अन्तस्करणको कुरा
अन्तस्करणको कुरा
सन् १९४४ को उत्कृष्ट चलचित्र आर्सेनिक एण्ड ओल्ड लेस-मा आर्सेनिक मिसाएर निकै कडा पारिएको एल्डरबेरी मद्य पिउनेबित्तिकै थुप्रै वृद्ध मरेको दृश्य देखाइएको थियो। उक्त चलचित्रमा आर्सेनिक भनेको तुरुन्तै असर गरिहाल्ने एकदमै कडा विष हो भन्ने आम धारणालाई देखाइएको थियो। वास्तवमा, उक्त चलचित्रमा देखाइएको आकस्मिक मृत्यु आर्सेनिकले गर्दा होइन तर मद्यमा मिसाइएको स्ट्राइक्निन र साइनाइडले गर्दा भएको थियो।
“साधारणतया आर्सेनिकको विष त्यति कडा हुँदैन” भन्ने कुरा द न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिन-मा रबर्ट इ. गल्हर्ड लेख्छन्। तथापि, तिनी अझै यसो लेख्छन्, “दूषित पानी वा औद्योगिक प्रदूषणद्वारा फैलने आर्सेनिक विषको प्रभाव थुप्रै ठाउँमा गम्भीर चिन्ताको विषय भएको छ। आर्सेनिक विष लाग्ने व्यक्तिलाई छाला, मूत्राशय, फोक्सो तथा कलेजो आदिको क्यान्सर जस्ता थुप्रै रोग लाग्छ।”
उपरोक्त जानकारीलाई ध्यानमा राख्दा स्वास्थ्यकर्मीहरूले साधारणतया उपचारमा आर्सेनिक प्रयोग नगर्नुको कारण बुझ्न सक्छौं। तर क्यानाडाको यो उदाहरण ध्यान दिएर पढ्नुहोस्। उपचारका लागि रक्तक्षेपण अनि त्यसपछि आर्सेनिक प्रयोग गर्ने सुझाउ दिंदा डार्लीन नाउँ गरेकी बिरामी र तिनको उपचारमा संलग्न डाक्टर, नर्स तथा फार्मासिस्टहरूबीच अन्तस्करण बाझिंदा के भयो, विचार गर्नुहोस्। डार्लीन आफ्नो कथा यसरी सुनाउँछिन्।
“मे, १९९६ मा मलाई गम्भीर चोटपटक लाग्यो र रक्तस्राव भयो अनि गिजाहरूबाट अति रगत बग्यो। किङस्टन, ओन्टारियोस्थित मेरो उपचारमा संलग्न हेमाटोलोजिस्ट, डा. जोन म्याथुजले मलाई अक्यूट प्रोम्येलोसाइटिक ल्यूकेमिया (ए पि एल) भनिने अनौठो किसिमको क्यान्सर भएको पत्ता लगाए। हड्डीका मासीहरूलगायत थुप्रै परीक्षण पश्चात् डा. म्याथुजले ए पि एल भनेको के हो र यसको उपचार कसरी गरिन्छ भनी एकदमै राम्रोसित बताउनुभयो। सामान्य उपचारविधि त केमोथेरापी गर्नुलगायत रक्त फेर्नु पो रहेछ तर मेरो बाइबल प्रशिक्षित अन्तस्करणले मलाई रक्तक्षेपण गर्न दिएन।
“मेरो विचार बदल्ने प्रयास गर्न समय खेर फाल्नुको साटो ती डाक्टरहरूले बुद्धिमानीसाथ उपचारका अन्य विकल्पहरू खोज्न थाल्नुभयो। यो अर्को उपचारविधिमा भिटामिन ए को प्रयोग र केमोथेरापी थियो। तीन महिनासम्म मलाई ल्यूकेमियाले दुःख दिएन तर रोग फेरि पहिलेभन्दा चर्को किसिमले बल्झियो। मस्तिष्क सुजका कारण भएको टाउको दुखाइ असह्य थियो। यसबाहेक, मलाई औषधीले छुँदै छोएन। यतिखेर डाक्टरहरूले हामीलाई रक्तक्षेपणको अलावा कुनै विकल्प बाँकी नरहेको जानकारी दिए। म दुई हप्ताभन्दा बढी बाँच्दैन होला भनेर हामीलाई बताइयो।
“त्यसपछि, दुई दिनजति त साह्रै व्याकुल भयौं। अझै थुप्रै रक्तपरीक्षण गरिए, मेरो इच्छापत्र अनि अन्त्येष्टिको सम्बन्धमा वकिलसित पनि निकै पटक भेटघाट गरियो। यी कामकुरा भइरहँदा डा. म्याथुजले चीनमा ए पि एल-का बिरामीहरूको उपचारमा उपयोगी साबित भएको असामान्य उपचारविधिबारे हामीलाई जानकारी दिनुभयो। यो उपचारविधिबारे ब्लड अनि प्रोसिडिङस अफ द नेशनल एकाडेमी एफ साइन्सेज जस्ता मान्यता प्राप्त वैज्ञानिक पत्रपत्रिकाहरूमा रिपोर्ट गरिएको थियो। अनुसन्धानको
