सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जिराफ—लामा लामा खुट्टा भएको अग्लो, सुन्दर प्राणी

जिराफ—लामा लामा खुट्टा भएको अग्लो, सुन्दर प्राणी

जिराफ—लामा लामा खुट्टा भएको अग्लो, सुन्दर प्राणी

केन्याका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

बिहान सबेरै फुस्रा चट्टानहरू ओसिलो र चिसो थियो। हामी सबै त्यो ठूलो चट्टानमा हातमा ताततातो चिया समात्दै तलतिर अफ्रिकी मैदानमा एक टक लगाएर हेरिरहेका थियौं। a हामीले आफ्नो धीरजको इनाम पायौं। बिहानको मिरमिरे उज्यालोमा लामा लामा सुलुत्त परेका खुट्टा भएका सुन्दर अनि अग्ला जिराफहरूको बगाल मैदानमा बिस्तारै हिंड्‌दै आएको हामीले देख्यौं। तिनीहरू आफ्नो लामा लामा खुट्टालाई एकदमै भद्र तालमा अघि सार्दै लसकलसक गरी हिंडिरहेका थिए अनि तिनीहरूको लामो घाँटीचाहिं हावामा फरफराइरहेको जहाजको मस्तुल जस्तै देखिन्थ्यो। हामी अवाक्‌ भयौं। त्यो दृश्‍य अति नै मनमोहक थियो!

हामी त्यहीं भए तापनि तिनीहरू नडराई सबै एकै तालमा लहलहाउँदो खयरको रूखतिर अघि बढे। कोमलतासाथ ती भद्र विशाल जनावरहरूले आफ्नो लामो जिब्रोले घोच्ने हाँगा भएको रूखको टुप्पोटुप्पोबाट स-साना हरिया पातहरू टिपे। जमिनभन्दा धेरैमाथि तिनीहरूले आफ्नो टाउको विभर चराको गुँडतिर मजाले बढाए। चराहरूले ठूलो स्वरले चिरबिर गर्दै ती लामा घाँटी भएका आगन्तुकहरूलाई गाली गरे। एक्कासी चराहरूको होहल्ला सुनेर झसंग भएको बगाल चुपचाप अर्को रूखतर्फ लाग्यो।

फुर्तिलो र सुन्दर

चिडियाखानाको चारैतिर लगाइएको बारमाथिबाट घाँटी निकालेर हेर्ने जिराफ मात्र देखेका मानिसहरूलाई अफ्रिकी खुला मैदानमा खुलमखुल्ला दौडिरहेको जिराफ कत्ति सुन्दर अनि हिस्सी परेको देखिन्छ, कल्पना गर्न मुस्किल पर्ला। जिराफको चाल आकर्षक हुन्छ र यो लसकलसक गर्दै हिंड्‌छ। घाँसे जमिनमा बुर्कुसी लगाएर दौड्‌दा तिनीहरूको कोमल, भाँचिएला जस्तो देखिने खुट्टा कुनै कुरामा अल्झ्यो भने बुङ्‌लुङ्‌ङ लड्‌छ कि जस्तो लाग्छ। तर यसको विपरीत, १,३०० किलोग्रामसम्म वजन हुने ठूलो भाले जिराफ एकदमै बलिया हुन्छन्‌ र तेज गतिमा दौड्‌नसक्छन्‌। तिनीहरू प्रति घण्टा ६० किलोमिटरको गतिले दौड्‌नसक्छ।

यो मनमोहक प्राणी अफ्रिकामा मात्र पाइन्छ। यसको भद्र अनि शान्त स्वभावले गर्दा यो जन्तु हेर्न असाध्यै रमाइलो हुन्छ। जिराफको अनुहारलाई अनौठो र सुन्दर भने पनि हुन्छ। मसिनो सुरिलो कान र दुइटा सानो सिङको टुप्पामा मखमली कालो कपालको झुप्पा। यसको आँखा ठूलठूला र गाढा रंगका हुन्छन्‌ र त्यसलाई लामा घुम्रेको परेलाले सुरक्षित राख्छ। यस्तो लामघारे जिराफले टाढटाढा हेर्दा यसको अनुहार निष्कपट जिज्ञासुको जस्तो देखिन्छ।

