सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

मूर्तिहरूबाट प्रदूषण

चाडपर्वपछि मूर्तिहरूलाई नजिकैको खोलामा डुबाउने हिन्दुहरूको एउटा सामान्य प्रचलन हो। फूल वा वनस्पतिबाट तयार पारिएको रङले मूर्तिहरू पोत्दा यसले कुनै वातावरणीय समस्या खडा गरेको थिएन। तथापि, उत्पादकहरूले धेरै घनत्व भएको धातु र क्यान्सर कारक तत्त्वहरूले तयार पारिएको रङ लगाइएका हजारौं मूर्तिहरू खोला र तालहरूमा डुबाउँदा भने, भारतका कुनै कुनै ठाउँमा पानीको गम्भीर प्रदूषण हुन थाल्यो। पानीको प्रदूषण कम गर्न एउटा गाउँका बासिन्दाहरूले सयौं मूर्तिहरू जम्मा गरेर त्यसलाई अलग्गै एउटा ठाउँमा लगी चक्नाचूर पारे। डाउन टु अर्थ पत्रिकाले बताएअनुसार भारतको सबै ठाउँमा यसै गर्नुपर्छ अनि मूर्ति बनाउनेहरूले अप्राकृतिक रङ प्रयोग नगरेर परम्परागत रङ नै लगाउनुपर्छ। त्यही पत्रिका भन्छ, “अन्यथा, हिन्दुहरूले उपासना गर्ने नदीहरू तिनीहरूले नै उपासना गर्ने मूर्तिहरूबाट प्रदूषित हुन सक्छन्‌।”

मानिसले गर्दा भएको अनिकाल

“प्राकृतिक प्रकोपले भन्दा मानिसहरूको कारणले गर्दा भएको गृहयुद्ध र आर्थिक संकटले बढी अनिकाल निम्त्याएको छ” भनी संयुक्‍त राष्ट्र संघको खाद्यान्‍न तथा कृषि संगठन (एफ ए ओ) बताउँछ। यस खाद्यान्‍न संगठनको सह निर्देशक डा. हार्टविग डे हालेनले यसो भने: “सन्‌ १९८४ को तथ्यांक हेर्दा, मानिसहरूले गर्दा भएका विपत्तिहरूले उत्पन्‍न आपत्‌कालीन अनिकालहरू दश प्रतिशत मात्र थियो। अहिले, त्यो ५० प्रतिशत पुगेको छ।” हालको अनुमानअनुसार ३५ वटा मुलुकका ५.२ करोड मानिसहरू अनिकालको चपेटामा परेका छन्‌। त्यही रिपोर्ट अझ यसो भन्छ: “सन्‌ १९८४ मा अफ्रिकाको सहारा क्षेत्रमा भएको खडेरीदेखि यता यति धेरै मानिसहरूले अनिकाल कहिल्यै भोग्नुपरेको थिएन।”

बाह्‍य ग्रहहरूमा प्राणीहरू हुने सम्भावना न्यून

“गत केही दशकहरूमा थुप्रै खगोलविद्‌ले बाह्‍य ग्रहहरूमा पनि सभ्यताहरू छन्‌ र ती ताराहरूमाझ फैलिएको होला भन्‍ने धारणा राखेको पाइन्छ” भनी द न्यु योर्क टाइम्स लेख्छ। “यस्तो बाह्‍य ग्रहका प्राणीहरूसम्बन्धी धारणाले अनगिन्ती पुस्तक, चलचित्र तथा टेलिभिजन कार्यक्रमहरू भरिएका छन्‌ . . . त्यति मात्र होइन, यी बौद्धिक प्राणीहरूको रेडियो संकेतहरू खोज्ने प्रयासमा वैज्ञानिकहरूले विशाल एन्टेनाहरू ठड्याएर अनेकन्‌ अनुसन्धानहरू गरेका छन्‌।” त्यो खोज सम्भवतः असफल हुनेछ भनी रेर अर्थ पुस्तकका लेखक, दुई जना प्रतिष्ठित वैज्ञानिकहरू, डा. पिटर डि. वार्ड र डा. डनल्ड सि. ब्राउनली भन्छन्‌। तिनीहरू भन्छन्‌, खगोलशास्त्र, अवशेषशास्त्र तथा भूगर्भशास्त्रमा पत्ता लगाएका नयाँ कुराहरूले “पृथ्वीको संरचना र स्थायित्व एकदमै असामान्य” छ र अरू ठाउँका अवस्थाहरू जटिल मानव जीवनको लागि अनुपयुक्‍त छ भनी देखाउँछ। डा. वार्डले भने, “थुप्रैले मनमनै विचार गरेका कुराहरू हामीले खुलेआम भनेका छौं, जटिल जीवन विरलै छ।” डा. ब्राउनली थप यसो भन्छन्‌: “मानिसहरू सूर्य एउटा सामान्य तारा हो भन्छन्‌। त्यो सत्य होइन। ब्रह्‍माण्डको सबैजसो वातावरण प्राणीहरूको लागि अनुपयुक्‍त छ। अदनको बगैंचाजस्तो ठाउँ पृथ्वीमा मात्र प्राणीहरूको अस्तित्व हुनसक्छ।”

