“हत्या संस्कृति”-को कसरी प्रवर्धन गरिन्छ?
“हत्या संस्कृति”-को कसरी प्रवर्धन गरिन्छ?
“कलिलो उमेरदेखि नै उत्पीडीत कोसोभोका जवान शरणार्थीहरू र हिंसा तथा अन्य पीडादायी अनुभवहरूको वातावरणमा हुर्केका अमेरिकी जवानहरूबीच हजारौं किलोमिटरको दूरी भए तापनि तिनीहरूबीच भावनात्मक दूरी त्यति धेरै नहुनसक्छ।”—मार्क काउफम्यान, द वाशिंगटन पोस्ट।
हामीलाई चाहे मन परोस् या मन नपरोस्, हामी सबै प्रत्यक्ष वा अप्रत्यक्ष ढंगमा मृत्युबाट प्रभावित छौं। अनि हामी चाहे युद्धग्रस्त देशमा बसौं वा तुलनात्मक रूपमा अलि स्थायित्व भएको देशमा बसौं, हामी मृत्युबाट उत्तिकै प्रभावित हुन्छौं।
यस “हत्या संस्कृति”-को प्रभाव उदासिनता, फ्रिक्री, लागू पदार्थको दुर्व्यसन, गर्भपात, आफैलाई नै हानि गर्ने बानीहरू, आत्महत्या र आमहत्याजस्ता कुराहरूमा देखिन्छन्। सान एन्टिनियो, टेक्ससको त्रिनिटि विश्वविद्यालयमा समाज तथा नृवंशशास्त्र विभागका प्राध्यापक माइकल कार्लले मृत्युको विषयलाई कसरी मानिसहरूले आफ्नो फाइदाको निम्ति चलाइरहेका छन्, त्यस सन्दर्भमा यसो भने: “बीसौं शताब्दीको अन्तका वर्षहरूलाई [१९९९] हेर्दा मृत्यु . . . जीवन, शक्ति र सामाजिक संरचनाको आधार हुन थालेको देखिन्छ। मृत्यु हाम्रो धर्म, दर्शनशास्त्र, राजनैतिक विचारधारा, कला र चिकित्सा प्रविधिको प्रेरणाको स्रोत भएको छ। यसले मानिसहरूलाई अखबार तथा बीमा नीतिहरू किन्न प्रेरित गर्छ, टेलिभिजन कार्यक्रमहरूको निम्ति कथावस्तु प्रदान गर्छ र . . . हाम्रो उद्योगलाई समेत गतिशीलता दिन्छ।” आउनुहोस्, यस “हत्या संस्कृति”-को लहर कसरी हाम्रो समयमा देखा पर्दैछ, केही उदाहरणहरू जाचौं।
हातहतियारको बेचबिखन
दिनप्रति दिन हुने हातहतियारको बेचबिखनमा “हत्या संस्कृति” झल्किन्छ। सेनाहरूलाई मार्न शस्त्रहरू प्रयोग गरिन्छ तर तिनीहरूले साधारणतया सर्वसाधारणलाई मार्छन् र त्यसमा निर्दोष स्त्री अनि बच्चाहरू पनि समावेश छन्। चाहे गृहयुद्ध होस् वा अन्य युद्ध, जिन्दगी सधैं सस्तो हुन्छ। हत्यारा वा सिपाहीको गोलीको मोल कति नै हुन्छ र?
कुनै कुनै देशमा हातहतियार सजिलै पाउन सकिने भएकोले भयानक नतिजाहरूका साथै व्यक्तिविशेष तथा मानिसहरूको समूहको मृत्युमा निरन्तर वृद्धि भएको छ। लिट्लटन, कोलोराडोको हाई स्कूलमा भएको हत्याकाण्डपछि सर्वव्याप्त हातहतियार बेचबिखनका साथै नाबालिगहरूले समेत सजिलै पाउनसक्ने सर्वसुलभताको विरोध गरियो। संयुक्त राज्य अमेरिकामा हिंसात्मक गतिविधिको कारण मर्ने जवानहरूको संख्या चिन्ताजनक छ। न्युजवीक पत्रिकाअनुसार हप्तामा सरदर ४० जनाको मृत्यु हुने गर्छ। त्यसमध्ये झन्डै ९० प्रतिशतको गोली लागेर मृत्यु हुन्छ। यो लिटलट्नमा भएजस्तो आमहत्या प्रत्येक वर्ष १५० वटा हुनु बराबर हो!
