सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

म कसरी यौन दुर्व्यवहारको सामना गर्नसक्छु?

म कसरी यौन दुर्व्यवहारको सामना गर्नसक्छु?

युवा जनहरू सोध्छन्‌ . . .

म कसरी यौन दुर्व्यवहारको सामना गर्नसक्छु?

“केटाहरूले सिटी बजाएर अनि मनपरी आवाज निकालेर जिस्काउँछन्‌।”—कार्ला, आयरल्याण्ड।

“केटीहरूले फोन गरेको गऱ्‍यै गरेर हैरान पार्छन्‌।”—जेसन, संयुक्‍त राज्य।

“उसले मेरो हात समात्ने प्रयास गर्दै पाखुरा सुम्सुम्याइरह्‍यो।”—युकिको, जापान।

“केटीहरू जहिले पनि जे पायो त्यो भनेर जिस्काउने गर्छन्‌।”—अलेक्जेन्डर, आयरल्याण्ड।

“एक जना केटाले स्कूल बसबाट मलाई मनपरी जिस्काइरहन्थ्यो। उसले मसित चिनजान बढाउन चाहेको पनि होइन। केवल मलाई हैरान पार्न खोजिरहेको थियो।”—रोजिलिन, संयुक्‍त राज्य।

मायाजालमा फसाउने नक्कली हेराइ, कामुकता झल्काउने “तारिफ”, अश्‍लील ठट्टा, अति उत्तेजनात्मक स्पर्शजस्ता व्यवहार आफूले नचाहँदा नचाहँदै पनि बारम्बार भोगिरहनुपर्छ भने यसलाई यौन दुर्व्यवहार भनिन्छ। विश्‍वव्यापी तथ्यांक प्राप्त गर्न गाह्रो भए तापनि सर्वेक्षणअनुसार संयुक्‍त राज्यका प्रायजसो स्कूले केटाकेटीहरूले यस्तो दुर्व्यवहार भोगेका छन्‌।

तर यो यौन दुर्व्यवहार भनेको के हो? कोपिङ विथ सेक्शुअल हरास्मेन्ट एण्ड जेन्डर बायस नामक पुस्तकमा डा. भिक्टोरिया श यसलाई “कसैलाई यौनिक तरिकामा दुःख दिनु हो [भन्छिन्‌]। . . . यो शारीरिक (जस्तै, यौन उत्तेजना जगाउने ढंगमा कसैलाई सुम्सुम्याउनु), मौखिक (जस्तै, कसैको रूपको बारेमा अप्रिय टिप्पणी गर्नु) अथवा यस्तै अन्य कार्य हुनसक्छ।” कहिलेकाहीं अनुचित यौनसम्बन्ध राख्ने प्रस्ताव राखेर पनि दुर्व्यवहार गरिन्छ।

स्कूलमा प्रायजसो दुर्व्यवहार साथीहरूले गर्छन्‌। तथापि, कहिलेकाहीं भने यस्तो दुर्व्यवहार वयस्कहरूजस्तै शिक्षकहरूले गर्छन्‌। रेडबूक पत्रिकाको एउटा लेखले यौन अपराधका लागि दोषी ठहराइएका शिक्षकहरू “वास्तवमा यति मात्र होइन तर अझ बढी छन्‌” भन्‍ने अनुमान लगाएको छ।

बाइबलकालीन समयमा समेत आइमाईहरू अनि कहिलेकाहीं पुरुषहरू पनि त्यस्ता दुर्व्यवहारको सिकार भएका थिए। (उत्पत्ति ३९:७; रूथ २:८, ९, १५) अनि बाइबलले त्यस्तो दुःखद अवस्थाबारे यसरी अगमवाणी गरेको छ: “आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, . . . बैगुणी, . . . खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर [हुनेछन्‌]।” (२ तिमोथी ३:१-३) त्यसैले हुनसक्छ, तपाईंले पनि यौन दुर्व्यवहार सामना गर्नुपर्नेछ।

