सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नांगो आँखाले देख्न नसक्ने कुराहरू

नांगो आँखाले देख्न नसक्ने कुराहरू

नांगो आँखाले देख्न नसक्ने कुराहरू

हावामा उडिरहेको स-साना कणहरू आँखाले देखिंदैनन्‌। तर सूर्यको किरण कोठाभित्र छिरेपछि पहिले नदेखिएका कुराहरू पनि देखिन थाल्छन्‌। सूर्यको किरणले गर्दा यी स-साना कणहरू प्रस्ट देखिन्छन्‌।

नांगो आँखाले हेर्दा सेतो वा रंगहीन देखिने प्रकाशको किरणलाई विचार गर्नुहोस्‌। पानीका कणहरूमा ठ्याक्क मिल्ने कोण बनाएर सूर्यको किरण पऱ्‍यो भने के हुन्छ? पानीले प्रिज्मको काम गर्छ र रंगीबिरंगी इन्द्रधनुष देखा पर्छ!

वास्तवमा, हाम्रो वरपरका वस्तुहरूको बेग्लाबेग्लै तरंग-दूरी छ र हाम्रो आँखाले देख्ने रंग यिनै हुन्‌। उदाहरणका लागि, हरियो घाँसले नै हरियो रंग निकाल्ने होइन तर यसले हरियोबाहेक बाँकी सबै तरंग-दूरीका रंगहरू सोस्छ। घाँसले हरियो तरंग-दूरी भने हाम्रो आँखामा प्रतिबिम्ब गर्छ। यसकारण, हाम्रो आँखाले घाँस हरियो देख्छ।

मानव-निर्मित उपकरणहरूको सहयोग

हाम्रो नांगो आँखाले देख्न नसक्ने थुप्रै कुरा, हालैका वर्षहरूमा भएका आधुनिक आविष्कारहरूले गर्दा देख्न सकिने भएका छन्‌। पानीको कणलाई साधारण माइक्रोस्कोपबाट हेर्दा यसमा अनेकन्‌ स-साना प्राणीहरू चलमलाइरहेको देखिन्छ। नांगो आँखाले हेर्दा चिप्लो अनि सम्म देखिने केश पनि खस्रोफुस्रो देखिन्छ। एकदमै शक्‍तिशाली माइक्रोस्कोपले एउटा सानो वस्तुलाई दश लाख गुणासम्म ठूलो बनाउनसक्छ र यो भनेको हुलाक टिकटलाई बढाएर सानो देशको आकार जत्रो बनाउनु हो!

अझै शक्‍तिशाली माइक्रोस्कोपहरू प्रयोग गरेर अनुसन्धानकर्ताहरूले कुनै पनि सतहको परमाणुको घेरासमेत हेर्न सक्ने भएका छन्‌। यसले गर्दा केही वर्षअघिसम्म मानिसहरूको आँखाले देख्नै नसक्ने कुराहरू पनि अब देख्न सक्ने भएका छन्‌।

अर्कोतर्फ, राती आकाशमा हेर्दा हामी ताराहरू देख्छौं। कतिवटा देख्छौं? नांगो आँखाले हेर्दा बढीमा केही हजारवटा मात्र देखौंला। तर झन्डै ४०० वर्षअघि टेलिस्कोपको आविष्कार भएदेखि मानिसहरूले थुप्रै ताराहरू देख्न सके। अनि १९२० को दशकमा माउन्ट विल्सन अबजर्भेटरीको शक्‍तिशाली टेलिस्कोपबाट हेर्दा थुप्रै आकाशगंगा देखिए र त्यसमा अनगिन्ती ताराहरू छन्‌। अहिले, मानव-निर्मित अत्याधुनिक उपकरण प्रयोग गरेर ब्रह्‍माण्डमा हेर्दा वैज्ञानिकहरूको अनुमानमा अरबौं तारामण्डलहरू छन्‌ र ती प्रत्येकमा खरबौं ताराहरू छन्‌!

अनि टेलिस्कोपबाट पत्ता लागेको अचम्मको कुरा के हो भने, आकाशगंगाका ताराहरू एकअर्काको नजिक देखिन्छन्‌ तर वास्तवमा तिनीहरू एकदमै टाढ-टाढा छन्‌। त्यसै गरी, नांगो आँखाले हेर्दा ठोस जस्तो देखिने पदार्थहरू पनि शक्‍तिशाली माइक्रोस्कोपले हेर्दा स-साना परमाणु रहेछन्‌ र तिनीहरूबीच निकै दूरी पाइयो।

