“जंगलमा बस्ने अत्यन्तै सुन्दर प्राणी”
“जंगलमा बस्ने अत्यन्तै सुन्दर प्राणी”
स्वीडेनका ब्यूँझनुहोस्! संवाददाताद्वारा
जून महिनाको एकदिन मैले त्यसलाई जीवनमा पहिलोपटक देखें। यहाँ कोही कोही त्यसलाई “अति सुन्दर जंगल निवासी” भन्दा रहेछन्। यो ठूलो खरानी रंगको उल्लू हो र यसलाई कहिलेकाहीं लापल्याण्ड उल्लू पनि भनिन्छ।
यो आकर्षक विशाल उल्लू फिनल्याण्डको कुनै कुनै भाग तथा उत्तरी स्वीडेन अनि पूर्वतिर साइबेरिया, अलास्का र क्यानाडामा पनि पाइएको छ। यो लुकेर बस्ने भएकोले यसको गुँड कहाँ छ तपाईंलाई थाह छैन भने यसलाई भेट्टाउन गाह्रो पर्छ। गुँड भेट्टाइ सक्नुभएपछि यो उल्लू डरछेरुवा रहेनछ भनेर तपाईंले थाह पाउनुहुनेछ।
सिकारीको अध्ययन
आहार खोज्न हिंडेको छिरबिरे भाले लापल्याण्ड उल्लूको मैले राम्ररी अध्ययन गर्ने मौका पाएँ। ऊ एक्कासी रूखको हाँगाबाट भुर्र उडेर मुसा समात्न खोज्थ्यो। के उसले आफ्नो सिकार भेट्टायो? किन नभेट्टाउनु? उसले आफ्ना विशाल पखेटाहरू फैलाएर कावा खाँदा त्यसको पन्जामा मैले सानो मुसा झुन्डिएको स्पष्टै देखें। यो उल्लूले आफ्नो पखेटा फैलाउँदा पखेटाको एक टुप्पोदेखि अर्को टुप्पोसम्म १४० सेन्टिमिटर हुँदो रहेछ।
अन्य उल्लूहरूले जस्तो यो लापल्याण्ड उल्लूले वर्षेनी अण्डा पार्दैन। यो विशाल उल्लूले स-साना मुसाजस्ता जन्तुहरू मात्र खाने भएकोले केही वर्ष यी
खाद्यान्न आपूर्ति कम हुँदा यी उल्लूहरूले पटक्कै अण्डा पार्दैनन्। अनि खाद्यान्न आपूर्ति प्रशस्त भएका वर्षहरूमा चाहिं प्रत्येक गुँडमा उल्लूका चार वा त्यसभन्दा बढी बचेराहरू हुन्छन्।भाले रोज्नु
वसन्तऋतु उल्लूहरूको भाले पोथी खोज्ने समय हो र पोथी उल्लूले होसियारीसाथ भाले रोज्छिन्। मानिसहरूले प्रायजसो रूप हेरेर जोडी रोज्छन् तर पोथी उल्लूले त्यसो गर्दैन। केही पक्षीविद्हरूले गरेको अध्ययनअनुसार भालेले आफू कुशल सिकारी हो भनेर देखाउनुपर्छ। परिवार बसाल्ने योजना गर्नुअघि भालेले पोथीको निम्ति खाना जुटाउनुपर्छ।
भालेले थुप्रै मुसा समातेर राम्ररी “पालनपोषण” गर्नसक्ने देखियो भने उसले पोथीको लागि ल्याइदिएको खानाले गर्दा पोथीको जीउ लाग्न थाल्छ। अनि यो बढेको तौल पोथीले कतिवटा अण्डा पार्नसक्छे, त्यसको संकेत हो।
अब, सिकार खोज्ने सम्पूर्ण जिम्मेवारी भालेको हो र यसका लागि निकै मेहनत गर्नुपर्ने हुन्छ। पोथीको सारा ध्यान अण्डा पार्ने र यी बहुमूल्य साधनहरूको हेरचाह गर्ने भएकोले तिनको अनुनयनले गर्दा भाले प्रोत्साहित हुन्छ।
