सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“अत्यधिक खतरनाक खेलहरू”—के तपाईंले त्यस्तो खतरा मोल्नु ठीक होला?

“अत्यधिक खतरनाक खेलहरू”—के तपाईंले त्यस्तो खतरा मोल्नु ठीक होला?

बाइबलको दृष्टिकोण

“अत्यधिक खतरनाक खेलहरू”—के तपाईंले त्यस्तो खतरा मोल्नु ठीक होला?

“अचेल हामीमध्ये थुप्रै दर्शक मात्र नभई हवाईजहाजबाट हामफाल्ने, एउटा डोरीको भरमा पहाडबाट तल हुत्तिने, झरनामा डुंगा खियाउने अनि शार्कहरूसित पानीमनि फाल हाल्ने जस्ता कार्यहरू गर्न सुरिन्छौं।”—विलो ग्लेन रेसिडेन्ट अखबार।

यो टिप्पणीले खेलजगत्‌मा बढ्‌दै गएको लहरलाई देखाउँछ। स्काइडाइभिङ, आइस क्लाइम्बिङ, पाराग्लाइडिङ, बेस (बि ए एस इ) जम्पिङजस्ता a खेलहरूको अत्यधिक लोकप्रियताले खतरा मोल्न तत्पर संसारको स्वभाव झल्काउँछ। स्नोबोर्ड, माउन्टेन बाइक, स्केटबोर्ड र इन-लाइन स्केट पनि ठाडो भीर, अग्लो डाँडामा गुडाउने र सकेसम्म बढी उचाइबाट हामफाल्ने कार्यले गर्दा यी सामान्य खेलहरू पनि अत्यन्तै खतरनाक हुँदै गइरहेको छ। टाइम पत्रिकाले बताएअनुसार “अत्यधिक खतरनाक खेल”-को लोकप्रियता बढ्‌दैछ। यसले “सप्ताहन्ते सहभागी र पेसेवर खेलाडी दुवैले आफ्नो क्षमतालाई चुनौती दिंदै सुरक्षा सीमा नाघेर खतराको सँघारमै पुग्ने” उत्सुकता झल्काउँछ।

तथापि, यस्तो लोकप्रियताको लागि व्यक्‍तिगत तवरमा ठूलो मोल चुकाउनु पर्छ। सुरक्षित खेलहरूलाई पनि अचाक्ली गर्दा थुप्रै मानिस घाइते हुन्छन्‌। सन्‌ १९९७ मा अमेरिकामा आकस्मिक कक्षमा आउने बिरामीहरूमध्ये स्केटबोर्ड घाइते ३३ प्रतिशत, स्नोबोर्ड घाइते ३१ प्रतिशत र माउन्टेन क्लाइम्बिङ घाइतेहरूको संख्यामा २० प्रतिशत वृद्धि भएको पाइयो। यो अत्यधिक खतरनाक खेलमा मर्नेहरूको संख्यामा भएको वृद्धिबाट प्रस्ट हुन्छ। यी खेलप्रति समर्थन जनाउनेहरूलाई यसका खतराहरूबारे राम्ररी थाह छ। खतरनाक स्किइङमा भाग लिने एउटी स्त्री यसो भन्छिन्‌: “मेरो दिमागमा सधैं मृत्युको डर हुन्छ।” अर्का पेसेवर स्नोबोर्डर संक्षिप्तमा भन्छन्‌, “चोटपटक लागेन भने प्रयास गरेको अलि पुगेन जस्तो देखिन्छ।”

यी तथ्यहरू विचार गर्दा मसीहीहरूले यस्ता क्रियाकलापमा सहभागिताबारे कस्तो दृष्टिकोण राख्नुपर्छ? यस्ता अत्यधिक खतरनाक खेलहरूमा भाग लिने कि नलिने भनी निर्णय गर्न बाइबलले हामीलाई कसरी मदत गर्नसक्छ? जीवनको पवित्रताबारे परमेश्‍वरको दृष्टिकोण बुझेपछि यी प्रश्‍नहरूको जवाफ पाउन मदत पाउनेछौं।

जीवनप्रति परमेश्‍वरको दृष्टिकोण

यहोवा “जीवनको मूल” हुनुहुन्छ भनी बाइबल बताउँछ। (भजन ३६:९) उहाँले मानिसजाति सृष्टि गर्नुको साथै जीवनको आनन्द उठाउन हामीलाई चाहिने कुराहरू पनि दिनुभयो। (भजन १३९:१४; प्रेरित १४:१६, १७; १७:२४-२८) तसर्थ, उहाँले हामीलाई यस्तो माया गरेर दिनुभएको चीजको हेरचाह गरेको चाहनु व्यावहारिक हो। इस्राएल राष्ट्रलाई दिइएको व्यवस्था तथा सिद्धान्तहरूले हामीलाई यो तथ्य मूल्यांकन गर्न मदत गर्छ।