परमेश्‍वरको दृष्टिकोण

हो, आज सबै जवानहरू अचाक्ली यौन दुर्व्यवहार देखेर चिन्तित हुँदैनन्‌। कसै कसैलाई यो रमाइलो लाग्नसक्छ र दंग पर्न सक्छन्‌। संयुक्‍त राज्यको एउटा सर्वेक्षणमा यौन दुर्व्यवहारको सिकार भएकाहरूमध्ये ७५ प्रतिशतले आफूले पनि अरूलाई त्यसै गरेको कुरा स्वीकार्नु सोचनीय कुरा हो। केही वयस्कहरू यौन दुर्व्यवहारजस्तो जटिल कुरालाई पनि केवल बचकना हो भनेर हल्कासित लिन्छन्‌। तर परमेश्‍वरले यसप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?

परमेश्‍वरको वचन बाइबलले सबै प्रकारका यौन दुर्व्यवहारको निन्दा गर्छ। हामीलाई यौन सीमानाहरू नाघेर अरूको “खराबी नगरोस्‌” भनिएको छ। (१ थिस्सलोनिकी ४:३-८) वास्तवमा, “कान्छीहरूलाई चाहिं सम्पूर्ण पवित्रतासाथ बहिनी सम्झेर” व्यवहार गर्नू भनी जवान मानिसहरूलाई आज्ञा दिइएको छ। (१ तिमोथी ५:१, २) यसबाहेक, बाइबलले “ठट्टा[को]” पनि विरोध गर्छ। (एफिसी ५:३, ४) तसर्थ, तपाईंसित दुर्व्यवहारको सिकार हुनुहुँदा रिसाउने, चिन्तित अनि व्याकुल हुने र लज्जित महसुस गर्ने अधिकार छ!

म के भनूँ?

उसोभए, तपाईंलाई कसैले यसरी दुःख दियो भने के गर्ने? कहिलेकाहीं बेवास्ता गर्नाले अथवा मन मनै भुटभुटिएर बस्नाले दुर्व्यवहार गर्ने व्यक्‍तिलाई झनै बढी हौसला मिल्दछ। आफ्नी मालिककी पत्नीले सँगै सुत्ने प्रस्ताव राख्दा यूसुफले तिनलाई बेवास्ता मात्र गरेनन्‌। तिनको अनैतिक प्रस्तावलाई ठाडै अस्वीकार पनि गरे। (उत्पत्ति ३९:८, ९, १२) आज पनि दुर्व्यवहारीहरूलाई धपाउने उत्तम तरिका दृढ भई सीधै प्रतिकार गर्नु हो।

हो, तपाईंलाई दुःख दिन खोज्ने व्यक्‍तिले तपाईंलाई चिढ्याउन खोजिरहेको नहुनसक्छ। दुर्व्यवहार जस्तो देखिने तिनको व्यवहार सायद तपाईंको ध्यान खिच्ने एउटा कच्चा प्रयास मात्र हुनसक्छ। त्यसैले, तिनको त्यस्तो व्यवहारलाई रोक्न अभद्र व्यवहार गर्नु आवश्‍यक छ भन्‍ने छैन। तपाईंले ‘मलाई त्यस्तो बोली मन पर्दैन’ अथवा ‘मलाई नछोऊ’ भन्‍नु मात्र पनि पर्याप्त हुनसक्छ। जेसुकै भन्‍नुहोस्‌, तर आफ्नो वचनलाई हल्का नबनाउनुहोस्‌। होइनको अर्थ होइन नै रहोस्‌! अन्ड्रिया नामक किशोरी यसो भन्छिन्‌: “तपाईंले घुमाएर कुरा गर्दा तिनीहरूले बुझेनन्‌ भने सीधै भन्‍नुपर्ने हुनसक्छ। प्रायजसो सीधै भन्‍नुपर्ने हुन्छ।” दृढ भएर ‘यसो नगर त!’ भन्‍नु प्रभावकारी हुनसक्छ।

