सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एमसिएस बिरामीहरूलाई मदत गर्ने

एमसिएस बिरामीहरूलाई मदत गर्ने

एम सि एस बिरामीहरूलाई मदत गर्ने

कोलोन होस्‌ वा सफाइ सामग्री, रासायनिक पदार्थहरूको प्रतिकूल असर भोग्ने व्यक्‍तिहरूका लागि त्यसले चिकित्सा समस्या मात्र होइन सामाजिक समस्यासमेत खडा गर्छ। मानिसहरू स्वभावैले सामाजिक प्राणी हुन्‌ तर मल्टिपल केमिकल सेन्सिटिभिटी-ले (एम सि एस) गर्दा मित्रैलो, रमाइलो मानिसहरू पनि एकलकाँटे हुन बाध्य हुनसक्छन्‌। एम सि एस रोगी, शेली भन्छिन्‌, “मैले पहिला पहिला अनेकन्‌ स्वास्थ्य समस्याहरू भोगिसकें तर योजस्तो गाह्रो त कुनै भएन। सबैभन्दा पीडादायी कुरा, अरूबाट अलग्गै बस्नुपर्ने समस्या हो।”

दुःखको कुरा, एम सि एस रोगीहरूलाई कहिलेकाहीं अचम्मको मान्छेजस्तो ठानिन्छ। यसो हुनुको एउटा कारण हो, एम सि एस एउटा जटिल अवस्था हो र मानिसहरूले यसलाई राम्ररी बुझ्न सकेका छैनन्‌। तर एम सि एस-बारे राम्रो ज्ञान छैन भन्दैमा शंकालु हुनुपर्ने कारण पनि छैन। अमेरिकन फ्यामिली फिजिसियन नामक पत्रिका यसो भन्छ: “यी बिरामीहरूले साँच्चै दुःख भोगिरहेका हुन्छन्‌।”

एम सि एस रहस्यमय र राम्ररी बुझ्न नसकेको रोग भएकोले पीडितहरूलाई हेः दृष्टिले हेर्नुको साटो बुद्धिमान्‌ मानिसले हितोपदेश १८:१३ को यो सल्लाह पालन गर्नु बेस हुनेछ: “राम्ररी सुन्‍न अघिनै प्रश्‍नको जवाफ दिनु मूर्खता र अशिष्टता हो।” बिरामी सबैलाई कुनै पक्षपात नगरी ख्रीष्टले देखाउनुभएजस्तो प्रेम देखाउनु कत्ति बेस हो! चिकित्साजगत्‌ले भविष्यमा जस्तोसुकै प्रगति गरे तापनि त्यस्तो प्रेम देखाएकोमा कहिल्यै पछुताउनुपर्ने छैन।

ख्रीष्टले जस्तो प्रेम देखाउनुहोस्‌

ख्रीष्टले देखाउनुभएजस्तो प्रेम हरेक अवसर र आवश्‍यकतामा सुहाउने हिराजस्तै हो। कुनै साथीलाई एम सि एस लागेको छ भने ख्रीष्टको जस्तो प्रेमले समानुभूति देखाउन उत्प्रेरित गर्छ र तिनको अवस्थामा आफू भएको भए कस्तो हुन्थ्यो होला भनी सोच्न मदत गर्छ। साथै, प्रेमले “आफ्नै भलाई खोज्दैन” अथवा भनौं, आफ्नो अधिकारमा ढिपी कस्दैन। यसले अरूको हितलाई प्राथमिकता दिन्छ। यसले हामीलाई ‘धीरजी, सबै कुरा पत्याउन अनि सबै कुरा सहन’ मदत गर्छ। त्यस्तो प्रेम “कहिल्यै टल्दैन।”—१ कोरिन्थी १३:४-८.

