पाठकहरूका प्रतिक्रिया
पाठकहरूका प्रतिक्रिया
बीसौं शताब्दी जनवरी ८, २००० को अंक उत्कृष्ट थियो! विशेष गरी “२० औं शताब्दी—आमूल परिवर्तनहरूको युग” शीर्षक भएको श्रृंखलाबद्ध लेखहरूबाट मैले धेरै लाभ उठाएँ। यो धेरै जानकारीमूलक र चुस्त थियो। यसले यी अन्तिम दिनहरूमा आध्यात्मिक तवरमा झन् जागा रहने मेरो इच्छालाई जगाएको छ।
एम. भि., फिलिपिन्स
अपहरण “अपहरण—किन विश्वव्यापी डर”! विषयको श्रृंखलाबद्ध लेखहरूबाट मैले धेरै राम्रो सन्देश पाएँ। (डिसेम्बर २२, १९९९ [अंग्रेजी]) यो लेख ठीक डिसेम्बर २४ मा आयो जुन बेला संसारभरिका मानिसहरू इन्डियन एयरलायन्सको विमान अपहरण भएको जीवन्त नाटक हेरिरहेका थिए। तपाईंहरूले यस लेखमा दिनुभएको अपहरण नियन्त्रण गर्ने सुझाउहरू सबै अख्तियारवालाहरूले पढेर पालन गरोस् भन्ने मेरो इच्छा छ!
ए. एस., भारत
कोमाको सिकार मिचिको ओगावाको अनुभवको लागि धेरै धेरै धन्यवाद। (“परीक्षाहरू सहन आशाले थामिराखेको,” डिसेम्बर २२, १९९९ [अंग्रेजी]) तिनको श्रीमान् दुर्घटनामा पर्दा म पाँच दिनको मात्र थिएँ। तिनको श्रीमान् मेरो उमेर जत्तिकै अचेत अवस्थामा रहेको सोच्दा आङै सिरिंङ भयो! आफ्ना दुई छोराहरू हुर्काउन र यस्तो कष्टप्रद अवस्थामा पनि स्थिर रहन त तिनलाई साँच्चै यहोवाले नै मदत गरेको हुनुपर्छ।
एल. एन., संयुक्त राज्य
यस लेखले मेरो हृदय नै छोयो। म एक्लै बसिरहेकी छु र भर्खरै मात्र मलाई क्यान्सर भएको थाह पाएँ। यो लेख पढेपछि मिचिकोलाई अँगालो हालेर कठिनाइहरूका बावजूद यहोवाप्रति विश्वासी भइरहेकोमा धन्यवाद दिन मन लाग्यो। मेरो कुरा गर्ने हो भने, सुरुसुरुमा मलाई चमत्कार भए हुन्थ्यो जस्तो लाग्थ्यो। तर अहिले, मिचिको जस्तै म पनि यहोवाको इच्छा पूरा भएको चाहन्छु।
एम. एस., संयुक्त राज्य
रक्तविहीन औषधोपचार “रक्तविहीन औषधोपचार तथा शल्यक्रिया—बढ्दो माग” (अप्रिल ८, २०००) श्रृंखलाबद्ध लेखको लागि निकै अनुसन्धान गरिएको रहेछ। म नर्सिङ् स्कूलमा पढ्दैछु अनि मेरो एक जना साथी र शिक्षिकालाई मैले त्यो पत्रिका दिएँ। पहिला पहिला तिनीहरू दुवैले यहोवाका साक्षीहरूप्रति द्वेषभाव देखाएका थिए। तर तिनीहरू यी लेखहरूका साथै यहोवाका साक्षीहरूबारे थप जानकारीहरू पढेर खुसी भए।
आर. पि., स्वीट्जरल्याण्ड
मेरा दुई छोराछोरी १९९८ मा मोटर दुर्घटनामा परे। छोराको खुट्टा चक्नाचूरै भयो। मलाई रगत चाहिंदैन भनेर उसले बारम्बार दोहऱ्याइरहेको थियो! तर अस्पताल रक्तविहीन शल्यक्रिया गर्न असमर्थ थियो। उसलाई त्यहाँबाट अर्को अस्पतालमा पठाइयो तर त्यस अस्पतालका कर्मचारीहरू पनि उसको हेमाटोक्रेट ३५ नपुगुञ्जेल शल्यक्रिया गर्न इच्छुक भएनन्। (पछि यो घटेर ८.१ मा पुग्यो।) तिनीहरूले आफ्नो काममा कसैले हस्तक्षेप नगरोस् भन्ने मनोवृत्ति विकास गरे। मानौं, तिनीहरू उनको मृत्युलाई पर्खिरहेका थिए। तथापि, जसै तिनीहरूले खुट्टा उचालेर इरिथ्रोपोइटीन अनि अरू रक्तविहीन तरिकाहरू अपनाउन थाले उसको हेमाटोक्रेट बढेर ३५.८ पुग्यो! शल्यक्रिया त सफल भयो तर उपचारमा ढिलासुस्ती गरेको हुनाले उसलाई अपूरणीय क्षति पुग्यो। तसर्थ, हरेक डाक्टर, सर्जन र एनिस्थिजियोलोजीस्टहरूले यो लेख पढोस् भन्ने म चाहन्छु।
एल. एल., संयुक्त राज्य
थुप्रै डाक्टर यहोवाका साक्षीहरूलाई सहयोग गर्न इच्छुक छन् भन्ने कुरा थाह पाउँदा एकदमै सान्त्वनादायी लाग्यो। यो पत्रिका म तुरुन्तै आफ्नो डाक्टरलाई दिन लैजाँदैछु। तिनले यो पक्कै मूल्यांकन गर्नेछन्।
यु. एम., संयुक्त राज्य।
यो लेख मेरो शल्यक्रिया गर्ने समयमै आइपुग्यो। अत्यधिक रक्त बगेकोले मेरो रगत घटेको बेला मैले अस्पतालका कर्मचारीहरूलाई र मेरै परिवारका सदस्यहरूलाई समेत म किन रगत स्वीकार्दिनँ भन्ने बुझाउन यो पत्रिका देखाएँ। यहोवालाई धेरै धन्यवाद, म पूरै निको हुनसकें।
सी. बी., संयुक्त राज्य