परिस्थिति सुध्रिनुको सट्टा बिग्रन थाल्यो भने एक्लै समाधान गर्ने कोशिस नगर्नुहोस्‌। आमाबाबु अथवा अरू परिपक्व वयस्कहरूसित यसबारे कुरा गर्ने प्रयास गर्नुहोस्‌। त्यस्तो परिस्थितिको सामना गर्न तिनीहरूसित केही व्यावहारिक सुझाउहरू हुनसक्छन्‌। हुँदै भएन भने, तिनीहरूले स्कूलका कर्मचारीहरूलाई सजग गराउनु आवश्‍यक ठान्लान्‌। यसो गर्न ढिलाइ गर्नुभएन भने तपाईं दुर्व्यवहारको सिकार हुनदेखि जोगिन सक्नुहुन्छ।

दुर्व्यवहारको रोकथाम

सुरुमै सिकार नहुनु बेस हो। यसो गर्न केले मदत गर्नसक्छ? अन्ड्रिया यस्तो सल्लाह दिन्छिन्‌: “तपाईंले त्यस व्यक्‍तिप्रति रुचि लिएको कहिल्यै महसुस हुन नदिनुहोस्‌। अरूले यो कुरा सुन्‍नसक्छ र दबाउ झनै बढ्‌नसक्छ।” तपाईंको पहिरनले पनि ठूलो भूमिका खेल्नसक्छ। मारा नाउँकी अर्की किशोरी यसो भन्छिन्‌: “म हजुरआमाको पालाको जस्तो लुगा त लगाउँदिनँ तर आफ्नो शरीरप्रति आकर्षित गर्ने खालका लुगाहरू पनि लगाउँदिनँ।” एकातिर यौन आकर्षण गर्न खोज्ने व्यक्‍तिको विरोध गर्ने अनि अर्कोतिरचाहिं उत्तेजित पार्ने लुगा लगाउँदा त्यसको गलत अर्थ लाग्नसक्छ। बाइबलले “पहिरनमा लज्जालु र सरल भई सिंगारिऊन्‌” भन्‍ने सुझाउ दिन्छ।—१ तिमोथी २:९.

तपाईंलाई गरिने व्यवहार, तपाईंको संगतीमा पनि भर पर्छ। (हितोपदेश १३:२०) रोजलिन यसो भन्छिन्‌: “समूहका केही केटीहरू केटाहरूको ध्यान खिच्न रुचाउँछन्‌ भने केटाहरू त्यस समूहका जम्मै केटीहरू त्यस्तै होलान्‌ भन्ठान्छन्‌।” कार्ला पनि त्यसैमा जोड दिन्छिन्‌: “त्यसरी जिस्काएको मन पराउने केटीहरूसित झुम्मिएर बस्नुभयो भने तपाईंलाई पनि तिनीहरूले दुर्व्यवहार गर्नसक्छन्‌।”

बाइबलले छाडा प्रवृत्तिको लागि चिनिने कनानी केटीहरूसित संगत गर्ने युवती दीनाबारे बताउँछ। गलत संगतले गर्दा तिनी बलात्कृत हुन पुगिन्‌। (उत्पत्ति ३४:१, २) त्यसैले त बाइबल यसो भन्छ: “कसरी हिंडछौ ठीकसँग हेर, निर्बुद्धि जस्तो होइन, तर बुद्धिमान मानिसजस्तो” (एफिसी ५:१५) हो, तपाईंको पहिरन, बोली र संगतीलाई “ठीकसँग” ध्यान दिंदा दुर्व्यवहारबाट बच्न धेरै मदत मिल्छ।

तथापि, मसीही जवानहरूले दुर्व्यवहारबाट बच्न अपनाउनसक्ने एउटा प्रभावशाली तरिका अरूलाई आफ्नो धर्मबारे थाह दिनु हो। यहोवाका एक जवान साक्षी टीमोन सम्झन्छन्‌: “साथीहरूलाई म एक जना साक्षी हुँ भनेर थाह थियो त्यसैले तिनीहरूले मसित केही दुर्व्यवहार गरेनन्‌।” अन्ड्रिया बताउँछिन्‌: “तिनीहरूलाई तपाईं साक्षी हुँ भनेर बताउँदा मात्र पनि धेरै फरक पर्छ। तपाईं तिनीहरूभन्दा धेरै तरिकामा फरक हुनुहुन्छ र तपाईं नैतिक स्तरहरूको कडीकडाइसाथ पालना गर्नुहुन्छ भनेर तिनीहरूले बुझ्नेछन्‌।”—मत्ती ५:१५, १६.