मेरीलाई एम सि एस भएको छैन तर त्यो रोगबाट पीडित उनका साथीहरू छन्‌। मेरी लेख्छिन्‌, “मलाई अत्तर मन पर्छ तर एम सि एस भएका साथीहरूलाई भेट्‌न जाँदा म अत्तर छर्दिनँ।” मेरीले बेग्लै ढंगमा येशूको अनुकरण गर्दै वास्तवमा यसो भनेकी हुन्‌, “म मदत गर्न चाहन्छु।” (मर्कूस १:४१) ट्रेभरलाई सानै छँदा एम सि एस भयो। उनको आमा यसो भन्छिन्‌: “मेरा सहकर्मीहरूले मेरो छोराको अवस्थालाई बुझेर निकै छाँटकाँट गरेका छन्‌।” जोय, यहोवाको साक्षी हुन्‌ र अस्ट्रेलियामा बस्छिन्‌ अनि एम सि एस-बाट पीडित छिन्‌। उनी नियमित तवरमा भेट्‌न आउने साथीभाइ तथा नातेदारहरूले उनको समस्या बुझेको देखाउँदा निकै प्रोत्साहित हुन्छिन्‌।

अर्कोतर्फ, एम सि एस बिरामीहरू पनि अरूले अत्तर छरेर आयो भन्दैमा झर्कनु हुँदैन। यसअघिको लेखमा उल्लिखित अर्नेस्टले ब्यूँझनुहोस्‌!-लाई यसो भने: “हाम्रो बिरामी भनेको हामीले बोक्नुपर्ने एउटा बोझ हो। अरू मानिसहरूका आफ्नै समस्याहरू छन्‌, त्यसकारण हामीलाई मदत गर्दा त्यसको मूल्यांकन गर्छौं।” हो, अरूलाई जबरजस्ती मदत गर्न लगाउने होइन तर मदत गरूँ गरूँजस्तो लाग्ने वातावरण सृजना गर्नु सर्वोत्तम तरिका हो। लरेन भन्छिन्‌, “अत्तर वा कोलोन छरेको व्यक्‍तिले तपाईं बिसन्चोजस्तो देखिनुहुन्छ नि भन्यो भने, म उसलाई यस्तो जवाफ दिन्छु, ‘मलाई अत्तरको बासनाले सन्चो गर्दैन र आज त झनै चाप्यो।’ बुझ्ने मानिसहरूलाई त त्यति भने पुग्छ।” तर यसको मतलब तपाईं एम सि एस बिरामी हुनुहुन्छ भने, साथीभाइलाई मलाई तपाईंको मदत चाहिन्छ भन्‍नै हुँदैन भनेको होइन।

सकारात्मक पक्ष हेर्ने हो भने, माथि उल्लिखित पाम यसो लेख्छिन्‌: “अहिले हामीले भोग्नुपरेका समस्याहरू सबै क्षणिक हुन्‌।” पामले यी “क्षणिक” हुन्‌ भन्‍नुको कारण के हो? किनभने तिनको बाइबल आधारित आशाअनुसार परमेश्‍वरको राज्यले पृथ्वीबाट सारा दुःखकष्ट चाँडै हटाउनेछ। यसले, एकदमै तन्दुरुस्त मानिसहरूले पनि एक न एक दिन भोग्नैपर्ने मृत्युसमेत हटाउनेछ।—दानियल २:४४; प्रकाश २१:३, ४.

तर त्यतिञ्जेल, अहिले कुनै उपचार नभएको कारण बिरामी भइरहेका व्यक्‍तिहरूले परमेश्‍वरको राज्य शासनअन्तर्गत ‘त्यहाँका बासिन्दाहरूले, “म बिरामी परें!” ’ भन्‍नु नपर्ने अवस्था नआएसम्म त्यो समयको प्रतीक्षा गर्न सक्छन्‌। (यशैया ३३:२४) अहिले भोग्नुपर्ने जस्तोसुकै परीक्षाहरू येशूले जस्तै सहौं र हाम्रोसामु राखिएको इनाममा ध्यान केन्द्रित गर्न सकौं।—हिब्रू १२:२; याकूब १:२-४.

[पृष्ठ ९-मा भएको पेटी/चित्र]

एकअर्कालाई प्रेम देखाउने

तपाईंको साथी वा नातेदार वा तपाईं स्वयम्‌ मल्टिपल केमिकल सेन्सिटिभिटी-ले (एम सि एस) पीडित हुनुहुन्छ भने, निम्न बाइबल सिद्धान्तहरू मदतकारी हुनसक्छन्‌:

“मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”मत्ती ७:१२.

“तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।”मत्ती २२:३९.

