हवाई यात्रा सुरक्षित बनाउने
हवाई यात्रा सुरक्षित बनाउने
कप्तानले थ्रटललाई अघिल्तिर ठेल्छन् र सहचालकले एयर ट्राफिक कन्ट्रोलबाट उड्न अनुमति पाएको संकेत गर्छन्। विमानचालकहरूको पछाडि ककपिटमा अवलोकनकर्ताको रूपमा म बसिरहेको हुन्छु र जेट इन्जिनको ठूलो आवाजले मेरो मुटु डरले काम्न थाल्छ। बोइङ ७४७ अघि बुढ्न थालेपछि मेरो शरीर सिटमा पछाडितिर हुत्तिन्छ। अनि कुनै अवरोधविना हामी उड्यौं र न्यु टोक्यो इन्टरनेसनल एयरपोर्टको धावनमार्ग न. ३४ हामीभन्दा निकै तल सानो देखिन्छ।
माथि आकाशमा खतरा!
केही समयपछि हामीले केही पड्केको ठूलो आवाज सुन्यौं र विमान एकदम हल्लिन थाल्छ। कानै खाने ठूलो आवाजले ककपिट नै थर्कन्छ। त्यो खतराको संकेत थियो! सहचालकले हवाईजहाजलाई नियन्त्रणमा लिन खोज्दा प्यानलहरूमा खतराको संकेत दिने केही राता र पहेंला सुन्तला रंगका बत्तीहरू बल्न थाल्छन्।
“नम्बर तीन इन्जिनमा आगो लाग्यो!” भनी कराउँदै कप्तानले खतराको संकेत बटनहरू थिच्छन्। “घुम्दा पनि घुमेन, तेलको चाप पनि छैन र नम्बर तीनमा हाइड्रोलिक पनि छैन” भनी सहचालक अर्कोतिर चिच्याउँछन्। “तीन नम्बर इन्जिनको थ्रटल तान्नुहोस्। इन्जिनको तेल बन्द गर्नुहोस्। इन्जिन नम्बर तीनले काम गर्न छोड्यो।” आदेशअनुसार एक जना चालकले ठ्याक्क त्यसै गर्छन् र अर्कोले चाहिं ठीक भयो कि भएन हेर्छन्। तिनीहरूको एक एक काम पहिल्यै मिलाएझैं तिनीहरू परिस्थितिलाई नियन्त्रणमा ल्याउन सँगै काम गर्छन्। परिस्थितिलाई नियन्त्रणमा ल्याउन तिनीहरू पटक्कै नअतालीकन निर्णायक ढंगमा काम गरेको देखेर म छक्क पर्छु।
त्यसपछि, सहचालकले एयर ट्राफिक कन्ट्रोललाई रेडियो गरेर आकस्मिक अवतरणको निम्ति अनुमति माग्छन् र आपत्कालीन अवस्थाका लागि चाहिने सामग्रीहरू पनि तयार राख्न आग्रह गर्छन्। त्यसपछि, तिनी विमान परिचारकहरूलाई क्याबिन आकस्मिक अवतरणको निम्ति तयार गर्न सूचना दिन्छन्।
उडान टोलीले आकस्मिक अवतरणको निम्ति सबै ठीक छ कि छैन, जाँच्दै गर्दा मचाहिं
आफ्नो सिटमा कक्रक्क पर्दै निधारबाट पसिना पुच्छु! पछि जहाजले राम्रैसित अवतरण गर्दा म ढुक्क हुन्छु। त्यस्तो असिनपसिन हुने गरी डराएको देखेर आफूदेखि लाज पनि लाग्छ। किनभने माथि वर्णन गरिएको घटना वास्तविक घटना थिएन। म जापानतर्फ उडिरहेको पनि थिइनँ। म सं.रा.अ. कोलोराडोको डेन्भरस्थित युनाइटेड एयरलाइन्स फ्लाइट सेन्टरको उन्नत उडान सिमुलेटरमा (माथि देखाएको जस्तो) बसिरहेको थिएँ। उडान टोलीले प्रशिक्षण मात्र लिइरहेका थिए। धेरै वर्षदेखि डेस्कटप कम्प्युटरमा फ्लाइट सिमुलेटर खेल खेलिरहेको मजस्तो मानिसको लागि यो एकदमै रोमाञ्चकारी अनुभव थियो।सुरक्षाको निम्ति नकल