दुर्व्यवहारको सिकार हुँदा

तपाईंले जतिसुकै प्रयत्न गर्नुभए तापनि, निष्ठुर दुर्व्यवहारी मानिसहरूबाट पूर्णतया छुटकारा पाउन सक्नुहुन्‍न। तर मसीहीको रूपमा व्यवहार गर्दा गर्दै पनि तपाईं दुर्व्यवहारीको सिकार हुनुभएको छ भने आफैलाई दोषी ठानेर आघात पुऱ्‍याउनुपर्ने कुनै कारण छैन। (१ पत्रुस ३:१६, १७) तपाईं भावनात्मक रूपमा चिन्तित हुनुभएको छ भने आमाबाबु अथवा मसीही मण्डलीका परिपक्व व्यक्‍तिहरूसित कुरा गरेर मदत लिनुहोस्‌। दुर्व्यवहारमा परेको बेला ठीक महसुस गर्नु कठिन छ भनी रोजलिन स्वीकार्छिन्‌। तिनी यसो भन्छिन्‌, “कुरा गर्ने साथी पाउँदा मात्र पनि ढुक्क हुन्छ।” यहोवा, “उहाँमा पुकारा गर्ने सबैका नजीक . . . हुनुहुन्छ” भन्‍ने कुरा पनि याद गर्नुहोस्‌।—भजन १४५:१८, १९.

दुर्व्यवहारको विरुद्ध खडा रहनु सजिलो छैन तर त्यो बेकार पनि जानेछैन। उदाहरणका लागि, बाइबलमा उल्लेखित सुनैमी युवतीलाई याद गर्नुहोस्‌। आज दुर्व्यवहार भन्दा जे बुझिन्छ, त्यस अर्थमा तिनीमाथि व्यवहार नगरिएको भए तापनि यहूदाका धनी र शक्‍तिशाली राजा सुलेमानले तिनीसँग एकतर्फी सम्बन्ध बढाउन खोजे। तिनले अर्कै व्यक्‍तिलाई प्रेम गरेकी हुनाले त्यस्तो चाहनाको प्रतिरोध गरिन्‌। त्यसैकारण तिनले गर्व गर्दै यसो भन्‍न सकिन्‌, “म एक पर्खाल हुँ।”—श्रेष्ठगीत ८:४, १०.

तपाईंले पनि त्यस्तै नैतिक बल र अठोट प्रकट गर्नुहोस्‌। अरूले तपाईंसँग नचाहिंदो सम्बन्ध बढाउन खोज्दा “पर्खाल” हुनुहोस्‌। वरपरका मानिसहरूलाई आफ्नो मसीही अडान स्पष्ट पार्नुहोस्‌। यसो गरेर तपाईं “निष्खोट र सुधा” रहनसक्नुहुन्छ र परमेश्‍वरलाई खुसी तुल्याउनुभयो भनी तपाईं निर्धक्क हुनुहुनेछ।—फिलिप्पी २:१५. a

[फुटनोट]

a यौन दुर्व्यवहारबारे अझ बढी सल्लाहहरू ब्यूँझनुहोस्‌! मे २२, १९९६; अगस्त २२, १९९५; र मे २२, १९९१ का अंग्रेजी अंकहरूमा उपलब्ध छन्‌।

[पृष्ठ २३-मा भएको चित्र]

आफ्नो मसीही विश्‍वासबारे सबैलाई थाह दिनु सुरक्षा साबित हुनसक्छ

[पृष्ठ २३-मा भएको चित्र]

खराब समूहसित संगत नगरेर तपाईं दुर्व्यवहारदेखि बच्न सक्नुहुन्छ