सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मृत्युको “चुम्बन” विरुद्ध लड्‌ने

मृत्युको “चुम्बन” विरुद्ध लड्‌ने

मृत्युको “चुम्बन” विरुद्ध लड्‌ने

ब्राजिलका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

मध्यरातमा मस्त निदाइरहनुभएको बेला त्यो तपाईंको नजिक नजिक आउँछ। तपाईं त्यसको आवाजले ब्यूँझनुहुन्‍न। साँच्चै भनौं भने, त्यसले तपाईंलाई खतरनाक “चुम्बन” दिंदा पनि तपाईं फिटिक्क चल्नुहुन्‍न।

यो रातमा देखा पर्ने आक्रमणकारी एक प्रकारको गोब्रे कीरा हो। यसलाई चुम्बन कीरा पनि भनिन्छ र दक्षिण अमेरिकामा प्रशस्त पाइन्छ। यो कीराले तपाईंको शरीरबाट विस्तारै रगत चुस्दा यसको “चुम्बन” १५ मिनेटसम्म रहिरहनसक्छ। नोक्सान गर्ने “चुम्बन” नै होइन। तर तपाईंको छालामा छोडिने विष्ठा हो र त्यसमा ट्रिपानासोमा क्रुजी वा छोटकरीमा टि. क्रुजी भनिने सूक्ष्म जीवाणु हुनसक्छ। आँखा, मुख वा आलो घाउबाट यी जीवाणुहरू तपाईंको शरीरमा प्रवेश गऱ्‍यो भने अमेरिकन ट्रिपानोसोमियासिस अर्थात्‌ चागस रोग लाग्नसक्छ।

चागस रोगले चापेपछि आँखा सुन्‍निन थाल्छ। त्यसपछि थकान, ज्वरो, अरुचि वा पखाला लाग्ने हुनसक्छ। अनि कुनै उपचार नगरी एक दुई महिनापछि यी लक्षणहरू आफै हराउँछन्‌। तर खतरा त अझ बाँकी नै छ। यसरी संक्रमण भएको १० देखि २० वर्षपछि मुटुको धड्‌कन एकरूप नहुने वा मुटुले काम गर्न छोड्‌ने जस्ता हृदयरोगहरू देखा पर्नसक्छन्‌। a

एउटा अनुमानअनुसार १८ लाख मानिसलाई चागस रोगको संक्रमण भएको छ र त्यसमध्ये वर्षेनी ५०,००० जनाको मृत्यु हुन्छ। सबै जसो बिरामीहरूलाई गोब्रे कीराले नै टोकेको हुँदैन। उदाहरणका लागि, संक्रमित आमाका दूधे बालकहरूलाई यो रोग लाग्नसक्छ। गर्भवती महिलाको गर्भको बच्चालाई वा बच्चा जन्मँदा यो रोग सर्नसक्छ। रक्‍तक्षेपण वा टि. क्रुजी-द्वारा संक्रमित काँचो खानेकुरा खानाले पनि यो रोग सर्नसक्छ। b

चागस रोग विरुद्ध कस्ता कदमहरू चालिएका छन्‌? यो रोग फैलाउने गोब्रे कीरा नियन्त्रण गर्न कीटनाशकहरू प्रभावकारी साबित भएका छन्‌। तर घरमा कीटनाशक छर्नु त्यति सुविधाजनक छैन र छ छ महिनामा छरिरहनुपर्छ। रियो दे जेनेरोको फेडरल युनिभर्सिटीले यसको एउटा विकल्प पत्ता लगाएको छ—त्यो हो, कीटनाशक भएको रङ। यो रङ ४,८०० वटा घरमा परीक्षण गरिएको थियो। परिणाम के भयो? दुई वर्षपछि पनि ८० प्रतिशत घरमा यो गोब्रे कीरा पाइएन! अनुसन्धानकर्ताहरूले नीमको पात वा ब्राजिलियन सिनामोमो रूखमा अविषाक्‍त जैविक पदार्थ (अजाडिराक्टिन) पत्ता लगाए र त्यसले रोग लागेको गोब्रे कीरालाई निको पार्ने मात्र नभई बाँकी स्वस्थ कीराहरू बिरामी हुनदेखि पनि रोक्छ।

संक्रमितहरूलाई मदत

चागस रोगले संक्रमण भएका लाखौं मानिसहरूको लागि के कुनै आशा छ? छ। वैज्ञानिकहरूको अन्तरराष्ट्रिय टोलीले टि. क्रुजी-का १०,००० वटा जीनहरूको रहस्य पत्ता लगाउन खोजिरहेको छ। यसले गर्दा रोग निदानको लागि गरिने परीक्षणहरू, खोप अनि शक्‍तिशाली औषधीहरू बनाउन सम्भव हुनेछ।

