सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अन्टार्कटिका—समस्यामा परेको महाद्वीप

अन्टार्कटिका—समस्यामा परेको महाद्वीप

अन्टार्कटिका—समस्यामा परेको महाद्वीप

अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षबाट पृथ्वीमा हेर्दा हाम्रो ग्रहमा देखिने सबैभन्दा स्पष्ट कुरा, अन्टार्कटिकाको हिउँपत्र हो भनी अन्टार्कटिका: द लास्ट कन्टिनेन्ट नामक पुस्तक बताउँछ। यो “संसारको पींधमा अवस्थित एउटा ठूलो सेतो बत्तीजस्तै उज्यालो देखिन्छ” भनी अन्तरिक्ष यात्रीहरूले बताए।

अन्टार्कटिकामा झन्डै ३,००,००,००० क्युबिक किलोमिटर हिउँ हुने हुँदा यसलाई अत्यन्तै धेरै हिउँ उत्पादन गर्ने महाद्वीप भने पनि हुन्छ। महाद्वीपमा हिउँ खस्छ र त्यो जम्मा भएर बरफको ढिस्को बन्छ। गुरुत्वाकर्षणले गर्दा बरफ बिस्तारै समुद्रीतटतिर बग्छ अनि त्यहाँबाट समुद्रमा हराएर विशाल बरफका तख्ताहरू बन्छन्‌।—पृष्ठ १८ को पेटी हेर्नुहोस्‌।

सानो हुँदै गएका आइस शेल्फहरू

तथापि, हालैका वर्षहरूमा आइस शेल्फहरू तीव्र गतिमा पग्लिरहेको हुँदा यसको संख्या घट्‌दै जानुका साथै कतिपय त नामेट भएका छन्‌। सन्‌ १९९५ मा १,००० किलोमिटर लामो लार्सेन आइस शेल्फबाट १,००० वर्ग किलोमिटर अंश टुक्रियो र हजारौं स-साना हिमशिला बने भनी एउटा रिपोर्ट बताउँछ।

घट्‌दो हिउँले सबैभन्दा प्रभावित क्षेत्रचाहिं अन्टार्कटिका महाद्वीप हो। यो एन्डीज पर्वतमालाकै भाग हो र यो अंग्रेजी अक्षर, एस आकारको प्रायद्वीपमा गत ५० वर्षभित्र २.५ डिग्री सेल्सियस तापक्रम वृद्धि भएको छ। यसले गर्दा, कुनै समय हिउँले घेरिएको जेम्स रस टापु अहिले परिक्रमा गर्न सकिन्छ। हिउँको घट्‌दो परिमाणले त्यहाँ पाइने वनस्पतिमा निकै वृद्धि भएको छ।

अन्टार्कटिक प्रायद्वीपमा मात्र यो पग्लने प्रक्रिया भएको हुँदा कोही कोही वैज्ञानिक यसलाई विश्‍व तापक्रम बढेको संकेत भन्‍न मिल्दैन भनेर विश्‍वस्त छन्‌। तथापि, एउटा नर्वेली अध्ययनअनुसार आर्कटिकको हिउँ पनि घट्‌दैछ। (उत्तरी ध्रुव जमिनको ढिस्कोमा नभएको हुँदा आर्कटिकको प्रायजसो हिउँ समुद्रमा जमेको पानी हो।) उक्‍त अध्ययनअनुसार यी सबै परिवर्तनहरू विश्‍व तापक्रम बढ्‌ने प्रक्रियासित मिल्दोजुल्दो छ।

तर अन्टार्कटिकामा तापक्रम घटबढको प्रभाव मात्र देखा परेको होइन। भनिन्छ, महाद्वीपले “विश्‍व तापक्रममा अत्यन्तै असर पार्छ।” यदि त्यसो हो भने, यो महाद्वीपमा हुने परिवर्तनले भावी तापक्रम चक्रलाई असर गर्नसक्छ।

साथै, अन्टार्कटिकामाथि वायुमण्डलको ओजोन तहमा युरोपभन्दा दुई गुणा ठूलो प्वाल परेको छ। आँखा बिगार्ने र छालाको क्यान्सर हुने हानिकारक अल्ट्राभाइलेट विकिरणलाई ओजोन अर्थात्‌ एक प्रकारको अक्सिजनले रोक्छ। विकिरण बढिरहेको हुँदा अन्टार्कटिकाका अन्वेषकहरूले छालालाई घामबाट बचाउनुपर्छ र आँखाको जतन गर्न विशेष प्रकारको सुरक्षात्मक पत्र भएको कालो चश्‍मा लगाउनुपर्छ। अन्टार्कटिकाको मौसमअनुसार वन्यजन्तुमाथि कत्तिको प्रभाव पर्नेछ, त्यो समयले बताउनेछ।