उडान टोलीहरूले सिमुलेटरमा माथि वर्णन गरेजस्तो अभ्यास प्रत्येक दिन सयौं चोटि गर्छन्। किन? तिनीहरूको प्रशिक्षण र उड्ने मानिसहरू अर्थात् तपाईंको सुरक्षाको निम्ति। तर त्यस्तो प्रशिक्षण साँच्चैको हवाईजहाजमा नगरी किन त्यस्तो सिमुलेटरमा गरिन्छ? कारण थुप्रै छन् तर ती छलफल गर्नुअघि पहिला हामी फ्लाइट सिमुलेटरको विकास कसरी भयो, त्यो हेरौं।
पहिलो र दोस्रो विश्वयुद्धको दौडान योग्य विमानचालकहरूको बढ्दो मागलाई पूरा गर्न साधारण फ्लाइट सिमुलेटरहरू प्रयोग गर्ने स्कूलहरू स्थापना गरियो। सन् १९६० को दशकको अन्ततिर सिमुलेटरमा निकै प्रगति गरियो र ती साँच्चैको विमान जस्तो हुन थाल्यो। तिनीहरूले एकदमै स-साना कुराहरू जस्तै, विमानको वजन र कति इन्धन छ त्यसअनुसार विमानमा के हुन्छ, सबै नकल गर्न थाले। त्यस्ता कुराहरूले विमानलाई असर गर्छ। अनि उडानको दौडान इन्धन बल्छ र विमानको कार्य क्षमतामा परिवर्तन आउँछ। इलेक्ट्रोनिक्स र कम्प्युटर क्षेत्रमा भएका प्रगतिहरूको कारण यी तथा अन्य थुप्रै अवस्थाको अभ्यास गर्न सम्भव भएको छ।
लक्ष्यचाहिं सकेसम्म सिमुलेटर अर्थात् अभ्यासलाई वास्तविक बनाउनु हो। आधुनिक सिमुलेटरहरूमा ठूलो, शक्तिशाली हाइड्रोलिक आधारहरू हुन्छन् जसले गर्दा यो छ डिग्रीसम्म यताउता हल्लिनसक्छ। यो पूरै यन्त्रलाई ठूलो हाइड्रोलिक पम्पहरूद्वारा हल्लाइन्छ र यसबाट उडान टोलीले एकछिनको निम्ति +१ देखि −१ जि a सम्मको गतिको अनुभव गर्नसक्छ।
विमानचालकहरूले विमानलाई नियन्त्रणमा लिन खोज्दा सिमुलेटरमा पनि साँच्चै उडेको बेलामा जस्तै अनुभव गर्छन्। गति बढ्नु, घट्नु, दायाँ वा बायाँतिर ढल्कनु, धावनमार्गमा छुँदा र जोल्टिङ खाँदाको अनुभव र मौसम सबै पाइलटको कानले मात्र होइन तर तिनको सम्पूर्ण शरीरले महसुस गर्नसक्छ।
कम्प्युटरद्वारा बनाइने दृश्य प्रणालीमा पनि प्रगति गरिएको कारण
विश्वका विमानस्थल र त्यस वरिपरिका भौगोलिक अवस्था प्रस्तुत गर्न सकिन्छ। यो साँच्चिकै जस्तो देखिने चित्रहरू सिमुलेटरको ककपिटमा भएका स्क्रिनहरूमा आउँछन्। ती चित्रहरूको कोण चौडाइमा १८० डिग्री र लम्बाइमा ४० डिग्रीसम्म हुन्छ। पाइलटहरूले हिउँ, वर्षा, चट्याङ, असिना र कुइरो सबै मौसममा र दिनको जुनै पनि समय अर्थात् बिहानदेखि बेलुकीसम्म विमान “उडाउन” सक्छन्।सिमुलेटरमा जाँदा
म पहिलो चोटि सिमुलेटरमा जाँदा “जमिन” र झ्याल नभएको सेतो सिमुलेटरबीच ६ मिटर चौडा धातुको पुल थियो। सिमुलेटर झट्ट हेर्दा चन्द्रयान वा भयानक माकुरा जस्तो देखिन्छ।