जुलाई १९९७ मा वैज्ञानिकहरूले गुरुत्वाकर्षणले पार्ने असर अध्ययन गर्न टि. क्रुजी-को एउटा अत्यावश्‍यक प्रोटिन अन्तरिक्ष यान, कोलम्बिया-मार्फत अन्तरिक्षमा पठाए। टि. क्रुजी-को संरचनासित मिल्ने औषधीहरू बनाउने यो एउटा आधारभूत कदम हो। नयाँ औषधीहरू पत्ता लगाउने खोज महत्त्वपूर्ण छ किनभने यो रोग अन्तिम चरणमा पुग्यो भने कुनै पनि औषधीले छुँदैन। c

सुरु सुरुमै उपचार गर्दा हुने लाभलाई बुझेर ब्राजिलका जीवविज्ञानी कन्स्टान्स ब्रिटोले पोलिमिरेज-चेन-प्रतिक्रिया परीक्षण विकास गरे र यसले गर्दा दुई दिनमै रोग निदान गर्न सकिन्छ। तर दुःखको कुरा, यो रोगको प्रारम्भिक चरणमा हुँदा थुप्रैलाई यो रोग लागेको पत्तै हुँदैन।

मुख्य कुरा रोग लाग्न नदिनु हो

अन्तमा, तपाईं बस्नुहुने इलाकामा यो रोग फैलाउने गोब्रे कीरा छ भने कस्तो सावधानी अपनाउन सक्नुहुन्छ?

▪ तपाईंको घर माटो वा खरले छाएको छ भने झूल प्रयोग गर्नुहोस्‌।

▪ कीटनाशक प्रयोग गर्नुहोस्‌। यसले गर्दा रोग सर्ने सम्भावना कम हुन्छ।

▪ भित्ता चर्किएको वा प्वाल छ भने मर्मत गरिहाल्नुहोस्‌ किनभने यहाँ गोब्रे कीरा बढ्‌न सक्छ।

▪ तपाईंको घर सफा राख्नुहोस्‌, फ्रेम र फर्निचरको पछाडि पनि सफा गर्नुहोस्‌।

▪ बेला बेलामा डसना र सिरक घाममा सुकाउनुहोस्‌।

▪ घरपालुवा र जंगली जनावरहरूले यो रोग सार्नसक्छ भनेर नबिर्सनुहोस्‌।

▪ तपाईंलाई कुनै कीरा गोब्रे कीराजस्तो शंका लागेमा परीक्षणको लागि नजिकैको स्वास्थ्य चौकीमा पठाउनुहोस्‌।

[फुटनोट]

a लक्षणहरू एकै प्रकारका हुँदैनन्‌ अनि कुनै कुनै लक्षण चागस रोगकै हो भन्‍न पनि मिल्दैन। यसकारण, त्यसबारे सरसरती उल्लेख मात्र गरिएको छ र यो नै रोग निदान गर्ने आधारचाहिं होइन। यो रोगको गम्भीर अवस्थामा नपुगुञ्जेल प्रायजसो मानिसहरूमा यसको कुनै लक्षण देखिंदैन।

b रोग नियन्त्रण तथा रोकथामको अमेरिकी केन्द्रले टिप्पणी गरेअनुसार संकलित रगतमा चागस रोगले संक्रमण गरेको छ कि भनेर सधैंजसो रक्‍त परीक्षण गरिंदैन।

c चिकित्सकहरूले टि. क्रुजी-को उपचारमा निफर्टिमक्स प्रयोग गर्छन्‌ तर प्रायजसो यसका प्रतिकूल असरहरू हुन्छन्‌।

[पृष्ठ १३-मा भएको पेटी]

चागस रोगको आविष्कार

सन्‌ १९०९ मा ब्राजिलका चिकित्सक, कार्लोस चागस, ब्राजिलको मिनास गेरास प्रान्तमा कार्यरत थिए र त्यहाँ मलेरियाले गर्दा सडक निर्माण कार्यमा बाधा पुगिरहेको थियो। त्यहाँ तिनले जाँचेका बिरामीहरूको थुप्रै लक्षण अरू कुनै रोगसित मिल्दैनथियो। तिनले त्यहाँका घरहरूमा रगत चुस्ने गोब्रे कीराहरू प्रशस्तै देखे। यी कीराहरूको आन्द्रा जाँच्दा चागसले एउटा नयाँ प्रकारको प्रोटोजोआ पत्ता लगाए। तिनले त्यसको नाउँ, आफ्ना वैज्ञानिक मित्र ओस्वाल्डो क्रुजको सम्मानमा ट्रिपानोसोमा क्रुजी राखे। यो नयाँ रोगलाई कार्लोस चागसको नाउँ दिनु एकदमै उपयुक्‍त थियो किनभने तिनले गहन अनुसन्धान गरेर यो नयाँ रोग पत्ता लगाएका हुन्‌।

[पृष्ठ १३-मा भएको चित्र]

ग्रामीण इलाकामा प्रायसजो गोब्रे कीरा हुन्छ

[स्रोत]

Photos: PAHO/WHO/P. ALMASY