सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चिनियाँ माटाका भाँडाहरू रंगाएर बिताएको ५० वर्ष

चिनियाँ माटाका भाँडाहरू रंगाएर बिताएको ५० वर्ष

चिनियाँ माटाका भाँडाहरू रंगाएर बिताएको ५० वर्ष

अल्फ्रेड लिप्पर्टको वृत्तान्तमा आधारित

मेरी मुमा म सिकर्मी बनेको चाहनुहुन्थ्यो। तर मलाई जर्मनीमा हाम्रो घर नजिकै माइजनस्थित चिनियाँ माटाका भाँडाहरूको हस्तकला कारखानामा काम गर्न दिनु भनेर मेरो गुरुले मेरी आमासित निकै आग्रह गर्नुभयो। मेरो गुरुले किन यत्तिको जिद्दी गर्नुभएको होला? चित्रकलाप्रति मेरो कौशलता उहाँको तीक्ष्ण नजरबाट उम्कन सकेन। म आमालाई माया गर्छु तर गुरुले मेरी आमालाई मनाउन सक्नुभएकोमा खुसी छु। यसरी, १४ वर्षको उमेरमा संसारका सबैभन्दा सुन्दर चिनियाँ माटाका भाँडाहरू कसरी रंगाउने, सिक्न थालें।

माइजनमा चिनियाँ माटाका भाँडाहरू बनाउन थालेको झन्डै ३०० वर्ष भइसक्यो। सक्कली चिनियाँ माटोको भाँडा बनाउने युरोपको पहिलो कारखाना सन्‌ १७१० मा यहाँ स्थापना भएको थियो। करिब ३० वर्षपछि उक्‍त कारखानाले, नौजवानहरूले चिनियाँ माटाका भाँडा रंगाउन सिकोस्‌ भनेर एउटा स्कूल स्थापित गऱ्‍यो। यो स्कूल अहिलेसम्म पनि खुला छ र यसलाई माइजन पोर्सेलिन म्यानुफ्याक्टोरीले सञ्चालन गर्छ। पोर्सेलिन चित्रकारको रूपमा पहिलो पटक डराउँदै बुरुस चलाएको पनि त्यहीं हो।

त्यही स्कूलमा मैले फूल, रूख, जनावर तथा चराचुरुंगीको चित्र कोर्दा र रंग भर्दा स-साना विवरणहरू पनि कोर्न सिकें। यस अध्ययनले मेरो कामको निम्ति जग बसाल्यो।

टल्केको वा नटल्केको?

चिनियाँ माटोको भाँडा भनेको पारदर्शी सेरामिक हो र यसलाई मुख्यतया दुई तरिकामा रंगाउन सकिन्छ। सेरामिकलाई टल्काउनअघि रंग भर्न सकिन्छ। तर नटल्काएको चिनियाँ माटोको भाँडामा स-साना प्वालहरू हुने भएकोले रंग सोस्छ। त्यसकारण, अत्यन्तै एकाग्रचित्त भएर गर्नुपर्छ किनभने गल्ती भइहालेमा प्रायजसो सच्याउन सकिन्‍न। अर्कोतर्फ, चिनियाँ माटाका भाँडा टल्काइसकेपछि रंग भर्न सकिन्छ। यसप्रकार, फूलमा रंग भर्नु मेरो विशेषता भयो। यसमा रंग भर्नु मात्र होइन तर पोर्सलिनका भाँडाहरूमा फूलका अलग अलग थुँगाका बुट्टाहरू कोर्नु पनि समावेश छ। यसरी चित्रकारले आफ्नो मनलाई यता उता नडुलाई एकाग्रचित्तको भई आफ्नै परिकल्पनामा सुन्दर आकृतिहरू कोर्न सिक्छ।

वर्षौंसम्म फूलका थुँगाहरू कोर्ने र रंग भर्ने गरेपछि अन्तमा मैले सबैभन्दा गाह्रो काम अर्थात्‌ जीवित प्राणीहरूको चित्र कोर्ने प्रयास गरें। सुरुमा मैले जनावर तथा चराचुरुंगीहरूको चित्र कोर्न सिकेको बल्ल काममा आउन थाल्यो।

रोमाञ्चकारी चुनौती

जनावर, माछा तथा चराचुरुंगीहरूको चित्र कोर्दा ती प्रत्येक प्राणी, फूल र रूखजस्तो अचल नभई जीवित देखिनुपर्ने भएकोले यो एकदमै रोमाञ्चकारी चुनौती हो। आफूले कोर्न लागेको जनावर अनि चराचुरुंगीको शरीरको संरचना तथा बानीबेहोराबारे केही जानकारी हुनुपर्छ। उदाहरणका लागि, सिकार गरिरहेका जनावरहरूको चित्र कोर्दा ठूलठूला सिङ भएका हरिणहरूको थुप्रै दृश्‍य पनि कोरेको छु।

जनावरहरूको आनीबानी थाह पाउने सबैभन्दा राम्रो तरिका व्यक्‍तिगत अवलोकन हो। केही वर्षअघि मैले थरीथरीका माछाको चित्रहरू कोर्ने योजना बनाउँदा एउटा अक्वेरियम किनेर त्यसमा किसिम किसिमका माछाहरू राखें। मेरी पत्नी र म घण्टौंघण्टा अक्वेरियमअगाडि बस्थ्यौं र प्रत्येक माछाको चाल तथा बानी अवलोकन गर्थ्यौं। माछाहरूलाई राम्ररी चिनिसकेपछि मात्र मैले ती चित्रमा उतार्न थालें।

राम्रो चित्रकारमा हुनुपर्ने गुणहरू के हुन्‌?

