सान्तेरियाको मोहनी
सान्तेरियाको मोहनी
मेक्सिकोको ब्यूँझनुहोस्! संवाददाताद्वारा
सान्तेरिया, क्युबाको मुख्य धर्महरूमध्ये एक हो र त्यसो हुन थालेको निकै वर्ष भइसक्यो। तथापि, सान्तेरिया धर्मसित मिल्दाजुल्दा धर्महरूले अन्य देशहरूमा प्रवेश पाउन थालिसकेका छन्। उदाहरणका लागि, मेक्सिको शहरका ठूल-ठूला बजारहरूमा यस्ता पसलहरू पनि पाइन्छन्, जहाँ केवल सान्तेरिया धर्मका सर-सामान जस्तै, क्रस, मैनबत्ती, बुटीहरू बेचिन्छन्। यस्ता पसलहरूलाई प्रायजसो जडिबुटी पसल भनिन्छ र अमेरिकी महादेशका ठूल-ठूला सबै शहरहरूमा पाउन सकिन्छ। न्यू योर्क शहरमा तपाईंले टेलिफोन डाइरेक्ट्री हेर्नुभयो भने अरू धर्महरूको भन्दा यस्तो जडिबुटीका पसलहरूको राम्रा विज्ञापनहरू पाउनुहुन्छ।
सान्तेरिया धर्ममा लुकेको रहस्य, कल्पना अनि रोमाञ्चले धेरैलाई आकर्षित गर्छ। केही लोकप्रिय ल्याटिन संगीत अनि साहित्यहरूमा पनि सान्तेरियाको प्रभाव भेटिन सकिन्छ। सान्तेरिया, धर्मको नाउँले भन्दा पनि सांस्कृतिक विशिष्टताले गर्दा चिनिन थालेको छ र अफ्रिकी-क्यारेबियन मिस्रित संगीत तथा सांस्कृतिक गतिविधिहरूमा यसको असर फैलिसकेको छ।
प्राचीन अफ्रिकाबाट सुरु
सान्तेरिया धर्ममा, नाइजेरियाका योरुबा जातिले मान्ने पुरातन अफ्रिकी धर्मका आधारभूत विशेषता अनि परम्पराहरू पाइन्छन्। सन् १७७० र १८४० बीच योरुबा जातिलाई दास बनाएर क्यारेबियन टापुमा लैंजादा, सँगसँगै आफ्नो धर्म पनि लिएर गए। नयाँ संसारमा पुगेका यी अफ्रिकी दासहरूले डर र धम्कीले गर्दा जबरजस्ती क्याथोलिक धर्म अँगाले तापनि तिनीहरूले आफ्ना परम्पराहरूलाई पूरै बिर्सेनन्। फलतः नयाँ धर्मको सिर्जना भयो जसमा दुवै धर्मका विशेषताहरू थिए। यसरी भिन्न धर्मका प्रचलनहरूलाई मिलाएर नयाँ धर्मको आरम्भ गर्ने प्रक्रियालाई धार्मिक समन्वय भनिन्छ।
बाजेबराजुको पालादेखि चलि आएका परम्पराहरूलाई कायम राख्न यी अफ्रिकी दासहरूले आफ्ना अफ्रिकी ईश्वरहरूका गुण अनि शक्तिसँग मिल्दाजुल्दा क्याथोलिक सन्तहरूलाई छाने। यसप्रकार, ओरिसा अर्थात् अफ्रिकी देवदेवीहरूले अनुहार फेरेर क्याथोलिक सन्तहरूको नाउँ तथा रूप लिए। तथापि, परम्परा तथा रीतिथितिहरू भने उही अफ्रिकाको जस्तै कायम रह्यो। क्युबाका सान्तेरिया पूजाहारी भन्छन्: “धार्मिक समन्वयले गर्दा हामीले क्याथोलिक देवहरूको उपासना गर्नसक्यौं तर हामीले त्यसरी उपासना
गर्ने हरेक क्याथोलिक देवहरूको पछाडि कुनै न कुनै अफ्रिकी देव हुन्छ।”भुडु, ओबिया र माकुम्बाजस्ता धर्महरू पनि रोमन क्याथोलिक धर्मका परम्परा, पवित्र दिन तथा पूजाआजाका विभिन्न पवित्र सर-सामनहरू अनि अफ्रिकी प्रेतात्मावादी प्रचलनहरू मिलेर नै बनेका हुन्। क्याथोलिक चर्चले ल्याटिन अमेरिकामा पहिलेदेखि नै अफ्रिकी धर्महरूमाथि प्रतिबन्ध लगाइराखेको हुनाले सान्तेरिया धर्म निकै समयसम्म लुकिछिपी मानिन्थ्यो। तथापि, पछि गएर क्याथोलिक चर्चले दासहरूले मान्न थालेका दुई धर्मको मिश्रणलाई हल्कासित लिन थाल्यो।
सान्तेरिया धर्मका विशेषता
