सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं किन प्रेतविद्याबाट अलग बस्नुपर्छ

तपाईं किन प्रेतविद्याबाट अलग बस्नुपर्छ

तपाईं किन प्रेतविद्याबाट अलग बस्नुपर्छ

प्रेतविद्याको कुनै कुनै माध्यमद्वारा असल आत्मासित सम्पर्क राख्न सकिन्छ भनेर तपाईंले सिक्नुभएको छ भने बाइबलले प्रेतविद्याबारे के भन्छ भनी थाह पाउँदा तपाईं छक्कै पर्नुहोला। उदाहरणका लागि, बाइबलमा यसो भनिएको छ: “तिमीहरू झाँक्री, बोक्सी र जादूमंत्र गर्नेतिर नलाग्नू। तिनीहरूसित परामर्श लिएर तिमीहरू आफूलाई अशुद्ध नपार।”—लेवी १९:३१; २०:६, २७.

वास्तवमा, प्रेतविद्यामा लाग्ने मानिस “परमप्रभुको अगि घृणित हो” भनेर बताइएको छ। (व्यवस्था १८:११, १२) किन? प्रेतविद्याको एउटा महत्त्वपूर्ण पक्ष अर्थात्‌ तथाकथित्‌ मृत व्यक्‍तिहरूसित कुरा गर्नेबारे बाइबलले के भन्छ, त्यसबारे राम्ररी बुझ्दा उक्‍त प्रश्‍नको जवाफ पाउन सक्नेछौं।

के मृत व्यक्‍तिहरू जीवित छन्‌?

धेरै मानिसहरूको सोचाइ विपरीत परमेश्‍वरको वचन बाइबलले, मानिसहरूले आफ्नो मरिसकेका प्रिय जनहरूसित कुरा गर्न सक्दैनन्‌ भनेर सिकाउँछ। किन? किनकि मरिसकेका मानिससित कुरा गर्ने हो भने तिनी साँच्चै जीवित हुनुपर्छ। मृत्युपछि पनि जीवित रहने केही भाग हुनुपऱ्‍यो। कसै कसैले मानिसको शरीर मरे तापनि उसको प्राण अमर रहन्छ भन्छन्‌। के त्यो साँचो हो?

मानिसको सृष्टिबारे बाइबल विवरण यसो भन्छ: “परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो।” (उत्पत्ति २:७) के यसबाट मानिस आफै नै प्राण हो र शरीर मरेपछि पनि जीवित रहने अमर प्राण छैन भनेर स्पष्ट हुँदैन र? वास्तवमा धर्मशास्त्रले यसो भन्छ: “जुन प्राणीले पाप गर्छ त्यही मर्छ।” (इजकिएल १८:४) “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌। . . . किनभने मृत्युमा, जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्‍ति, न बुद्धिनै हुन्छ।”—उपदेशक ९:५, १०.

त्यसैले बाइबलअनुसार मान्छे मरिसकेपछि प्राण जीवित रहँदैन र जीवित मानिसले तिनीहरूसित सम्पर्क राख्न सक्दैन। प्राण मर्छ भन्‍ने निष्कर्शमा पुगेका दुई सम्मानित बाइबलविद्‌हरूको उदाहरण यहाँ प्रस्तुत गरिएको छ। क्यानेडियाली धर्मविद्‌ क्लार्क एच. पिन्‍नकले यस्तो टिप्पणी गरे: “[मानव प्राण अमर रहन्छ] भन्‍ने धारणाले धर्मविज्ञानलाई प्रभाव पारेको धेरै समय भइसक्यो तर यो बाइबलमा आधारित होइन। बाइबलले प्राणको अमरत्वबारे सिकाउँदैन।” त्यस्तै गरी, बेलायती शास्त्रविद्‌ जोन. आर. डब्ल्यु. स्टटले यस्तो कुरा उल्लेख गरे: “प्राण अमर छ वा कहिल्यै नाश हुँदैन भन्‍ने विश्‍वास बाइबलको नभई युनानी हो।”

यद्यपि, मानिसहरूले मरेका मानिसहरूको सन्देश प्राप्त गर्ने र आवाजहरू सुन्‍ने गर्छन्‌। ती बोल्नेहरू को हुन्‌ त?