तर भित्र पुगेपछि भने साँच्चैको हवाईजहाजको ककपिटमा पुगेझैं भान हुन्छ। तपाईंले डायल, संकेत दिने बत्तीहरू, गेज, स्वीच र लिभरहरू विमानको विभिन्न मोडेलहरूअनुसार विमानमा जस्तै हुबहु मिलाइएको देख्नुहुनेछ। मेरो टुर गाइड र उडान सिमुलेटर प्राविधिक टेरी बाँस्पेटले ती प्यानलहरूमध्ये थुप्रै हवाईजहाजकै भागहरू हुन् भनेर बताए।
टेरीले उडान सिमुलेटरहरूलाई विकास गरेर अहिले हुबहु विभिन्न मोडेलका विमानहरूकै ककपिटहरू जस्तो पूर्ण कार्य क्षमता भएको अनि उत्रै आकारको बनाइसकिएको छ भने। उडान सिमुलेटरको प्रयोग बढ्दै गएपछि उड्डयन समुदायले
सिमुलेटरले उन्नत उडान प्रशिक्षण दिंदो रहेछ भनेर अनुभव गरेका छन्। यस्ता सिमुलेटरमा विमानचालकहरूलाई विमान उडाउन सिकाउनुबाहेक आकस्मिक परिस्थितिमा के गर्ने भनेर पनि प्रशिक्षण दिइन्छ।सिमुलेटरले कुनै खास स्तरहरू पूरा गरेको खण्डमा विमानचालकले विमान उडाएर बिताएको घण्टामा सिमुलेटरमा बिताएको घण्टा पनि जोड्नसक्छन्। केही खास परिस्थितिहरूमा विमानचालकको सबै प्रशिक्षण र जाँच सिमुलेटरमै पनि हुनसक्छ।
किन सिमुलेटरको प्रयोग?
सिमुलेटरले कतिपय व्यावहारिक उद्देश्यहरू पूरा गर्छ। साँच्चैको विमानको सट्टा तिनीहरूको प्रयोग गर्दा इन्धन र तेल बच्छ। साथै, हवाई ट्राफिकको चाप, ध्वनि र वायु प्रदूषण, प्रशिक्षण र परिचालन खर्च पनि कम गर्छ। सिमुलेटर “दुर्घटना”-मा पर्दा कुनै नोक्सान हुँदैन साथै कोही पनि घाइते हुँदैन।
टेरी भन्छन्, “सिमुलेटरको कारण प्रशिक्षणको दौडान हुने दुर्घटनाहरूमा पनि कमी आउँछ। आकस्मिक अवस्थाहरू जस्तै, इन्जिनमा आगलागी, अवतरण गियरले काम नगर्ने, चक्का पड्किने, इन्जिन फेल खाने, आँधी चलेको मौसम, हावाको वेग र दिशामा उतारचढाउ, हिउँ र कुहिरो आदिले गर्दा बाहिर स्पष्ट नदेखिने समयमा के कस्तो गर्नुपर्छ ती सबैबारे प्रशिक्षण पाउन सकिन्छ।” साथै, विस्तृत प्राविधिक प्रशिक्षण पनि दिन सकिन्छ र पूरा मेसिनमा गडबडी वा मेसिनले काम गर्नै छोडेको अवस्था सिर्जना गरेर विमान वा मानव शरीर कुनैलाई हानि नहुने गरी सम्हाल्न सकिन्छ।
यसबारे टिप्पणी गर्दै अनुभवी विमानचालक जे. डि. विटल्याच यसो भन्छन्: “हामीले सिमुलेटरमा प्रयोग गर्ने दृश्यहरू साठी लाख सम्भावित घटना तथा अवस्थाहरूका मिश्रण हुन्। हामीले उडान टोलीलाई वास्तविक विमानमा राखेर यति थुप्रो कुराहरूको प्रशिक्षण दिन सम्भवै छैन।”
संयुक्त राज्य अमेरिकामा सिमुलेटरहरू पनि राम्ररी जाँचिएका हुन्छन् र फेड्रल एभियसन एडमिनिसट्रेसन (एफ ए ए), नयाँ नयाँ प्रविधि जाँच्ने विमानचालक र प्राविधिकहरूबाट अनुमति प्राप्त हुन्छ। प्रत्येक प्रशिक्षण दिनुअघि समेत प्राविधिकहरू आफ्ना सिमुलेटरहरू साँच्चैको विमान जस्तै काम गर्ने अवस्थामा छन् कि छैनन् भनी जाँच्न “उडान” मर्मत गर्ने गर्छन्। साँच्चैको विमानमा केही परिवर्तनहरू गर्दा सिमुलेटरमा पनि ती परिवर्तनहरू गर्नुपर्छ। प्रत्येक छ महिनामा एफ ए ए-का प्रतिनिधिहरूले सबै कुरा ठीक छ कि छैन हेर्न सिमुलेटर “उडाउँछन्।”