क्रममा उक्त डाक्टर तथा तिनका सहकर्मीले एउटा चिकित्सा पत्रिकामा यसो लेखिएको पढ्नु भएछ: ‘अक्यूट प्रोम्येलोसाइटिक ल्यूकेमियाको (ए पि एल) उपचार गर्दा विषको मात्रा कम गरेर नशाबाट आर्सेनिक ट्राइअक्साइड दिंदा त्यसले काम गर्ने रहेछ भनेर थाह पाउँदा सायद थुप्रै छक्क पर्लान्।’“अब, हामीसामु दुइटा छनौट थिए—आफ्नो अन्तस्करण विपरीत रक्तक्षेपण स्वीकार्नु अथवा आर्सेनिक प्रयोग गरिने यो नयाँ अनि अप्रचलित उपचारविधि अपनाउनु। मैले आर्सेनिक उपचारविधि छानें। a यसले डाक्टर, नर्स तथा फार्मासिस्टहरूलगायत अस्पतालका अन्य कर्मचारीहरूको अन्तस्करणलाई खलबलाउला भनेर त मैले सोचेकी नै थिइनँ।
“आर्सेनिक ट्राइअक्साइड प्रयोग गर्न सकिन्छ वा सकिंदैन पक्का गर्न अस्पतालले सम्बन्धित निकायसित सम्पर्क गऱ्यो। त्यसपछि मात्र अस्पतालले यस्तो उपचारविधि प्रयोग गर्ने अनुमति पाउनसक्थ्यो। असल अन्तस्करणको कारण यसको सुरक्षाबारे प्रश्न गर्दै सुरुमा त फार्मासिस्ट सहयोग गर्न राजी भएनन्। मेरो उपचारमा संलग्न फिजिसियन द्वेय, डा. म्याथुज तथा डा. गालब्राइथले यस उपचारबारे विश्वसनीय तथा सकारात्मक तर्क प्रस्तुत गर्नु परेको थियो। अन्तमा, उपचारविधिबारे पर्याप्त प्रमाण दिइसकेपछि अस्पतालका सम्बन्धित निकायहरू तथा फार्मासिस्ट सहयोग गर्ने निष्कर्षमा पुगे।
“आर्सेनिक तयार पार्न र त्यसलाई तुरुन्तै शरीरमा हाल्नुपर्ने भएकोले निसंक्रमण गर्न फार्मासिस्ट सहमत भए। तर सामूहिक तवरमा नर्सहरूको अन्तस्करणले तिनीहरूलाई यो विवादास्पद तत्त्वले भरिएको औषधीको पोका झुन्ड्याएर मलाई नशामा दिन मानेन। डाक्टरहरूले थुप्रै युनिट झोल स्ट्याण्डमा झुन्डाएर मलाई दिंदा ती नर्सहरू त्यहीं ठिंग उभेर हेरिरहे। नर्सहरूले मलाई रक्तक्षेपण गर्न आग्रह गरे। म मर्छु भनेर तिनीहरू पक्का थिए। त्यसकारण, मैले उनीहरूलाई चिकित्सकको हैसियतले रगत नलिने मेरो अडानको आदर गर्न आग्रह गरें। मैले उनीहरूप्रतिको आफ्नो कृतज्ञता जाहेर गरें, उनीहरूलाई अँगालो हालें र उनीहरूलाई व्यक्तिगत भावनालाई एकातिर पन्छाउन आग्रह गरें। हामीले आपसमा सुमधुर सम्बन्ध कायम राख्यौं। आर्सेनिक ट्राइअक्साइड उपचारविधि छ महिनासम्म जारी रह्यो र मलाई सन्चो हुँदै गयो। त्यसपछि, डाक्टरहरू मेरो बाँकी उपचार घरैमा गर्न सहमत भए।
“मेरो घरैमा उपचार गर्ने प्रबन्ध मिलाइयो। नर्सहरू आ-आफ्नो पालोअनुसार घरैमा मलाई हेर्न आउँथे। फेरि अन्तस्करणको कुरा निस्कियो। तिनीहरू पनि मलाई त्यो झोल चढाउन अनिच्छुक थिए। सभाहरू, मान्यताप्राप्त चिकित्सा पत्रिकाहरूबाट लिइएका पत्र अनि लेखहरूले गर्दा कुरा अर्कै भयो। आखिरीमा नर्सहरू सहयोग गर्न राजी भए। सेप्टेम्बर १९९७ मा मेरो उपचार पूरा भयो।
“हो, मलाई लागेको जस्तो क्यान्सर फेरि फेरि बल्झिन्छ। यो एउटा टाइम बमजस्तै हो भनेर डाक्टर भन्छन्। तर मैले, उपासना गर्ने स्थानमा उपस्थित हुन छोडेकी छैन र कसैले पनि ‘म बिरामी परें’ भन्दै नभन्ने बाइबल आधारित आशा अरूसित बाँड्ने काममा व्यस्त रहँदै हरेक दिनको आनन्द उठाउन मैले सिकेकी छु।”—यशैया ३३:२४.
राम्रो स्वास्थ्योपचार उपलब्ध गराउने सम्बन्धमा चिकित्सा पेसामा संलग्न व्यक्तिहरूको जिम्मेवारी निकै गहन छ। उहाँहरू आफ्नो जिम्मेवारी गम्भीरतासाथ लिन्छन् र आफ्नो सीप अनि नवीनतम जानकारीको दायराभित्र रहेर विवेकशील हुँदै उपचार गर्छन्। जानकार वयस्क बिरामीको आस्था तथा अन्तस्करणप्रति लचकदार तथा संवेदनशील हुँदा डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूले निकै उपलब्धि हासिल गर्नसक्छन् भनेर यो अनुभवले प्रमाण दिन्छ।
[फुटनोट]
a यो अनुभव उल्लेख गरे तापनि ब्यूँझनुहोस्!-ले कुनै पनि किसिमको औषधी वा उपचारविधिलाई समर्थन गर्दैन।
[पृष्ठ २०-मा भएको चित्र]
डार्लीन शेप्पार्ड