पुरातन समयमा यसको राम्रो अनुहार र लजालु, शान्त स्वभावको कदर गर्नुका साथै धेरै मन पराइन्थ्यो। जवान जिराफहरू राष्ट्रहरूबीच शान्ति र समझदारीको प्रतीक स्वरूप शासक तथा राजाहरूलाई उपहार दिइन्थ्यो। पुरातन अफ्रिकी चट्टानहरूमा कोरिएका चित्रहरूमा आज पनि जिराफको धमिला चित्रहरू देख्न सकिन्छ।

अग्लो

जिराफ सबैभन्दा अग्लो जनावर हो। वयस्क भाले जिराफको उचाइ खुरदेखि माथि सिङसम्म ५.५ मिटरभन्दा धेरै हुन्छ। पुरातन मिश्री चित्रात्मक लेखनशैलीमा जिराफले “भविष्यवाणी गर्नु”-को प्रतिनिधित्व गर्थ्यो र यसले यस जन्तुको भयानक उचाइ र टाढासम्म देख्नसक्ने योग्यतालाई संकेत गर्छ।

जिब्रा, अस्ट्रिच, इमपाला र मैदानमा बस्ने अन्य अफ्रिकी जनावरहरूको हूलमा जिराफले पहरादारको काम गर्छ। यसको उचाइ र तीक्ष्ण दृश्‍यको कारण टाढा-टाढासम्म देख्नुका साथै खतरा पनि थाह पाउनसक्छ। त्यसकारण, यस अग्लो जनावर वरपर हुँदा अन्य जनावरहरू सुरक्षित महसुस गर्छन्‌।

उदेकलाग्दो रचना

अग्लो रूखको टुप्पा टुप्पाको हाँगाको पात टिपेर खानसक्ने यस जनावरले हात्तीबाहेक अरू सबै जनावरले भन्दा अग्लो ठाउँसम्म भ्याउनसक्छ। जे पनि च्याप्न सक्ने माथिल्लो ओठ र लचकदार जिब्रोको अनुपम रचनाले गर्दा घोच्ने काँडाहरू भएको हाँगाबाट समेत यसले पातहरू तान्‍नसक्छ।

जिराफले प्रति दिन ३४ किलोग्रामसम्म वनस्पति खानसक्छ। विभिन्‍न प्रकारको थुप्रै वनस्पति तिनीहरूले खान सक्ने भए तापनि तिनीहरू अफ्रिकी मैदानमा पाइने काँडा भएको खयरको रूखको पात खान रुचाउँछन्‌। भाले जिराफले खाना भेट्टाउन आफ्नो जिब्रो ४२ सेन्टिमिटरसम्म तन्काउनसक्छ। जिराफको घाँटी अत्यन्तै लचकदार हुन्छ। यसकारण, जिराफले रूखको टुप्पा टुप्पामा पनि जता मनलाग्यो त्यतैबाट घाँटी घुमाएर पात तान्‍नसक्छ।

अग्लो उचाइमा पुग्न त जिराफलाई सजिलै छ तर पानी पिउनचाहिं निकै गाह्रो पर्छ। पानी पिउने ठाउँ पुगेपछि पानी पिउन जिराफले बिस्तारै आफ्नो अगाडिको दुवै खुट्टा फारेर घुँडा खुम्च्याउनुपर्छ। यस्तो अप्ठ्यारो अवस्थामा जिराफले पानी पिउन आफूले सकेजति घाँटी तन्काउँछ। खुसीको कुरा, जिराफलाई त्यति धेरै पानी पिउन पर्दैन किनकि यसले ती रसिला पातहरूबाटै पर्याप्त पानी पाउँछ।

जिराफको घाँटी र पिठ्‌यूँमा भएका सुन्दर लामा सेता धर्काहरू पात बुट्टाको आँखे झ्यालजस्ता देखिन्छन्‌। रंगहरू सुनौलोदेखि गाढा खैरो र कालोसमेत हुनसक्छन्‌। जिराफको उमेर छिप्पिंदै गएपछि यसको रंग पनि गाढा हुँदै जान्छ।