विगतका दुर्घटनाहरूबाट सिक्ने
दुर्घटना स्थलबाट प्राप्त गरेको फ्लाइट डाटा रेकर्डर र ककपिट भोइस रेकर्डरको जानकारी प्रयोग गरेर इन्जिनियरहरूले विमानमा भएको अवस्था र समस्या सिमुलेटरमा हुबहु सृजना गर्नसक्छन्। यो जानकारी र सिमुलेटरमा त्यसको नकलद्वारा अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारण पत्ता लगाउनसक्छन्। यसबाहेक, त्यस्ता तथ्यांकहरूबाट भविष्यका विमानचालकहरूले त्यस्तो अप्रत्याशित समस्याहरूको बेला के गर्ने भनेर सिक्नसक्छन्। विमान तथा यसका पाटपुर्जा उत्पादकहरूले पनि भविष्यमा अझ उन्नत विमान तथा पाटपुर्जा डिजाइन र निर्माण गर्न उक्त जानकारी प्रयोग गर्छन्।
अनुसन्धानबाट विमानचालकको गल्तीको कारण दुर्घटना भएको वा झन्डै दुर्घटना भएको पत्ता लाग्यो भने भविष्यमा त्यस्तो गल्ती दोहोरिन नदिन सिमुलेटरमा प्रशिक्षण दिन सकिन्छ। अनुभवी विमानचालक ल्यु कोसिक यसो भन्छन्: “हामीले देखाउने दृश्यहरू काल्पनिक होइनन्। ती साँच्चै कतै भएका घटनाहरू हुन्।” पाइलटको प्रतिक्रिया, प्रशिक्षण कार्यक्रम र अन्ततः सर्वसाधारणको सुरक्षाको विकास गर्न उड्डयन विशेषज्ञहरूले अनवरत रूपमा वास्तविक जीवनमा हुने घटनाहरूको विश्लेषण अनि सृजना गर्नुका साथै विमानचालकहरूले देखाउने प्रतिक्रियाको अध्ययन गर्दैछन्।
मैले मेरो सहचालक टेरीको निरीक्षणमा “चार्ल्स डि गल एयरपोर्ट”-मा “बोइङ ७४७” “अवतरण” गर्दा चक्काले धावनमार्ग छोएको आवाज सुन्ने आशा गरेको थिएँ। तर गल्ती गरेको कारण सिमुलेटरको स्क्रीन सबै रोकिन्छ! मैले एयर ट्राफिक कन्ट्रोल टावरमा भर्खरै बोइङ ७४७ ठोक्काएँ!
यात्रुवाहक विमानहरू उडाउने विमानचालकहरू साँच्चै निपुण भएकोमा हामी कत्ति कृतज्ञ हुनसक्छौं र यसको केही हदसम्म श्रेय उडान सिमुलेटरलाई जान्छ। तपाईं अर्को चोटि हवाईजहाजमा यात्रा गर्नुहुँदा तपाईं अनि तपाईंको सहयात्री अत्यन्तै योग्य मानिसहरूको हातमा हुनुहुन्छ भनेर विश्वस्त हुनुहोस्। —साभार।
[फुटनोट]
a जि अक्षर कुनै पनि सवारीसाधनमा बसेका मानिसहरूमा शक्तिले पार्ने प्रभाव नाप्न प्रयोग गरिन्छ। पृथ्वीको गुरुत्वाकर्षणले १ जि बराबरको एकनासे गति पैदा गर्छ। विमानचालकले विमानलाई खस्नदेखि बचाउन खोज्दा आफू आफ्नो सिटतिर ठेलिएको महसुस गर्छन्। यो चाप गुरुत्वाकर्षणभन्दा दुई गुणा बढी छ भने त्यसलाई २ जि भनिन्छ।
[पृष्ठ २६-मा भएको चित्र]
सान फ्रान्सिस्कोबाट काल्पनिक उडान गर्दै
न्यु योर्क शहरमाथि उडेको
[पृष्ठ २६-मा भएको चित्र]
उडान सिमुलेटर, डेन्भर, कोलोराडो