मनोरञ्जन जगत्
चलचित्रहरू मृत्युको विषयलाई आफ्नो लाभको निम्ति चलाउँछन्। उदाहरणका लागि, चलचित्रको कथावस्तुले अनैतिकता, हिंसा, लागू पदार्थको अवैध ओसारपसार वा संगठित अपराधको गुणगान गर्नसक्छ र जीवन तथा नैतिक सिद्धान्तहरूको मोल तुच्छ देखाउँछ। कुनै कुनै चलचित्रमा मृत्युलाई सनसनीपूर्ण समेत बनाइन्छ। मृत्युपछिको जीवन र कोही कोही जीवितहरूलाई भेट्न आएको देखाएर मृत्युलाई झनै महत्त्वहीन बनाउँछन्।
केही टेलिभिजन कार्यक्रम तथा संगीतहरू पनि त्यस्तै हुन्। एउटा अखबारको रिपोर्टअनुसार लिटलट्नका युवा हत्याराहरू एक रक संगीतकारका प्रेमी थिए जो “शैतानी रूप” तथा “विद्रोह र मृत्युका विषयहरू” भएको गीतको निम्ति प्रख्यात छन्।
संयुक्त राज्य अमेरिकामा केटाकेटीलाई प्रतिकूल असर गर्नसक्ने कार्यक्रमहरूबाट जोगाउन टेलिभिजन कार्यक्रमहरूलाई बच्चा र वयस्कहरूको निम्ति भनेर जुन किसिमले वर्गीकरण गर्दै आइएको छ, त्यसको पुनरावृत्ति गरियो। तर यसको नतिजा झन् नकारात्मक भएको छ। जोनाथन ओटरले न्युजवीक-मा यस्तो लेखे, “थुप्रै केटाकेटीलाई निषेधित फल झनै खान मन लाग्नसक्छ।” सञ्चार माध्यममा हिंसा कम गर्नसक्ने ओहदामा भएका मानिसहरूलाई लाजमा पार्न र जिम्मेवार महसुस गराउन राष्ट्रपति क्लिन्टनले काटमारका चलचित्र, ‘ग्यांगस्टा ऱ्याप’ अनि साथै “ ‘काल्पनिक’ हत्या गर्न सकिने” कम्प्युटर गेमहरू निर्माण गर्ने “सबै ठूलठूला कम्पनी तथा (त्यसका महाप्रबन्धकहरूको) नाउँ सार्वजनिक गराउनुपर्छ भने।”
भिडियो गेम तथा इन्टरनेटमा मृत्यु
द डेथम्याच म्यानिफेस्टो नामक पुस्तकमा रबर्ट वारिङले किशोरहरूमाझ तथाकथित् हत्या गर्ने प्रतिस्पर्धा कम्प्युटर खेलहरू कत्तिको लोकप्रिय छन् भनेर विश्लेषण गरे। a श्री वरिङ अनुसार यस्तो खेलमा लग्गू हुनेहरूको एउटा बेग्लै समाज देखा परेको छ। यस्ता खेलहरूले शिक्षा त केही दिंदैन तर मार्न सिकाउँछ। वरिङ अझ यस्तो टिप्पणी गर्छन्, “संसारको अर्को कुनाका मानिससँग कम्प्युटरद्वारा खेल खेलेर आफ्नो योग्यता प्रदर्शन गर्नु रोमाञ्चक अनुभव हो। अनि त्यसमै लग्गू हुन अत्यन्तै सजिलो छ।” किशोरहरू कम्प्युटर स्क्रीनको थ्री डाइमेनसन वातावरणमा रक्तपातपूर्ण भिडन्तहरू खेल्न र हेर्नमा लट्ठ हुन्छन्। संसारको अर्को कुनामा बसेका मानिससँग यसरी खेल खेल्न इन्टरनेट सुविधा नहुनेहरू चाहिं घरमा टेलिभिजनमै खेल्न मिल्ने भिडियो गेमहरू ल्याउँछन्। अरूचाहिं भिडियो गेम खेल्न पसलहरूमा गएर विपक्षीहरूसित काल्पनिक पात्रको मृत्यु नहोउञ्जेल ‘काल्पनिक’ खेल खेल्छन्।
यस्ता “डेथम्याच” खेलहरू उमेरअनुसार छुट्याइएको भए तापनि वास्तवमा कुनै नियन्त्रण छैन। संयुक्त राज्य अमेरिकाका १४ वर्षीय एडीले यस्तो टिप्पणी गरे: “मानिसहरूले साधारणतया तिमी सानै छौ, तिम्रो उमेर भएको छैन भन्छन् तर गेमहरू किन्नबाट भने रोक्दैनन्।”