साथीहरू मलाई कहिलेकाहीं चिनियाँ माटाका भाँडाको राम्रो चित्रकार कसलाई मान्‍न सकिन्छ भनेर सोध्छन्‌। स्पष्ट छ, चित्रकारसित कला, तीक्ष्ण आँखा हुनुपर्छ भने रंग भर्दा हात नकाँपी भर्नसक्ने अनि सरसर चल्ने दृढ हात हुनु आवश्‍यक छ। तर त्यति मात्र भएर पुग्दैन। सफल कलाकार हुन आफूप्रति, आफ्नो कामप्रति र अरू मानिसहरूप्रति पनि असल मनोवृत्ति हुनैपर्छ। असल चित्रकारले आफ्नो सीप खार्न कडा परिश्रम गर्छ। आफ्नो सीपलाई तिखार्दै लैजानुपर्छ अन्यथा बेकाम हुन्छ भनेर उसलाई थाह छ। अरूको कुरा सुन्‍ने र सुझाउ मान्‍ने भएको हुँदा उसले सधैं सिकिरहेको हुन्छ।

अन्तिम बुँदा हो, अनुभवी कलाकार आफ्नो ग्राहकको चाहनाप्रति सजग हुन्छ। हातैले बनाइएका चिनियाँ माटाका भाँडा किन्‍ने मानिसहरू ती भाँडाहरू केही समय प्रयोग गरेपछि फ्याँकेर फेरि अर्को नयाँ भाँडाहरू किन्‍ने मानिसहरू होइनन्‌। यस्ता ग्राहकहरू कलात्मक, संस्कृति झल्काउने अथवा आकर्षक, मनलाई आनन्द दिने अनि जीवनलाई रमाइलो बनाउने सामान खोज्छन्‌। अनि ग्राहकका यी चाहनाहरू तृप्त पार्न पाउँदा चित्रकार खुसी हुन्छ।

चित्रले परमेश्‍वरमाथि विश्‍वास गर्न प्रेरित गर्छ

चित्रकारको रूपमा मेरो पेसाले मलाई बाइबल गहिरिएर केलाउन र परमेश्‍वरमाथि बलियो विश्‍वास कायम राख्न प्रेरित गऱ्‍यो। कसरी? कहिलेकाहीं मैले चराचुरुंगी विशेषज्ञहरूसित पनि काम गरेर तिनीहरूले तयार पारिरहेका किताबका लागि चित्रहरू कोरेको छु। यस्ता चित्रहरू कोर्न थाल्दा म विकासवादमा विश्‍वास गर्थें। तर थुप्रै लेखकसित नजिकिएर काम गर्दा जीवनको सुरुआतबारे थुप्रै वार्तालाप भए। अनि यस्ता वार्तालापहरूले मेरो दृष्टिकोण परिवर्तन गऱ्‍यो।

सबै विशेषज्ञहरूले विकासवादमा विश्‍वास गर्ने भए तापनि तिनीहरू प्रत्येकको आ-आफ्नै सिद्धान्त भएको अनि ती सिद्धान्तहरू अक्सर आपसमा बाझिएको देखेर म अलमल्लमा परें। मैले जानेबुझेअनुसार विकासवादको सिद्धान्तमा कुनै एकमत थिएन। अतः विकासवादको सम्बन्धमा विशेषज्ञहरू त एकमतमा आउनसक्दैनन्‌ भने अरूको त के कुरा भन्‍ने निष्कर्षमा म आएँ। फलतः विकासवादमाथि मेरो चासो मऱ्‍यो। पृथ्वीमा जीवनको सुरुआतबारे विकासवादको एक मात्र विकल्प सृष्टि हो। तबदेखि मैले सृष्टिकर्तामाथि विश्‍वास गर्न थालें।

मानिसहरूले मेरो कामबाट आनन्द उठाएकोमा म साह्रै खुसी छु र यसले मलाई ठूलो सन्तुष्टि दिन्छ। चित्रकारीप्रतिको मेरो लगाव अनि चिनियाँ माटाका भाँडाप्रतिको मेरो माया कहिल्यै कम हुनेछैन।

[पृष्ठ १७-मा भएको चित्रको स्रोत]

पृष्ठ १६ अनि १७ का चित्रहरू: Mit freundlicher Genehmigung der Staatlichen Porzellan-Manufaktur Meissen GmbH