नाजुक महाद्वीप—बिस्तारै टेक्नुहोस्‌

यो उपशीर्षक अन्टार्कटिकामा आउने आगन्तुकहरूको लागि उपयुक्‍त हुनसक्छ। किन? अस्ट्रेलियन अन्टार्कटिक डिभिजनअनुसार यसका थुप्रै कारण छन्‌। पहिलो हो, अन्टार्कटिकाको आधारभूत पर्यावरणीय सम्बन्धले गर्दा यहाँको वातावरणलाई सानोतिनो परिवर्तनले पनि तुरुन्तै असर गरिहाल्छ। दोस्रो हो, यहाँ वनस्पति हुर्कन एकदमै धेरै समय लाग्ने हुँदा कसैले दस वर्षअघि लेउमा टेकेको छाप अझसम्म ताजै रहनसक्छ। क्षतिग्रस्त वा कमजोर बोटबिरुवाहरू अन्टार्कटिकाको कडा बतासको सिकार हुन्छन्‌ र यस्तो बतासले सारा वनस्पति खत्तम पार्नसक्छ। तेस्रो हो, कठांग्रिने जाडोले गर्दा कुहिएका वनस्पति माटोमा मिसिन पनि दशकौं लाग्नसक्छ। चौथो हो, मानिसहरूले चालै नपाइकन सूक्ष्म प्राणीहरू यस निर्जन र नाजुक महाद्वीपमा ल्याउन सक्छन्‌। अन्तमा, पर्यटक तथा वैज्ञानिकहरू प्रायजसो घुम्न मन पराउने ठाउँ पनि समुद्रीतट नै हुन्‌ र वन्यजन्तु तथा वनस्पति हुर्कन अनुकूल इलाका यही हो। यहाँको जमिनको २ प्रतिशत भाग मात्र यस्तो इलाका भएको हुँदा अन्टार्कटिकामा खचाखच मानिसहरू हुने सम्भावना हुनुको कारण बुझ्न सक्छौं। अतः प्रश्‍न उठ्‌छ, यो विशाल महाद्वीपमाथि कसले निगरानी राख्ने?

अन्टार्कटिकामाथि कसको आधिपत्य छ?

अन्टार्कटिकाको स-साना भागमाथि सातवटा देशले दाबी गरे तापनि यो सिंगो महाद्वीपमाथि कसैको सार्वभौमिकता वा अधिकार छैन। “अन्टार्कटिका, अन्तरराष्ट्रिय सम्झौताबाट नियन्त्रित एक मात्र महाद्वीप हो” भनी अस्ट्रेलियन अन्टार्कटिक डिभिजन बताउँछ।

अन्टार्कटिक सन्धि भनिने यो सम्झौतामा १२ वटा सरकारले हस्ताक्षर गरेको छ र यो जून २३, १९६१ मा लागू गरियो। त्यस बेलादेखि यो सम्झौतामा सहभागी हुने राष्ट्रहरूको संख्या ४० भन्दा बढी भएको छ। यो सन्धिको उद्देश्‍य “सम्पूर्ण मानवजातिको हितलाई ध्यानमा राख्दै अन्टार्कटिका सधैं शान्तिमय उद्देश्‍यको लागि प्रयोग होस्‌ र यो अन्तरराष्ट्रिय मतभेद वा विभाजनको कारण नहोस्‌” भन्‍ने हो।

जनवरी १९९८ मा एनभाइरमेन्टल प्रोटेक्शन प्रोटोकल टु द अन्टार्कटिक ट्रिटी कानुन बन्यो। यो प्रोटोकलले अन्टार्कटिकामा कम्तीमा ५० वर्षको लागि कुनै पनि प्रकारको खनिज पदार्थ निकाल्न निषेध गर्छ। साथै, यसले यो महाद्वीप र यसमा निर्भर जल इकोसिस्टम “शान्ति र विज्ञानको लागि सुरक्षित प्राकृतिक आरक्ष” घोषणा गरेको छ। यहाँ सैन्य गतिविधि, आणविक परीक्षण गर्न र आणविक वस्तुहरू फ्याँक्न निषेध छ। यहाँ कुकुरहरूले तान्‍ने एक प्रकारको गाडा तान्‍न पनि निषेधित छ।

अन्टार्कटिक सन्धिलाई “अन्तरराष्ट्रिय सहयोगको अनुपम उदाहरण” मानिन्छ। तथापि, यसको सार्वभौमिकतालगायत अरू थुप्रै समस्या सुल्झाउनु बाँकी नै छ। उदाहरणका लागि, यो सन्धि कसले लागू गराउने र कसरी? अनि अन्टार्कटिकाको नाजुक पर्यावरणलाई खतरामा पार्ने पर्यटन वृद्धिको सदस्य राष्ट्रहरूले कस्तो समाधान निकाल्नेछन्‌? हालैका वर्षहरूमा वर्षेनी ७,००० भन्दा बढी पर्यटकहरू जल मार्ग भएर अन्टार्कटिका पुगेका छन्‌ र यो संख्या दोब्बर हुन धेरै समय लाग्ने छैन।