सहस्राब्दीको लागि बाँचेका

“यो कुरामा कुनै शंका छैन, गम्भीर बिमारी भोगिरहेका मानिसहरू कुनै उल्लेखनीय घटनामा सामेल हुनको लागि बाँच्न कटिबद्ध हुन्छन्‌” भनी सं.रा.अ., बेथेस्दा, मेरील्याण्डस्थित बूढ्यौलीसम्बन्धी राष्ट्रिय संस्थानका रिचर्ड सुजमान भन्छन्‌। “यो कसरी हुन्छ, रहस्यमय छ तर त्यो उल्लेखनीय घटना भने वास्तविकता हो।” सन्‌ २००० हेर्न मनमा संकल्प गरिसकेको हुँदा नयाँ वर्षको पहिलो हप्तामा औसतभन्दा बढी मानिसहरूको मृत्यु भयो भनी लण्डनको द गार्जियन रिपोर्ट गर्छ। गत वर्ष १९९९ को पहिलो हप्ताको तुलनामा बेलाइतमा यो वर्षको पहिलो हप्तामा, ६५ प्रतिशत बढी मानिसहरूको मृत्यु भयो अनि न्यु योर्क शहरको मृत्यु दरमा ५० प्रतिशत वृद्धि भयो। अन्तरराष्ट्रिय दीर्घायु केन्द्रका अध्यक्ष, रबर्ट बट्‌लरले भनेअनुसार यी अंकहरूले संसारभरिको अवस्था झल्काउँछ। तिनले थप यसो भने: “बाँच्ने संकल्प एकदमै प्रभावशाली हुनसक्छ।”

थुप्रै भाषामा बाइबल अनुवाद

“संसारमा सबैभन्दा बढी अनुवाद हुने पुस्तक बाइबल नै हो” भनी मेक्सिकन अखबार एक्सेल्सियर टिप्पणी गर्छ। जर्मन बाइबल सोसाइटीअनुसार १९९९ मा बाइबल थप २१ वटा भाषामा अनुवाद गरियो र अब बाइबलको केही अंश भए पनि २,२३३ भाषामा उपलब्ध छ। यसमध्ये “पुरानो नियम र नयाँ नियमको सम्पूर्ण भाग ३७१ वटा भाषामा अनुवाद भएको छ र यो संख्या १९९८ को भन्दा ५ वटा बढी हो।” यी सबै भाषाहरू कहाँका हुन्‌? अखबारले बताएअनुसार “सबैभन्दा बढी विविधता अफ्रिकामा पाइन्छ, त्यहाँ ६२७ वटा भाषा छन्‌, त्यसपछि एसियामा ५५३, अस्ट्रेलिया/प्रशान्तमा ३९६, ल्याटिन अमेरिका/क्यारेबियनमा ३८४, युरोपमा १९७ र संयुक्‍त राज्य अमेरिकामा ७३ छ।” तर अझै पनि, “बाइबल पृथ्वीमा बोलिने आधा भाषाहरूमा पनि अनुवाद भइसकेको छैन।” किन? किनभने ती भाषाहरू बोल्ने मानिसहरूको संख्या कम छ र त्यो भाषामा बाइबल अनुवाद गर्नु चानचुने काम होइन। साथै, थुप्रै मानिस दुइटा भाषा बोल्छन्‌ र बाइबल तिनीहरूले बोल्ने भाषामा प्रकाशित छैन भने पनि अर्को भाषामा पढ्‌न सक्छन्‌।