अत्यन्तै सूक्ष्म

साधारण माइक्रोस्कोपबाट हेर्दा एकदमै सूक्ष्म थोपाजस्तो देखिने कणमा पनि लगभग दश अरब परमाणुहरू हुन्छन्‌! यद्यपि, यी परमाणुमा चारैतिर घुम्ने स-साना इलेक्ट्रोनहरू हुन्छन्‌ भनेर १८९७ मा पत्ता लाग्यो। परमाणुको केन्द्रमा इलेक्ट्रोनभन्दा ठूला कणहरू अर्थात्‌ न्युट्रोन र प्रोटोन हुन्छन्‌ भनेर समयको दौडान पत्ता लाग्यो। पृथ्वीमा पाइने ८८ प्रकारका परमाणु वा तत्त्व लगभग एउटै साइजका हुन्छन्‌ तर त्यसको वजन फरक फरक हुन्छ किनभने तत्त्वहरूअनुसार यी तीनवटा आधारभूत कणहरूको संख्या बेग्लाबेग्लै हुन्छन्‌।

हाइड्रोजन परमाणुमा एउटा मात्र इलेक्ट्रोन हुन्छ र यो एक सेकेन्डको प्रत्येक दश लाख सेकेन्डमा अरबौंपटक केन्द्रको वरिपरि फनफनी घुम्छ। प्रोटोन वा न्युट्रोन बराबरको पिण्ड बनाउन लगभग १,८४० वटा इलेक्ट्रोन चाहिन्छ। सिंगो परमाणुभन्दा प्रोटोन र न्युट्रोन लगभग १,००,००० गुणा सानो हुन्छ!

परमाणु कति शून्य हुन्छ भनी अनुमान लगाउन हाइड्रोजन परमाणुका इलेक्ट्रोनहरूको तुलनामा यसको केन्द्र कत्रो हुन्छ, कल्पना गर्नुहोस्‌। यो परमाणुको प्रोटोन टेनिस बल जत्रो छ भने यसको वरपर घुम्ने इलेक्ट्रोन लगभग ३ किलोमिटर टाढा हुन्छ!

इलेक्ट्रोन पत्ता लागेको शतवार्षिकी उत्सवमा एउटा यस्तो प्रतिवेदन प्रस्तुत गरियो: “आँखाले नदेख्ने र खासै साइज नभएको कुरामा कमैले मात्र खुसी व्यक्‍त गर्छन्‌ तर त्यसको वजन र विद्युतीय चार्ज हुन्छ अनि यो घुर्राजस्तै घुम्छ। . . . आजकल, हाम्रो आँखाले देख्नै नसक्ने कुराहरू पनि छन्‌ भन्‍ने कुरामा कसैले शंका गर्दैनन्‌।”

अझै सूक्ष्म वस्तुहरू

परमाणुहरूलाई तेज गति दिने उपकरणहरूले गर्दा कणहरू एकअर्कामा ठोकिन्छन्‌। फलतः वैज्ञानिकहरूले परमाणुको केन्द्रभित्र के के छ, पत्ता लगाउन सकेका छन्‌। फलस्वरूप, थुप्रै कणहरूको अचम्म अचम्मका नाउँहरू छन्‌। जस्तै, पोजिट्रोन, फोटोन, मेसोन, क्वार्क अनि ग्लुओन त केही उदाहरण मात्र हुन्‌। एकदमै शक्‍तिशाली माइक्रोस्कोपद्वारा पनि यी देख्न सकिंदैनन्‌। तर क्लाउड चेम्बर, बबल चेम्बर र सिन्टिलिएशन काउन्टरजस्ता उपकरणहरूमार्फत ती कणहरू पत्ता लगाउन सकिन्छ।

पहिले देख्न नसक्ने कुराहरू पनि अहिले अनुसन्धानकर्ताहरूले देख्न सक्ने भएका छन्‌। यस क्रममा तिनीहरूले गुरुत्वाकर्षण, इलेक्ट्रोम्याग्नेटिक शक्‍ति अनि एउटा “कमजोर” र अर्को “बलियो” शक्‍ति गरी दुइटा केन्द्रीय शक्‍तिलगायत जम्मा चारवटा आधारभूत शक्‍तिहरूको महत्त्व बुझेका छन्‌। कोही कोही वैज्ञानिक “सबथोकको सिद्धान्त” बुझ्ने धुनमा छन्‌ र तिनीहरूको विचारमा यसले आँखाले देख्न सक्ने सूक्ष्म पदार्थदेखि लिएर आँखाले देख्न नसक्ने अति सूक्ष्म पदार्थहरूलगायत ब्रह्‍माण्डका सबै कुरा बुझ्न मदत गर्नेछ।

नांगो आँखाले देख्न नसक्ने कुराहरू हेर्दा कस्तो पाठ सिक्न सक्छौं? तिनीहरूले सिकेका कुराहरूको आधारमा थुप्रै कस्तो निष्कर्षमा पुगेका छन्‌? यसपछिका लेखहरूले यी प्रश्‍नहरूको जवाफ दिनेछन्‌।

[पृष्ठ ३-मा भएको चित्र]

निकल परमाणु (माथि) र प्लाटिनम परमाणुको चित्र

[स्रोत]

Courtesy IBM Corporation, Research Division, Almaden Research Center