पारिवारिक जीवन

जिराफ सामाजिक प्राणी हो र २ देखि ५० वटाको बगालमा यो हिंड्‌छ। गर्भवती पोथी जिराफले दुई मिटर अग्लो बाछोलाई जन्माउनुअघि ४२० देखि ४६८ दिनसम्म पेट बोक्छे। जन्मिंदा बाछो पहिला आफ्नो टाउको निकाल्दै जमिनमा दुई मिटरभन्दा बढीको उचाइबाट खस्छ! तर १५ मिनेटमै बाछो कुनै चोटपटकविना धरमराउँदै आफ्नो खुट्टामा उभिन्छ र दूध खान तयार हुन्छ। दुई वा तीन हप्तापछि बाछोले आफै खयरको रूखको कमलो पातहरू खानथाल्छ र आफ्नो माउसँगसँगै कुद्‌ने भइसक्छ।

जिराफको बाछो काटिकुटी आफ्नो माउकै सानो रूप हो। अग्लो जिराफको अगाडि फुच्चे भए तापनि यो प्रायः मानिसहरूभन्दा अग्लो हुन्छ। आफ्नो अग्लो माउको निगरानीमा यताउता के हुँदैछ नडराई चासो लिंदै बाछोले हेरिरहेको दृश्‍य रमणीय देखिन्छ।

ब्याउने मौसममा माउहरूले बाछाहरूलाई सानो समूहमा जम्मा गर्छन्‌ र बाछाहरू आराम गर्दै, खेल्दै, आफू वरपर भइरहेका कुराहरू हेर्दै दिन बिताउँछन्‌। भर्खर जन्मेको बाछो एकदमै अचम्म रीतिले चाँडोचाँडो बढ्‌छ। छ महिनामा बाछो एक मिटर अग्लो हुन्छ र एक वर्षमा यसको उचाइ दोब्बर हुन्छ। एक हप्तामै बाछो २३ सेन्टिमिटरसम्म बढ्‌नसक्छ! माउले आफ्नो बाछोको असाध्यै रक्षा गर्छ र बाछोलाई अलि टाढा जान दिए तापनि दृष्टि राम्रो भएकोले आफ्नो बाछोलाई कहिल्यै आफ्नो नजरबाट ओझेल हुन दिंदैन।

यसको ठूलो जीउ, फूर्ति र तेजका साथसाथै असाध्यै राम्रो दृष्टिको कारण जिराफको जंगलमा सिंहबाहेक कमै शत्रुहरू छन्‌। यद्यपि, यस जन्तुको ठूलो संख्यामा सिकार गरेर मार्ने मानिस नै हो। यसको सुन्दर छाला, स्वादिष्ट मासु र कसै कसैले यसको रहस्यमय शक्‍ति छ भनी विश्‍वास गर्ने पुच्छरको लामो कालो कपालको लागि मार्न खोज्ने भएकोले यस शान्तमय जनावरको भविष्य अनिश्‍चित छ। कुनै समय अफ्रिकाको थुप्रै भागमा प्रशस्त पाइने जिराफ अहिले पार्क तथा आरक्षण क्षेत्रहरूमा मात्र तुलनात्मक ढंगमा सुरक्षित छन्‌।

अफ्रिकी जंगल यात्रामा जाने आगन्तुकहरूले अहिले पनि अफ्रिकी मैदानमा स्वतन्त्र भएर घुमिरहेको लामो घाँटी भएको जिराफ देखेर रोमाञ्चित हुनसक्छन्‌। तिनीहरू त्यहाँ या त काँडा भएको खयरको रूखको पात खाइरहेका हुन्छन्‌ वा एकदमै टाढाको कुरालाई हेरिरहेका हुन्छन्‌। अनौठो जीउ र शान्त स्वभाव भएको यस शानदार प्राणी साँच्चै अद्‌भुत रचना हो। यो, सर्वोच्च परमेश्‍वर यहोवाको सृजनशीलता र अनुपम व्यक्‍तित्वको अर्को एउटा प्रमाण हो।—भजन १०४:२४.