गुँड पत्ता लगाउने
यो सुन्दर भाले घरीघरी मेरो माथिबाट सिकार लिएर गएको दूरबीनबाट देखें। बल्ल तिनीहरूको गुँड पत्ता लगाएँ। लापल्याण्ड उल्लूहरू आफ्नो गुँड बनाउँदैनन् तर, अक्सर जंगलमा भएका अन्य सिकार गर्न सकिने चराहरूले झाङमा बनाएको गुँड नै हत्याउँछन्। गुँड फेला पार्न सकिएन भने रूखका ठुटा वा टोड्कामा नै काम चलाउँछन्।
गुँडमा मैले दुइटा भुवादार स-साना बचेराहरू आँखा च्याति च्याति यताउता हेरिरहेको भेट्टाएँ। चीं चीं गर्दै तिनीहरू भोका आँखाहरूले नजिकै सतर्क भएर बसेकी आफ्नी आमालाई हेर्छन्। यतिखेर बचेराहरूको ज्यादै नजिक जानु कहिलेकाहीं एकदम खतरनाक हुनसक्छ। आमाले आफ्ना बचेराहरूलाई कुनै किसिमको खतरा आइपर्ने चाल पाउनेबित्तिकै आवाज ननिकालीकन उड्दै आफ्ना तीखा नंग्राहरूले हमला गर्न आउँछिन्। त्यसकारण, सतर्क हुँदै अलि टाढै बसेर उल्लूको अध्ययन गर्नु महत्त्वपूर्ण छ।
भोजन र तालिम
गुँडमा पुगेपछि भालेले आफ्ना नंग्राहरूमा बोकेको सिकार आफ्नो चुच्चोमा सार्छ र एउटा बचेरालाई दिन्छ। एउटा बचेरालाई खाना खुवाउँदा अर्को बचेरा एकदमै चीं चीं गर्दै कराउन थाल्छ।
अघाउञ्जेल खाना खाइसकेपछि बचेराले विचित्रको अनि हाँसउठ्दो व्यवहार देखाउन थाल्छ। भर्खरै मात्र चुलबुले अनि चनाखो देखिएको बचेरा अचानक रक्सीको मात लागेजस्तै हुन्छ! उसले भएभरको बल प्रयोग गरेर खाएको चीज पचाउन खोज्छ। अनि ऊ तुरुन्तै मुलायम तथा भुवादार भुत्लाहरूमा गुटमुटिन्छ। तर अर्को बचेरा आँखा खोलेर बिस्तारै चलमलाउन थाल्छ र होसमा आउँछ।
यो क्रम जून महिनाको बीचतिरसम्म चलिरहन्छ। त्यति बेलासम्म यी बचेराहरू चार हप्ताका हुन्छन् र माउको आवाज पछ्याउँदै पखेटा भ्याट् भ्याट् गर्न थाल्छन्। सुरुमा त तिनीहरू कुशलतासाथ रूख चढ्न थाल्छन्। किनकि जमिनको तुलनामा रूखमा छँदा तिनीहरूलाई अन्य प्राणीहरूले सिकार बनाउने खतरा त्यति हुँदैन।
समयमा, ती बचेराहरू एउटा हाँगाबाट अर्को हाँगामा भुर्रभुर्र गर्दै उड्न थाल्छन्। केही समयपछि तिनीहरू आफै उड्न अनि सिकार गर्न सक्ने हुन्छन्। अनि तिनीहरूको रूप पनि परिवर्तन हुन थाल्छ र त्यसपछि, तिनीहरूलाई पनि ‘जंगलमा बस्ने सुन्दर प्राणी’ भन्न सकिनेछ।
[पृष्ठ १८-मा भएको चित्रको स्रोतहरू]
© Joe McDonald
© Michael S. Quinton
[पृष्ठ १९-मा भएको चित्रको स्रोतहरू]
© Michael S. Quinton
© Michael S. Quinton