कोसित सम्पर्क?

एक जना चटकेले कठपुतली चलाएझैं, एउटा अदृश्‍य आत्माले साँपलाई चलाएर प्रथम स्त्री हव्वासित कुरा गरेर तिनलाई परमेश्‍वरको विद्रोह गर्न उक्सायो भनेर बाइबलले बताउँछ। (उत्पत्ति ३:१-५) बाइबलमा त्यस आत्मिक व्यक्‍ति वा स्वर्गदूतलाई “वृद्ध साँप, दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने” भनिएको छ। (प्रकाश १२:९) त्यस शैतानले अन्य स्वर्गदूतहरूलाई पनि विद्रोह गर्न लालायित गऱ्‍यो। (यहूदा ६) ती दुष्ट स्वर्गदूतहरूलाई प्रेत भनिन्छ र तिनीहरू परमेश्‍वरका शत्रु हुन्‌।

प्रेतहरूले मानिसहरूलाई प्रभाव पार्नसक्छन्‌ भनेर बाइबलले देखाउँछ। (लूका ८:२६-३४) अतः परमेश्‍वरको व्यवस्थाले यसो भन्‍नु कुनै छक्कलाग्दो कुरा होइन: “टुना-मुना गर्ने, मसान जगाउने अथवा बिजुवा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्‌। यस्तो काम गर्ने व्यक्‍ति परमप्रभुको अगि घृणित हो।” (व्यवस्था १८:१०-१२) यस व्यवस्थालाई बेवास्ता गर्दा कस्ता खतरा आइपर्छन्‌?

पुरातन इस्राएलका राजा शाऊलको जीवनमा भएको घटनाले यस प्रश्‍नको जवाफ दिन्छ। आफ्ना शत्रुहरूको डरको कारण राजा शाऊलले भूतप्रेत खेलाउने व्यक्‍तिको मदत लिए। तिनले उसलाई मरिसकेका अगमवक्‍ता शमूएललाई बोलाऊ भने। त्यो तन्त्रमन्त्र गर्ने स्त्रीले बूढो मानिसको रूपबारे गरेको वर्णन सुनेपछि शाऊलले तिनी शमूएल नै हुनुपर्छ भनेर सोचे। अनि शाऊलले कस्तो सन्देश पाए? इस्राएल शत्रुहरूको हातमा सुम्पिनेछ र शाऊल तथा तिनका छोराहरूचाहिं “शमूएल[सित]” हुनेछन्‌ अर्थात्‌ मर्नेछन्‌ भनेर संकेत पाए। (१ शमूएल २८:४-१९) यसरी भूतप्रेत खेलाउने स्त्रीसित छलफल गर्ने शाऊलको निर्णयप्रति परमेश्‍वरले कस्तो प्रतिक्रिया देखाउनुभयो? धर्मशास्त्र यसो भन्छ: “शाऊलले आफ्नो अविश्‍वासले गर्दा आफ्नो ज्यान गुमाउनुपऱ्‍यो। . . . तिनले . . . भूतप्रेत खेलाउनेको सरसल्लाह लिएका थिए।” (१ इतिहास १०:१३, नयाँ संशोधित संस्करण) तिनले साह्रै ठूलो मूल्य चुकाउनुपऱ्‍यो!