यस धर्मका विशेषताहरू के हुन् त? सान्तेरोस् अर्थात् सान्तेरिया धर्मवालम्बीहरू सर्वोच्च परमेश्वर एक हुनुहुन्छ भनेर मान्छन् र योरुबा धर्मकै कोटी कोटी देवदेउताहरू अर्थात् ओरिसालाई पुज्छन्। सान्तेरियाका पूजाहारीहरू जोखाना हेरेर ओरिसाको इच्छा वा क्रोध मानिसहरूलाई बताउने गर्छन्। कहिलेकाहीं मानिसमा चढेर ओरिसाले आफ्नो सल्लाह दिन्छन् रे भन्ने पनि सुनिन्छ। मानिसहरूले प्रार्थना गरेर, बाजागाजा बजाएर, जप गरेर अनि बलि दिएर ओरिसालाई जगाउनसक्छन्। पूजाआजा गर्ने वेदीलाई निकै महत्त्वपूर्ण मानिन्छ र सान्तेरोस्हरूले आ-आफ्ना घरमा त्यस्ता पूजाआजा गर्ने वेदी वा ठाउँ बनाएर आफ्ना देवीदेउतालाई प्रसन्न पार्न फूल, रक्सी, केक अनि सिगार चढाएर राखेका हुन्छन्।
लिजेट आल्वारेजले न्यु योर्क टाइम्स पत्रिकामा सान्तेरिया धर्मबारे यस्तो लेखेकी थिइन्: “सान्तेरिया धर्मले अर्कै जुनीलाई भन्दा वर्तमान जुनीमाथि जोड दिन्छ र विभिन्न प्राकृतिक शक्तिहरूको पूजा गर्छ। हरेक देवीदेउतालाई कुनै न कुनै प्राकृतिक शक्तिको प्रतिनिधित्व गर्थ्यो। जस्तै, मेघले मानवीय गुण, बललाई बुझाउँछ।” सान्तेरिया धर्मका पूजाहारीहरू ओरिसालाई पुकारेर मानिसहरूलाई परेको मर्काहरूको समाधान खोज्ने गर्छन्। तर यी पूजाहारीहरू क्याथोलिक धर्मका पूजाहारीहरू होइनन् अनि सान्तेरिया धर्मका सामान्य रीतिथितिहरू मन्दिरमा भन्दा घरघरमा मनाइने गरिन्छ।
सान्तेरिया धर्मले परिवार वा भातृत्वको अनुभूति दिने हुँदा अक्सर भावनात्मक अनि आर्थिक मदतको खाँचोमा परेका मानिसहरू त्यसतर्फ आकर्षित हुन्छन्। खास गरी चारैतिरबाट पिल्सिएका शोषित मानिसहरू यसतर्फ निकै मोहित भएको देखिन्छ भने सान्तेरिया धर्म मानिने देशहरूमा बसाइँ सर्नेहरूको संख्या पनि बढ्दो छ। सान्तेरिया धर्म मान्ने हरेक व्यक्तिको आ-आफ्नो खास समूह हुन्छ र समूहकै कुनै लोग्ने वा स्वास्नीमानिसले माता वा पिता, सल्लाहकार अनि पूजाहारीको रूपमा सेवा गरिरहेका हुन्छन्। बाजागाजा, नाचगान अनि जनावरहरूको बलि आदि दिएर नयाँ सदस्यलाई पूजाहारीहरूले समूहमा
प्रवेश गराउँछन्। जन्म, विवाह अनि मृत्युको बेला पनि बलि चढाएर उत्सव मनाउने गरिन्छ। तिनीहरूले बाख्रा, ढुकुर, परेवा अनि कछुवा आदि पशु बलिको रूपमा चढाउने गर्छन्।सान्तेरिया संगीत
सान्तेरिया धर्ममा संगीतको निकै ठूलो स्थान हुन्छ। ढोल बजाएर देवदेवीहरूलाई जगाउने उत्सव अर्थात् बेम्बे-मा पनि संगीतकै प्रयोग गरिन्छ। हरेक देवलाई जगाउने बेग्लाबेग्लै ताल वा सुर हुन्छ। यस्तो बाजागाजाको आवाज यत्ति चर्को हुन्छ कि टोलभरि सुन्न सकिन्छ।
ढोल, जाइलोफोन वा मारिम्बाजस्ता वाद्ययन्त्रहरू शताब्दीयौं अघिदेखि पश्चिम अफ्रिकामा प्रयोग हुँदै आएका छन्। दासहरूलाई अमेरिका ल्याइँदा, तिनीहरूले आफूसँगै लिएर आएको सबैभन्दा ठूलो विशेषता नै त्यही बाजागाजाहरू थिए। उदाहरणका लागि, ब्राजिलमा अहिले पनि ढोलहरूमा विधिपूर्वक बलि चढाइएका पशुहरूको छाला प्रयोग गरिन्छ अनि नयाँ वाद्ययन्त्रहरूलाई बप्तिस्मा दिने, अझ हुनसक्छ भने क्याथोलिक चर्चको “पवित्र” जल छर्कने चलन छ। हाइटीको अफ्रिकी-क्यारेबियन पृष्ठभूमिका मानिसहरूले झैं यहाँ पनि विभिन्न किसिमको ढोललाई विभिन्न देवदेवीको गण मानिन्छ।
