सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नयाँ पलंग चाहिएको हो कि?

नयाँ पलंग चाहिएको हो कि?

नयाँ पलंग चाहिएको हो कि?

बेलाइतका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

के तपाईं रातभरि ओल्टी पल्टी गरेपछि मात्र बल्ल सुत्न सक्नुहुन्छ? अनि बिहान उठ्‌दा जीउ दुखेको अनि कक्रक्क परेको महसुस गर्नुहुन्छ? यदि त्यसो हो भने, पलंगको गडबडी हुनसक्छ।

यही पलंग तपाईंको मित्र वा शत्रु हुनसक्छ। तपाईं बस्नुहुने ठाउँमा पलंगमा सुत्ने चलन छ भने, आफ्नो जीवनको एक तिहाइ भाग तपाईंले यही पलंगमा बिताउनुहुन्छ तर पलंग सधैंभरि टिक्ने कुरा चाहिं होइन। त्यसोभए, के अहिले प्रयोग गरिरहनुभएको पलंग ठीकै छ?

तपाईंलाई नयाँ पलंग चाहिएको हो कि?

एउटा पलंग सामान्यतया दश वर्ष जति टिक्छ। मान्छेको वजन बढी छ भने, पलंग पनि अलि चाँडै बिग्रन सक्छ। यो कुरा पनि नबिर्सनुहोस्‌, उमेर ढल्कँदै जाँदा तपाईंको आवश्‍यकता र रुचिहरू पनि फरक हुन्छन्‌। नयाँ पलंग चाहिएको हो या होइन पत्ता लगाउन आफैलाई यो प्रश्‍न सोध्नुहोस्‌, ‘के बिहान उठ्‌दा मेरो ढाड दुख्ने र घाँटी कक्रक्क हुने गर्छ? के मेरो पलंग असाध्यै सानो छ? के पलंगको स्प्रिङले मलाई घोच्छ? पलंगमा कोल्टो फेर्दा चाइँचुइँ वा कऱ्‍याककुरुक गरेको आवाज सुन्छु? के म र मेरो पति/पत्नी चालै नपाई कोल्टो फेर्दै पलंगको बीचतिर पुग्छौं? के ओछ्यान सम्म नभई डसना कतै झोल्लिएको पो छ कि? के पलंगका खुट्टा तथा डन्डीहरू खिइसकेका छन्‌?’ यी प्रश्‍नहरूको जवाफबाट तपाईंले नयाँ पलंग किन्‍ने बेला भएको हो या होइन, थाह पाउन सक्नुहुन्छ।

राम्रो पलंग कस्तो हुन्छ?

राम्रो पलंग तपाईंको आवश्‍यकता र रुचिअनुसार आरामदायी हुन्छ। प्रायजसो पलंगमा डसना र त्यसलाई अडाउने फ्रेम हुन्छ तर आरामदायी हुनु र नहुनुमा डसनाको प्रमुख भुमिका छ। डसनाको विभिन्‍न भाग हुन्छ। पहिलो हो, डसनामा खोल लगाउने बलियो कपडा। त्यसपछि आउँछ, तपाईंलाई आड दिने र शरीरबाट निस्कने पसिनालाई सुक्न दिने गद्दा। तेस्रो हो, आड दिने दह्रो भाग अनि यसमा प्रायजसो कडा स्टिलको स्प्रिङ हुन्छ। भित्रबाट टेवा दिने साधनहरू विभिन्‍न प्रकारका हुन्छन्‌ तर सामान्यतया स्प्रिङ र स्प्रिङको तार जति मोटो हुन्छ, उति नै आरामदायी हुन्छ। आजकाल प्रायजसो पोल्युरिथेन वा ल्याटेक्स फोम प्रयोग गर्न थालिएको छ; यसबाट बनेको डसना, स्प्रिङको भन्दा हलुको हुन्छ।

तथापि, डसनाको पींध राम्रो छ भने मात्र त्यसै अनुसारको काम पनि गर्छ। कवच पलंगको डसना र फ्रेम प्रायजसो छुट्टाछुट्टै बिक्री गरिंदैन। यसको गहिरो, बाकसजस्तो पींधले ठूलो शक-अब्जर्भरको काम गर्छ र यसले गर्दा डसना गुम्सिन पाउँदैन र निकै लामो समयसम्म टिक्छ। अर्को विकल्प हो, पलंगको फ्रेम। यसको पींध मजबुत हुन्छ र तलतिर पनि खुला हुने हुँदा हावा खेल्न पाउँछ। दह्रो पींध मजबुत हुन्छ भने स्प्रिङबाट बनाइएको चाहिं लचकदार हुन्छन्‌।

सही पलंग छान्‍ने

पलंग किन्दा तपाईंले कुन कुरा विचार गर्नुपर्छ? कसैले चलाइसकेको पुरानो पलंगमा अरूको पसिना र छालाका पाप्राहरू हुन्छन्‌ अनि एलर्जी, दम वा छालाको रोग सार्ने स-साना धूलोका कणहरू हुनसक्छन्‌। यो स्वास्थ्य वा सुरक्षाको दृष्टिकोणले पनि उपयुक्‍त नहुन सक्छ।