तिनलाई अन्धाधुन्ध गोली हान्ने गेम मन पर्छ। उसको त्यस्ता गेमहरूप्रति रुचि छ भनेर उसको आमाबाबुलाई थाह भए तापनि उसले त्यो खेलेको छ कि छैन भनेर कहिल्यै हेर्न आउँदैनन्। एक किशोर यस्तो निश्कर्षमा पुगे: “अघिअघिको पुस्ताभन्दा हाम्रो पुस्ता हिंसाको विषयमा अत्यन्तै भावशून्य भइसक्यो जस्तो मलाई लाग्छ। आजकाल छोराछोरी हुर्काउने काम आमाबाबुले होइन टिभीले गर्छ र टिभीले पनि बच्चाहरूलाई मन पर्ने हिंसात्मक कुराहरू नै देखाउँछ।” न्युजवीक-मा छापिएको आफ्नो लेखमा जोन लेल्यान्डले भने: “[संयुक्त राज्य अमेरिकामा] अहिले झन्डै १.१ करोड किशोरकिशोरीहरूले इन्टरनेट चलाउँछन् र यसरी झन् धेरै किशोरकिशोरीहरू आमाबाबुबाट टाढाको वातावरणमा हुर्किरहेका छन्।”मृत्युतर्फ डोऱ्याउने जीवनशैली
“डेथम्याच” गेम तथा हिंस्रक चलचित्रहरूबाहेक अन्य आनीबानीबारे के भन्न सकिन्छ? वास्तविक जीवनमा हामीले अनौठो अजंगका जनावरहरूसित संघर्ष त गर्नु पर्दैन तर थुप्रै मानिसहरूको जीवनशैली आफैलाई हानि पुऱ्याउने प्रकारका छन्। उदाहरणका लागि, परिवार, स्वास्थ्य प्रणाली तथा अन्य अख्तियारवालाहरूले धूम्रपान र लागू पदार्थ दुर्व्यसन विरुद्ध चेताउनी दिए तापनि यस्ता कुलतहरू बढिरहेका छन्। थुप्रै अवसरमा त अकालमै मृत्यु हुन्छ। ठूलठूला व्यापारी तथा अवैध रूपमा लागू पदार्थ ओसारपसार गर्नेहरूले चाँडचाँडो फाइदा उठाउन मानिसहरूको चिन्ता, आशाहीनता र आध्यात्मिक भोकको नाजायज फाइदा उठाइरहेका छन्।
यी सबै कुराको पछाडि को छ?
मृत्यु मनोरञ्जनको निम्ति सुहाउँदो विषय हो भनेर के बाइबलले बताउँछ? मृत्युतर्फ धकेल्ने जीवनशैलीहरू के उचित हुन्? होइनन्। प्रेरित पावलजस्तै साँचो मसीहीहरू पनि मृत्युलाई “शत्रु[को]” रूपमा लिन्छन्। (१ कोरिन्थी १५:२६) मसीहीहरू मृत्युलाई आकर्षक र रमाइलो कुराको रूपमा लिंदैनन् बरु, परमेश्वर विरुद्ध पाप अनि विद्रोहको नतिजा हो भन्ठान्छन्। (रोमी ५:१२; ६:२३) मृत्यु कहिल्यै परमेश्वरको सुरुको उद्देश्यको भाग थिएन।
“मृत्यु[को]” कारण शैतान हो भनिन्छ। त्यो प्रत्यक्ष रूपमै मृत्युको निम्ति दोषी नभए तापनि त्यसलाई “हत्यारा” भनिएको छ किनभने त्यसले मानिसहरूलाई ठगेर, पाप गर्न लालायित गरेर, भ्रष्ट र खतरनाक जीवनशैली प्रवर्धन गरेर र पुरुष, स्त्री तथा बच्चाहरूको मन अनि हृदयमा समेत खराब विचारहरू भरेर मृत्युतर्फ धकेल्छ। (हिब्रू २:१४, १५; यूहन्ना ८:४४; २ कोरिन्थी ११:३; याकूब ४:१, २) तथापि, किन युवा जनहरू नै मुख्य तारो भएका छन्? हामीले तिनीहरूलाई मदत गर्न के गर्नसक्छौं? आउनुहोस्, हामी हेरौं।
[फुटनोट]
a यस समालोचनाअनुसार “डेथम्याच” गेम “खेल्ने मानिसहरूले नेटवर्क गरिएका कम्प्युटरहरूमा एकअर्कोलाई थ्री डाइमेनसन गेमहरूमा मार्नुपर्छ।”
[पृष्ठ ७-मा भएको चित्र]
“अघिअघिको पुस्ताभन्दा हाम्रो पुस्ता हिंसाको विषयमा अत्यन्तै भावशून्य भइसक्यो”