त्यस्तै गरी, आज प्रेतविद्यामा लाग्ने मानिसहरूले आफूलाई ठूलो खतरामा पार्छन्‌। बाइबल “जादूगरहरू[ले], . . . दोस्रो [वा अनन्त] मृत्यु” भोग्नेछन्‌ भनेर बताउँछ। (प्रकाश २१:८; २२:१५) त्यसकारण, सबै प्रकारको प्रेतविद्याबाट अलग रहनु नै बुद्धिमानी र जीवनदायी मार्ग हो।

दुष्टात्मासित कसरी लड्‌ने

तपाईं प्रेतविद्यामा लागिसक्नुभएको छ भने नि? त्यसोभए, आफू र आफ्नो परिवारलाई दुष्टात्माले गर्ने हानिदेखि बचाउन तुरुन्तै कदम चाल्नुपर्छ। कस्ता कदमहरू? उदाहरणका लागि: आफ्नो घर र परिवारलाई उडुस, उपियाँजस्ता हानिकारक कीराहरूबाट बचाउन मानिसहरू के गर्छन्‌? त्यस्ता कीराहरूलाई घरबाट हटाएपछि ती कीराहरू आकर्षित हुने चीजबीचहरू घरमा राख्दैनन्‌। ती हानिकारक कीराहरू आउन नदिन सबै चिरा अनि प्वालहरू बन्द गर्छन्‌ र अझै पनि आयो भने स्थानीय विशेषज्ञहरूको मदत माग्नसक्छन्‌।

दुष्टात्माको प्रतिरोध गर्न र तिनीहरूबाट स्वतन्त्र हुन हामी त्यस्तै तरिका अपनाउनसक्छौं। उदाहरणका लागि, प्रथम शताब्दीका एफिससका मसीहीहरूलाई लिनुहोस्‌। तिनीहरू पनि मसीही हुनुअघि प्रेतविद्यामा लागेका थिए। प्रेतविद्याबाट स्वतन्त्र हुने निर्णय गरेपछि तिनीहरूले ती हानिकारक कीरारूपी दुष्टात्माहरूको आक्रमणबाट आफूलाई सुरक्षित राख्न तीनवटा कदम चाले। तिनीहरूले के गरे?

पहिलो कदम

बाइबल भन्छ: “तिनीहरूमध्ये धेरै जना, जस जसले टुना-मुना गर्थे, आफ्ना आफ्ना पुस्तकहरू बटुलेर ल्याए, र सबैका सामु जलाइदिए।” (प्रेरित १९:१९) प्रेतविद्यासम्बन्धी आफ्ना पुस्तकहरू जलाएर ती नयाँ मसीहीहरूले आज दुष्टात्माको प्रतिरोध गर्न चाहनेहरूको निम्ति राम्रो नमुना बसाले। प्रेतविद्यासित सम्बन्धित सबै चीजबीजहरू नष्ट गर्नुहोस्‌। यसमा पुस्तक, पत्रिका, सचित्र कथा, भिडियो, इलेक्ट्रोनिक माध्यमद्वारा प्राप्त कागजपत्र, प्रेतविद्याका कुराहरू भएको संगीतका साथसाथै जन्तर वा “सुरक्षा[को]” निम्ति लगाउने अन्य कुराहरू सबै पर्छन्‌।—व्यवस्था ७:२५, २६; १ कोरिन्थी १०:२१.

दक्षिण अमेरिकामा वर्षौंदेखि प्रेतविद्यामा लागेका एक मानिसले यस धर्मशास्त्रीय सल्लाहलाई हृदयंगम गरे। तिनी यसो भन्छन्‌, “एक दिन मैले आफूसित भएका प्रेतविद्यासित सम्बन्धित सबै चीजबीजहरू बटुलेर घरअगाडि ल्याएँ अनि बन्चरोले टुक्रा टुक्रा गरें।” त्यसपछि, सबै खाक नहोउञ्जेल जलाएँ। त्यसपछि तिनले राम्रो आध्यात्मिक प्रगति गरे अनि केही समयमै यहोवाका साक्षीहरूको मण्डलीका एक जोसिलो सेवक भए।

यद्यपि, यो पहिलो कदम मात्र पर्याप्त छैन। किन? किनभने एफिससका मसीहीहरूले आफ्ना टुनामुनाका पुस्तकहरू जलाएको केही वर्षपछि पनि प्रेरित पावलले तिनीहरूलाई यसरी लेखे: “हाम्रो यो लड़न्त . . . दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो।” (एफिसी ६:१२) प्रेतहरूले अझै हार मानेका थिएनन्‌। तिनीहरूले अझै दाऊ खोजिरहेका थिए। ती मसीहीहरूले अरू के के गर्नुपर्थ्यो?