नयाँ पलंग किन्‍ने तरखर गर्नुअघि मूल्य, स्वास्थ्य अवस्था अनि पलंगको साइज आदि स्पष्ट हुनुपर्छ। नाउँ चलेका पसलहरूमा जानुहोस्‌ र हतार नगर्नुहोस्‌ अनि प्रत्येक पलंग वा डसनाबारे जे जति जान्‍न चाहनुहुन्छ, सबै सोध्नुहोस्‌। प्रायजसो पलंगहरू महँगो हुने हुँदा हतार नगर्नुहोस्‌।

थाकेर लखतरान भएको बेला सही निर्णय गर्न गाह्रो हुनसक्छ। आरामदायी लुगा लगाउनुहोस्‌। पलंग आरामदायी हो कि होइन भनी जाँच्न नहिचकिचाउनुहोस्‌। आफ्नो कोट र जुत्ता खोलेर दुई चार मिनेट पलंगमा ढल्कनुहोस्‌। बेग्लाबेग्लै किसिमले ढल्कनुहोस्‌ र तपाईंको कुम, कम्मर र ढाडलाई कतिबेला सबैभन्दा सुविस्ता हुन्छ, त्यसमा ध्यान दिनुहोस्‌। तल दिइएको पेटी हेर्नुहोस्‌।

पलंगको हेरचाह

पलंगको राम्रो हेरचाह गर्दा अवश्‍य लामो समयसम्म टिक्छ। बिक्रेताको सल्लाह माग्नुहोस्‌ अनि उत्पादकले तयार पारेको स्याहारसम्भार निर्देशन पुस्तिका ध्यान दिएर पढ्‌नुहोस्‌। नयाँ पलंग घरमा ल्याउने बित्तिकै प्लास्टिकको खोल निकालिहाल्नुहोस्‌। प्लास्टिक झिक्यो भने ओसिने, ढुसी पर्ने वा कुहिने सम्भावना कम हुन्छ। केही थप सुझाउ यसप्रकार छन्‌।

● नयाँ स्प्रिङवाला डसना सुरु सुरुमा हरेक दुई हप्ता र पछि हरेक तीन तीन महिनामा पल्टाउनुहोस्‌ र तलको माथि फर्काउनुहोस्‌। यसो गर्दा गद्दा बस्छ र सबैतिर बराबर खुम्चिन्छ। तपाईंको ढाड दुख्ने समस्या छ भने फोमको डसना अलि आरामदायी हुनसक्छ किनभने यसलाई धेरै पटक पल्टाइरहनुपर्दैन।

● डसनालाई दोबार्ने, बेर्ने वा थिच्ने कहिल्यै नगर्नुहोस्‌। ह्‍याण्डलकै भरमा मात्र ओछ्यान नतान्‍नुहोस्‌ किनभने यसो गर्दा डसनाको खोल चाँडै बिग्रन्छ।

● हरेक बिहान कम्तीमा २० मिनेटपछि मात्र तन्‍नाले छोप्नुहोस्‌ र पलंगमा हावा खेल्न दिनुहोस्‌ अनि यसो गर्दा ओछ्यान पनि सुक्खा हुन पाउँछ।

● धुनु मिल्ने तन्‍नाले छोप्दा डसना चाँडै मैलो हुन पाउँदैन। डसना र फ्रेम दुवै ठाउँमा नियमित तवरले भ्याकुम गरेर धूलो निकाल्नुहोस्‌ अनि कुनै दाग छ भने, हल्का साबुन पानीले तुरुन्तै सफा गरिहाल्नुहोस्‌।

● सधैं डसनाको एउटै छेउमा मात्र बस्ने नगर्नुहोस्‌। तपाईंको पलंगमा केटाकेटी वा अरू कसैलाई पनि उफ्रन नदिनुहोस्‌।

तपाईंको पलंग भनेको पैसाको लगानी मात्र होइन। यो तपाईंको जीवनको एक तिहाइ भागको लगानी पनि हो र यसले बाँकी दुई तिहाइ भागमा उल्लेखनीय असर पार्नसक्छ। यस्तो उपयोगी साथीलाई बुद्धिमानीपूर्वक रोज्नुभयो र त्यसको राम्रो हेरचाह गर्नुभयो भने, त्यसले पनि तपाईंको राम्रो हेरचाह गर्नेछ।

[पृष्ठ २४-मा भएको पेटी]

तपाईंको लागि कुन पलंग ठीक होला ?