[फुटनोट]

a अफ्रिकी मैदानमा फैलिएको सानो चट्टाने पहाडलाई कोप्जे भनिन्छ।

[पृष्ठ १८-मा भएको पेटी/चित्र]

अचम्मको लामो घाँटी

अनौठो र ठूलो शरीरले गर्दा जिराफलाई जीवन बिताउन असाध्यै गाह्रो हुन्छ होला भनेर कसै कसैले सोच्लान्‌। त्यस्तो अग्लो र लामो घाँटी भएको जिराफलाई हेर्दा शरीरको सबै भागमा रक्‍तसञ्चार हुन असम्भव जस्तो देखिनसक्छ। उदाहरणका लागि, जिराफले आफ्नो टाउको निहुऱ्‍याउँदा गुरुत्वाकर्षणले गर्दा शरीरको सब रगत सबै टाउकोमा जम्मा हुनुपर्ने। अनि जिराफले आफ्नो टाउको उठाउँदा रगत सबै मुटुमा एक्कासी सञ्चार हुँदा जिराफ बेहोस हुनुपर्ने। तर यस्तो केही पनि हुँदैन। किन?

जिराफको रक्‍तसंचार प्रणाली साँच्चै उत्कृष्ट रचनाको प्रमाण हो, जुन यस विशाल जनावरको आकारअनुसार काम गर्नका लागि ठिक्कको छ। यसको मुटु पनि असाध्यै ठूलो छ र मुटुभन्दा झन्डै साढे तीन मिटरमाथि मस्तिष्कसम्म रगत पम्प गर्न साँच्चै जोड गर्नुपर्छ। प्रति मिनेट १७० चोटिसम्म धड्‌कने सात सेन्टिमिटर बाक्लो बलियो मांसपेशीले बनेको मुटुले मानिसको भन्दा झन्डै तीन गुणा बढी सिस्टोलिक चाप उत्पन्‍न गर्छ। त्यस्तो चाप राम्रोसित सम्हाल्न मस्तिष्कमा रगत पुऱ्‍याउने धमनी र मुटुमा रगत फिर्ता ल्याउने शिरा ठूलो हुनुपर्छ। साँच्चै यी रक्‍तनलीहरूको व्यास २.५ सेन्टिमिटरभन्दा बढी हुन्छ र बलियो इलास्टिक तन्तुले गर्दा त्यो लचकदार अनि बलियो हुन्छ।

जिराफले आफ्नो टाउको निहुऱ्‍याउँदा घाँटीका शिराको भल्भले मस्तिष्कमा रगत एकै चोटि पुग्नदेखि रोक्छ। मस्तिष्कको तलतिर हुने धमनी अर्को अत्यन्तै असामान्य अद्‌भुत जालो भएर फैलिएको हुन्छ। जिराफले आफ्नो टाउको निहुराउँदा यी मसिना रक्‍तनलीहरूको विशेष जालो भएर रगत बहन्छ। फलतः यसको मस्तिष्कमा ह्वारह्वारती रगत जानदेखि रोक्नुको साथै रक्‍तचाप पनि नियन्त्रण गर्छ। जिराफले टाउको निहुराउँदा यो असामान्य जालो फुक्छ र टाउको उठाउँदा खुम्चिन्छ। यो प्रक्रियाले गर्दा कम रक्‍तचापले पनि कुनै फरक पार्दैन र जिराफ बेहोस हुँदैन।

जिराफको घाँटी पनि अचम्मको सृष्टि हो। जिराफको त्यति लामो घाँटीमा जतिवटा हड्डी हुन्छ, मुसा वा अरू स्तनपायीहरूको घाँटीमा पनि त्यति नै हड्डी हुन्छ भनी पत्ता लगाउँदा वैज्ञानिकहरू छक्कै परेका थिए! तथापि, अरू स्तनपायीहरूको जस्तो नभई जिराफको घाँटीका हड्डीहरू लामो र विशेष प्रकारको खोपिल्टाले जोडिएका हुन्छन्‌। यस्तो रचनाले गर्दा जिराफको घाँटी लचकदार भएको हो। यसकारण, जिराफले आफ्नो लामो घाँटी हर दिशामा मोडेर शरीरको हरेक भाग सफा गर्न वा अग्ला अग्ला रूखबाट आहार तान्‍नसक्छ।