दोस्रो कदम

पावलले प्रथम शताब्दीका एफिसीहरूलाई यस्तो आग्रह गरे: “शैतानका युक्‍तिहरूका विरुद्धमा खड़ा हुनसक्नालाई परमेश्‍वरको सारा हात-हतियार धारण गर।” (एफिसी ६:११) यो सल्लाह आज पनि मनासिब छ। आफ्नो घरमा हानिकारक कीराहरू आउन नदिन प्रयास गर्ने मानिसले जस्तै मसीहीहरूले पनि दुष्टात्माबाट बच्न पर्खालरूपी प्रतिरक्षा खडा गर्नुपर्छ। यो दोस्रो कदममा के के समावेश छ?

पावलले यसरी जोड दिए: “विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउनसक्ने हुनेछौ।” (एफिसी ६:१६) यो ढाल नितान्त आवश्‍यक छ। तपाईंको विश्‍वास जति बलियो हुन्छ त्यति नै प्रभावकारी ढंगमा दुष्टात्माका शक्‍तिहरूको प्रतिरोध गर्न सक्नुहुनेछ।—मत्ती १७:२०.

त्यसोभए, तपाईंले आफ्नो सुरक्षालाई कसरी सुदृढ पार्न सक्नुहुन्छ त? बाइबल अध्ययन गर्न नछोडेर। बाइबल अध्ययन कसरी विश्‍वाससित सम्बन्धित छ? पर्खाल कत्तिको बलियो हुन्छ भन्‍ने कुरा त्यसको जगमा भर परेझैं व्यक्‍तिविशेषको विश्‍वास कत्तिको दृढ छ भन्‍ने कुरा पनि जग बलियो हुनु नहुनुमा भर पर्छ। त्यो जग के हो?

परमेश्‍वरको वचनको सही ज्ञान। प्रेरित पावल यसो भन्छन्‌: “विश्‍वास सुनाइबाट, र सुनाइचाहिं ख्रीष्टको वचनबाट आउँछ।” (रोमी १०:१७) तपाईंलाई पायक पर्ने समय र ठाउँमा यहोवाका साक्षीसित निश्‍शुल्क बाइबल अध्ययन गर्न आमन्त्रित गरिन्छ। त्यस्तो अध्ययनले तपाईंको विश्‍वास बलियो बनाउनेछ। (रोमी १:११, १२; कलस्सी २:६, ७) नतिजा? छिट्टै तपाईंको विश्‍वास दुष्टात्माहरूको प्रभावबाट बच्ने ढाल साबित हुनेछ।—भजन ९१:४; १ यूहन्‍ना ५:५.

एफिससका मसीहीहरूले चाल्नु परेको तेस्रो कदमचाहिं के हो नि?

तेस्रो कदम

पुरातन एफिससमा ती नयाँ विश्‍वासीहरूले दुष्टात्माको प्रतिरोध गर्न कदम चाले तर ती मसीहीहरू प्रेतविद्या व्याप्त भएको शहरमै बस्थे। तिनीहरूलाई अझ थप सुरक्षा आवश्‍यक थियो। त्यसैले, प्रेरित पावलले सँगी विश्‍वासीहरूलाई पत्र लेख्दा तिनीहरूले गर्नुपर्ने कुराबारे यसरी लेखे: “सारा प्रार्थना र अन्तरबिन्तीबाट, हर समय आत्मामा प्रार्थना गरेर, यसैमा सारा पवित्र जनहरूका निम्ति सतर्क भएर खुरन्धार अन्तरबिन्ती गर।”—एफिसी ६:१८.