सुविस्ता र आड। फल्याकजस्तो कडा ओछ्यान मात्र राम्रो हुन्छ भन्‍ने छैन। भनौं भने, एकदमै कडा ओछ्यानले ढाड दुख्ने समस्यालाई झनै चर्काउँछ। तपाईंको शरीरलाई कुन सुविस्ता हुन्छ, त्यसैअनुसार निर्णय गर्नुहोस्‌। उत्तानो पर्नुहोस्‌। यसरी उत्तानो परेर सुत्नुहुँदा ढाडमुनि हात मजाले छिर्छ र सजिलै दायाँबायाँ फर्कन सक्नुहुन्छ भने यो ओछ्यान तपाईंलाई ठिक्क छ भन्‍न सकिन्छ। डसना राम्रो छ भने, छेउबाट पल्टनुहुँदा मेरुदण्ड सोझो हुन्छ। मोटो मान्छेलाई अलि मजबुत पलंग चाहिन्छ।

साइज। यताउता चल्न मिल्ने पलंग रोज्नुहोस्‌। दुई जना वयस्कले एउटै पलंग प्रयोग गर्ने हो भने, स्टाण्डर्ड साइज डबल बेडमा सुत्ने दुवै जनालाई कोक्रोमा सुत्ने बच्चालाई जत्तिकै पर्याप्त ठाउँ हुनुपर्छ।

जोडा मिल्ने। सम्भव भए, जोडा मिल्ने डसना र फ्रेम किन्‍नुहोस्‌। अनि यसो गर्दा तपाईंले अधिकतम सुविस्ता र आड पाउनुहुनेछ। पुरानो फ्रेमले नयाँ ओछ्यानलाई बिगार्नुको साथै यसको ग्यारेन्टीमा पनि फरक पार्नसक्छ।

मूल्य। तपाईंले पैसाअनुसारको सामान पाउनुहुन्छ। त्यसकारण, तपाईंको औकातले भ्याउने सबैभन्दा गुणस्तरीय पलंग किन्‍नुहोस्‌।

ठाउँ। ठाउँको कमी छ भने मर्फी बेड अथवा भित्ता वा दराजमा अट्‌ने पलंग किन्‍न सक्नुहुन्छ। अर्को विकल्प फुटन हो। यसमा कपासको तह तह हुन्छ र राती सुत्नुअघि भुइँमा ओछ्याउन मिल्छ। फुटन, कवचको रूपमा प्रयोग गर्न मिल्ने पलंगजस्तो गरेर पनि बजारमा बेच्ने गरिन्छ।

 स्वास्थ्य समस्या। साधारण पलंगमा अप्ठ्यारो छ भने, आफ्नो आवश्‍यकताअनुसार मिलाउन सकिने पलंग सुविधाजनक हुनसक्छ। वटर बेडले शरीरको सबै भागलाई समान टेवा पुऱ्‍याउँछ अनि हड्डीले नसा थिच्ने समस्या भोगिरहेकाहरूलाई पनि आरामदायी हुनसक्छ।

एलर्जी हुनेहरू। तपाईंलाई धूलो वा प्राकृतिक चीजबीजहरूको एलर्जी छ भने, यसको बदलामा अप्राकृतिक फाइबर वा फोम प्रयोग गर्न सक्नुहुन्छ। यो पनि नबिर्सनुहोस्‌, फ्रेम भएको पलंग वा वटर बेडमा एलर्जी गराउने तत्त्वहरू त्यति जम्मा हुँदैन।

वृद्धहरू। पलंगको छेउमा बस्नुहुँदा तपाईंको पैतालाले भुइँ छुनसक्ने किसिमको हुनुपर्छ। पलंगको छेउ मजबुत छ भने पलंगमा चढ्‌न र ओर्लन सजिलो हुन्छ।

[पृष्ठ २५-मा भएको पेटी]

सुरक्षाका सुझाउहरू

▪ आगोले नछुने लुगा लगाएर सुत्नुहोस्‌।

▪ आगो र हिटरलाई ओछ्यानबाट टाढै राख्न नबिर्सनुहोस्‌।

▪ पुरानो, डढेको दाग र थोत्रो तारहरू भएको इलेक्ट्रिक ब्लान्केटको प्रयोग गर्दा होसियार हुनुहोस्‌। ब्लान्केट चिसो छ भने कहिल्यै प्रयोग नगर्नुहोस्‌ र आफै सुक्न दिनुहोस्‌। ब्लान्केट प्रयोग गरिरहेको बेलामा ब्लान्केटमाथि गह्रौं मालतालहरू नराख्नुहोस्‌।

▪ उम्लेको पानी हट वटर ब्यागमा हालेर इलेक्ट्रिक ब्लान्केट र यो एकै चोटि प्रयोग नगर्नुहोस्‌। केटाकेटीहरू ओछ्यानमा पस्नुअघि हट वटर ब्याग झिक्न नबिर्सनुहोस्‌।

[पृष्ठ २५-मा भएको रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

डसनाको खोल

इँट आकारको टाँका

मसिनो टाँका

फुर्कावाल

गद्दाको तह

भित्री आड

फोम

कन्टिन्युअस स्प्रिङ

ओपन स्प्रिङ

पकेट स्प्रिङ

[स्रोत]

Reproduced by courtesy of the Sleep Council

[पृष्ठ २५-मा भएको चित्रको स्रोत]

Reproduced by courtesy of the Sleep Council