय, भलाइ, कृपा र दयाले भरिएको छ भने मुस्कान निष्कपट र चोखो हुनेछ। हाम्रो आँखा चहकिलो हुनेछ र अरूले पनि हामीले सफा मनले मुस्कुराएका हौं भनेर थाह पाउनेछन्‌।

तर हामीले यो कुरा पनि मनमा राख्नुपर्छ, कोही कोही मानिसहरू आफ्नो पृष्ठभूमि र वरपरको वातावरणको कारण सजिलै मुस्कुराउँदैनन्‌। आफ्नो छिमेकीको भलाइ नै चाहे तापनि तिनीहरूको मुस्कुराउने बानी नै हुँदैन। उदाहरणका लागि, जापानी पुरुषहरू हर बखत सज्जन मानिसजस्तो चुपचाप बसोस्‌ भन्‍ने आशा गरिन्छ। अतः तिनीहरूमध्ये कतिपय अपरिचित व्यक्‍तिहरूसित मुस्कुराउन जान्दैनन्‌। अन्य संस्कृतिहरूमा पनि त्यस्तै हुनसक्छ वा कोही कोही व्यक्‍तिलाई आफू लजालु स्वभावको भएको कारण अरूसित मुस्कुराउन गाह्रो लाग्नसक्छ। तसर्थ, हामीले अरू व्यक्‍ति कसरी, कति चोटि मुस्कराउँछ त्यो हेरेर अड्‌कल काट्‌नु हुँदैन। मानिसहरू भिन्‍नाभिन्‍नै प्रकारका हुन्छन्‌, त्यसैकारण तिनीहरूको बानी र कुरा गर्ने तरिका पनि फरक फरक हुनसक्छन्‌।

यद्यपि, तपाईंलाई अरूसित मुस्कुराउन गाह्रो लाग्छ भने, किन मुस्कुराउन प्रयास नगर्ने? बाइबलले यस्तो सल्लाह दिन्छ: “भलाइ गर्नामा हरेस नखाऔं, . . . अब मौका हुँदानै सबै मानिसतर्फ, . . . भलाइको काम गरौं।” (गलाती ६:९, १०) “भलाइको काम” गर्ने एउटा तरिका अरूसित मुस्कुराएर हो र हामीसित त्यसो गर्ने क्षमता पनि छ! त्यसैले, अरूलाई अभिवादन गर्न अग्रसर हुनुहोस्‌ र मुस्कानसहित प्रोत्साहनका दुई शब्द बोल्नुहोस्‌। यसको गहिरो मूल्यांकन गरिनेछ। साथै, तपाईंले मुस्कुराउने बानी बसाल्दै जानुभयो भने समय बित्दै जाँदा धेरै सजिलो हुनेछ।

[पृष्ठ १३-मा भएको पेटी]

सावधानीका दुई शब्द

हामीले देख्ने प्रत्येक मुस्कान निष्कपट नहुनु दुःखको कुरा हो। ठग, जालझेल गर्ने, बेइमान व्यापारी तथा अन्य व्यक्‍तिहरूले मनै पग्लने गरी अत्यन्तै राम्रो मुस्कान छोड्‌नसक्छन्‌। मुस्कानले मानिसहरू फकिन्छन्‌ भनेर तिनीहरूलाई थाह छ। शंकास्पद चरित्र वा खराब मनसाय भएका मानिसहरूले पनि लोभ्याउने मुस्कान दिन्छन्‌। तैपनि, तिनीहरूको मुस्कान खोक्रो हो र तिनीहरू जाली हुन्‌। (उपदेशक ७:६) अरूमाथि बढ्‌तै शंका गर्ने नभए तापनि हामी यस “आखिरी दिनमा” बाँचिरहेको कारण स्वयम्‌ येशूले सुझाउ दिनुभएजस्तै “सर्पझैं चनाखो र ढुकुरझैं सोझो” हुनुपर्छ।—२ तिमोथी ३:१; मत्ती १०:१६.

[पृष्ठ १३-मा भएको चित्र]

मुस्कानसहित अरूलाई अभिवादन गर्न अग्रसर हुनुहोस्‌