निश्‍चय पनि, यहोवाले दिनुहुने सुरक्षाको निम्ति लगातार खुरन्धार प्रार्थना गर्नु दुष्टात्माहरूदेखि बच्ने निर्णायक कदम थियो र अझै पनि हो। तपाईंले हार्दिक अन्तरबिन्ती गर्नुभयो भने परमेश्‍वरले सुरक्षा दिनुहुनेछ भनेर थाह पाउनु सान्त्वनादायी छ र उहाँले दिनुहुने सुरक्षामा स्वर्गदूतहरूको सहयोग पनि समावेश छ। (भजन ३४:७; ९१:२, ३, ११, १४; १४५:१९) अतः “दुष्टबाट छुटाउनुहोस्‌” भनेर परमेश्‍वरलाई प्रार्थना गरिरहनु एकदमै महत्त्वपूर्ण छ।—मत्ती ६:१३; १ यूहन्‍ना ५:१८, १९.

ब्राजिलका एन्टोनियोले प्रार्थनाको महत्त्वको मूल्यांकन गर्न सिके। तिनी पहिला तन्त्रमन्त्र गर्ने गर्थे। बाइबल अध्ययन गर्न स्वीकारेपछि र परमेश्‍वरको नाउँ यहोवा रहेछ भनेर जानेपछि तिनले प्रेतविद्याबाट छुटकारा पाउन यहोवा परमेश्‍वरलाई खुरन्धार प्रार्थना गर्न थाले। पहिलाको कुरा सम्झँदै तिनी यसो भन्छन्‌: “परमेश्‍वरलाई प्रार्थना गर्नु म र दुष्टात्माका वशमा परेका अन्य थुप्रैको निम्ति बलियो धरहरा साबित भएको छ।”—हितोपदेश १८:१०.

तपाईं सफल हुन सक्नुहुन्छ

यहोवालाई चिनेपछि उहाँमाथि पूर्ण भरोसा राखी उहाँको अख्तियारको अधीनमा बसेर उहाँका आज्ञाहरू पालन गर्नु नितान्त आवश्‍यक छ। तपाईंले यसो गर्नुभएको खण्डमा उहाँलाई मदतको निम्ति पुकार्नुहुँदा उहाँले तपाईंलाई सुरक्षा दिनुहुनेछ। एन्टोनियोले त्यस्तो सुरक्षा पाए। तिनी आज साऊ पाउलोमा यहोवाका साक्षीहरूको मण्डलीमा मसीही प्राचीनको हैसियतमा सेवा गर्दैछन्‌ र आफूलाई स्वतन्त्र तुल्याउने सच्चाइ पाएकोमा कृतज्ञ छन्‌।—यूहन्‍ना ८:३२.

पहिला प्रेतहरूको सेवा गर्ने तर अहिले यहोवा परमेश्‍वरको सेवा गर्ने एन्टोनियोका साथै अन्य हजारौं मानिसहरूजस्तै तपाईं पनि प्रेतविद्याबाट स्वतन्त्र हुन सक्नुहुन्छ। त्यसकारण, प्रेतविद्यासित सम्बन्धित चीजबीजलाई मिल्काउनुहोस्‌ र यहोवाको सुरक्षाको निम्ति बाइबल अध्ययन र प्रार्थनाद्वारा विश्‍वासलाई बलियो बनाउनुहोस्‌। यी कदमहरू चाल्नुहोस्‌, यसैमा तपाईंको जीवन निर्भर छ!

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

बाइबलले बताएअनुसार जीवितहरूले मृत व्यक्‍तिहरूसित सम्पर्क राख्न सक्दैनन्‌

[पृष्ठ ५-मा भएको चित्र]

१. प्रेतविद्यासित सम्बन्धित सबै चीजबीजहरू नष्ट गर्नुहोस्‌

[पृष्ठ ७-मा भएको चित्र]

२.बाइबल अध्ययन गर्न नछोड्‌नुहोस्‌

[पृष्ठ ८-मा भएको चित्र]

३.नियमित तवरमा खुरन्धार प्रार्थना गर्नुहोस्‌