भविष्यमा अन्य चुनौतीहरू पनि खडा हुनसक्छन्‌। जस्तै, वैज्ञानिकहरूले बहुमूल्य खनिज वा तेल भेट्टाए भने नि? के यो सन्धिले आर्थिक फाइदा उठाउने र फलतः हुने प्रदूषणलाई रोक्न सक्नेछ? सन्धिहरू हेरफेर गर्न सकिन्छ र अन्टार्कटिक सन्धिको कुरा पनि त्यही हो। भनौं भने, धारा १२ अनुसार यो सन्धिमा “हस्ताक्षर गर्ने भागीदारहरूको निर्विरोध सहमति भएमा कुनै पनि बेला छाँटकाँट वा हेरफेर गर्न सकिन्छ।”

निस्सन्देह, कुनै पनि सन्धिले अन्टार्कटिकालाई आधुनिक, औद्योगिक संसारको प्रवाहबाट रोक्न सक्दैन। मानव लोभ र अज्ञानताको व्यापक प्रभावले गर्दा ब्रह्‍माण्डको पींधमा अवस्थित सुन्दर “सेतो लाल्टिन” विनाश भयो भने कत्ति दुःखलाग्दो हुनेछ! फेरि, अन्टार्कटिकालाई बिगार्नु भनेको सम्पूर्ण मानवजातिमाथि नोक्सानी पुऱ्‍याउनु हो। अन्टार्कटिकाले हामीलाई सिकाउने पाठ यही हो, मानव शरीरजस्तै सम्पूर्ण पृथ्वीको एकअर्कासित अन्तरसम्बन्ध छ र यसलाई सृष्टिकर्ताले जीवन धान्‍न र हामीलाई आनन्द दिन ठीक सन्तुलनमा राख्नुभएको छ।

[पृष्ठ २०-मा भएको पेटी/चित्र]

आइस शेल्फ के हो?

अन्टार्कटिकाको भित्री भागमा हिउँ खसेर जम्मा भएको बरफका धारहरू तटवर्ती इलाकातिर बहन्छन्‌ र हालैको भू-उपग्रह राडारले देखाएअनुसार यीमध्ये कुनै कुनै वर्षेनी एक किलोमिटर टाढासम्म बहन्छन्‌। प्रायजसो यी बरफका धारहरू, सहायक नदीहरूजस्तै एउटामा गाभिएर विशाल बरफ नदी बन्छन्‌। समुद्रमा पुगेपछि यी जमेका नदीहरू पानीमा तैरेर आइस शेल्फ बन्छन्‌ र सबैभन्दा ठूलोचाहिं रस आइस शेल्फ (यहाँ देखाइएको छ) हो। कम्तीमा पनि सातवटा बरफको धार वा हिमनदीले बनिएको यो शेल्फ, फ्रान्स जत्रो छ र कुनै कुनै ठाउँमा एक किलोमिटर जति बाक्लो छ। a

सामान्य अवस्थामा आइस शेल्फहरू पग्लँदैनन्‌। हिमनदीहरूले बरफ थुपार्दै जाँदा मानौं, टुथपेस्टको ट्युबबाट टुथपेस्ट थिचेर निकालेझैं शेल्फको बाहिरी भाग समुद्रमा पर पर घचेटिन्छन्‌। अन्ततः ठूलो भाग टुक्रिएर छुट्टिन्छ (यो प्रक्रियालाई टुक्राउने भनिन्छ) र यी टुक्राहरू नै हिमशिला बन्छन्‌। कुनै कुनै हिमशिलाहरू “१३,००० वर्ग किलोमिटरसम्म हुन्छन्‌” भनी द वर्ल्ड बूक इन्साइक्लोपीडिया बताउँछ। तर हालैका वर्षहरूमा भने यो टुक्रिने प्रक्रिया द्रुत गतिमा भइरहेको छ र आइस शेल्फहरू खिइँदै गएकोले कुनै कुनै त अस्तित्वबाटै हराइसके। यस कारणले पनि समुद्रको सतह बढ्‌दैन। किन? किनभने आइस शेल्फहरू पानीमा तैरिंदा नै पानीको मात्रा प्रतिस्थापन गरिसकेको हुन्छ। तर अन्टार्कटिक महाद्वीपको बरफ पग्लन थाल्यो भने, समुद्रमा ३,००,००,००० क्युबिक किलोमिटर पानी खन्याए बराबर हुनेछ! समुद्री सतह ६५ मिटरमाथि उठ्‌नेछ!

[फुटनोट]

a आइस शेल्फ र बरफको ढिस्को एउटै होइन। बरफको ढिस्को, हिउँदमा समुद्रको पानीको माथिल्लो तह जमेर बन्‍ने बरफको पत्र हो। यी थुप्रै पत्र मिलेर बरफको ढिस्को बन्छ। गर्मी महिनामा भने यो पग्लन थाल्छ। हिमशिलाहरू यी बरफको ढिस्कोबाट होइन तर आइस शेल्फबाट बन्छन्‌।

[चित्र]

रस आइस शेल्फबाट टुक्रिएर बनिएको हिउँका विशाल ढिक्काहरू। यहाँको आइस शेल्फ समुद्री सतहभन्दा ६५ मिटरमाथि उठ्‌छ

[स्रोत]

Tui De Roy

[पृष्ठ २२-मा भएको चित्र]

वेडल सिलको बच्चा

[स्रोत]

Photo: Commander John Bortniak, NOAA Corps