मोशालाई दिइएको व्यवस्थाअनुसार मानिसहरू अरूको ज्यान जोगाउन सजग हुनुपर्थ्यो। यसो नगरेर मृत्यु भएको खण्डमा यो दुःखद घटना हुनदेखि रोक्न सक्ने व्यक्‍ति नै रक्‍तदोषी हुने थियो। उदाहरणका लागि, घरधनीलाई आफ्नो नयाँ घरको छतमा चारैतिर होचो पर्खाल वा बार लगाउने आज्ञा दिइएको थियो। तिनले यसो नगरेकोले त्यहाँबाट कोही खसेर मृत्यु भएको खण्डमा तिनी रक्‍तदोषी हुने थिए। (व्यवस्था २२:८) गोरुले अकस्मात्‌ हानेर कसैलाई मारेको खण्डमा त्यसको मालिक दोषी हुने थिएन। तर अर्कोतिर, गोरु जोधाहा स्वभावको थियो र त्यसलाई राम्ररी बाँधेर नराखेको हुनाले कसैलाई हानेर माऱ्‍यो भने त्यसको मालिक रक्‍तदोषी हुने थिए र तिनी मारिन सक्थ्यो। (प्रस्थान २१:२८, २९) यहोवाले जीवनलाई मूल्यवान्‌ ठान्‍नुहुने हुँदा उहाँको व्यवस्थाले जीवनको बचाउ र सुरक्षाप्रति यस्तै महत्त्व झल्काउँथ्यो।

परमेश्‍वरका विश्‍वासी सेवकहरूलाई यी सिद्धान्तहरूमा व्यक्‍तिगत खतरा मोल्ने कुरा पनि समावेश छन्‌ भनेर थाह थियो। एउटा बाइबल विवरणमा दाऊदले “बेतलेहेमको मूल-ढोकाको छेउमा भएको कूवाको पानी पिउन पाए ता हुने थियो” भन्‍ने इच्छा व्यक्‍त गरेका थिए। त्यतिबेला बेतलेहेम पलिश्‍तीहरूको नियन्त्रणमा थियो। दाऊदको यो आग्रह सुनेपछि तिनका तीन जना सिपाहीहरू पलिश्‍तीहरूको शिविरमा छिरेर बेतलेहेमको मूल-ढोकाको छेउको कुवाबाट पानी उघाएर दाऊदकहाँ ल्याए। दाऊदले कस्तो प्रतिक्रिया देखाए? दाऊदले त्यो पानी पिउन इन्कार गरे र भुइँमा खन्याइदिए। तिनले भने: “के मैले यी मानिसहरूको रगत पिउने! परमेश्‍वरले मलाई यस्तो काम गर्नबाट रोकून्‌! तिनीहरूले ता यो पानी आफ्नो ज्यानको खतरामा ल्याएका हुन्‌!” (१ इतिहास ११:१७-१९) व्यक्‍तिगत सन्तुष्टिको लागि कसैको जीवन खतरामा पार्नु दाऊदको लागि असोचनीय थियो।

येशूले पनि त्यस्तै प्रतिक्रिया व्यक्‍त गर्नुभयो। सम्भवतः एउटा दर्शनमा दियाबलले उहाँलाई फसाउन खोज्दै, मन्दिरको गजुरबाट हामफालेर स्वर्गदूतहरूले बचाउने छन्‌ कि छैनन्‌ भनी हेर्नुहोस्‌ भनेको थियो। येशूले यस्तो जवाफ दिनुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्‌।” (मत्ती ४:५-७) हो, दाऊद र येशू दुवैले मानव जीवनलाई घात पुऱ्‍याउने अनावश्‍यक खतरा मोल्नु परमेश्‍वरको नजरमा गलत हो भनेर बुझेका थिए।

यी उदाहरणहरू विचार गर्दै हामी प्रश्‍न गरौंला, ‘त्यसोभए अत्यधिक खतरनाक र खतरनाक खेलबीच के भिन्‍नता छ? वास्तवमा, खतरनाक नभएको मनोरञ्जनलाई पनि अत्यधिक खतरनाक बनाउन सकिने हुँदा हामी यसको सीमा कसरी निर्धारण गर्न सक्छौं?’

के यस्तो खतरा मोल्नु उचित होला?

आफूले भाग लिने विचार गरिरहेको कुनै पनि गतिविधिलाई इमानदार भएर केलायौं भने यसको जवाफ पाउनेछौं। उदाहरणका लागि, हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्नसक्छौं, ‘यो खेलमा दुर्घटना हुने सम्भावना कत्तिको छ? के मसित दुर्घटनाबाट बच्ने प्रशिक्षण वा सुरक्षा सामग्री छ? म लडें वा फाल हानेको मिलेन वा मेरो सुरक्षा साधनले धोका दियो भने परिणाम के होला? सानोतिनो चोटपटक मात्र लाग्ला वा गम्भीर घाइते वा मृत्यु हुने सम्भावना छ?’

मनोरञ्जनको नाउँमा अनावश्‍यक खतरा मोल्दा साँचो मसीहीको यहोवासितको अनमोल सम्बन्धमा धक्का लाग्नसक्छ र मण्डलीमा विशेष सुअवसर पाउने योग्यको छ कि छैन भन्‍ने प्रश्‍न उठ्‌नसक्छ। (१ तिमोथी ३:२, ८-१०; ४:१२; तीतस २:६-८) स्पष्टतः मनोरञ्जनात्मक क्रियाकलापमा भाग लिंदा पनि मसीहीहरूले जीवनको पवित्रताप्रति सृष्टिकर्ताको दृष्टिकोण बुझ्नु बेस हो।

[फुटनोट]

a बेस अर्थात्‌ बि ए एस इ अंग्रेजी शब्दहरू बिल्डिङ (भवन), एन्टेना, स्पान (पुल) र अर्थ-को (पृथ्वी) संक्षिप्त रूप हो। भवन, पुल र भीरजस्ता स्थानहरूबाट पाराशुट लगाएर हामफाल्नु एकदमै खतरनाक भएको हुँदा नेशनल पार्क सर्भिसले यसलाई संयुक्‍त राज्य अमेरिकामा निषेध गरेको छ।