“प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं। तर दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन्‌ बढ़ता गरेर अर्ती दिंदै गरौं।” (हिब्रू १०:२४, २५) हामी सबैलाई आध्यात्मिक प्रोत्साहन चाहिन्छ र बिरामी हुँदा यसको झनै आवश्‍यकता पर्छ। एम सि एस भएका थुप्रै मसीहीहरू व्यक्‍तिगत तवरमा सभामा उपस्थित हुन प्रयास गर्नु एकदमै सराहनीय कुरा हो अनि गम्भीर बिरामी भोगिरहेका अरू कतिपय भने टेलिफोनद्वारा सभामा सामेल हुन्छन्‌। कुनै कुनै ठाउँमा, एम सि एस भएका मानिसहरूलाई राज्य भवनमा अत्तरको बासना नआउने अलग्गै ठाउँ छुट्याइएको हुन्छ। तर यो सधैं सम्भव हुँदैन वा व्यावहारिक नहुनसक्छ।

“भलाइ गर्न . . . नबिर्स, किनकि यस्तै बलिदानहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ।” (हिब्रू १३:१६) नबिर्सनुहोस्‌, भलाइ गर्न अक्सर व्यक्‍तिगत त्याग गर्नुपर्ने हुन्छ। के तपाईं एम सि एस रोगीको निम्ति त्याग गर्न तयार हुनुहुन्छ? अर्कोतर्फ, एम सि एस पीडितहरूले पनि अरूबाट अव्यावहारिक माग गर्नु हुँदैन। उदाहरणका लागि, मसीही प्राचीनहरूले अत्तर वा कोलोनको प्रयोगबारे नियम बनाउन सक्दैनन्‌ न त त्यसबारे सधैं घोषणा नै गर्न सक्छन्‌। साथै, भर्खरै चासो दिन थालेका वा आगन्तुकहरू अत्तर छर्केर मण्डलीका सभाहरूमा आउनसक्छन्‌ र हामी सबैलाई स्वागत गर्छौं। अत्तर छर्केकोमा हामी तिनीहरूलाई लाजमा वा अप्ठ्यारोमा पार्न अवश्‍य चाहँदैनौं।

“शान्तिको खोजी गरोस्‌ र त्यसको पछि लागोस्‌।” (१ पत्रुस ३:११, नयाँ संशोधित संस्करण) स्वास्थ्यसित सम्बन्धित कारणहरूले गर्दा मसीहीहरूले आफ्नो शान्ति गुमाउनु हुँदैन। याकूब ३:१७ भन्छ, ‘माथिबाट आउने ज्ञान मिलापी, कोमल, दयाले भरिएको हुन्छ।’ आफूलाई एम सि एस होस्‌ या नहोस्‌ मिलापी मानिसहरूले रासायनिक पदार्थहरू प्रयोग गर्ने वा नगर्ने सन्दर्भमा अचाक्ली वा अव्यावहारिक दृष्टिकोण राख्दैनन्‌। त्यस्तै गरी, ‘दयाले भरिएका’ मिलापी मानिसहरू अत्तर छर्कंदा अरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न जान्छ भने, आफ्नो अधिकारमा ढिपी कस्दैनन्‌। यसरी तिनीहरू “मिलापी” हुन र “मिलापमै” रहन खोजिरहेका छन्‌ भनी देखाउँछन्‌।—याकूब ३:१८.

अर्कोतर्फ, एम सि एस रोगी होस्‌ वा अरू कोही, अरट्ठो अनि अव्यावहारिक मनोवृत्तिले अरू मानिसहरूलाई आकर्षित गर्दैन। त्यस्तो मनोवृत्तिले कसैलाई फाइदा पुऱ्‍याउँदैन र परमेश्‍वरसितको सम्बन्धमा पनि हानि पुऱ्‍याउनसक्छ।—१ यूहन्‍ना ४:२०.

मसीहीहरूसित भने एउटा बहुमूल्य सहयोग छ। त्यो हो, यहोवाको आत्मा। यहोवाको आत्माको लागि सधैं बिन्ती गरिरहँदा तिनीहरूले यसका राम्रा फलहरू, विशेष गरी आपसमा प्रेम अर्थात्‌ “सिद्धताको गाँठो” बाँध्छन्‌। (कलस्सी ३:१४) यसको साथसाथै, यहोवाको आत्माले अरूमा पनि ख्रीष्टको जस्तै गुणहरू विकास गर्न मदत गर्छ।—गलाती ५:२२, २३.

[पृष्ठ १०-मा भएको चित्र]

सबैलाई जस्तै एम सि एस लागेका मानिसहरूलाई पनि साथी चाहिन्छ