बजारमा सान्तेरियाको पवित्र संगीत भनेर खुलेआम प्रचारप्रसार गरिएका कम्प्याक्ट डिस्कहरू सजिलै पाउन सकिन्छन्। यस्ता संगीतहरूमा मुख्यतः ढोलहरूको बढ्ता प्रयोग हुन्छ र कुनै कुनै संगीतको शीर्षक त देवदेउता वा परम्पराकै नाउँमा राखिएको हुन्छ। यस्तो संगीतले ल्याटिन संगितमा पनि प्रवेश पाइसकेको छ। कुनै कुनै सांगीतिक रचनामा सान्तेरिया धर्मसित सम्बन्धित शब्दहरू समेत समावेश गरिएको पाउन सकिन्छ।
बाइबल के भन्छ
सान्तेरिया धर्म र प्रेतात्मावादबीच नङमासुको सम्बन्ध छ र बाइबलले प्रेतात्मवादको घोर भर्त्सना गर्छ। (लेवी १९:३१) परमेश्वरको वचनले “मन्त्र-तन्त्र[लाई]” “शरीरका कामहरू[को]” सूचीमा राखेको छ र शरीरको काम गर्ने व्यक्ति परमेश्वरको राज्यको हकदार हुन सक्दैन। (गलाती ५:१९-२१) परमेश्वरको अनुमोदन चाहने व्यक्ति ‘मूर्तिपूजाबाट अलग रहनुपर्छ’ अनि ‘पितालाई आत्मा र सत्यतामा पुज्नुपर्छ’ भनेर पनि धर्मशास्त्रले आज्ञा दिएको छ।—१ कोरिन्थी १०:१४; यूहन्ना ४:२३, २४.
सान्तेरिया धर्मका प्रचलनहरू तथा संगीत दिन प्रतिदिन धर्मदेखि पृथक हुन थालेको छ भनेर मसीही सचेत हुनुपर्छ। विभिन्न किसिमका मनोरञ्जन अनि ल्याटिन अमेरिकाको कुनै कुनै सांस्कृतिक पक्षहरू सान्तेरिया धर्मद्वारा प्रभावित छन्। हाल यी निकै लोकप्रिय हुनुका साथै अहानिकारक मानिन थालिएको छ। तथापि, कुनै कुरा जति नै लोकप्रिय वा अहानिकारक किन नदेखियोस्, बाइबलका सिद्धान्तहरूसित पटक्कै मेल खाँदैन भने मसीहीहरू बिल्कुलै अलग बस्नुपर्छ।—२ कोरिन्थी ६:१४-१८.
[पृष्ठ २५-मा भएको पेटी/चित्र]
सान्तेरिया धर्मको शब्दावली
बाबलु-आइ: रोग निवारण गर्ने देव जसलाई “सन्त” लासारोको रूपमा उपासना गरिन्छ।
चान्गो: अग्नीदेव, गर्जन अनि बिजुलीको देव, साथै हातहतियारको रखवाला, जसलाई क्याथोलिकहरू “सन्त” बारबराको नाउँले पुज्छन्।
ईफा कोरपुस: सान्तेरिया परम्पराको चित्रण गर्ने २५६ वटा चिह्नहरूद्वारा बयान गरिने नियमावली।
इकोल ओरुन: “स्वर्ग,” मानिसहरू मरेपछि पुग्ने ठाउँ। तथापि, दुष्टहरू पृथ्वीमै वा नरकमै बाँच्छन् र इकोल ओरुनमा दुःख पाउँछन्।
ओबाताला: पृथ्वीको विभिन्न तत्त्वहरूद्वारा मानव जीवन अनि चेतना सृष्टि गर्ने परमेश्वर।
ओचुन: नदी, प्रेम, विवाह, धन, आनन्द अनि सम्पन्नताकी देवी। ओचुनलाई भर्जिन दे ला कारिदाद पनि भनिन्छ र तिनी क्युबाको रखवाला गर्ने देवी हुन्।
ओगून: खानीमा काम गर्ने मजदुर अनि कामदारहरूको रखवाला, जसलाई “सन्त” पिटर भनेर पूजिन्छ।
ओल्आडुमार: ब्रह्माण्ड सृष्टि गर्ने सर्वोच्च परमेश्वर।
ओरुमिला: भाग्यदेव।
एमाया वा सिमाया: समुद्र अनि प्रजनन शक्तिकी देवी, जसलाई क्युबामा कुमारी मरियम वा भर्जिन दे रेग्ला भनिन्छ।
[पृष्ठ २४-मा भएको चित्र]
जडिबुटी पसलमा बेच्न राखिएको सान्तेरिया धर्मका विभिन्न पूजा सामग्री